२०-२६ पुस २०७६ | 5-11 Jan 2020

अन्योलमा नेपाली कामदार

Share:
  
- रामु सापकोटा
वार्षिक ११ अर्ब थान पञ्जा उत्पादन गर्ने मलेशियाको ‘डब्लूआरपी’ कम्पनीले आफ्नो व्यापारिक कारोबार स्थगन गरेपछि त्यहाँ कार्यरत नेपाली कामदारको भविष्य अन्योलमा छ।

मलेशियाको जलानस्थित डब्लूआरपी एशिया प्यासिफिक कम्पनी ।
१५ पुसमा मलेशियास्थित रबरको पञ्जा उत्पादक कम्पनी ‘डब्लूआरपी एशिया प्यासिफिक एसडीएन बीएचडी’ ले आफ्नो व्यापारिक कारोबार अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीले कामदारहरूलाई जारी गरेको परिपत्रमा ‘कम्पनीले भोगिरहेको आर्थिक सङ्कटका कारण अर्को सूचना जारी नभएसम्मका लागि आफ्नो व्यापारिक कारोबार स्थगित गर्नु परेको’ बताएको छ ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीबाट उत्पादित पञ्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको तीन महीनापछि उक्त कम्पनीले आफ्नो व्यापारिक कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

कम्पनीले कामदारलाई जबर्जस्ती काममा खटाउने गरेको, कम वा तलब नै नदिई काममा लगाएको र शारीरिक तथा यौनशोषण गरेको खुलेपछि अमेरिकाले कम्पनीको पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयको ‘फोस्र्ड लेबर डिभिजन’ ले गरेको अनुसन्धानले कामदारलाई ‘अमानवीय व्यवहार’ गरिएको निष्कर्ष निकालेको थियो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले कामदारलाई दिइने भनिएको सेवा–सुविधा नदिई काममा लगाउनु, पासपोर्ट जफत गर्नु, धेरै समय काममा लगाउनु, काम लगाउने क्रममा धम्की दिनु लगायतका विषयलाई ‘फोस्र्ड लेबर’ अन्तर्गत राखेको छ ।

आप्रवासी कामदारका अधिकारकर्मी एन्डी हलका अनुसार डब्लूआरपी कम्पनीमा कार्यरत कामदारले भनेको समयमा तलब नपाउने, घर जान नपाउने, सहजै उपचार नपाउने, अस्वस्थ खाना खुवाउने र खानाको रकम आफैं तिर्नुपर्ने जस्ता समस्या बेहोरिरहेका थिए । कामदारमाथिको हदैसम्मको अमानवीय व्यवहारकै कारण अमेरिका बाध्य भएर पञ्जा आयातमा प्रतिबन्ध लगाउने अवस्थामा पुगेको हलले केही महीना अघि मात्रै हिमाल सँगको अन्तर्वार्तामा बताएका थिए । डब्लूआरपीले तीन महीनासम्म तलब नदिएपछि १२ माघ २०७५ मा कम्पनीमा कार्यरत झण्डै दुई हजार नेपाली कामदार आन्दोलनमा उत्रिएका थिए । तर आन्दोलनमा सहभागिता भएको आरोप लगाउँदै १९ जना नेपाली कामदारलाई कम्पनीले सजायस्वरुप तलब सुविधा नदिई गएको ३ साउनमा नेपाल फिर्ता पठाएको थियो ।

मलेशियाको ‘डब्लूआरपी’ बाहेक ‘टप ग्लोब’ र ‘करेक्स’ कम्पनीमा काम गर्ने कामदारलाई पनि चरम श्रमशोषण गरिएको विवरण सार्वजनिक भइसकेका छन् । करीब सात वर्षसम्म टप ग्लोब कम्पनीमा काम गरेर फर्किएका वीर तामाङका अनुसार कम्पनीले तोकिएको पारिश्रमिक र बिदा नदिने, बिरामी वा दुर्घटनामा पर्दा औषधि उपचार सेवा नपाउने, असुरक्षित रूपमा काम गर्नुपर्ने, कम्पनीले दिएको बाहेक अन्य खाना खान नपाउने जस्ता समस्या कामदारले भोगिरहेका छन् । मलेशियाको रबर ग्लोब म्यानुफ्याक्चरर्स एशोसिएसनका अनुसार डब्लूआरपी र टप ग्लोब सहितका कम्पनीहरूले वार्षिक १८८ अर्ब थान पञ्जा उत्पादन गर्ने र त्यसमध्येको ६० प्रतिशत अमेरिका र बाँकी ४० प्रतिशत पञ्जा अन्य मुलुकमा निर्यात गरिंदै आएको थियो । मलेशियामा रबरको पञ्जा उत्पादन गर्ने ठूला कम्पनीहरू मध्येको डब्लूआरपीका अनुसार कम्पनीले वार्षिक ११ अर्ब थान पञ्जा उत्पादन गर्छ । कम्पनीमा करीब ४ हजार कामदार कार्यरत छन् । अमेरिकी प्रतिबन्धपछि मलेशियाली कम्पनीहरूको पञ्जा उत्पादन घट्ने र यसले त्यहाँको श्रम बजारमा समेत प्रभाव पार्ने आकलन गरिएको थियो र भयो पनि त्यस्तै ।

