२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

जलनपछिकाे जीोन : जसले हिम्मत जुटाए

Share:
  
- शुष्मा बराली
घरेलु हिंसा, दुर्घटना र एसिड आक्रमणमा परेका किशोरी र महिलाहरूले पारिवारिक तथा सामाजिक चुनौती चिर्दै संघर्ष गरेर उदाहरणीय आत्मबलको परिचय दिइरहेका छन्।

राधा श्रेष्ठ ।तस्वीरहरूः रुमी राजभण्डारी
पाँच वर्षअघि सङ्गीता मगर (२०) को जीवनमा ठूलो वज्रपात पर्‍यो । १० फागुन २०७१ मा एसएलसी परीक्षाको तयारीका लागि काठमाडौंको वसन्तपुरमा ट्यूसन पढिरहेका वेला उनी र उनकी साथी सीमा बस्नेतमाथि एक किशोरले एसिड आक्रमण गरेका थिए । त्यसवेलाको जलन जति असह्य थियो, एसिडले अनुहार बिगारेपछि समाजमा भोग्नुपरेको छिःछिः दूरदूर र हीनताबोध त्योभन्दा कम पीडादायक थिएन ।

घटनाको तीन वर्षसम्म उनी हत्तपत्त घर बाहिर नै निस्किइनन् । “आफ्नै अनुहार देख्दा लज्जित हुन्थें, कतै जाँदा मान्छेहरूले गर्ने टिप्पणी र फरक व्यवहारले झ्न् मन पोल्थ्यो”, उनी भन्छिन् । कतिसम्म भने, आत्महत्या गर्नेसम्मको सोच उनमा कैयौं पटक आयो ।

उच्च शिक्षामा बी.एस.डब्ल्यू (ब्याचलर अफ सोसल वर्क) पढेर समाजसेवी बन्ने उनको सपना थियो । त्यो घटनापछि औपचारिक पढाइ अगाडि बढाउन नसके पनि दुई वर्षयता उनी समाजमा घुलमिल मात्र भएकी छैनन्, सपना अनुसारकै सामाजिक कार्यमा जुटिरहेकी छिन् । वास्तविकता स्वीकारेर जीवनमा अघि बढ्न जुटाएको हिम्मतबारे उनी भन्छिन्, “मैले आफैंलाई गल्ती विनाको सजाय पो दिइरहेकी रहेछु भन्ने बुझें, त्यसपछि बाहिर निस्किन साहस आयो ।” आफू जस्तै एसिड आक्रमणमा परेका किशोरी र युवतीहरूका लागि सामाजिक सञ्जाल र अन्य माध्यमबाट आर्थिक सहयोग जुटाउनेदेखि काउन्सिलिङ गर्नेसम्मका काममा उनी व्यस्त छिन् ।

सङ्गीता एउटा उदाहरण मात्र हुन्, समाजले सुन्दरताको मापन बनाएको शारीरिक रूप विभिन्न कारण जलेर बिग्रिंदा किशोरी/महिलाहरूले दैनिक जीवनमा धेरै चुनौती भोग्ने गरेका छन् । एसिड आक्रमण वा अग्नि हिंसामा परेर तथा विभिन्न दुर्घटनामा आगोमा कारण मुख्यतः अनुहार जलेकाहरूले पाइलैपिच्छे संघर्ष गर्नुपर्छ । शरीर जलेका महिलाहरूको जीविकोपार्जनमा सघाउँदै आएको संस्था अस्तित्व नेपालकी सञ्चालक रुमी राजभण्डारी जलेको शरीर पुरानै अवस्थामा नफर्किने भएकाले घरपरिवार र समाजमा पुनःस्थापना गराउन असाध्यै गाह्रो हुने गरेको बताउँछिन् । उनका अनुसार, समाजमा हिंडडुल गर्दा दुर्वचनको सामना गर्नुपर्ने भएकाले पीडित महिलाहरू सार्वजनिक रूपमा कमै निस्किन्छन् । विगत ९ वर्षदेखि यस क्षेत्रमा कार्यरत उनी भन्छिन्, “आत्मनिर्भरताको लागि सीपमूलक तालिम लिन आउजाउ गर्दा पनि बाटो र यातायातका साधनमा घृणा र हेपाइका शब्द सुन्नुपर्छ ।”

