१० – २३ कात्तिक २०७६ | 27 Oct - 9 Nov 2019

नदी जस्ता देवकोटा

Share:
  
- माधवप्रसाद घिमिरे
मेरो सम्भवतः सबभन्दा धेरै गाइएको गीत, ‘गाउँछ गीत नेपाली’ मा भएका ‘सुन्दर शान्त विशाल’ शब्द मेरा होइनन्, देवकोटाजीसँग मागेको हुँ। निबन्धमा प्रयुक्त शब्द जस्ताको तस्तै गीतमा मिल्नु उहाँको काव्यात्मकताको प्रमाण हो।

सन् १९५६ मा नयाँदिल्लीमा भएको एशियाली लेखक सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटाका साथमा माधवप्रसाद घिमिरे (बायाँ) ।
देवकोटाजीको निबन्ध ‘के नेपाल सानो छ ?’ पहिलो पटक केमा छापिएको थियो, मलाई याद छैन । तर प्रकाशित हुनासाथ चर्चाको शिखरमा पुगेको थियो । देवकोटाको कलमका माध्यमबाट नेपाली निबन्ध नयाँ युगमा प्रवेश गरेको थियो । त्यस निबन्धले हामीमा रहेको देशप्रेमलाई उँचाइ दियो ।

सबैमा देशप्रेम थियो र देशप्रेम साहित्यको एउटा मुख्य विषय हुन्थ्यो । म गीत लेख्दै थिएँ । ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली जय जय जय नेपाल...’ पछि मलाई देवकोटाजीकै शब्द ‘सुन्दर शान्त विशाल’ लेख्न मन लाग्यो । लेखें । लेखेपछि झ्न् मिले जस्तो लाग्यो । केही दिनपछि देवकोटाजीसित वीर अस्पताल छेउमा भेट भयो । भनें, “कविजी, तपाईंको निबन्धका तीनवटा शब्द त मैले गीतमा पो राखें !”

“कुन शब्द, कसरी राख्नुभयो, सुनाउनुस् त घिमिरेजी”, उहाँले सोध्नुभयो । मैले गीत सुनाएँ । उहाँले प्रतिक्रिया दिनुभयो, “राम्रो ! राख्नुस् राख्नुस् । मलाई खुशी छ ।”

आदरणीय अग्रज

महाकवि देवकोटा मभन्दा १० वर्ष जेठा हुनुहुन्थ्यो । म काठमाडौं आउँदा उहाँ कविका रूपमा चिनिइसक्नुभएको थियो । तर, उहाँका बारेमा धेरै कुरा सुनिन्थे । मानिसहरू ‘देवकोटा अलि पागल खालका छन् रे’ भन्थे । बाहिर भेट्दा कविजीमा त्यस्तो कुनै छाँटछन्द देखिंदैनथ्यो । त्यति मात्र नभएर, जतिवेला पनि लेखेको लेख्यै गरिरहने भएकाले परिवारले कागज कलम पनि दिंदैन रे, अँगारले भित्तामा लेख्छन् रे भने जस्ता कुरा पनि सुनिन्थे ।

एकदिन म उहाँको घरैमा गएँ । मण्डी ओढेका कविजी धनसार जस्तो देखिने कोठामा ट्यूसन पढाइरहनुभएको थियो । एकदम राम्रो मूडमा हुनुहुन्थ्यो । घरको कुनै पनि भित्तामा अँगारले कविता लेखिएको थिएन ।

उहाँ बित्नुभएकै साठी वर्ष भयो । म आफैं पनि निकै बूढो भएँ नि ! धेरै कुराहरू मनबाट धमिलिएर गए । तिथिमिति पटक्कै याद रहँदैनन् । कहिलेकाहीं मान्छेका नामहरू पनि सम्झिदैनन् । तर, आफ्नो मन छोएका कतिपय प्रसङ्गहरू सम्झेर अहिले पनि गद्गद् हुन्छु ।

म पहिलो वर्ष भाषानुवाद परिषद्‌मा गएको थिएँ । अर्को वर्ष देवकोटाजीलाई त्यहाँ भर्ना गर्ने कुरा चल्यो । कुनै किसिमले उहाँ कहाँ कुरा पुग्यो र अन्तर्वार्ताका लागि कार्यालयमा आउनुभयो ।

परिषद्का हाकिम पुष्करशमशेर हुनुहुन्थ्यो । उहाँले देवकोटाजीलाई एउटा निबन्ध लेख्न भन्नुभयो । आधा घन्टाजति पछि निबन्ध लिएर हाजिर हुनुभयो । उहाँ गद्य पनि असाध्य राम्रो स्वर र शैलीमा वाचन गर्नुहुन्थ्यो । त्यो निबन्ध पनि आफैं वाचन गर्न थाल्नुभयो ।

