२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

स्वदेशमै व्यावसायिक घरेलु कामदार

Share:
  
- लक्ष्मी बस्नेत
भरपर्दो कामदार नपाएका र कामको खोजीमा रहेकाहरूका लागि घरेलु कामदार आपूर्ति गर्ने संस्था एवं कम्पनी सहयोगी बनेका छन्।

घरेलु श्रमिकको तालिम लिंदै महिला ।तस्वीर: हाम्री बहिनी
पुरानो बानेश्वर, काठमाडौंका रविन र सञ्जिता पौडेल दम्पतीलाई एक वर्ष अघिसम्म कार्यालयमा काम गरिरहँदा दिउँसो स्कूलबाट फर्किने छोरी लिन पुग्नुपर्ने धपेडीले छोप्थ्यो । बडो मुश्किलले अफिसबाट आलोपालो निस्किएर घरमा छोरीलाई खाजा खुवाउने र रेखदेखको काम सम्हाल्थे । लाजिम्पाटस्थित एक ब्याङ्कमा कार्यरत सञ्जिता भन्छिन्, “पाँच वर्षीया छोरी साढे ३ बजे स्कूलबाट आएपछि खाजा खुवाउने र बेलुकाको खाना समेत पकाउने गरी कामदार राखेको एक वर्ष भयो । अहिले ढुक्क छ ।”

घरायसी कामकाज सम्हाल्न समस्या भोगिरहेका सञ्जिता जस्ता धेरैलाई लक्षित गरेर पछिल्ला वर्षहरूमा काठमाडौंसहित ठूला शहरी क्षेत्रमा विभिन्न संस्था र कम्पनीहरूले घरेलु कामदार आपूर्ति गर्न थालेका छन् । यिनीहरूले कामको प्रकृति हेरेर महिला र पुरुष कामदार पूर्णकालीन र निश्चित समयको लागि (पार्ट टाइम) उपलब्ध गराउँछन् । जसबाट कामदार खोज्नेलाई मात्र सहज भएको छैन, कामको खोजीमा रहेकाहरूले रोजगारी समेत पाएका छन् ।

दम्पतीकै बढ्दो माग

कामदार आपूर्ति गर्ने संस्था तथा कम्पनीहरूले घरेलु श्रमिक (हाउसमेड), सुत्केरी तथा बिरामी स्याहार्ने, कार्यालय एवं व्यावसायिक भवनहरूको सरसफाइ (हाउस किपिङ) गर्नेदेखि घरपाले र मालीहरूसम्मको सेवा उपलब्ध गराउँदै आएका छन् । यी काममध्ये भातभान्सा, सरसफाइ आदि गर्न महिला कामदारको माग सबैभन्दा बढी हुने गरेको छ ।

२०६७ सालदेखि घरेलु र कार्यालय प्रयोजनका कामदार उपलब्ध गराउँदै आएको एक्टिभ डोमेस्टिक वर्कर कन्सल्टेन्सीका अध्यक्ष प्रशान्त डङ्गोलका अनुसार, एकल परिवारको प्रचलन बढेका कारण घरेलु कामदारको माग ह्वात्तै बढेको छ । “पहिले धनीमानीको घरमा मात्र काम गर्ने मान्छे राख्ने प्रचलन र मान्यता थियो, अहिले भने एकल परिवार र कामकाजी हुने अभ्यासले घरेलु कामदारको माग बढेको छ”, डङ्गोल भन्छन् ।

घरेलु श्रमिक महिलाको हक–अधिकारका लागि केन्द्रित घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालले दुई वर्ष अघि गरेको सर्वेक्षणले समुदायमा घरेलु श्रमिकको महत्व बढ्दो रहेको देखाएको छ । २०० जना रोजगारदातासँगको सर्वेक्षणमा घरेलु श्रमिक नभएमा आफ्नो काममा जान ढिला हुने, जागिर छाड्नुपर्ने अवस्था निम्तिने, तारन्तार बिदा लिइरहनुपर्ने जस्ता समस्या बताएका थिए ।

घरेलु कामदारमध्ये पनि दैनिक सरसफाइ, भातभान्सा र बच्चा हेरचाह आदि कामका लागि महिलाको माग बढी छ । डङ्गोलका अनुसार, घर कुरुवा, सुरक्षागार्ड र घरका पुरुष सदस्य बिरामी छन् भने मात्र पुरुष कामदारको माग हुने अन्यथा घरेलु काममा अधिकांश माग महिला कामदारकै हुन्छ । अपवाद बाहेक कामदारको सेवाप्रति सबैजसो घर तथा रोजगारदाता सन्तुष्ट रहेको उनी बताउँछन् ।

