श्रेष्ठले विगत १७ वर्षदेखि कुपण्डोलस्थित ‘क्रिएसन सेरामिक’ बाट यस्तै सामग्री बिक्री गर्दै आएकी छन् । ‘क्रिएसन सेरामिक’ मा माटो–निर्मित थरीथरीका सजावट सामग्रीहरू उपलब्ध छन् । त्यहाँ नेपालमै निर्माण गरिएका विन्ड चाइम्, गमला, कप, लाफिङ बुद्ध, स–साना गाग्री, गमला, कछुवा लगायत विभिन्न डिजाइनका कलात्मक सामग्रीहरू बिक्रीका लागि राखिएका छन् ।
अचेल माटो–निर्मित साना गमला प्रयोग गरी ‘इनर गार्डेन’ बनाएर सजाउने चलन बढ्दो छ । यस्ता सामग्री घर सजाउन मात्र नभएर उपहारका रुपमा दिनेहरू पनि बढेका छन् । तर माटोका सामान कमजोर हुन्छ भन्ने मानसिकता अझै पूर्णतया परिवर्तन भइसकेको छैन । “माटोबाट बनेका सामग्री कच्चा हुन्छन् भन्ने सोचाइ गलत हो” श्रेष्ठ भन्छिन्, “यस्ता सामग्री बनाउँदा ‘ट्रिपल फायरिङ’ प्रविधिको प्रयोग गरिन्छ । ‘ग्लेज केमिकल’ मा चोबेर तीनपटकसम्म आगोमा पोलिन्छ, त्यसैले यी सामग्री कलात्मक र मजबूत हुन्छन् ।”
ठिमीका सुनिल प्रजापति माटो–निर्मित हस्तकला व्यवसायी हुन् । उनले १६ वर्ष अघिदेखि माटो–निर्मित सजावट सामग्री बनाएर बिक्री गर्दै आएका छन् । उनी भन्छन्, “स्वदेशमा उत्पादन गरिएका कलात्मक सजावट सामग्री प्रयोग गर्ने नेपालीको संख्या बढिरहेको छ ।” उनका अनुसार रेस्टुरेन्टमा माटो–निर्मित सजावट सामग्री प्रयोग गरेर मौलिकता दर्शाउने ‘ट्रेन्ड’ चलेको छ । उनी फूलदानी, गमला, पानीको फोहोरा झार्ने वाटर फाउन्टेन, गार्डेन लाइट कभर लगायतका कलात्मक सामग्री बनाउँछन् । उनका अनुसार ह्याङ्गिङ लाइट–झुमर, विन्डो बेल, विभिन्न देवी–देवताका मूर्तिहरू, वाल ह्याङ्गिङ वज्र आदि साजसज्जाका लागि प्रयोग भइरहेका केही महँगा सामग्री हुन् ।
भक्तपुरकै सविर कुमारले माटोबाटै बनेको विन्ड–बेल झ्यालमा झुण्ड्याएका छन् । “यसबाट निस्कने सुमधुर आवाज मलाई साह्रै मनपर्छ”, उनी भन्छन् । उनी माटोबाट बनेको यो सजावट सामग्री निकै चम्किलो र आकर्षक भएकाले किनेको बताउँछन् ।
शंखमूलस्थित इन्टेरियर पोइन्ट प्रालिका सञ्चालक इन्टेरियर डिजाइनर चन्द्रप्रसाद हुमागाईं पौराणिक तथा कलात्मक डिजाइन गराउन रुचाउने ग्राहकहरू बढ्दै गएको बताउँछन् । उनी भन्छन्, “आधुनिक भन्दा परम्परागत सामग्री राखेर घर सजाउँदा अरुको भन्दा राम्रो र फरक देखिन्छ ।” अझ माटोबाट बनेका कलात्मक सामग्री आकर्षक तवरले तयार गरिने भएकाले पनि यस्ता सामग्रीको महत्व बढेको उनको अनुभव छ ।