२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

तेस्रो जीवनको कामना

Share:
  
- शेखर खरेल
मुलुकको राजनीतिक इतिहासमा वेग्लै उँचाइ बनाइसकेका प्रधानमन्त्री ओलीले आफ्नै स्वास्थ्यलाभका खातिर पनि सत्ता र शक्तिको रापतापबाट टाढा बस्नुपर्ने समय आइसकेको छ।

१४ कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरेर बाहिरिंदै प्रम केपी शर्मा ओली ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको अहिलेको स्वास्थ्य संवेदनशीलताले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पछिल्लो प्रधानमन्त्रीत्वकालको स्मरण गराउँछ । दमको दीर्घ रोग तथा ‘सीओपीडी’ (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज्) ले जीर्ण कोइराला कृत्रिम अक्सिजनमा निर्भर रहनु परेपछि उनले सिंहदरबारको काम बालुवाटारबाटै चलाउन थालेका थिए ।

कोइरालाको स्वदेशी र विदेशीसँगको भेटघाट, मन्त्रिपरिषद्को बैठकदेखि पार्टीका बैठक र छलफल प्रधानमन्त्रीको निवासबाटै हुने गर्दथ्यो । पार्टीका बैठक र कार्यक्रम कम्तीमा पनि पार्टी कार्यालयमै हुनुपर्ने भन्दै आलोचना भइरहेको वेला प्रम एवं (नेकपा) पार्टी अध्यक्ष ओलीको स्वास्थ्य जटिल मोडमा पुगेपछि सिंहदरबार सँगसँगै धुम्बाराही (नेकपा मुख्यालय) पनि बालुवाटारमै खुम्चिएको छ ।

भ्रममा पर्न नहुने कुरा के हो भने देशका कार्यकारीको दायित्व उनको नीतिगत कार्यसम्पादन र शिष्टाचार भेटमा मात्र सीमित रहँदैन । उनी मानसिक रूपमा जति चुस्त रहनुपर्छ, शारीरिक रूपमा पनि त्यति नै तन्दुरुस्त रहनु आवश्यक छ । केन्द्र र सरकारी निवासको सुविधाबाट निस्केर मुलुकका दूरदराजसम्म पुग्दै अभाव र पीडामा बाँचेका देशवासीको क्षमकुशल सोध्न सक्नुपर्छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको तन्दुरुस्तीको शैली अनौठो मानिन्छ । साइवेरियाका निर्जन ठाउँमा बलिउड अभिनेता सलमान खानको शैलीमा शर्ट उतारेर घोडसवार, पौडी र माछा मार्दै उनी आफ्ना वार्षिक विदा व्यतीत गरिरहेका देखिन्छन् । आफ्नो रुचि र सुविधा अनुसार अन्य विश्व नेताहरूलाई गल्फ, आइस स्किइङ, फूटबल, बास्केटबल जस्ता आउटडोर खेल खेल्दै विदा वा फुर्सदिलो समय बिताउँदै गरेको देख्न सकिन्छ । हाम्रै छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी योगका अनौपचारिक वैश्विक ‘ब्राण्ड एम्बेसडर’ हुन् । उनका योग र कडा कसरत गर्दै गरेका भिडियो र तस्वीरहरूले आम मानिसको ध्यान खिचिरहेका हुन्छन् ।

यस विपरीत उमेर तथा स्वास्थ्यका कारण राजपाट त्याग गरिएका उदाहरण पनि प्रशस्तै छन् । राजनीतिमा एउटा उँचाइ हासिल गरेका राजनेताहरू सत्ता निरपेक्ष रहँदै अभिभावक (गार्डियन एन्जेल) का रूपमा रहन रुचाउँछन् । यसो गर्दा उनीहरू विवाद घेराबाट मात्र बाहिर रहँदैनन् दलीय भन्दा पनि राष्ट्रिय व्यक्तित्वमा रूपान्तरित हुन्छन् । रङ्गभेद विरोधी नेल्सन मण्डेलादेखि आधुनिक सिङ्गापुरका परिकल्पनाकार ली क्वान यूको कार्यकारी प्रमुखबाट स्वेच्छिक अवकाशको उद्देश्य र सन्देश यही थियो । मोदीको पहिलो प्रधानमन्त्रीत्वकालका दुई हस्ती विदेश मन्त्री सुष्मा स्वराज र वित्त मन्त्री अरूण जेट्ली सन् २०१९ को आम निर्वाचनको मैदानमै उत्रेनन् । मिर्गौला प्रत्यारोपित यी दुई नेताको केही अघि मात्र देहावसान भयो ।

