२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

डोजर आतङ्क

Share:
  
- मिलन बगाले
जताजता डोजर गयो उताउता डाँडापाखा भत्कने मात्र हैन, सामाजिक सद्भाव पनि भत्कँदै गएको छ।

तस्वीर: ‘स्वागत क्रियशन’ युट्युवबाट
विगत केही वर्षयता देशमा डोजर आतङ्क चलिरहेको छ । डाँडापाखा, वनजङ्गलदेखि गाईभैंसी हिंड्ने डहरमा धमाधम डोजर जोतिंदैछ । सानो घर वा शौचालयको जग खन्न, खेतका आली फोरेर गरो फराक बनाउन समेत डोजर बोलाउनुले यो फेशन बनिसकेको पुष्टि हुन्छ । घरबारीमा डोजर आउनुलाई गाउँमा सम्पन्नताको मानक मान्न थालिएको छ ।

हामी सानो छँदा डोजर देख्नु दुर्लभ जस्तै थियो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान शुरू भएसँगै जनश्रमदान मार्फत गाउँमा बाटो बन्न थालेका थिए । ‘कामका लागि खाद्यान्न’ परियोजना अन्तर्गत स्थानीयले बाटो खने बापत चामल पाउने कार्यक्रम पनि चलेका थिए । चलनचल्तीका बाटालाई खनखान पारेर फराक पार्ने अभियानमा कोदाली, गैंती बोकेर सहभागी भइरहँदा हामी भुराभुरीलाई लाग्थ्यो, यो देश खनिसाध्य छैन । डरलाग्दा डाँडा, भीर, पहरा, बडाबडा चट्टान र ठूलाठूला रूख । मान्छेले खनेर पनि यस्तो भीरपाखामा बाटो बन्छ ? यो देशले डोजर नभएरै दुःख पाएको हो । डोजर भए एकैदिन कति बाटो भस्काउँथ्यो । अनि पो गाउँको जीवन शहरसँग जोडिन्थ्यो । बिजुलीको पोल र लट्ठा गाउँमा आउँथ्यो । मोटर आउँथ्यो, मास्टर र डाक्टर आउँथे, पुलका लट्ठा आउँथे । जिन्दगी जिन्दगी जस्तो हुन्थ्यो ।

त्यसैले पनि हुनुपर्छ, बाल्यकालमा हामी सपनामा पनि डोजर देख्थ्यौं । पहिला बकेटवाला स्काभेटरभन्दा बडेमाका फाली र चेन भएका डोजरले बाटो खन्थे । टाढा टाढा एकाध ठाउँमा डोजरले जोत्दा बिहानदेखि बेलुकासम्म त्यतै झुम्मिन्थ्यौं । बाटो बनाउन अवरोध त त्यतिवेला पनि हुन्थ्यो नै । बाटै छेकेर लमतन्न सुत्नेहरू पनि हुन्थे । कसैले सुन्तलाको बोटलाई अँगालो हाल्थे, कसैले घाँसको बुटोलाई । अवरोध गरेर बसेकालाई डोजरले बडो जतनसँग जुरुक्क उठाउँथ्यो र आनन्दले कुनै कुनामा लगेर थपक्क राखिदिन्थ्यो । त्यो कहालीलाग्दो भन्दा पनि साहसिक दृश्य बन्थ्यो ।

तर, ५ कात्तिक सामाजिक सञ्जालमा एउटा संवेदनाहीन भिडियो सार्वजनिक भयो । बैतडीको दशरथचन्द नगरपालिकाको दृश्य थियो, त्यो । बाटो खन्न अवरोध गरेका स्थानीयलाई स्काभेटरको बकेटले अन्धाधुन्द हानेर घाइते पारिएको क्रूर र बर्बर घटना । डोजर लगाएर मान्छे पेलिएको यो घटनाले देशमा डोजर आतङ्कले कुन हद पार गरेछ भन्ने सजिलै बुझन सकिन्छ ।

गाउँगाउँमा सरकारी र निजी डोजर पुगेसँगै तिनले डाँडापाखा भत्काउने काम पाएका छन् । सरकारी बजेट सिध्याउने सबैभन्दा सजिलो माध्यम नै बाटो बनेको छ । खनिदिएपछि सक्कियो । भवन बनाएर वा अरू काम गरेर हिसाब मिलाउनभन्दा यसो गर्नु धेरै सजिलो छ । सरकारले रु.१ करोडभन्दा कमका योजनामा डोजर लगाउन रोकेको छ । तर, नियम पालन भएको छैन । किन पनि भने, अधिकांश ठाउँमा डोजर मालिकहरू नै वडाध्यक्ष र वडासदस्य बनेका छन् । काम देखाउन र दाम कमाउन उनीहरूलाई यही नै सजिलो माध्यम बनेको छ । निर्माण व्यवसायीलाई पनि मान्छे लगाउनुभन्दा डोजर सस्तो पर्ने भएकोले साना–ठूला सबै योजनामा ‘डोजर राज’ चलेको छ ।

सडक सञ्जालपरको मानव जीवन धेरै कष्टकर छ तर यसको समाधान लगाम विनाका घोडा जस्तै डोजर दौडाउनु हैन । बाटो बनाउन पहिला जमीनको सर्वेक्षण गर्नुपर्‍यो । बाटोको डिजाइन बनाउनुपर्‍यो । त्यसपछि बल्ल आवश्यकता अनुसार डोजर, स्काभेटर, मान्छे जे–जे चाहिन्छ त्यसको प्रयोग गर्नुपर्‍यो । डोजर पुगेको बाटोमा मोटर पुग्छ भन्ने मानसिकताले अहिले देशका समग्र डाँडापाखा छियाछिया भएका मात्र हैनन्, त्यस्ता बाटा मृत्युमार्ग पनि बनेका छन् । बाटो भन्नै नमिल्ने यस्ता संरचनाले प्राकृतिक प्रकोप निम्त्याएका छन्, दुर्घटनाहरू बढेका छन् ।

अब डोजर आतङ्कलाई लगाम कस्ने वेला भइसकेको छ । विना सर्भे, डिजाइन र इष्टिमेट खनिएका बाटालाई भुक्तानी नदिने, सानातिना योजनामा डोजर जोत्नै नदिने र नियम नमान्नेलाई कारबाही गर्न ढिलो गर्नुहुन्न । बाटो खनेको खन्यै गर्नुभन्दा अब एकाध वर्ष दुर्गम बाहेक, भएका बाटाहरूको विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्छ ।

डोजरले छियाछियाले देश बन्दैन । यो तथ्य आत्मसात् गरौं र डोजर आतङ्कको लगाम कसौं ।

comments powered by Disqus

रमझम