१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

बन्द प्रशिक्षणमा खेलाडीको फुर्सद

Share:
  
- निरञ्जन राजवंशी

टीभीमा साफ च्याम्पियनसीपको प्रतिद्वन्दीको खेल हेर्दै नेपाली महिला फुटबल टोली ।

मोबाइल भित्रिनुअघि बन्द प्रशिक्षणका बेला खेलाडीहरु समूहमा रमाइलो गर्थे, तर अहिले फुर्सद पाउने बित्तिाकै इन्टरनेटमा घोत्लिन्छन्।

राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान गणेश थापा खेलाडी जीवनका घटनाहरु सुनाउन खूब रुचाउँछन् । ८० को दशकका यी खेलाडीले बन्द प्रशिक्षणको रमाइलो भुलेका छैनन् । प्रशिक्षणपछिको फुर्सदमा एकअर्कालाई आफ्ना र साथीका प्रेम प्रसङ्ग सुनाउँथे । प्रेममा असफल भएकाहरू चाहिं साहित्यमा भुलिन्थे । कोही त सायरी र कविता लेख्थे ।

यतिवेला १३औं सागका लागि दुई दर्जनभन्दा धेरै खेलका खेलाडी बन्द प्रशिक्षणमा छन् । ठूलो प्रतियोगिता अगाडि हुने लामो समयको बन्द प्रशिक्षणमा खेलाडी निकै व्यस्त हुन्छन् । बन्द प्रशिक्षणको जीवनशैली सामान्यभन्दा फरक हुन्छ । निश्चित समय तालिकामा बाँधिनुपर्छ । खेल्ने, खाने, सुत्ने समय तोकिएको हुन्छ । घरबाट टाढा रहेका यी खेलाडी फुर्सदमा आफ्नो रुचि अनुसार फिल्म हेर्ने, साथीसँग गफिने गर्छन् ।

धेरै खेलाडीको अनुभवमा बन्द प्रशिक्षणको फुर्सद आफैंलाई चिन्ने समय हो । फूटबल कप्तान विराज महर्जन भन्छन्, “यो त्यस्तो समय हो जसले वास्तविक खेलाडी बन्ने बाटो देखाउँछ, किनभने आफूलाई कडा अनुशासनमा राख्नुपर्छ ।”

यो परिस्थितिमा पनि खेलाडीहरू विभिन्न बहानामा रमाइलो गर्छन् । तेक्वान्दो खेलाडी सङ्गीना वैद्य भन्छिन्, “अभ्यासपछि आराम पहिलो प्राथमिकतामा पर्छ । शरीरले पनि त्यतिबेला आराम नै खोज्छ । आराम गर्न सङ्गीतले साथ दिने भएकाले म एक्लै हुँदा विशेषगरी गीत नै सुन्न रुचाउँछु ।” समूहमा हुँदा भने आफ्ना प्रतिभाहरु देखाएर रमाइलो गर्ने उनको भनाइ छ । “नाच्ने, गाउने, जोक्स भन्ने, एकअर्कालाई उडाउने, खुशी साट्ने सबै यही बेला गर्ने हो”, उनी भन्छिन् ।

फुर्सदमा किताब पढ्ने खेलाडी भने निकै कम छन् । प्लेनमा, लामो ट्रान्जिटमा वा कोठामा आराम गर्दा आफ्नो खेलसँग सम्बन्धित किताबमा घोत्लिने निकै कम खेलाडी मात्र देखेको तेक्वान्दोकै अर्का खेलाडी दीपक विष्ट बताउँछन् । “किताब पढ्नु मानसिक रुपमा सक्रिय हुनु हो, यसले थकाइ मेटाउँदैन, त्यसैले खेलाडीहरू पढाइमा भन्दा आफ्नो मानसिक दबाब कम गराउन रमाइलो गर्नतिर नै लाग्छन्”, उनी भन्छन् ।

किताब नपढे पनि खेलाडीहरूले भूगोल पढ्ने, आफ्नो सहयात्रीहरूको जीवनी बुझ्ने, संस्कृति बुझ्ने काम बन्द प्रशिक्षणकै बेला गर्ने विष्टको भनाइ छ । “म सुदूरपश्चिमबाट आएको हुँ, मैले बोल्ने भाषा अन्य सहयात्रीहरूले अलिअलि बुझ्छन् । मैले अलिअलि नेवारी बोल्न बन्द प्रशिक्षणमै सिकें, त्यो बेलाको सम्बन्धका साथीहरू लामो समयसम्म चिनिन्छ”, उनी भन्छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनको अनुभवमा क्रिकेटरहरू बन्द प्रशिक्षणपछिको फुर्सदमा समूहमै छलफल गर्छन् । “खेल र खेलाडीहरूबारे हामी समूहमा छलफल गर्थ्यौं, टिभीमा क्रिकेट लाइभ छ भने सबै मिलेर हेथ्र्यौं, धेरै समय बचेको अवस्थामा भने आइस बाथ लिन व्यस्त हुन्थ्यौं”, उनी भन्छन् ।

फूटबलका पूर्व कप्तान राकेश श्रेष्ठका अनुसार उनका पालामा बन्द प्रशिक्षणका बेला टिमलाई एकजुट बनाउने काम स्ट्राइकर मिलन श्रेष्ठले गर्थे । ९० को दशकका फूटबल खेलाडी मिलन भन्छन्, “म अलि चुलबुले खालको थिएँ । टिममा नबोल्ने, लजाउने साथीहरूलाई सबैसँग बोल्न लगाउने, गम्भीर साथीहरूलाई हँसाउने काम मेरो हुन्थ्यो । त्यसमा छुट्टै मज्जा थियो ।”

नेपालमा मोबाइल भित्रिनुअघि वा इन्टरनेटमा सहज पहुँच भइनसकेको बेला खेलाडीहरू समूहमै रमाउँथे । अहिले समय फेरिएको छ । इन्टरनेट र यूट्यूबले गर्दा खेलाडीहरू अध्ययनशील भएका छन् । सङ्गीना भन्छिन्, “इन्टरनेटको सहयोगमा खेलाडीहरू खेलका नयाँ प्रविधिसँग आफैं जानकार हुन्छन् । प्रतिद्वन्द्वीबारे इन्टरनेटमा खोज्छन्, नयाँ प्रविधि यूट्यूबमा हेर्छन् । यसले खेलाडीहरू बीचको घुलमिल भने घटाएको छ । सबै मोबाइलमै मात्र घोत्लिनु राम्रो होइन ।”

बन्द प्रशिक्षण खेल सम्बन्धित मात्र होइन खेल बाहिरका ज्ञान हासिल गर्ने ठाउँ पनि हो । आज उही खेलाडीसँगै बसेर नाच्ने र भोलि उसैलाई हराउनुपर्ने विषम परिस्थितिको अवस्थाबाट गुज्रिनुपर्ने बन्द प्रशिक्षणमा नै हो ।

comments powered by Disqus

रमझम