२०-२६ पुस २०७६ | 5-11 Jan 2020

नयाँ वर्षमा प्रणको आदत

Share:
  
- शेखर खरेल
तपाईंले आफ्ना परिवारजन वा इष्टमित्रलाई नयाँ वर्षको प्रण सोध्नुहुन्छ भने सधैं सकारात्मक उत्तार पाउनुहुन्छ, जुन अक्सर स्वास्थ्य र समुन्नतिसँग जोडिएको हुन्छ।

विक्रम राई
नेपालले काठमाडौंस्थित दशरथ रङ्गशालामा ग्रेगोरियन क्यालेण्डरको वर्ष २०२० को पहिलो दिन अत्यन्तै तामझमबीच ‘नेपाल भ्रमण वर्ष’ को राष्ट्रिय अभियान मार्फत २० लाख पर्यटक भित्याउने प्रण गरेको छ । त्यसको अन्तिम परिणाम देख्न बाँकी ३६४ दिन कुर्नुपर्ने भए पनि आगामी दुई–चार महीनाले पर्यटन आगमनको छनक दिनेछ । भ्रमण वर्षको औपचारिक घोषणाले मात्र पर्यटक नेपाल भित्रिने होइनन् । त्यसभन्दा कैयौं गुणा बढी प्रयत्नको दरकार रहनेछ । जति धेरै प्रयत्न, उति धेरै पर्यटक ।

जब कोही आफ्नो इरादामा दृढनिश्चयी बन्छ, तब त्यो सङ्कल्पमा अनुवाद हुन्छ । देशको हकमा भने सङ्कल्पले सामूहिकताको रूप धारण गरेपछि त्यो राष्ट्रिय अभियान बन्छ । यस विपरीत, राष्ट्रिय अभियान केवल औपचारिकताको विषय बन्छ र त्यसमा सामूहिकताको भावना निहित रहँदैन भने त्यो असफलताउन्मुख हुन्छ ।

राष्ट्र होस् वा व्यक्ति, नयाँ वर्षको आरम्भसँगै प्रण वा सङ्कल्प गरिरहेका हुन्छन् । यस्तो प्रण कहिले तीव्र इच्छाशक्तिका साथ प्रस्फुटित त कहिले औपचारिकतावश अभिव्यक्त हुन्छ । कतिपय अवस्थामा प्रण धार्मिक आस्था तथा परम्परासँग जोडिएर ‘सङ्कल्प’ बन्छ, यद्यपि सङ्कल्पको सन्दर्भ धर्ममा मात्र सीमित छैन ।

सनातन वैदिक धर्ममा सङ्कल्पको विशेष महत्व र स्थान छ । सङ्कल्प बेगर गरिएका कुनै पनि पूजा वा अनुष्ठान निष्फल मानिन्छ । हिन्दू शास्त्रका अनुसार सङ्कल्प विना गरिएका धार्मिक कार्यको फल कर्तालाई नभएर इन्द्रदेवलाई मिल्छ । हातमा कुश र जल लिंदै देवगणलाई साक्षी राखेर सङ्कल्प लिइन्छ । एकपल्ट सङ्कल्प गरिएपछि त्यो अनुष्ठान कसैगरी सम्पन्न गरिनुपर्छ । त्यसैले सङ्कल्पको अर्थ आफ्नो उद्देश्य प्राप्तिमा दृढ एकाग्रता हो ।

सनातन धर्मका अनुयायी जस्तै बेविलोन (प्राचीन मेसोपोटामियाको एक समृद्ध शहर) का बासिन्दाले पनि ईश्वर साक्षी राख्दै सङ्कल्प गर्ने गरेको तथ्य ऐतिहासिक ग्रन्थहरूमा उल्लेख छ । प्राचीन रोमका बासिन्दा पनि आफ्ना इष्टदेव जेनस (जसको नामबाट जनवरी राखियो) भाक्दै सङ्कल्प गर्थे ।

धार्मिक मान्यता, मिथ तथा ग्रन्थमा सङ्कल्पको परम्परा र महत्वको वर्णन भएबाट के निक्र्योल गर्न सकिन्छ भने, नयाँ वर्षको प्रणको आधारशिला तिनै धार्मिक आस्था वा मान्यता हुन् । जब विविध सभ्यतामा विविध संवत्को थालनी हुन थाले मानिसहरू व्यवस्थित वा औपचारिक रूपमा प्रण गर्न थाले । संवत्को परम्पराका कारण आफ्ना निजी वा वैयक्तिक मनोकांक्षा निम्ति ईश्वर नै भाक्नु जरूरी रहेन । जसरी सङ्कल्प धर्मसँग सम्बन्धित रह्यो, प्रण नितान्त वैयक्तिक मामिला हुन थाल्यो । प्रण गर्नेहरू आस्तिक वा अनीश्वरवादी जो–कोही हुनसक्ने भए । यसको सोझो अर्थ प्रणको सम्बन्ध धार्मिक कार्य र पुण्यभन्दा पनि व्यक्तिको सुख र निजी जीवनसँग देखिन्छ ।

सबै धर्म, सभ्यता, जाति र भूगोलका मानिसको नयाँ वर्षको प्रण सकारात्मक हुन्छ । आगतका लागि केही सकारात्मक प्रण गर्नु भनेको विगतको आत्मसमीक्षा हो । यदि तपाईंले आफ्ना परिवारजन वा इष्टमित्रलाई नयाँ वर्षको प्रण सोध्नुहुन्छ भने सकारात्मक उत्तर पाउनुहुन्छ । उत्तरदाताको प्रण अक्सर स्वास्थ्य र समुन्नतिसँग जोडिएको हुन्छ । जस्तै, नयाँ वर्षको आरम्भसँगै चुरोट वा रक्सी छाड्ने, व्यायाम, योग आदिबाट तौल घटाउने, परिवारका निम्ति ज्यादा समय खर्चिने, स–सानो बचत वा खर्चमा कटौती गर्ने आदि ।

‘जर्नल अफ क्लिनिकल साइकोलोजी’ को एक अध्ययन अनुसार नयाँ वर्षको सङ्कल्प बनाउनेमध्येका ४६ प्रतिशत मात्र त्यसलाई सफलतामा अनुवाद गर्न सफल हुन्छन् । यो अध्ययन पश्चिमा जगतमा गरिएको हुनाले नेपालको हकमा सफलताको प्रतिशत अनुमानको विषय हो । तर, पश्चिमा जस्तो व्यावसायिक र आफ्ना प्रणप्रतिको दृढता नेपाली जनमानसमा थोरै पाइन्छ । धेरैका निम्ति नयाँ वर्षको प्रण औपचारिकता वा आदत मात्र हो । नयाँ वर्षका अघिल्ला दुई–चार दिन वा केही हप्ता मच्चिने र त्यसपछि थच्चिने धेरैजसो प्रणकर्ताको प्रवृत्ति छ । यथार्थमा, हाम्रा प्रणकर्ताको प्रवृत्ति हाम्रै राजनीतिक दलको जस्तो छ, जो चुनावअघि घोषणापत्रमा उल्लेख गरेका विषय चुनावको समाप्तिसँगै बिर्संदै जान्छन् । किनकि, उनीहरू साक्षीभावले सङ्कल्प गरिरहेका हुँदैनन् । तपाईंले पनि ग्रेगोरियन वर्ष २०२० का लागि केही प्रण गर्नुभयो कि !

comments powered by Disqus

रमझम