२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

विभेदको कहाली

Share:
  
- लक्ष्मी बस्नेत

पुस्तक आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत (गैरआख्यान) लेखक मेघराज रसाइली प्रकाशक समता फाउण्डेशन पृष्ठ ३२३+५, मूल्य रु.४५०
१९१० सालको मुलुकी ऐनको दफा २१ मा जैसी बाहुनले उपाध्याय बाहुनलाई जानी जानी आफूले छोएको खुवाए २० रुपैयाँ दण्डको व्यवस्था गरिएको थियो । ब्राह्मणभित्रै उपाध्याय र जैसीबीचको विभेद विभिन्न स्वरुपमा अहिलेसम्म कायमै भए पनि दण्डित भने हुनुपर्दैन । जस्तो, उपाध्याय ब्राह्मणले क्षेत्रीसँग बिहे गरे सन्तान जैसी हुन्छन्, बोलीचालीको भाषामा ‘जात जान्छ ।’ यो ब्राह्मणभित्रैको विभेद मात्र नभएर क्षेत्रीलाई गर्ने जातीय छुवाछूतको स्वरुप पनि हो ।

पहाडे ब्राह्मणको मात्र होइन मैथिल ब्राह्मणमा पनि ठूलो र सानो जात छ । पूजापाठ गर्ने ब्राह्मणलाई उच्च मानिन्छ भने कर्मकाण्ड गर्नेलाई तल्लो । ब्राह्मणबीच मात्र होइन हरेक जातिभित्रको आन्तरिक विभेदलाई पत्रकार मेघराज रसाइलीले आफ्नो पुस्तक ‘आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत’ मा वयान गरेका छन् ।

लिच्छविकालमा खत्री, घर्ती र ठकुरीलाई क्षेत्री मानिंदैनथ्यो । अझै जनै लगाउने र नलगाउने तथा जाँडरक्सी, कुखुरा खाने र नखाने क्षेत्री भन्ने चलन छ । जनजातिमा पनि आन्तरिक विभेद छ । नेवार समुदायमा ‘जनै लगाउने बाहुनदेखि सनै फुक्नेसम्म’ छन् भनिन्छ । यसले नेवारको आन्तरिक विभेदलाई देखाउँछ । जोशी लगायत थरले नेवारकै केही थरलाई ‘पानी नचल्ने’ का रुपमा मान्छन् ।

गैरदलितले दलितलाई गर्ने छुवाछूत कानूनतः दण्डनीय भइसकेको छ । तर, दलितभित्रै पनि कथित उच्च जात जस्तै आन्तरिक विभेद छ । दमाईले छोएको कामीले नखाने अवस्था छ । दमाईभन्दा ‘तल्लो’ जात पनि कैयौं छन्, जसले छोएको पानी कामी÷दमाईलाई चल्दैन । यसरी एक जातले अर्कोलाई गर्ने विभेद मात्र नभएर आन्तरिक विभेद पनि छ । त्यसैले लेखकले पुस्तकको शुरुमै लेखेका छन्, “जातीय विभेदको संरचना जेरी जस्तै जेलिएको छ ।”

पुस्तकको परिशिष्ट १ ले २००७ सालमा प्रजातन्त्र आएपछिको दलितहरूको अवस्थालाई देखाएको छ । एक जना दलितले बजारमा घर बनाएर बस्न नपाउने, बजारमा चाहिएको सामान किन्न नपाउने अवस्था थियो । त्यतिवेला दलित समुदायले बाँच्नका लागि गरेको जीवन संघर्ष अहिले धेरैलाई कथा जस्तो लाग्छ । २०२० सालमा मुलुकी ऐन आएपछि पनि आफैं बजार जान पाउनुपर्ने भन्दै दलितहरूले केही ठाउँमा आन्दोलन नै गरेको पुस्तकमा उल्लेख छ ।

दलितले बजार प्रवेश गर्न पाउनुपर्ने माग उठिरहेका वेला विष्णुभक्त गदालले इलामको फिक्कल बजारमा जग्गा किनेर घर बनाउन थालेका थिए । तर, तत्कालीन प्रहरी निरीक्षक रामप्रसाद प्रधानले हवल्दार शेरबहादुर गिरीलाई घर भत्काउन पठाए । गदालले प्रहरीलाई खुकुरी लिएर लखेटेका थिए । तर, दुई तले घर बनाएर बस्न थालेपछि प्रधान आफैं राति हतियारसहित पुगेर उनलाई लखेटेका थिए । भागेका गदाल दार्जीलिङ पुगी त्यहाँबाट तत्कालीन राजा त्रिभुवनलाई टेलिग्राम मार्फत उजुरी गरेपछि ती प्रहरी निरीक्षकलाई काठमाडौं बोलाइएको थियो । अन्ततः गदाल आफ्नो घरमा बस्न पाए । दलित आन्दोलनको इतिहासमा ‘२०१० सालमै बजारमा घर बनाएर बस्ने मेची अञ्चलकै पहिलो दलित’ भनेर गदालको नाम उल्लेख गरिन्छ ।

विभेदको कुप्रथाबाट सबैभन्दा पीडित दलित समुदायका बारेमा दिइएका थुप्रै प्रसङ्ग र तथ्य–तथ्यांकले पुस्तकलाई खँदिलो बनाएको छ । तर, पुस्तकको शीर्षकले विभिन्न जातभित्रकै विभेदलाई झल्काए पनि दलित–गैरदलितको विभेदको कुरालाई बढी स्थान दिइएको भान भने हुन्छ ।

जातीय विभेद र जातिभित्रकै आन्तरिक विभेद आधुनिक समाजको कलंक हो । तर लोकतान्त्रिक गणतन्त्र नेपाल अझै पनि यस्तो सामाजिक कुरीति र अन्धविश्वासबाट ग्रस्त छ । राजेन्द्र महर्जन र अर्जुन विश्वकर्माको सम्पादनमा रसाइलीले लेखेको यो पुस्तक विभेद पर्गेल्ने र यसलाई जरैबाट उखेल्ने अभियानमा सहयोगी हुनसक्ने देखिन्छ ।

comments powered by Disqus

रमझम