२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

सागमा कृष्णसार

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
कृष्णसारका दुईवटा सिङ देख्दा खेलकुद प्रतिस्पर्धामा विजयीले ठड्याउने हातका माझी र चोरऔंलाको ‘भी’ अर्थात् ‘भिक्ट्री’ संकेत झैं लाग्छ।

१३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन समारोहमा प्रतीक चिह्न (मास्कट) लगाएर मार्च पास गर्दै ।
शिरका लामा दुई सिङलाई अंग्रेजी अक्षरको ‘भी’ आकारमा तेस्र्याई हातमा ओलम्पिक चिराग बोकेर दौड्दै गरेको कृष्णसार नामक हरिण १३औं दक्षिण एशियाली खेलकुद (साग) को प्रतीक हो । खेलकुद लगायतमा प्रयोग हुने यस्ता प्रतीक चिह्नलाई अंग्रेजीमा ‘मास्कट’ भनिन्छ । यसको शाब्दिक अर्थ छुक लगाउने शुभ–चिह्न हो । विभिन्न उत्सव एवं महोत्सवमा उत्साह र उमङ्ग थप्न मास्कट चयन गरिन्छ ।

नेपालका स्तनधारी वन्यजन्तुमध्ये कृष्णसार निकै दुर्लभ जनावर हो । यसको प्राकृतिक वासस्थान गर्मी भेगका समथर घाँसे मैदान दक्षिण एशियामा नै मानव अतिक्रमणमा परेका छन् । यस तृणहारी जन्तुलाई विभिन्न मांसाहारी जन्तुले शिकार गर्छन् । कानूनद्वारा संरक्षित यस दुर्लभ जन्तुलाई मानिसले पनि शिकार गरेर आफ्नो मांसाहारी तृष्णा शान्त गर्छन् । पहिला शिकारका सौखिन राजा, रजौटा र बादशाहहरू पनि यो दुर्लभ हरिणप्रति बढी आकर्षित थिए । केही वर्षअघि बलिउडका चर्चित नायक सलमान खानले राजस्थानको वनमा कृष्णसार शिकार गरेका कारण जेल जानु परेको थियो । खेलकुदको लोकप्रियतालाई उपयोग गरेर कृष्णसारलाई विशेष संरक्षण गर्नुपर्ने सन्देश प्रवाह गर्न सकिन्छ । तसर्थ यो दुर्लभ एवं मनमोहक प्राणीलाई १३औं सागको प्रतीक चिह्नको रूपमा प्रस्तुत गरेर संरक्षणको गौरवगाथा उजागर गरिएको छ ।

कृष्णसारको भाले वर्ग पोथीभन्दा आकर्षक हुन्छन् । भालेका दुईवटा आकर्षक सिङ हुन्छन् तर, पोथीका हुँदैनन् । कृष्णसारको सिङ लगभग दुई फुट (६० सेन्टिमिटर) ठडिएको हुन्छ तर, सोझे वान्कीका हुँदैनन् । बीच–बीचमा थोरै बटारिएका हुन्छन् । सिङको फेददेखि टुप्पासम्म चक्की–चक्की परेको पेचकिला जस्तो घुमाउरो बुट्टा हुन्छ । यौन उत्तेजनामा टाउको ठाडो गरी छाती फर्काएर बस्दा ती सिङले झ्ण्डै नितम्बसम्म छुन्छन् ।

कृष्णसार सीधा उभिंदा काँधसम्मको उँचाइ ७३ देखि ८३ सेन्टिमिटर हुन्छ, अर्थात् तीन फुटभन्दा होचा नै हुन्छन् । कृष्णसारको उँचाइ सामान्यतयाः दक्षिण एशियाली खेलाडीहरूको कम्मरसम्मको हुन्छ । कदमा सानो भए पनि कृष्णसारसँग दौडन पर्‍यो भने संसारका कुनै पनि धावकले जित्न सक्दैनन् । संसारमा सबैभन्दा छिटो वेगले कुद्ने प्राणी चितुवाले पनि कृष्णसारलाई सजिलै भेट्टाउन नसक्ने विश्व प्रसिद्ध वन्यजन्तु विशेषज्ञ ई.पी. गीले आफ्नो पुस्तकमा वर्णन गरेका छन् । चितुवा प्रतिघण्टा ११० किलोमिटरसम्म कुद्न सक्छ ।