काठमाडौं चाबहिलकी शर्मिला खत्री तिनै सन्तुष्ट रोजगारदातामध्ये पर्छिन् । कामदार ल्याउनु अघि संस्थाका प्रतिनिधि र कामदारसँग कुराकानी गरेकी उनी संस्था मार्फत सेवा लिंदा काम गर्नेहरू जिम्मेवार हुने बताउँछिन् । “कामदारलाई सम्बन्धित कामको तालिम दिएर के गर्ने, के नगर्ने भन्ने पनि सिकाइएको हुँदो रहेछ”, खत्री भन्छिन् ।

यस्ता संस्था मार्फत कामदार लिंदाको फाइदा के हो भने, केही गुनासो भए संस्थालाई नै भन्न पाइन्छ । कामदार चित्त नबुझे अर्को कामदारको प्रबन्ध मिलाइदिन्छ । पाँच वर्षदेखि बेरोजगार र रोजगारदाताबीच पुलको काम गरिरहेको रोजगारी पसल (रोजगारी डटकम) ले कामदार राखिएको घरमा नियमित अनुगमन गरेर दुवै पक्षको प्रतिक्रिया लिने, चित्त नबुझेका कामदार फेर्ने जस्ता सेवा दिंदै आएको छ । कम्पनीले दैनिक आठ घण्टा खट्ने कामदार उपलब्ध गराए बापत एक पटक सेवा शुल्क रु.५ हजार लिएर यस्तो सेवा दिन्छ । कामदार आपूर्ति गर्ने प्रायः संस्थाले यसैगरी रोजगारदाताबाट कामको प्रकृति र ‘फुल टाइम’ वा ‘पार्ट टाइम’ कामदार राखेको आधारमा शुल्क लिने गरेका छन् ।

रोजगारी पसलले ‘यहाँ काम र कामदार पाइन्छ’ भन्ने सूचनासहित काठमाडौं (शान्तिनगर) सहित इटहरी, विराटनगर, पोखरा, वीरगञ्ज र नेपालगञ्जमा सटर नै खोलेर काम गरिरहेको छ । कम्पनीले सम्पर्कमा आउने कामदारलाई तालिम दिएर माग भएका घर तथा कार्यालयमा पठाउने गरेको छ । कामदारमा कम पढेलेखेका र अशिक्षितलाई प्राथमिकता दिएको बताउने रोजगारी पसलका व्यवसाय प्रबन्धक संजीवकुमार निरौला भन्छन्, “रोजगारदातासँग शुल्क लिए पनि कामदारसँग भने तालिम/अभिमुखीकरण निःशुल्क दिएर रोजगारीको विकल्प दिइरहेका छौं ।”

‘हाम्री बहिनी’ संस्थाले पनि पाँच वर्षयता घर तथा कार्यालयहरूमा चिया/खाना पकाउने, सरसफाइ गर्ने महिला कामदार आपूर्ति गरिरहेको छ । संस्थाकी प्रमुख सुस्मिता शर्मा पढेलेखेका महिलाले घर र बालबच्चा हेर्नुपर्ने जिम्मेवारीका कारण जागिर खान नपाउने र नपढेकाहरूले काम नपाउने अवस्था नआओस् भनेर यस्तो सेवा शुरू गरेको बताउँछिन् । “घरभित्रको भातभान्सा र बच्चा हेर्ने कामबाट एक जना महिलाले आम्दानी गर्दा अर्को महिलाले ढुक्कसाथ जागिरमा जान पाउँछिन्”, शर्मा भन्छिन् ।

रोजगारदाता र कामदार दुवैलाई फाइदा

कामदार आपूर्ति गर्ने संस्था, कामदार र रोजगारदाताका अनुसार, संस्था मार्फत काममा जाने र कामदार लिने दुवैलाई फाइदा हुन्छ । रोजगारदाताले खोजेको कामको प्रकृति अनुसार चाहेको समयका लागि तालिमप्राप्त कामदार पाउँछन् भने कामदारले पनि रोजगारीको असीमित विकल्प पाउँछन् । व्यक्तिगत समझदारी काम गर्दा श्रमशोषण लगायत विभिन्न झञ्झट भोग्नुपरे पनि संस्था र कम्पनी मार्फत काम गर्दा धेरै सहज भएको कामदारहरूको अनुभव छ ।

