१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

फेसबूकको शताब्दी

Share:
  

इतिहासका हजारौं वर्ष कुल्चेर

आइपुगेका छौं हामी फेसबुकको शताब्दीमा

**

थाहा छ सबैलाई

कि कसरी व्यतित छ यो समयमा

देश र मानिसहरुको कथा

**

अचेल

फेसबूकमै हुन्छ

लासको पोस्टमोर्टेम

फेसबूकमै गरिन्छ

सम्बन्धविच्छेदको अन्तिम निर्णय

र फेसबूकबाटै सुनाइन्छ

कुनै विद्रोही पार्टीको नयाँ घोषणापत्र ।

**

फेसबूकमै बस्छ

केटाकेटीहरुको पहिलो प्रेम

र फेसबूकमै मनाइन्छ एकदिन

सम्बन्धको सुहागरात र विवाहको महाभोज ।

**

गर्भाशयबाट नै सुनेर फेसबूकको कथा

फेसबूकमै जन्मन्छन्

पहिलो पटक बच्चाहरु

फेसबूकमै हुर्कन्छन्

फेसबूकको गीत गाएर ।

**

माइक उचालेर

फेसबूकमै गर्छ जनसम्बोधन

यो देशको अनौठो सरकार

र फेसबूकमै निस्कन्छ

सरकार विरुद्ध

प्रतिपक्षको कालो जुलूस ।

**

सपनाहरुको कीर्तिमान बोकेर

फेसबूकमै चढ्छन्

पर्वतारोहीहरु सगरमाथा

र नाघेर पहाडहरु

फेसबूककै बाटो भएर आइपुग्छ

धूलैधूलोको यो देशमा

समयको एक समुद्री जहाज ।

**

हजार विज्ञान र तमाम शक्तिहरुभन्दा पर

फेसबूक नै हो

यो समयको सबैभन्दा बलियो अस्त्र

कि फेसबूकमै हुनेवाला छ तेस्रो विश्वयुद्ध

फेसबूकमै फेरिनेवाला छ

यो ब्रह्माण्डको अनुहार र ग्रहहरुको आकार

तोडेर शास्त्रहरुको प्राचीन सत्य

यही फेसबूकमै जन्मिनेवाला छ एक दिन

सपनाहरुको अर्को मोर्डन पृथ्वी ।

**

तर त्यतिन्जेलसम्म पनि

कुनै अग्लो हिमालमुनिको जङ्गलमा

आफ्नै बाल्यकालको गीत गाइरहेको हुनेछ

मेरो गाउँको एउटा बूढो मानिस ।

comments powered by Disqus

रमझम