२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

जनकपुरमा साहित्य महोत्सव

Share:
  

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी २२–२४ कात्तिकमा आईएमई नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण आयोजना गरिएको छ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गरेको महोत्सवमा ‘सिमाञ्चल साहित्य’ विषयमा हरि शर्माले विद्वत् प्रवचन दिएका थिए ।

जानकी मन्दिरको विवाहमण्डप, रेलवे स्टेशन र गङ्गासागर लगायतका फरक–फरक स्थानमा भएको महोत्सवमा ‘चुरेको चिन्ता’ विषयमा पूर्व राष्ट्रपति डा.रामवरण यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफललाई पत्रकार चन्द्रकिशोरले सहजीकरण गरेका थिए । यसैगरी ‘मधेशको हिमाल’ विषयमा लेखक÷पत्रकार कनकमणि दीक्षित, प्रदेश सांसद विराजभक्त श्रेष्ठ, ‘प्रदेश वा परदेश’ विषयमा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतसँग र पत्रकार सुधीर शर्माबीच छलफल भएको थियो ।

महोत्सवमा ‘मधेशको भोजन’, ‘अध्यात्मको राजधानी’, ‘कस्तो साहित्य ?’, ‘कसको साहित्य ?’, ‘स्वाभिमान, सम्मान र अभिमान’ लगायतका विषयमा पनि विभिन्न वक्ताहरूसँग छलफल गरिएको थियो । महोत्सवमा साहित्यका अतिरिक्त मिथिला सङ्गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो ।

आइतवार महोत्सवमा नाटक ‘पर्खराक्षस तथा कोटा र ह्वेल’ प्रदर्शनीका साथै ‘साहित्यमा सम्झना’, ‘पूर्वीय दर्शन र जनकपुर’, ‘बहुभाषिक कवितावाचन’ हुने छ । महोत्सवमा सीमा आभास, इम्तियाज वफा, गनी अन्सारी, सरिता चौधरी, रुपेश श्रेष्ठ, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, काशीकान्त झा, विजयदत्त मणि, विन्दु ठाकुर, किरण रश्मि लगायतले कविता वाचन गर्नेछन् ।

महोत्सवमा साहित्यकार, राजनीतिकर्मी, पत्रकार, संस्कृति अध्येता, विश्लेषकहरूको उल्लेख्य उपस्थिति थियो । महोत्सवले जनकपुरको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगेको आयोजक बुकवर्म फाउण्डेशनका अध्यक्ष अजित बरालले बताए ।

“जनकपुरमा पहिलोपटक आयोजित साहित्य महोत्सवबाट हामी हौसिएका छौं । यसले सांस्कृतिक शहर जनकपुरको महत्व र गरिमालाई थप उजिल्याउने विश्वास गरेका छौं”, नेपाल भ्रमण वर्ष प्रदेश–२ का संयोजक एवं स्थानीय आयोजक मनीष झाले बताए ।

comments powered by Disqus

रमझम