कैलालीकी नारायणी चौधरी रोजगारी पसल मार्फत चाबहिल मित्रपार्कको एक घरमा काम गरिरहेकी छन् । एक छोराकी आमा उनी निरक्षर भए पनि घरेलु कामदारका रूपमा व्यवस्थित इलम गर्न पाएको भन्दै खुशी साट्छिन् । चौधरीले टेलिफोनमा भनिन्, “ज्यालादारी काम गाह्रो भएर के गर्ने भनेर खोजी गर्दा घरमा बसेरै गर्ने काम पाएँ । यही घरमै आमा–छोरा बस्छौं, राम्रो छ ।”

कामदार उपलब्ध गराउने संस्था र कम्पनीहरू कामदारको श्रमशोषण नहुने दाबी गर्छन् । उनीहरूका अनुसार, श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक मासिक रु.१३ हजार ४५० र ऐन अनुसारकै सेवा–सुविधा श्रमिकले पाउने गरी रोजगारदातासँग सम्झौता गरिदिने गरेको बताउँछन् । पार्ट टाइम, घरमै सधैं बस्ने/पढ्ने वा आठ घण्टा काम गर्ने तीन किसिमको प्रकृति अनुसार संस्थाको रोहबरमा पारिश्रमिक र सेवा–सुविधामा सम्झौता हुने गरेको संस्थाका प्रतिनिधिहरूको भनाइ छ ।

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कामदार आपूर्ति गर्ने संस्था/कम्पनी तथा यस मार्फत कामदार लिनेहरूले श्रम ऐन पालना गर्नुपर्ने व्यवस्था गरेको छ । रोजगारी पसलका व्यवसाय प्रबन्धक निरौला रोजगारदाताले श्रम ऐन अनुसार सेवा–सुविधा दिन नमान्दा र वातावरण राम्रो नहुने देखिए कामदार नपठाउने बताउँछन् । यसैले पनि सन् २०१९ को अक्टोबरसम्ममा रोजगारी पसलमा करीब ५०० जना कामदारको माग भए पनि १५० जना मात्र पठाएको उनी बताउँछन् ।

नुवाकोटकी जानुका बुढाथोकी संस्थामा काम सिकेर जाँदा सजिलो भएको अनुभव सुनाउँछिन् । गाउँमा माटोले घर लिपेकी उनलाई काठमाडौंको घर कसरी सफा गर्ने, ग्यास र राइसकुकरमा कसरी खाना पकाउने होला भन्ने लाग्थ्यो । “त्यस्ता सबै काम संस्थाले सिकाएपछि कुनै गाह्रो भएन”, उनी सुनाउँछिन् ।

गाउँबाट आएका धेरै महिलाले व्यक्तिगत हिसाबले घरहरूमा काम गर्दा वासिङ मेसिन, भ्याकुम क्लिनर, खाना पकाउने प्रविधिहरू चलाउन नजानेर गालीगलौज र दुव्र्यवहारको सामना गर्नुपर्ने संभावना बढी हुन्छ । तर संस्था र कम्पनी मार्फत काम सिकेर गएपछि त्यस्तो दुव्र्यवहार भोग्नु नपर्ने हाम्री बहिनी की कार्यक्रम प्रमुख शर्मा बताउँछिन् ।

घरेलु श्रमिकहरूको संख्या बढिरहँदा यस्तो श्रमलाई सम्मानजनक बनाउन सकिए यही कामका लागि विदेशिनेहरूले स्वदेशमै रोजगारी गर्ने घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारी बताउँछिन् । यसका लागि घरेलु श्रमिकलाई सरकारले श्रमिकको रूपमा स्वीकार गरेर पारिश्रमिक र सेवा–सुविधा तोक्नुपर्ने उनको भनाइ छ । श्रम ऐन, २०७४ को धारा ८८ मा घरेलु श्रमिक सम्बन्धी छुट्टै न्यूनतम पारिश्रमिक तोकिनुपर्ने, तोकिए बमोजिमको बिदा लगायत सेवा–सुविधा दिनुपर्ने व्यवस्था गरिए पनि अहिलेसम्म तोकिएको छैन ।

श्रम मन्त्रालय अन्तर्गत गठित श्रमिकको पारिश्रमिक निर्धारण समितिका सदस्य एवं ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष दीपक पौडेल छुट्टै व्यवस्था नहुन्जेल अन्य श्रमिक सरह ८ घण्टा ड्यूटीको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४५० रुपैयाँ हुने बताउँछन् । “पार्ट टाइम काम गर्नेको कार्य–घण्टा अनुसार तथा खाने/बस्ने गरी रोजगारदाताकै घरमा बसे मासिक पारिश्रमिकमा एकतिहाइ कटाएर दिनुपर्ने गरी परिपत्र भएको छ”, पौडेल भन्छन् ।

comments powered by Disqus

रमझम