४–१० फागुन २०७६ | 16-22 Feb 2020

नेपाल–भोट युध्द तयारी : रसद उठाउन झन्झट

Share:
  
- ज्ञानमणि नेपाल
तराईका जिल्लाबाट चामल जम्मा पारिसकेपछि हेटौंडा हुँदै भीमफेदीमा पुर्‍याउन ढुवानीको समस्या देखिएको थियो।

भोटसँगको युद्धका लागि मेजर दलजित विष्ट केरुङ जाने बाटो मर्मत गर्ने, साँघु बनाउने लगायत कामको चाँजोपाँजो मिलाउन खटिएका थिए । उनले कामको प्रगति विवरण प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिठी मार्फत जाहेर गर्ने क्रममा धुन्चेमा साँघुको जग हालेर वेत्रावती जाने उल्लेख गरेका थिए । त्यहाँ तीन दिन बसेर साँघु निर्माणको बन्दोबस्त मिलाउने उनको योजना थियो । त्रिशूलीमा पनि साँघु बनाउन उनले काठ काट्न अह्राएका थिए ।

मेजर विष्टले टिमुरे लगायत ठाउँमा युद्ध प्रयोजनका लागि घर, सैनिक बस्ने थर्पु (शिविर), घट्ट आदि बनाउन गाउँलेहरूलाई ठाउँ देखाएर कार्यविभाजन गरेका थिए । घर बनाउने काठ खिञ्चेत र नुवाकोटमा काट्न लगाई बट्टारमा जम्मा पार्न लगाइएको उनले चिठीमा लेखेका थिए ।

उता, तराईबाट रसद (चामल) सङ्कलन गर्न खटिएका कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारीले पनि प्रधानमन्त्रीलाई चिठी पठाएर सर्लाहीसम्मको चामल जम्मा पारिसकेको जानकारी गराएका थिए । महोत्तरीका बिर्तावार र गुठियारहरूबाट बिघाको हिसाबले रसद उठाउने बन्दोबस्त गरिएको थियो । महोत्तरीको चामल बर्दिबासमा भर्ने र हिसाब लेख्ने मानिस पठाइदिन रसुवाको स्याफ्रुमा खटिएका मेजर महारुद्र खत्रीलाई आग्रह गर्नुपरेको गुनासो उनीहरूले गरेका थिए । यस्तै, हेटौंडाको चामल बोकेर जाने रैतीहरूको चामल भर्ने र हरहिसाब लेख्ने मानिस कम हुँदा ४/५ दिन बस्नुपर्ने झन्झट भएकोतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

चामल जम्मा पारे पनि त्यसलाई चलान गरेर गन्तव्यमा पुर्‍याउन भने झन्झट देखिएको थियो । तराईबाट चामल चलान हुने भएकाले चुरेको बाटो खनेर तयार पार्न पाँच जना सिपाही पठाउन उनीहरूले आग्रह गरेका थिए । गोरुगाडा र घोडामा बोकाएर भीमफेदी पुर्‍याइएको चामल अलि पछि उठाउँदा पनि हुने तर हेटौंडाको चामल पुस/माघसम्म उठाइसक्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । मानिसलाई बोकाएर लगे ढुवानीको ज्याला पनि बच्ने उनीहरूको तर्क थियो । चामल ढुवानीका लागि घोडाको व्यवस्था गर्न मुग्लानका साहूसँग कुरा गर्दा अप्ठेरो बाटोका कारण भीमफेदी पुर्‍याउन नसक्ने, हेटौंडासम्म मात्र जाने बताएका थिए । आफ्नै देशका गोरुगाडा र घोडा पठाउन लाग्दा रैतीहरू नमानेको बस्न्यात र राजभण्डारीले प्रधानमन्त्रीलाई जाहेर गरेका थिए । अन्ततः रैतीहरूले जिल्ला–जिल्लामा गोरुगाडा, घोडाहरूबाट बोकाई ज्याला मजदूरी आफैंले तिरी १९११ सालको १५ माघसम्ममा रसद पुर्‍याउने बताए अनुसार फागुनभरिमा चामल उठाइसक्ने तजबिज गरिएको जानकारी गराइएको थियो ।

