२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

सम्पदा भत्काउँदै सडक

Share:
  
डोल्पोमा बनिरहेको नयाँ राजमार्ग पदयात्रीका लागि खुशीको खबर बनिरहेको छैन।

सोनाम छोक्यी लामा, डोल्पो

तस्वीरहरुः सोनाम छोक्यी लामा
पश्चिम उत्तरी नेपालको सुक्खा पहाडहरूले घेरिएको धो उपत्यकामा याकका घाँटीमा बाँधिएको घण्टी र ध्वजाका आवाज मात्र सुनिन्थ्यो । तर, अब त्यहाँ इन्जिनको आवाज पनि थपिएको छ ।

एकताका शान्त यो उपत्यकामा अहिले चिनियाँ मोटरसाइकलहरू धुलो उडाउँदै दौडेका भेटिन्छन् । स्काभेटरका पहाडै थर्किने आवाजको गर्जन पनि सुनिन्छ । लाग्छ, अब चाँडै सुमो पिकअपहरू पनि यहाँ आइपुग्न बेर लाग्नेछैन, किनकि सदरमुकाम दुनै भर्खरै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । हालै नेपालको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिङफिङले ‘भूपरिवेष्टितबाट भूजडित राष्ट्र हुने नेपालको चाहनामा सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालबाट हिमालय पारि चीनसम्म सडक निर्माणको कुरा पनि गरेका छन् । यसका लागि डोल्पोको यो भूमि ‘उत्तम’ कडी हुने छाँट पनि देखिन्छ । तराईदेखि हिमाल पार चीनसम्म जोड्ने कालीगण्डकी करिडोर नेपालको प्राथमिकतामा परेको सडकमध्येको एक हो । यो सडक मुस्ताङदेखि चिनियाँ सीमा कोराला चेकपोष्टसम्म पुग्छ । तिब्बती सीमा मरिम पासबाट दुनैसम्मका लागि बनाइएको नयाँ सडकले अहिले धो र छार्खा टेकिसकेको छ । सडकको केही अंश त अहिल्यै मोटर चलाउन मिल्ने खालको छ । मोटरसाइकलहरू धूलो उडाउँदै ठूलो आवाजसहित पदयात्री अघिअघि दौडन्छन् । तर, यो बाटो बनेकोमा पदयात्री मात्र होइन, लज सञ्चालकहरू पनि खुशी छैनन् ।

“मोटरसाइकलहरू अन्यन्त तीव्र गतिमा झ्र्को लाग्ने गरी दौडन्छन् । स्कूले बालबालिका र बूढाबूढीका लागि यसले जोखिम निम्त्याइरहेको छ । मलाई लाग्छ, कुनै दिन यसले कसैको ज्यान नै लिनेछ”, सित्चो गुम्बाका भिक्षु तेञ्जिन गुरुङ भन्छन् । तर, यहाँका एक युवा व्यापारी भने उत्साहित छन् । सडक बन्यो भने बजारसम्मको पहुँच वृद्धि हुनेछ र खाद्यान्नको मूल्य पनि घट्ने उनको तर्क छ । चुम, मनाङ र मुस्ताङमा पनि तीव्र गतिमा सडक निर्माणको होड चलेको छ । सडकसँग नजोडिएको अन्तिम जिल्ला डोल्पा नै थियो । तर, अब सडक जोडिएपछि लाग्छ, यहाँको जस्तो नाटकीय परिवर्तन अन्यत्र हुनेछैन ।

मो ला पास (५०२१ मी) डोल्पाबाट मुस्ताङ जाने प्राचीन व्यापारिक मार्ग हो । तर, यसैसँग जोडिएको भागमा स्काभेटरले पदयात्रा मार्ग पहिल्याउँदै बाटो सम्याइरहेको छ ।

“जोडले चल्ने चिसो हावाले चुनौती दिइरहेको छ, डिजल पनि मुस्ताङको मुलेबाट खच्चडमा बोकाएर ल्याउनु परिरहेको छ”, स्काभेटर चालक पदमबहादुर भन्छन् ।

आयआर्जनका लागि पदयात्री समूहमा भर पर्नेहरू भने सडकको विरोध गरिरहेका छन् । सडक बनाउने नै हो भने पनि पुराना व्यापारिक र पदयात्रा मार्ग मास्न नहुने उनीहरूको अनुनय छ । तर, यसको सुनुवाइ हुने सम्भावना न्यून छ ।

वास्तुकलाविद् सोनाम लामाले आफ्नो पुख्र्यौली थलो चुम उपत्यकासम्म बाटो पुग्न नदिन ठूलो संघर्ष गरे । तर, उनले भनेर केही भएन । “अझै पनि समय छ, यी पदमार्ग मासेर ठूला सडक बनाउनुहुँदैन, मोटरका लागि वैकल्पिक बाटो बनाउनुपर्छ”, उनी भन्छन् ।

अहिले डोजरहरूले पवित्र छोर्तेन र मणिका भित्ताहरू जोतिरहेका छन् । स्काभेटर चालक स्वयं चार्खावासीलाई अवरोध पुर्‍याएका कारण आफूले एउटा मणिको भित्तो एक ठाउँबाट अर्को ठाउँमा सारेको बताइरहेका थिए ।

कतिपय गाउँले भने, डोल्पोले सम्पदा संरक्षणमा कागवेनीको अनुसरण गर्नुपर्ने बताउँछन्, जहाँ सम्पदाहरू जोगाउँदै विकास कार्य गरिएको छ । तर, डोल्पोले त बाँकी नेपालको जस्तै गल्ती गरिरहेको छ । स्थानीय वा संघीय सरकारहरूले सामान्य निगरानी गर्दा मात्रै पनि डोल्पोमा धेरै छिटोछिटो धेरै कुरा परिवर्तन भइरहेको देख्न सक्छन् ।

कागवेनीस्थित मुक्तिनाथ होटलका सञ्चालक रामप्रसाद शेरचन डोल्पोमा सडक बनाउन पदमार्गलाई नै रोजिएकोमा आश्चर्य मान्छन् । “सडक गाउँ हुँदै किन लगियो, पवित्र स्थलहरू किन भत्काइयो भन्ने कुनै कारण नै भेटिन्न”, शेरचन भन्छन्

comments powered by Disqus

रमझम