१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

आगी

Share:
  

पैताला कहाँ कहाँ छिर्छन्

भाइरस न हुन् पैताला

जहाँ पनि छिर्छन्

पैताला

टाउकोभित्र छिर्छन्

आँखाभित्र छिर्छन्

मुखभित्र छिर्छन्

भाइरस न हुन् पैताला

मुटु, कलेजो, फोक्सो

जहाँ पनि छिर्छन् ।

**

पैताला जहाँ छिर्छन्

म भएर होइन

तिमी भएर छिर्छन्

र त यहाँ

दवित दवित छ प्रेम

दवित दवित छ विद्रोह

दवित दवित छ आवाज ।

**

मुटुभित्रको दवित प्रेम

उम्रिन उम्रिन खोज्छ

तिम्रा पैताला

प्रेमका बीउहरूलाई

मचमची मिच्छन्

थचथची थिच्छन्

र त

मुटुभित्र दवित दवित छ प्रेम ।

**

यो लालपुर्जाको दुनियाँमा

प्रेम जति निर्धो को छ ?

**

मुटुभित्रको दवित आवाज

फुट्न फुट्न खोज्छ

तिम्रा पैताला

हृदयका आवाजहरूलाई

मचमची थिच्छन्

थचथची मिच्छन्

र त

मुटुभित्र दवित दवित छ आवाज ।

**

यो लालपुर्जाको दुनियाँमा

आवाज जति निमुखा को छ ?

विद्रोह जति निम्छरो को छ ?

**

यहाँदेखि

त्यहाँसम्म

दवित दवित छ सपना

एकदिन अचानक

युगौंदेखि पैतालामुनि थिचिएको मुटु

छियाछिया भएर फुट्यो

त्यही छियाछिया भएर फुटेको मुटु न थियो

आगोको बीउ ।

**

के तिमीले देखेका छौ

प्रमिथसको मुटुभित्र आगो थियो

प्रमिथसकै मुटुबाट जन्मिएका हुन्

आगोका फूलहरू

जो दुनियाँ बदल्न

सुन्दर हुन्छन् ।

**

र त फेरि

मुटु फुट्नेछ

फेरि जन्मिनेछन्

प्रमिथसहरू ।

**आगी– आगोलाई थारु भाषामा आगी भनिन्छ । पहिलो पटक आगो सृष्टि गर्ने आगोको अर्थमा प्रयुक्त ।*

comments powered by Disqus

रमझम