२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

कीर्तिमानी स्वर्णधारी

Share:
  
- निरञ्जन राजवंशी
खेलाडीहरूले एकपछि अर्को गर्दै जितेका स्वर्णपदक र धमाधम बनाएका कीर्तिमानसँगै नेपालले १३औं सागमा अहिलेसम्मकै ठूलो सफलता पाएको छ।

१० हजार मिटर दौडमा स्वर्ण पदक विजयी सन्तोषी श्रेष्ठ । * तस्वीरहरु : बिक्रम राई*
स्वर्ण पदक पहिरिएका खेलाडीको उन्मुक्त हाँसो र सफलताका कथाहरूसँगै १३औं दक्षिण एशियाली खेलकुद (साग) रङ्गीन बनिरहेको छ । सागको आधा समय सकिंदासम्म नेपाली खेलाडीले प्राप्त गरेको सफलता ऐतिहासिक बनिसकेको छ ।

पदक तालिकामा नेपाल दोस्रो स्थानमा रहने निश्चित प्रायः छ । यसअघि काठमाडौंमा २० वर्षअघि भएको आठौं सागमा ३१ स्वर्ण जित्नु नेपालको सबैभन्दा सफल नतिजा थियो । १३औं संस्करणमा त्यो सफलता पार भइसकेको छ ।

सफलताको पहिलो हकदार खेलाडी नै हुन् । उनीहरूको सफलताले आयोजनामा भएका त्रुटि र कमजोरी छायाँमा परेका छन् । आशा गरिए झैं मार्सल आर्टस्का खेलहरू कराते, तेक्वान्दो र उसुबाट मात्र २७ स्वर्ण भित्रिसकेको छ । यीबाहेक एथलेटिक्स, भारोत्तोलन, पौडी र गल्फमा पनि ऐतिहासिक स्वर्ण पदक मिलेको छ । सागका लागि नयाँ खेल ट्रायथलन र साइक्लिङमा पनि स्वर्ण पदक प्राप्त गर्दै नेपालले ऐतिहासिक प्रदर्शन गरेको छ ।


कीर्तिमान रचेका खेलाडी

करातेमा नेपालले निराशाजनक शुरुआत गरेको थियो । स्वर्णको आशा गरिएकी चञ्चला दनुवारले महिला एकल कातामा रजतबाट पदकको खाता खोलिन् । तर, त्यसलगत्तै मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा नेपाललाई स्वर्ण दिलाए । उनी त्यतिमा नै रोकिएनन्, टीम कातामा पनि स्वर्ण जिते । एकै संस्करणमा करातेबाट दुई स्वर्ण जित्ने उनी पहिलो खेलाडी भए ।

यसअघि ११औं सागका लागि बन्द प्रशिक्षणमा हुँदा आफूले खेल्ने खेलको तौल समूह नै काटिएपछि उनी ढाकाबाट रुँदै फर्किनु परेको थियो । भारतमा भएको १२औं सागमा कराते समावेश गरिएको थिएन । श्रेष्ठ नौ वर्षको पर्खाइपछि करातेका नयाँ स्टार बने ।


आयशा शाक्य तेक्वान्दो

तेक्वान्दोकी आयशा शाक्यले पनि दोहोरो स्वर्ण जितिन् । यसअघि उनले ढाकामा भएको ११औं सागमा पनि स्वर्ण जितेकी थिइन् । तीन स्वर्ण र दुई रजत जितेकी उनी सागमा सबैभन्दा सफल नेपाली महिला खेलाडी भएकी छिन् ।

दुई सन्तानकी आमा बनेर खेलमा फर्केर उनले पाएको सफलताले महिलाहरूले ‘चाहे जे पनि गर्न सक्छन्’ भन्ने सन्देश दिएकी छिन् । उनले सन् २००६ मा कतारको दोहामा भएको एशियाली खेलकुदमा पनि काँस्य पदक जितेकी थिइन् ।


निमा घर्तिमगर उसु

निमा घर्तिमगरले दुई वटा सागमा लगातार स्वर्ण जितेर उसुमा अहिलेसम्मको ठूलो सफलता प्राप्त गरिन् । १२औं सागमा लगातार हारका कारण नेपाल स्वर्णका लागि तड्पिरहेको वेला उनले उसुमा सफलता दिलाएकी थिइन् ।