कप्तान दलजित विष्टले प्रधानमन्त्री जङ्गबहादुर राणालाई लेखेको चिठी

हिजो मैदान बसानु नसक्या आज धुंच्याबाट हिडुला भन्थ्या बसाउन सकियेन. यहाँका साँघु मैदान चह्राई भोलि ञाहाँबाट हिंडी बेत्रावतीका साँघुमा २ दिनवसि त्यहाँका कामको वन्दोवस्त बाँधि हिंडौला. नञा बनाउनुपन्र्या घरलाई पनि नमुना बक्स्या बमोजिम काठघरको लागि काठ काट्न खिञ्चेत र नुवाकोट्मा कटाइ वटटारमा ज्मा गर्न लायाको छ. टिमुर्‍या लगायत सिध्याउन बाँकि र त्याहाँका जग्गामा घर, थर्पु साँघु घट्ट बनाउनालाई अखडा देखाई गाउँ बाडि जिम्मा लायाको छ. बरोबर बन्याउँदै छु तयार गर्नन्. त्रिशुल गंगाको साँघु सिध्याको रहेनछ तेसलाई पनि बनाउनु भनि काठ कटायाका छन्. आज रातिदेखि हिउँ पनि बरोबर पर्न लागि रहेछ काहासम्म पर्छ रहयाको छैन. १९११ पौष वदि ४ रोज ४

----------

प्रधानमन्त्री जङ्गबहादुर राणा ।

**कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्घिमानसिंह राजभण्डारीले प्रधानमन्त्रीलाई लेखेको चिठी **

रौतहट सर्लाहियाको रसद बन्दोबस्त गरि महुतरिमा पुगी विर्तावार, गुठियारलाई झिकाई विगहट्टीको कागज ली वन्दोवस्त गरि चावल पनि चल्यो. चुरियाको बाटो नवनाई सिपाहि ५ जना पठाई हामि ताहा आइनपुगुन्ज्याल वेकसुर बाकी काम चलन्या गरि राख्या बढीया होला भनि पठाया र रुपैया फिर्ता भइ आयो र सुबा बखतसिंह खत्रीलाई बाटो खन्न २०० रु. दि चुरिया खंन पठाउनु तलाई मर्जि भया बमोजिमको भिच्छाखोरिको बाटो तयार गर्नु भनि सिद्धिमानसिंह राज भंडारिलाई अह्राई आञाथ्या. सुबा बखतसिंह खत्री यता पनि गयाछन्. २०० रुपैया ली तिमि पनि गै चांडो बाटो बनाई तयार गन्र्या काम गर्नु. हामीहरू पनि ञाहाको बन्दोबस्त गरि सरासर ताहि आउन्या छु भनि चाहिदो कुरा अह्राई सुवेदार गंभिर सिंहमाझीलाई पठाइ दिया. हेटौंडामा रह्याको रसद बोकी जान्या रैतिहरूलाई भन्र्या मानिस र लेखन्या काम हुँदा ४।५ दिन वश्नु पर्दा तमाम् रैतिहरू कल्पन्छन्. महुतरिको चावल पनि बर्दिवासमा भर्नलाई लेखन्या र भन्र्या मानिस पठाइदिनु भनि कप्तान महारुद्र खतृलाई लेखि पठाया. यसो भया कसो गरि काम चल्ला भंदैया धानको चावल ज्यादा भन्र्या, लेखन्या कम हुँदा रैति कल्पन्या भो. भरखर सहिहन धान काट्न लाग्यो. अब यो रसद चलन्या सुर चलिरहेछ. भन्र्या र लेखन्या कम भयो. काम वर्बाद होला. हेटौडाको चावल पौष माघमा बोकाई राख्या बढीया होला जस्ता लाग्छ. वैल टट्टुले वोकाई भिंफेदि पुग्याका चावल पछिबाट बोकाउँला अैनल्ये हेटौंडाको चावल मानिसले बोकाया पनि होला कि भन्या जस्तो लाग्छ. रुपैयाँ पनि मजदुरिको बाचला भन्या जस्तो लाग्छ. बाटो बनाउनु यिनी वैल टट्टु गाडाको बन्दोबस्त गर्नु भनि जिल्ला–जिल्लामा चावल पठाउनु पनि संगसगै भैरहेछ. मोगलानका वैल टट्टुको मंजुरिका कुरा गोवर्धन साहुसँग वन्दोवस्त गर्दा पत्थरको बाटो छ भनि प्राण गयापनि नमान्या हेटौंडासम्म भन्या मान्या. भिंफेदितिर भन्दा हाम्रा माल जोखिम हुंछ जादौंन भनि नमान्या. आफ्ना मुलुकका गाडा वयेल् टट्टु पठाइदिउ भन्या हामिहरूले टाउकोमा बोकि कसोगरि रसद पुर्‍याउनु भनि रैतिहरू कराउन आउंछन्. आफ्ना–आफ्ना जिल्लाका वयेल गाडा टट्टु छाडिदिया हामिहरू सबै मिलि मंजुरि दि रसद पुर्‍याउला भनि विंति गर्दा हामिहरूको चित्त बुझि रैतिले पौष र माघको १५ दिनसम्म तिमिहरूले बोकाउनु. माघ १५ दिं बाकिदेखि फागुन भरि वैल टट्टुले बोकाउला भन्या तजविज गरिरह्या छु. १९११ पौष वदि ५ रोज ५

comments powered by Disqus

रमझम