१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

परदेशबाट पत्र

Share:
  

अघिल्ला सबै पत्र पायौ कि आमा ?

सिरानी भिजाई निदायौ कि आमा !

कि भक्कानियौ सास रोकेर लामो ?

मसी पग्लिंदा बाँध लायौ कि आमा !

**

जहाँ औषधी बन्दथ्यो स्निग्ध हात,

बिसन्चो हुँदा खट्दथ्यौ रात–रात !

म ता काखमा मस्त घुर्थें, र तिम्रो

झपक्कै नभै नेत्र हुन्थ्यो प्रभात ।

**

तिमी स्वप्नमा मुस्कुराएर आयौ,

लिई काखमा फेरि लोरी सुनायौ !

निकै वर्षमा त्यो मिल्यो काख प्यारो,

म लठ्ठै थिएँ झट्ट आयौ बिलायौ !

**

सधैं स्वप्नमा त्यै धरामा म हुन्छु,

र ब्युँझेर भक्कानिंदै नित्य रुन्छु !

तिमी छौ बिरामी अरे ! फेरि आमा,

म यस्तै नमीठा खबर् मात्र सुन्छु ।

**

बिरामी पर्‍यौ ? सोध्छु, सञ्चै छु भन्छ्यौ !

मलाई खुशी पार्न पीडा सहन्छ्यौ !

तिमी जान्दिनौ राम्ररी झूट बोल्न,

लुकाई सबै आँसु हाँस्दै रहन्छ्यौ ।

**

तिनै हात डो¥याउँथे तातिताती,

म डुल्थें बसेरै तिनै काँधमाथि !

तिमी लड्खडायौ अरे ! खै सहारा ?

भनी सोध्दछन् आज साथी–सँगाती ।

**

गिजोल्छन् यहाँ सम्झनाका तरेली,

सधैं प्रश्न गर्छन् भिजेका परेली,

यसै आत्तिंदै, दौडिएँ वा धपायो,

उसै बाध्यताले धकेली–धकेली ?

**

यहाँ चाड हुन्नन्, कुनै पर्व हुन्नन्,

‘गरें काम’ भन्ने कुनै गर्व हुन्नन् !

बडो शुष्क, रूखो छ पात्रो यहाँको,

जहाँ चाह, उल्लास, उत्सर्ग हुन्नन् ।

**

त्यहाँ झैं न ता धेर आफन्त हुन्छन्,

मलामी न हुन्छन्, न ता जन्त हुन्छन् !

छ संसार बेग्लै, अनौठो यहाँको,

न ता शब्दका साथमा अर्थ हुन्छन् ।

**

म फर्कन्छु आमा ! तिमी पर्खिराख,

छ संसारमै उच्च त्यो स्निग्ध काख !

त्यही साग–सिस्नो छ प्यारो मलाई,

म गर्नेछु संघर्ष, बन्दै चलाख ।

comments powered by Disqus

रमझम