रासस
उक्त संस्करणमा नेपालले जम्मा तीन वटा मात्र स्वर्ण जितेको थियो । लगातार दुई सागमा उसुतर्फ स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनले १३औं सागमा उसुको थाउलो अन्तर्गत महिला नानदावमा स्वर्ण जितेकी हुन् ।


सन्तोषी श्रेष्ठ एथलेटिक्स

साग इतिहासमा नेपालको तर्फबाट सबैभन्दा ठूलो ‘ब्रेक थ्रु’ सन्तोषी श्रेष्ठले गरिन् । उनी एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी भइन् । श्रेष्ठले १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी हुन् । उनले हासिल गरेको फिल्मी शैलीको जितले पनि निकै चर्चा पायो ।

रासस
प्रतिद्वन्द्वीलाई १० मिलिसेकेन्डले पछि पारेर उनले एथलेटिक्समा नयाँ आकर्षण थपिन् । प्रायः विभागीय खेलाडीहरूको वर्चस्व रहने नेपाली खेलकुदमा आम नागरिक बनेर स्वर्ण जित्ने उनी थोरै खेलाडीमा पर्छिन् ।


गौरिका सिंह पौडी

रासस
कीर्तिमानको शृंखलामा पौडीकी गौरिका सिंह पनि सामेल भइन् । उनले नेपाली खेलाडीहरूको स्तरका हिसाबले कठिन मानिने पौडीमा व्यक्तिगततर्फ दोहोरो स्वर्ण जितिन् । उनले २०० मिटर ‘फ्रि स्टाइल’ मा जितेको स्वर्ण व्यक्तिगततर्फ नेपालले जितेको पहिलो स्वर्ण थियो । २०० मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण जितेर दोहोरो स्वर्ण जित्ने रेकर्ड पनि बनाइन् । बेलायतमा बसेर प्रशिक्षण लिने यी ओलम्पियनले सागको १२औं संस्करणमा रजत जित्दा १३औंमा स्वर्ण जित्ने प्रण गरेकी थिइन् । स्वर्ण जितेपछि उनको प्रतिक्रिया अझ विशेष थियो । बेलायतमा बस्ने गौरिकाले भनिन्, “धेरैले मलाई नेपाली होइन भन्छन् । म नेपाली हुँ र यो नेपालले जितेको स्वर्ण हो ।”


सञ्जु चौधरी भारोत्तोलन

दशकौं लामो प्रयासमा प्राप्त गर्न नसकेको सफलताहरू १३औं सागमा प्राप्त भएको देखियो । भारोत्तोलनमा सञ्जु चौधरीले पनि त्यस्तै सफलता दिलाइन् । उनी नेपालको तर्फबाट भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् ।

यसअघि सन् २००६ मा कमलबहादुर अधिकारीले पहिलो र अहिलेसम्मको एक मात्र स्वर्ण जितेका थिए । हुन त सागमा नेपालले भारोत्तोलनबाट सबैभन्दा बढी पदक जितेको छ तर, एउटा स्वर्ण र रजतबाहेक बाँकी सबै काँस्य हुन् ।


गोपीचन्द पार्की एथलेटिक्सद्ध

एथलेटिक्समा गोपीचन्द पार्कीले पनि कीर्तिमानी स्वर्ण जिते । उनले पाँच हजार मिटर दौडमा स्वर्ण जितेका हुन् । मध्यम दूरीमा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी भए । यसअघि राजेन्द्र भण्डारीले १०औं सागमा पाँच हजार मिटरमै स्वर्ण जिते पनि पछि डोपिङमा असफल भएपछि पदक खोसिएको थियो ।

पार्की एथलेटिक्समा स्वर्ण जित्ने पाँचौं नेपाली खेलाडी भए । यसअघि वैकुण्ठ मानन्धर, टीका बोगटी, राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । ती सबै स्वर्ण म्याराथनमा आएको थियो ।

comments powered by Disqus

रमझम