२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Share:
  

प्रधानमन्त्री केपी ओली सिङ्गापुरमा उपचार गराई २० भदौमा स्वदेश फर्किएका छन् । सिङ्गापुरको न्याशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली ५ भदौमा सिङ्गापुर गएका थिए ।

सिङ्गापुरमा ‘प्लाज्माफेरेसिस’ उपचार विधिबाट ओलीको मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस १८ भदौमा सकिएको थियो । स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किएका हुन् । ओली केही साता अघि पनि सिङ्गापुरस्थित सोही अस्पतालमा उपचार गर्न गएका थिए । त्यसवेला एक साता बसेर उपचार गराएर १८ साउनमा स्वदेश फर्किएका थिए ।


दूधको भाउ बढ्यो

सरकारले दूधको मूल्य प्रति लिटर रु.६ बढाएर रु.७६ बनाएको छ । दुग्ध विकास संस्थानका अनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन संस्थानलाई १९ भदौमा पत्राचार गरेको थियो ।

सरकारले मूल्य बढाउने बारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको सिफारिशको आधारमा मूल्य बढाइएको हो ।

संस्थानका अनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा किसानले र ३१ प्रतिशत अर्थात् १ रुपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् ।


चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी दुईदिने भ्रमणका क्रममा २२ भदौमा काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमण कार्यतालिका बनिसकेको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा आउन लागेका विदेशमन्त्री यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । भारतसँग २३–२४ भदौमा हुन लागेको दुईदेशीय सीमा बैठक अन्तिम घडीमा आएर नहुने भएपछि पाकिस्तानमा हुन लागेको चीन–पाकिस्तान–अफगानिस्तानको त्रिदेशीय बैठक सकेर विदेशमन्त्री यी काठमाडौं आउन लागेका हुन् ।


सुर्खेतमा सेनाको एअर वेस

नेपाली सेनाले काठमाडौं बाहिर पहिलोपल्ट एअर वेस सञ्चालन गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले १७ भदौमा सुर्खेतस्थित एअर वेस उद्‌घाटन गरे । वेसमा तत्काल एमआई–१७ सहित दुई वटा हेलिकप्टर तैनाथ गरिएको उत्तरपश्चिम पृतना मुख्यालयले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा आपत्कालीन उद्धार, ढुवानी र राहत वितरण लगायत कामका लागि एअर वेस सञ्चालनमा ल्याइएको हो । उद्धार छिटो र कम लागतमा हुने भएकाले सुर्खेतमै वेस स्थापना गरिएको पृतनाले जनाएको छ ।

सेनाले वेस स्थापना गरिएसँगै ढुवानी सहज भई विकास निर्माणले तीव्रता पाउने अपेक्षा गरिएको छ । हवाई सेवा क्षमता वृद्धिका लागि एअर वेसमा ह्याङ्गर निर्माण समेत शुरु गरिएको सेनाले जनाएको छ । वेस सञ्चालनमा ल्याइएसँगै आपत्कालीन र जटिल अवस्थाका बिरामी, दुर्घटनाका घाइते र प्राकृतिक प्रकोपमा परेकाको उद्धार र राहत सहज हुने मुख्यालयले जनाएको छ ।


दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगले आगामी १४ मंसीरमा हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमवार सूचना जारी गरी दर्ता आह्वान गरेको हो ।

आयोगले उप–निर्वाचनमा भाग लिने दललाई दर्ता हुन भदौ मसान्तसम्मको समय दिएको छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन अघि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।

comments powered by Disqus

रमझम