संगीता मगर ।
विभिन्न कारणले शरीर जल्नेमा महिला र पुरुष दुवै भए पनि महिलाको संख्या अधिक छ । घरेलु हिंसा, एसिड आक्रमण, ग्याँस सिलिण्डर विस्फोट, विद्युतीय दुर्घटनाका कारण यस्ता घटना हुने गरेका छन् । कतिपयको ज्यान नै जाने गरेको छ । कीर्तिपुर अस्पतालको तथ्याङ्क अनुसार, विभिन्न कारण जलेर सन् २०१८ मा ३५४ र सन् २०१९ मा ३३४ महिलाहरू उपचारका लागि आएका थिए । (हे. तथ्याङ्क) दुर्घटनावश हुने बाहेक यस्ता घटनामा विवाहित महिलाहरू घरेलु हिंसामा परेर जलाइएका र किशोरी/युवतीहरू प्रेम वा यौन प्रस्ताव अस्वीकार र सम्बन्धमा असमझ्दारीपछि प्रतिशोधका रूपमा एसिड आक्रमणमा परेका देखिन्छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका प्लाष्टिक सर्जन डा.पीयूष दाहाल शरीर जलेर उपचारका लागि आउने बिरामीहरूमध्ये महिलाहरूको संख्या धेरै रहेको बताउँछन् । “१६ देखि ४५ वर्षसम्मका महिला धेरै आउँछन्, उपचारबाट पहिलाको जस्तै हुन सक्दैन भन्ने थाहा पाए परिवारका सदस्यले बिरामीलाई अस्पतालमै छोडेर हिंड्ने पनि हुन्छन्”, उनी भन्छन् ।

नयाँ शुरूआत

एसिड आक्रमणमा परेका वा आगोले जलेका युवती र महिलाहरू समाजमा धेरै छन्, जसले हिम्मत बटुलेर नयाँ सोच र रफ्तार सहित जिन्दगी अघि बढाएका छन् । काभ्रेकी अञ्जु गिरी थापा (३६) अभिभावकको लापरबाहीका कारण आगोले जलेकी हुन् । सानो छँदा घरमै कोक्रोमा राखेर आमा र बुवा काममा गएको समयमा उनी अँगेनाको आगोमा परेकी थिइन् । गाउँ समाजमा ‘डढेकी’ उपनाम पाएकी उनले घरमा पनि राम्रो व्यवहार र स्याहार पाइनन् । हेलाँहोचो भोगिरहनुपरेपछि कुनै सीप सिकेर आत्मनिर्भर हुने सोचले काठमाडौं आएकी उनी तिलगङ्गास्थित शान्ति सेवा गृह पुगिन् । “त्यहीं सिलाइ–बुनाइको तालिम लिएपछि जीवन निर्वाह गर्न सहज भएको छ”, उनी सुनाउँछिन् ।

अस्तित्व नेपालमा आत्मनिर्भरताको लागि सीपमूलक तालिम लिंदै ।
जलेका महिलालाई सबैले हेलाँहोचो गर्ने गरेको अनुभव गरेकी अञ्जु समाजलाई देखाउन पनि आत्मबल बलियो बनाएर अघि बढिरहेको बताउँछिन् । “यस्तो शारीरिक अवस्थामा दैनिक काम गर्न कठिन त हुन्छ, तर यिनीहरूले काम गर्न सक्दैनन् र भीख मागेर खान्छन् भन्ने धारणालाई गलत साबित गर्न हिम्मत हारेको छैन”, उनी भन्छिन् । पतिबाट अलग बसेकी उनका एक छोरा छन् । सात कक्षामा पढ्ने छोरालाई बिहान विद्यालय पुर्‍याउँछिन् र आफू काममा जान्छिन् ।

सल्यानकी मुना मगर (२४) को सानो छँदा घरमा नै आगलागी भएर शरीर जल्दा घाँटी र टाउको डढ्यो । समाजले दयाको पात्र बनायो, आत्मसम्मान पनि खस्कियो । कक्षा–५ सम्म पढेकी उनले समाजको व्यवहारसँग जुध्न आफूलाई तयार गर्दागर्दै पढाइलाई निरन्तरता दिन सकिनन् । “नयाँ शुरूआत गर्ने सोचले काठमाडौं आएँ, तर यहाँ पनि मान्छेहरूको फरक व्यवहारको सामना गर्नुपर्‍यो”, उनी भन्छिन् । जीविकोपार्जन गरेर बस्न थालेको सात वर्ष हुँदै गर्दा अहिले उनको आत्मबल बलियो भएको छ । “पहिला मान्छेहरूको व्यवहारले निकै पिरोल्थ्यो, विस्तारै बानी भएर जे छु ठीक छु भन्ने सोचले जितेको छ, अहिले खुशी छु”, उनी भन्छिन् ।

उनी बसुन्धरामा राधा श्रेष्ठले सञ्चालन गरेको ‘राधाको बर्न सर्भाइवल नेपाल’ मा कार्यरत छिन् । उनी मैनबत्ती, पोते र क्रिस्टलका सामग्री बनाउँछिन् । उत्पादित सामग्रीहरू विभिन्न प्रदर्शनी र कार्यक्रममा राखेर बिक्री गरिन्छ । यो संस्थाकी संस्थापक राधा आफैं आगोबाट जलेकी पीडित हुन् । १४ वर्षअघि उनी घरमै ग्याँस सिलिण्डर लिक भएर आगो सल्किंदा घाइते भएकी थिइन् । त्यही घटनामा उनले आमा गुमाउनुपरेको थियो ।

