२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

सागमा पहिलो पटक फेन्सिङ

Share:
  
- निरञ्जन राजवंशी
नेपालमा हुने १३औं सागमा पहिलो पटक समावेश गरिएको फेन्सिङका १२ स्वर्णका लागि पाँच राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा नयाँ खेल फेन्सिङ (तरबारबाजी) ले प्रवेश पाउँदैछ । तरबारले विपक्षी विरुद्ध आक्रमण गरी अंक बटुल्ने खेल फेन्सिङ हो । साग गेम्समा पहिलो पटक समावेश गरिए पनि यसको इतिहास निकै पुरानो छ ।

सन् १८९६ मा आधुनिक ओलम्पिक खेल प्रारम्भ हुँदा फेन्सिङ पनि समावेश थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका वर्तमान अध्यक्ष थोमस बाच फेन्सिङका पदकधारी ओलम्पियन नै हुन् । तर दक्षिण एशियाको लागि भने फेन्सिङ नयाँ हो । भारतमा यो खेलले व्यापकता पाइसकेको छ । पाकिस्तान, बाङ्लादेश र श्रीलंकामा फेन्सिङ भित्रिएको लामो समय भएको छैन । भूटान र माल्दिभ्समा त शुरु नै भएको छैन ।

नेपालमा फेन्सिङ संघले राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि उल्लेख्य मात्रामा गरे पनि चर्चा पाएको छैन । सागमा फेन्सिङ पहिलो पटक समावेश गरिएपछि यसका पदाधिकारी उत्साहित छन् । नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ भन्छन्, “१३औं सागपछि फेन्सिङका दर्शक पनि बढ्नेछन्, अब यसले दक्षिण एशियामा पनि जरो गाड्ने छ ।”

नेपालमा फेन्सिङ

नेपाल फेन्सिङ संघको स्थापना सन् २०१० मा भएको हो । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । संघलाई अन्तर्राष्ट्रिय फेन्सिङ महासंघ र एशियाली फेन्सिङ महासंघबाट स्वीकृति प्राप्त छ । संघले स्थापनाको ९ वर्षमा चारवटा राष्ट्रिय प्रतियोगिता गरिसकेको छ । त्यस्तै इटालीमा भएको वल्र्ड च्याम्पियनसिप, रूसमा भएको जुनियर वल्र्ड च्याम्पियनसिप, थाइल्याण्डमा भएको जुनियर क्याडेड च्याम्पियनसिप, चीनमा भएको एशियन युथ गेम्स र साफ च्याम्पियनसिपमा नेपालले भाग लिइसकेको छ । नेपाली खेलाडीले सन् २०१४ र २०१८ गरी दुई वटा एशियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए । भारतमा भएको साफ च्याम्पियनसिपमा नेपालले १२ वटा काँस्य पदक जितेको थियो । गत वर्ष नेपालगञ्जमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा पनि फेन्सिङ समावेश थियो । सोही प्रतियोगिताको आधारमा सागका लागि छनोट खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

तीन वटै विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले फेन्सिङ खेलाडी भिœयाएका छन् । काठमाडौं बाहेक पोखरा र इटहरीमा पनि प्रशिक्षण शुरु भएको छ । संघका महासचिव श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय रुपमा यो खेल जति चर्चित छ नेपालमा छैन, माहोल नहुँदा फैलाउन चुनौती भोगिरहेका छौं ।” सहजै बुझ्न नसकिने हुनाले दर्शकमाझ यो खेलको परिचय बढाउन समय लाग्ने उनले बताए ।

फेन्सिङ खेल्न विशेष प्रकारको तरबार, पहिरन र खेलस्थल आवश्यक हुन्छ । नेपालमा खेल सामग्री र खेलस्थलको अभाव मुख्य चुनौती भएको महासचिव श्रेष्ठ बताउँछन् । खेलाडीले लगाउने विशेष पहिरन, मास्क तथा विद्युतीय सामग्री नेपालमा नपाउने प्रशिक्षक अभिषेक कार्की बताउँछन् । विदेशबाट मगाउँदा महङ्गो पर्छ ।

यो खेलले खेलाडीहरूलाई भने आकर्षित गर्न थालेको प्रशिक्षक कार्की बताउँछन् । उनी भन्छन्, “अहिले काठमाडौं बाहिर पनि प्रशिक्षण हुन थालेको छ । हामीले अन्तर्राष्ट्रिय महङ्खव बुझाउन सके फेन्सिङ तीव्र गतिमा फैलिन्छ ।” १३औं सागबाट नेपालमा यो खेलका दर्शक बढ्ने फेन्सिङ संघका पदाधिकारीको आशा छ ।

सागमा फेन्सिङ

दक्षिण एशियाली ओलम्पिक काउन्सिलले आगामी १५–२४ मंसीरमा हुने सागमा फेन्सिङ समावेश गर्ने निर्णय गरेको छ । प्रतियोगितामा भूटान र माल्दिभ्स बाहेक पाँच राष्ट्रका खेलाडीले १२ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालका महिला र पुरुष गरी दुई दर्जन खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षक कार्की भन्छन्, “फेन्सिङमा भारत अब्बल छ, हामी धेरै रजत पदक जित्ने उद्देश्यले तयारी गरिरहेका छौं ।” नेपालभन्दा धेरैपछि मात्र फेन्सिङ खेल्न थालिएकाले पाकिस्तानको स्तर तलै रहेको उनको भनाइ छ । गत वर्ष बैंकक्मा भएको एशियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले श्रीलंका र बाङ्लादेशका खेलाडीलाई पराजित गरेका थिए ।

फेन्सिङमा इपी, सोबर र फोयल गरी तीन विधामा प्रतिस्पर्धा हुन्छ । टीम स्पर्धामा नेपालले रजत जित्ने निश्चित जस्तै भएको कार्की बताउँछन् । अमित भण्डारी, पायोस योञ्जन, दलेन्द्र शाही, कमला श्रेष्ठ लगायत खेलाडीले व्यक्तिगतमा पनि राम्रो खेल्ने आशा गरेको उनले बताए ।


पदाधिकारीको खर्चमा चल्छ संघ

नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ (तस्वीर) कार्गो व्यापारी हुन् । उनी सन् २०१० देखि लगतार ९ वर्ष अध्यक्ष छन् । यसबीच भएका दुई निर्वाचनमा उनी निर्विरोध अध्यक्ष भए । संघमा स्वयंसेवा गर्नुपर्ने हुँदा आफू निर्विरोध भएको उनी बताउँछन् । खेलको प्रायोजक पनि आकर्षक नभएकाले पदाधिकारीको आर्थिक सहयोगमा संघ चलिरहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न र अन्तर्राष्ट्रिय सहभागिताका बेला आफूहरूले नै खर्च गर्ने उनी बताउँछन् ।

“राखेपमा दर्ता भएपछि भने वार्षिक रु.१ लाख अनुदान आउँछ, त्यति नै हो सहयोग” श्रेष्ठ भन्छन्, “हामीले शून्यबाट खेल अगाडि बढायौं । अहिले परिचय दिने अवस्थामा छौं । अब हामी विद्यालय खेलकुदमा केन्द्रित हुने अभियानमा छौं ।” १३औं सागपछि नेपाली खेलप्रेमीलाई फेन्सिङको परिचय दिइरहनु नपर्ने श्रेष्ठको भनाइ छ ।

नेपालमा हुने १३औं सागमा पहिलो पटक समावेश गरिएको फेन्सिङका १२ स्वर्णका लागि पाँच राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

comments powered by Disqus

रमझम