२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

डीएससी पुरस्कारको सौन्दर्य

Share:
  
- रविन गिरी
विविध विषयमा विमर्श हुने नेपाल साहित्य महोत्सव यस वर्ष प्रतिष्ठित ‘डीएससी दक्षिण एशियाली साहित्य पुरस्कार’ घोषणाका कारण विशेष बन्दैछ।

अमिताभ बाग्ची र सादिया अब्बास ।
पोखरामा २७–३० मंसीरमा हुने आईएमई नेपाल साहित्य महोत्सवको यस वर्षको आठौं संस्करण ‘डीएससी दक्षिण एशियाली साहित्य पुरस्कार’ विजेताको घोषणाका कारण पनि विशेष हुँदैछ । पुरस्कार घोषणा महोत्सवको अन्तिम दिन ३० मंसीरमा तय गरिएको छ ।

सन् २०१० मा दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीद्वारा स्थापित डीएससी पुरस्कार दक्षिणएशियाको विषयवस्तु, परिवेशमाथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई दिइन्छ । यस पुरस्कारले दक्षिण एशियाली भाषाहरुमा लेखिएको कृति र अनुवादलाई पनि उत्तिकै मान्यता दिंदै आएको छ । पुरस्कार वितरण भने दक्षिण एशियाली देशहरुमा पालैपालो आयोजना गरिंदै आएको छ ।

२५ हजार अमेरिकी डलरको पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’ मा परेका छन् । जसमा भारतका मनोरञ्जन व्यापारी लिखित देयर इज गनपाउडर इन द एअर, अमिताभ बाग्ची लिखित हाफ द नाइट इज गन, माधुरी विजयको द फार फिल्ड, राजकमल झा लिखित द सिटी एण्ड द सी, पाकिस्तानी मूलका अमेरिकी लेखकद्वय सादिया अब्बास र जामिल जान कोचाईको क्रमशः द इम्प्टी रुम र नाइन्टीनाइन नाइट्स इन लोगार रहेका छन् । यो सूची गत नोभेम्बरमा बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्समा सार्वजनिक गरिएको थियो ।

मनोरञ्जन व्यापारी र जामिल जान कोचाई ।
सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय र राजकमल झा बाहेक सबै लेखक र निर्णायक मण्डलमा रहेका विख्यात लेखक, साहित्यकार हरिश त्रिवेदी (भारत), जेरेमी ट्यम्बिङ (बेलायत), कारमेन विक्रमागामागे (श्रीलंका), रिफत मुनिम (बाङ्लादेश) र कुन्द दीक्षित (नेपाल) पुरस्कार घोषणा समारोहमा उपस्थित हुने आयोजकले जनाएको छ ।

“नेपाली लेखकले समेत पाउन सक्ने डीएससी सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्य पुरस्कार हो” आयोजक बुकवर्म फाउन्डेशनका अध्यक्ष एवं महोत्सवका निर्देशक अजित बराल भन्छन्, “यति विशिष्ट डीएससी पुरस्कारलाई महोत्सवमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं, यसले महोत्सवलाई तटस्थ र लोकतान्त्रिक दक्षिण एशियाली मञ्चका रुपमा उभ्याउने हाम्रो उद्देश्यलाई बल दिएको छ ।”

पुरस्कारका लागि ‘सर्ट लिस्ट’मा परेका ६ पुस्तक ।
लेकसाइडस्थित बाराही घाटमा हुने यो महोत्सवमा देश–विदेशका झण्डै १०० भन्दा बढी साहित्यकार, लेखक लगायत विविध विधाका चर्चित व्यक्तिहरुले थुप्रै विषयमा बहस विमर्श गर्नेछन् । महोत्सवमा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले ‘लोकतान्त्रिक विकास र सार्वजनिक दायित्व’ विषयमा विद्वत् प्रवचन दिने कार्यक्रम छ ।

महोत्सवको यो संस्करणमा विन्दा पाण्डे, श्रृंखला खतिवडा, सुम्निमा उदास, शिवानी सिंह थारु, मीरा राई, ननिता महर्जन वज्राचार्य, प्रदीप गिरी, गगन थापा, योगेश भट्टराई, रवीन्द्र मिश्र, सौगात मल्ल, सुरक्षा पन्त, विपिन कार्की, अमर न्यौपाने, भीमार्जुन आचार्य, कृष्ण खनाल, रमेश सायन, तीर्थ श्रेष्ठ, प्रकाश सपुत, हरिदेवी कोइराला, झुमा लिम्बू, शान्ता चौधरी, डा. सन्दुक रुइत लगायतको सहभागिता रहने बताइएको छ ।

comments powered by Disqus

रमझम