२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

पेट्रोलियम पाइपलाइन उद्घाटन

Share:
  

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको २४ भदौमा उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन पनि गरेका थिए । उद्घाटनपछि मोतिहारी–अमलेखगन्ज ६८ किमी लामो पाइपलाइन सञ्चालनमा आएको छ । यसको ३२.७ किमी खण्ड भारत र ३६.२ किमी खण्ड नेपालमा पर्छ । पाइपलाइनबाट प्रतिघन्टा २९४ किलोलिटरसम्म पेट्रोलियम पदार्थ आउनेछ ।


चिनियाँ भाषा सिकाउन स्वयंसेवक

चीनले नेपालका विद्यालयमा ‘स्वयंसेवक भाषा शिक्षक’ उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले २६ भदौमा समझदारीपत्रमा हस्ताक्षर गरे ।

अब नेपालको विद्यालयस्तरीय राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषा ऐच्छिक विषयका रूपमा रहनेछ । भाषा पढाउन चीन सरकारले स्वयंसेवक शिक्षक खटाउने छ । काठमाडौं लगायत मोफसलका केही निजी विद्यालयले भने चिनियाँ भाषा पढाउँदै आएका छन् । उनीहरूका लागि नेपालस्थित चिनियाँ दूतावासले शिक्षा मन्त्रालयसँग अनुमति लिएका स्वयंसेवक शिक्षक खटाउने गरेको छ ।


सकियो पूर्वाधार सम्मेलन

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन । नेपाल सरकार र नेपाल उद्योग परिसंघको आयोजनामा गत साता नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । २५–२६ भदौमा भएको कार्यक्रममा स्वदेशी र विदेशी लगानीकर्ता, पूर्वाधार विज्ञ तथा सरकारी र गैरसरकारी क्षेत्रका पूर्वाधार क्षेत्रसँग सम्बन्धित अधिकारीको सहभागिता थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान सेउङ सू, एशियाली विकास ब्याङ्कका महानिर्देशक वुचोङ उम, विश्व ब्याङ्कका उपाध्यक्ष चिङतोङ ख्वाले सम्बोधन गरेका थिए । त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडा, उद्योगपति विनोद चौधरी, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव लगायतले पनि सम्बोधन गरेका थिए ।


मीरालाई मानार्थ विद्यावारिधि

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले अल्ट्रा धावक मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । काठमाडौंमा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा.डा.डेभिड मेकेनीले राईलाई २२ भदौमा विद्यावारिधि उपाधि प्रदान गरेका हुन् । भोजपुरमा जन्मिएकी राईले विभिन्न अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा पुरस्कार जितेकी छन् ।


सिक्कामा शताब्दी पुरुष सत्यमोहन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मोत्सवका अवसरमा ललितपुर महानगरले उनको चित्र अड्ढित स्मारिका सिक्का सार्वजनिक गरेको छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र अर्थमन्त्री डा.युवराज खतिवडाले २४ भदौमा सिक्का सार्वजनिक गरेका हुन् । महानगरले २०७६ सिरिजमा जोशीको चित्र अड्ढित रु.१००, रु.१००० र रु.२५०० दरका सिक्का सार्वजनिक गरेको हो । रु.१०० दरका सिक्का धातुबाट बनेका छन् भने रु.१००० र रु.२५०० दरका सिक्का चाँदीबाट बनेका छन् । टक्सार विभागले यी सिक्काको टकमारी गरेको थियो ।

comments powered by Disqus

रमझम