भनिन्छ सत्ताको राप र तापद्वारा मानिस दिग्भ्रमित बन्छ, अतिशय मोहमा फस्छ । शक्तिका कारण मानिस अहङ्कारी र उन्मादी पनि बन्छ । तर सत्ता शक्तिका पीडा र जोखिम पनि उत्तिकै छन् । सत्तामा सजिलै पुग्न सकिएला तर टिकिरहन भने दुरुह छ, अनेकौं तनाव र तिकडमवाजी झेल्नुपर्छ ।

गिरिजाप्रसाद कोइराला सत्तामा रहँदा दिवङ्गत अमेरिकी राष्ट्रपति जोन एफ केनडीको भनाइ (आफ्नै शैलीमा) अभिव्यक्त गरिरहन्थे, “जब म झण्डावाल गाडीबाट बाहिर हेर्छु, सडकपेटीमा हिंडिरहेका हर एक मान्छे खुशी देख्छु, यस्तो वेला मलाई लाग्छ यदि कोही दुःखी छ भने त्यो झण्डावाला गाडीभित्रको म नै हुँ ।” तर वैराग्य भावको यस्तो अभिव्यक्ति दिने कोइराला जीवनपर्यन्त सत्ताको चास्नीमै फसिरहे । उनी कहिल्यै सत्ता वितरागी देखिएनन्, बरु तिकडमकै पर्याय बनिरहे ।

असोज २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्री बनेका ओलीले पार्टीको एक कार्यक्रममा प्रष्टसँग भनेका थिए, “मलाई लामो समय सत्तामा रहने सुविधा छैन, त्यसैले म छिटोछिटो काम गर्नेछु ।” जीवनमा एकपल्ट प्रधानमन्त्री हुने लक्ष्य लिएका ओलीका निम्ति नियतिले अर्को पल्ट (त्यो पनि प्रचण्ड बहुमतका साथ) पनि प्रधानमन्त्री हुन साँचेको रहेछ ।

बाह्र वर्षअघि मिर्गौला ‘फेलर’ हुँदा ओलीले प्रत्यारोपण मार्फत दोस्रो जीवन पाएका थिए । ओलीको ‘नाफाको जीवन’ बाट मुलुकले ठूलो अपेक्षा गरेको थियो । तर उनको पहिलो प्रधानमन्त्रीत्वकाल भारतको नाकाबन्दीको माथापच्चीमै बित्यो । पूर्ण (अझ् दुईतिहाइ) बहुमत सहितको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा पनि जनताको जीवनमा गुणात्मक परिवर्तन देखिने कुनै काम हुनसकेको छैन । आम अपेक्षा विपरीत उनी ‘फेलर’ बन्दैछन्, जसलाई निर्मम समीक्षा र इच्छाशक्तिबाट ‘सक्सेस’ बनाउन नसकिने होइन ।

यसैबीच प्रम ओलीले बाह्र वर्षअघि प्रत्यारोपण गरेको मिर्गौला फेरि ‘फेलर’ कै सन्निकट छ । आशा गरौं, पुनः प्रत्यारोपण मार्फत उनले तेस्रो जीवन पाउने छन् । अहिले उनका निम्ति सत्ता भन्दा पनि स्वास्थ्य महत्वपूर्ण कुरा हो । आरोग्यलाभका लागि सत्ता परित्याग गर्ने यो राम्रो अवसर पनि हो । यसो गरे उनी सत्ता र स्वास्थ्यको ‘फेलर’ बाट सकुशल बच्न सक्नेछन् ।

comments powered by Disqus

रमझम