कृष्णसार
कृष्णसारले निकै लामो छलाङ लाउन सक्छ । धावन मार्गमा दौड्दै गरेको हवाईजहाजले भुईं छोडे जत्तिकै गरी कृष्णसारहरू कुद्दै हावामा लामो छलाङ मार्छन् । कृष्णसारको छलाङलाई वन्यजन्तु अवलोकनको अनुपम दृश्य मानिन्छ ।

कृष्णसारका दुई भालेको जुधाइ पनि निकै रोमाञ्चक मानिन्छ । बटारिएका सिङहरू आपसमा जोल्टिएर गर्ने जुधाइ अनौठो खालको हुन्छ । जुधाइमा जित्ने भालेले आफ्नो मनचाहा पोथीसँग सहवास गर्न पाउँछ ।

कृष्णसारको शरीर रङ सज्जा अरू कुनै वन्यजन्तुसँग मिल्दैन । यो श्यामश्वेत रङको दुई पाटोमा विभाजित हुन्छ । गर्दनको तल्लो भागदेखि छाती, पेट र राजखानीसम्म सेतो हुन्छ । चारै खुट्टाको भित्री भाग पनि सेतो नै हुन्छ । भाले कृष्णसारको टाउको, पिठ्युँदेखि नितम्बसम्म तथा चारै खुट्टाको बाहिरी भाग कालो हुन्छ । कालो टाउकोमा आँखाको घेरा भने सेतो हुन्छ । पोथी कृष्णसार कालो हुँदैन । माथिल्लो भाग सामान्यतया हल्का पहेंलो वा खैरो हुन्छ । पेटतिरको भाग भने सेतो नै हुन्छ । श्यामश्वेतको यो सज्जाले कृष्णसारलाई टाढैबाट चिह्न सकिन्छ ।

कृष्णसारको चित्र अंकित रु. दशका दुई नोट (तल) ५० पैसाको हुलाक टिकट ।
पश्चिमी नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कृष्णसारको प्राकृतिक वासस्थान हो । मानिसले दक्खल नदिएको अवस्थामा कृष्णसारका बथानहरू २०–३० वा अझै धेरै संख्यामा विचरण गरेको देखिन्छ । तर आजभन्दा ५० वर्ष पहिले यो प्राणी नेपालबाट लोप प्रायः भइसकेको थियो । २०३२ सालतिर बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन कृष्णमान श्रेष्ठ, गेम स्काउट गगन सिंह तथा विश्व वन्यजन्तु कोष विशेषज्ञ इरोक डाइनरस्टाइनको टोलीले बर्दियाको खैरापुरमा नौ वटा कृष्णसार फेला पारेको थियो । त्यसलगत्तै संरक्षणकर्मीहरू कृष्णसारलाई नेपालमा पुनस्र्थापित गर्न जुटे । यथास्थानमा संरक्षण गर्नुका साथै राष्ट्रिय निकुञ्जहरू (बर्दिया तथा शुक्लाफाँटा) मा समेत स्थानान्तर प्रयास भए ।

२०६६ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत कृष्णसार संरक्षित क्षेत्र स्थापना भयो । लगभग १७ वर्ग किलोमिटरमा फैलिएको यस क्षेत्रमा २०७३ सालमा २५२ वटा कृष्णसार भेटिए । हाल कृष्णसारको संख्या ३०० हाराहारी पुगेको अनुमान छ । यस प्रकार विगत २५ वर्षको प्रयासले कृष्णसार संरक्षित भएको छ ।

कृष्णसारको संरक्षणमा सघाउ पुर्‍याउन सरकारले रु.१० को नोट र ५० पैसाको हुलाक टिकटमा यसको चित्र अङ्कित गरेको छ । अहिले आएर दक्षिण एशियाली खेलकुद महोत्सवको १३औं संस्करणमा प्रतीक चिह्नको रूपमा कृष्णसार चयन भएको छ । कृष्णसारका दुईवटा सिङ देख्दा खेलकुद प्रतिस्पर्धामा विजयीले ठड्याउने हातका माझी र चोरऔंलाको ‘भी’ अर्थात् ‘भिक्ट्री’ सङ्केत झैं लाग्छ । हातमा चिरागको ज्वाला बोकेको कृष्णसारको प्रतीक यस वर्षको साग मास्कटलाई अभिवादन !

comments powered by Disqus

रमझम