के वाचन भन्नु र, उहाँ गडगडाउन थाल्नुभयो । सबै स्तब्ध भयौं । उहाँको त्यो निबन्धको भाव म अझ पनि सम्झ्न्छु । समयले हामीमा ल्याएको कृत्रिमताका बारेमा एक ठाउँ यस्तो भन्नुभएको थियो– कुखुराको मनको घडी उसैसित छ, ऊ आफैं समयको भेउ पाउँछ । तर हाम्रो मनको प्राकृतिक घडी बिग्रिइसक्यो । हामीले समय थाहा पाउन छिनछिनमा घडी हेर्नुपर्छ । अनि देवकोटाजी पनि भाषानुवाद परिषद्‌मा जागिरे हुनुभयो ।

उहाँ सरस्वती सदनको माथिल्लो भागमा घाममा चकटी ओछ्याएर लेखिरहनुहुन्थ्यो । एकदिन म उहाँले लेखिरहेको ठाउँमा पुगें । मलाई देख्नासाथ अरू केही बोल्न नसके जसरी ‘पानी’ भन्नुभयो । मैले ढलोटको गिलासमा ल्याएर दिएँ । एकै सासमा पिइसक्नुभयो ।

त्यसपछि उहाँले लेख्दै गरेको ठाउँमा वेला वेला पानी लिएर जान थालें । खुरुखुरु लेखेको लेख्यै गर्नुहुन्थ्यो । हामीले कुरा गर्दा नसुने पनि ‘हँ’ मात्र गर्नुहुन्थ्यो । लेख्दा सामान्यतया वाक्यहरूका बीचमा सोचेको देखिंदैनथ्यो । कहिले चाहिं मसलाको रूखलाई हेरेको हेर्‍यै गर्नुहुन्थ्यो ।

परिमार्जन नगर्ने होइन

नयराज पन्त जस्ता विद्वान्हरू आएका वेला पुष्करशमशेर कविता सुनाउन भन्नुहुन्थ्यो । देवकोटा गडगडाएर सुनाउनुहुन्थ्यो ।

तर नयराजजी सीधै भनिदिनुहुन्थ्यो, “यस्ता कविता त हामी मान्दैनौं ।” मलाई देखाएर भन्नुहुन्थ्यो, “कविता त यिनले लेख्छन् ।” खासमा त्यसवेला मेरा त कवितै थिएनन्, कुरा मात्र थिए । जे भए पनि कुरा अर्थपूर्ण थियो ।

देवकोटा शाकुन्तल लेख्दै हुनुहुन्थ्यो । त्यसका पहिला तीनवटा सर्ग छोटा छन्दमा लेख्नुभएको थियो । एकदिन मैले भनें, “कविजी, यस्ता छोटा छन्दका भरमा हुँदैन । आलोचकहरूले पत्याउँदैनन् । तपाईं सकिहाल्नुहुन्छ, अलि लामा छन्दमा लेख्नुहोस् न !”

त्यसबेला त उहाँले सधैंजस्तो ‘हँ’ मात्र गर्नुभयो । तर दुई तीन दिनपछि नै ती तीनैवटा सर्ग पुनर्लेखन गर्नुभएछ । शाकुन्तलका प्रारम्भमा भएका लामा छन्दहरू देवकोटाजीले परिमार्जन गरेपछिका हुन् ।

तासकन्दमा गडगडाहट

उसवेलाको सोभियत संघमा पर्ने उज्वेकिस्तानको मुख्य शहर तासकन्दमा भएको अफ्रो एशियाली लेखक सम्मेलनमा जान देवकोटाजीले मलाई रोज्नु मेरा लागि ज्यादै महत्वपूर्ण घटना हो । दरबारका सरदार हंसमानले देवकोटाजीलाई भनेछन्, “राजाबाट तपाईंलाई तासकन्द सम्मेलनमा सहभागी हुन जाने हुकुम भएको छ । दिल्लीमा राहदानी बनाएर जानुस् ।”

प्रतिनिधिमण्डलको दोस्रो सदस्यका रूपमा उहाँले मलाई रोज्नुभयो । त्यस सम्मेलनमा जान चाहने अरूको आशामा बज्रपात भयो । त्यसको परिणाम पछि देखियो र पछिसम्मै रह्यो । पछिका कुरा पछि गरौंला, पहिले तासकन्द सम्मेलनकै कुरा गरौं ।