एसिड आक्रमणमा परेका र आगोले जलेका युवती तथा महिलाहरु जो हिम्मत बटुलेर नयाँ सोचका साथ अगाडि बढे ।
उपचारका क्रममा ३९ दिनसम्म काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालको शøयामा उनी छटपटाइरहिन् । त्यो छटपटी मातृवियोग र जलनको पीडा मात्र थिएन, त्यहाँ ल्याइएका जलेका बिरामीहरूको चीत्कार र बिजोग देखेपछिको उपज पनि थियो । “जलेर उपचारको लागि ल्याइनेमा अधिकांश महिला नै हुन्थे, कतिलाई त परिवारले अस्पतालमा छोडेर भाग्थे”, उनी सम्झिन्छिन् । शरीर जलेको पीडामाथि परिवारकै सदस्यले छाड्नु धेरै महिलाको साझ व्यथा भएको देखेपछि उनलाई यो क्षेत्रमै केही गर्नुपर्छ भन्ने हुटहुटी लाग्यो ।

एक गेस्टहाउसमा म्यानेजरको काम गर्ने उनले जागिर छाडेर डा.एन्ड्रेस सेट्जाको सहयोगमा साँखुमा लक्ष्मी महिला गृह स्थापना गरिन् । आर्थिक समस्याका कारण चार वर्षपछि संस्था बन्द गर्नुपर्‍यो । तर, आफ्नो क्षेत्रमा केही गर्ने सोचले उनलाई निदाउन दिएन । र, २०७४ सालमा घरेलु उद्योगमा ‘राधाको बर्न सर्भाइबल नेपाल’ दर्ता गरिन् । उनको संस्थामा जलनमा परेका महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी विभिन्न सीपमूलक तालिम दिइन्छ । साथै, शरीर जलेका महिलाहरूको उपचारमा सघाउने र बिरामीलाई परामर्श पनि दिने उनी बताउँछिन् ।

अस्तित्व नेपाल, राधाको बर्न सर्भाइबलका साथै नेपाल अग्नि जलन समाज, ललितपुर धोबीघाटको बन्र्स भ्वाइलेन्स सर्भाइवर्स–नेपाल लगायतले पनि जलेका घाइतेहरूको उद्धार, उपचार, पोषण, काउन्सिलिङ र जीविकोपार्जनमा सघाउँदै आएका छन् ।

स्रोतः कीर्तिपुर अस्पताल
आगोले जलेका तथा एसिड आक्रमणमा परेकाहरूले आवरण नभई आत्मबल र सुन्दर सोच महत्वपूर्ण रहेको सन्देश पनि दिने गरेका छन् । २०७५ सालमा ओरियन बुटिकले काठमाडौंमा गरेको फेशन शोमा आगोले जलेका तीन जना महिलाले समाजले बनाएको बाहिरी सुन्दरताको मानकलाई चुनौती दिंदै सहभागिता जनाएका थिए ।


‘घरेलु हिंसाका घटना लुकाइन्छ’

प्रा. डा. पीयूष दाहाल, प्लाष्टिक सर्जन, राष्ट्रिय ट्रमा सेन्टर
जल्ने/पोल्ने घटनामध्ये केही नियतवश हुन्छन् भने कतिपय लापरबाही र अज्ञानताका कारण दुर्घटनावश । घरेलु हिंसा, प्रेम वा यौन प्रस्ताव अस्वीकारपछि हुने अग्नि–हिंसा तथा एसिड आक्रमणका घाइते अस्पतालमा बढी आउँछन् । तर, घरेलु हिंसाका घटना पीडितले बताउँदैनन् । उपचारपछि परिवारसँगै बस्नुपर्ने भएकाले लुकाइएको होला ।

शरीरको २० प्रतिशतसम्म जलेको भाग उपचार गर्न सकिन्छ । यस्ता घाइतेको उपचार गर्न छाला आवश्यक हुन्छ । तर, हाम्रो देशमा छाला प्रत्यारोपण निकै कम हुने भएकाले समस्या छ । उपचार सेवा भएका अस्पतालहरूको संख्या पनि सीमित छन् । अहिले काठमाडौंमा शिक्षण अस्पताल, वीर अस्पताल, कीर्तिपुर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, काठमाडौं मेडिकल कलेज, उपत्यका बाहिर नेपालगञ्ज मेडिकल कलेज र चितवन मेडिकल कलेज आदिमा यस सम्बन्धी उपचार हुनसक्ने व्यवस्था छ । तर सबै अस्पतालमा पर्याप्त पूर्वाधार नभएकाले राम्रो उपचार सुविधाको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्छ ।

comments powered by Disqus

रमझम