फर्किंदै कामदार

‘डब्लूआरपी’ ले आफ्नो व्यापारिक कारोबार स्थगन गर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत नेपाली कामदार अन्योलमा छन् । ‘डब्लूआरपी’ मा कार्यरत एक नेपाली कामदारका अनुसार कम्पनीले १५ दिनदेखि पञ्जा उत्पादन कार्य पूर्ण रूपमा रोकेको छ । “पहिले दैनिक १२ घण्टा काम गर्नु परेकोमा अहिले आठ घण्टा मात्र काम गरे पुग्छ”, उनले भने । उनी पञ्जा उत्पादनको काम पूर्ण रूपमा रोकिएपछि काम गर्ने अवधि पनि घट्दै गएको बताउँछन् । उनी अहिले कम्पनीको स्टकमा रहेका पञ्जा ‘प्याकिङ’ र जाँच्ने काम मात्र भइरहेको बताउँछन् ।

एक वर्ष अघिसम्म उक्त कम्पनीमा करीब दुई हजार नेपाली कामदारले काम गर्थे । कम्पनीले समयमा तलब सुविधा नदिएपछि कामदारले कम्पनी छाड्ने क्रम बढ्यो । अहिले झण्डै ५०० कामदार मात्र कार्यरत छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले कम्पनीले पञ्जा उत्पादन स्थगन गरेको निर्णयबारे प्रष्ट पार्न डब्लूआरपीलाई पत्राचार गरिसकेको छ । दूतावासका ‘लेवर अट्याची’ सानमाया रम्तेल रोजगारी दिन नसक्ने भएपछि डब्लूआरपीले ७० जना नेपाली कामदार स्वदेश फिर्ता पठाउने तयारी गरिरहेको बताउँछिन् । “कम्पनीले समयमा तलब नदिने समस्या अहिले पनि रहेकोले कामदारले दुःख पाइरहेका छन्”, उनी भन्छिन् ।

श्रम तथा रोजगार क्षेत्रका जानकार समाजशास्त्री गणेश गुरुङका अनुसार अमेरिकी तथा युरोपियन मुलुकहरूले प्रत्येक वर्ष स्वतन्त्र रूपमा लेखा परीक्षण गरेर त्यहाँका कम्पनीहरूको वास्तविक जानकारी लिने गरेका छन् । गुरुङ लेखा परीक्षणबाट पास भएका राम्रा कम्पनीहरूमा मात्र नेपालका वैदेशिक रोजगार व्यवसायीले कामदार लैजानुपर्ने, श्रम विभागले समेत अनुमति दिंदा त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् । “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समस्याग्रस्त कम्पनीमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीलाई अनुगमन गरेर कारबाही नगरेकै कारण नेपाली कामदारले यस्तो समस्या भोग्नु परेको हो”, उनी भन्छन् ।


कम्पनी शुद्धीकरण गर्दैछौं – डब्लूआरपी

डब्लूआरपी कम्पनीले १७ पुसमा विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना कामकारबाही शुद्धीकरण गरिरहेका कारण तत्कालका लागि व्यापारिक कारोबार स्थगन गर्नुपरेको घोषणा गरेको छ ।

विज्ञप्तिमा कम्पनीलाई पुनर्जीवन दिन विद्यमान बेथिति हटाउने क्रममा रहेको बताइएको छ । साथै विज्ञप्तिमा कम्पनीको बोर्डले तत्कालीन कार्यकारी अधिकृत डाटो लि सन होङलाई कानूनी कारबाही गर्न थालिएको पनि उल्लेख गरेको छ ।

डब्लूआरपीको बोर्डले कामदारलाई समयमा पैसा नदिने र कम्पनी क्षतिमा पु¥याउने लगायतको काममा संलग्न भएको अरोप लगाउँदै गएको २९ नोभेम्बरमा होङलाई कार्यकारी अधिकृतको पदबाट हटाइसकेको छ । होङ विरुद्ध ८४ लाख मलेशियन रिङ्गिट अपचलन गरेको आरोपसहित ‘क्रिमिनल ब्रिच अफ ट्रष्ट’ को मुद्दा अदालतमा दायर गरेको पनि जनाएको छ ।

“डब्लूआरपी कम्पनीमा आधारित भएर आफ्नो जीविका चलाइरहेका कामदारहरुप्रति हामी प्रतिबद्ध छौं । अघिल्लो व्यवस्थापनका कारण तलब नपाएका कामदारलाई रकम दिने प्रक्रिया अघि बढाइसकेका छौं”, विज्ञप्तिमा भनिएको छ ।

comments powered by Disqus

रमझम