उता जाने टुङ्गो भएपछि उहाँले मलाई “माधवजी कन्ट्री पेपर तपाईं तयार पार्नुहोस्” भन्नुभयो । म इन्द्रेणीको सम्पादक थिएँ, लेख्न गाह्रो थिएन । तर पनि उहाँलाई “मलाई बुँदा बताउनुहोस् न” भनें । उहाँले “लेख्नुहोस् न, पछि हेरौंला” भन्नुभयो । म पनि विदेशमा सुनाउनका लागि साहित्यको स्थिति लेख्न पाउने भएँ भनेर फुरुङ्ग परें । लेखें पनि । तर उहाँलाई सुनाउन पाइएको होइन । दिल्लीमा पुगेर पनि “मेरो खेस्रा सुन्नुहोस् न, भयो कि भएन” भनें । “भइहाल्छ नि !” मात्र भन्नुभयो ।

पहिलो दिन हाम्रो पालो थिएन । त्यसदिन बेलुका फेरि भनें, “कविजी, यो त अति भयो । प्रस्तुत गर्ने तपाईंले नै हो । कि मेरो सुन्नुहोस, कि तपाईं तयार गरेर मलाई सुनाउनुहोस् ।” अनि पो उहाँ ‘हँ’ भनेर झ्ल्याँस्स भए जस्तो हुनुभयो ।

हामी आ–आफ्ना कोठातर्फ लाग्यौं । अढाइ तीन घन्टापछि मेरो कोठामा फोन आयो । देवकोटाजीले बोलाउनुभएको रहेछ । अंग्रेजीमा लेखेको १२–१५ पानाको मन्तव्य सुनाउनुभयो । जति बुझें, अद्‌भुत लाग्यो ।

मैले मेरो प्रतिवेदन थन्क्याएँ ।

भोलिपल्ट उहाँ मञ्चमा गएर आफ्नो मन्तव्य पढ्न थाल्नुभयो । तालीमाथि ताली । फ्ल्यास माथि फ्ल्यास । मतिर पनि थुप्रै क्यामेरा तेर्सिए ।

एक त अंग्रेजीको भाषण, त्यही पनि पहिलो दिन राति र भोलिपल्ट भीडमा सुनेकाले र धेरै पुरानो कुरा भएकाले सबै सम्झन्न । तर ‘जीवनका मूल्य मान्यतामा आधारित रहे मात्र कविका कल्पनाका उडानहरू सफल हुन्छन्’ भन्ने वाक्यहरूको बडो काव्यात्मक र ओजपूर्ण प्रस्तुति अहिले पनि सम्झ्न्छु ।

त्यसपछि तासकन्दका पत्रपत्रिकाहरूले हामीसित कविता मागे । उहाँले त लेखिहाल्नुभयो । मलाई पनि लेख्न भन्नुभयो । मैले गीत लेखें । उहाँले अनुवाद गरिदिनुभयो । मैले त्यहींका केही बिम्बहरूको प्रयोग गरेर लेखेको थिएँ । उज्वेकीहरूले मेरो गीत मन पराएपछि देवकोटाले बडो उदार भावमा भन्नुभयो, “अब त तपाईंहरूको जमाना हो ।”

पछि नेपाल फर्केपछि विदा स्वीकृत नगराई गएको भनेर हाम्रो तलब रोक्का भयो । राजा कुलपति भएको एकेडेमीबाट, राजाकै सचिवसित कुरा गरेर जाँदा विदा स्वीकृत गराउने हेक्का हामीलाई रहेन । तर बिन्तीपत्रै हाल्न लगाएर मात्र तलब दिनुपर्ने गल्ती पनि भएको थिएन । त्यो जमाना नै त्यस्तै थियो ।

थपमा हल्ला चलाइयो, देवकोटा कम्युनिष्ट भए, माधव घिमिरेले देवकोटा कम्युनिष्ट भयो भनेर पोल्यो आदि भनेर ।

म कसरी उहाँलाई पोल्थें ? प्रथमतः उहाँले मलाई लग्नुभएको थियो । हाम्रो जागिर एकै ठाउँ थियो । हाम्रो विदा र राहदानीको प्रक्रिया एउटै थियो । उहाँलाई पोलेर म कसरी चोखै रहन्थें र ? अन्त्यमा एउटा रमाइलो कुराः

पहिलो विदेश भ्रमण, हामी त्यसवेलाका ब्राह्मण, खानपिनको निकै समस्या पथ्र्यो । साथै जानुभएको देवकोटा पत्नीले त लाटलोट होला भनेर पाउरोटी मात्र खाएर दिन बिताउनुभयो । म चाहिं अरूको मद्दत लिएर मेनुबाट खानेकुरा छान्थें ।

एकदिन एक जना जापानीसित बसेको थिएँ । उनको भागको कुखुराको फुल देखाएर “म यो चाहिं खान्छु, मगाउन मद्दत गर न !” भनेको त उनले आफ्नै भागबाट त्यो खानेकुरा मेरो भागमा हालिदिए । खानै प‍र्‍यो । खाएँ ।

प्रस्तुतिः केदार शर्मा

comments powered by Disqus

रमझम