४–१० फागुन २०७६ | 16-22 Feb 2020

नसुल्झिएको समस्या

Share:
  
- निरञ्जन राजवंशी
एकदिवसीय राष्ट्रको स्तर जोगाउँदै थप उपलब्धि हासिल गर्ने हो भने नेपाली क्रिकेटले अहिलेको जस्तो अपरिपक्व क्रिकेट खेलेर हुँदैन।

२९ माघमा भएको अमेरिकासँगको खेलमा विकेट लिएपछि खुशी साट्दै सन्दीप लामिछाने र कप्तान ज्ञानेन्द्र्र मल्ल । विक्रम राई
‘न राम्रो न त खराब नै’ कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँगको खेलको नतिजालाई लिएर पूर्व कप्तान विनोद दासको प्रतिक्रिया यस्तो थियो ।

‘क्रिकेट विश्वकप लिग–२’ को शुरुआत नेपालले ४ अंक प्राप्त गर्नुका साथै ४ अंक गुमाएपछि थुप्रैले नेपाली क्रिकेटको स्तरमा चिन्ता व्यक्त थालेका छन् । विश्लेषकहरू भन्छन्, ओमानले क्रिकेट कसरी खेल्नुपर्छ भनेर नेपाललाई पाठ पढाएर गएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) राष्ट्रको हैसियत प्राप्त नेपालको यो प्रदर्शन काफी छैन ।

नेपाली क्रिकेट अहिले उपल्लो श्रेणीको क्रिकेट खेलिरहेको छ । टी–२० मा विश्वको १२औं वरियतामा रहेको नेपाल एकदिवसीय क्रिकेटको १७औं स्थानमा छ । दशक लामो इतिहास रच्दै नेपालले यो स्थान प्राप्त गरेको हो ।

इतिहास वयस्क भए पनि खेलाडीहरूको खेल स्तर भने वयस्क बन्न नसकेकै हो त? ‘एमेच्योर’ क्रिकेट भन्दा माथि उठ्न नसकेको हो ? गत जुलाईमा भएको टी–२० विश्वकपको एशियाली छनोट चरणमा नेपालको असफलताले नेपाल मात्र होइन, विश्व क्रिकेट नै चकित बनेको थियो । सिंगापुरमा भएको त्यो प्रतियोगिताले नेपाली समर्थकहरूको मनमा चिसो पसेको थियो, जुन अहिले कीर्तिपुरमा भएको प्रदर्शनबाट पनि हटेको छैन ।

पुरानै समस्या

समग्रमा समस्या नेपाली क्रिकेटको स्तरमा नै देखिन्छ । ५० ओभरको प्रतियोगिता खेल्ने धैर्य खेलाडीहरूसँग देखिंदैन ।

ब्याटिङ त परम्परागत समस्या नै भइहाल्यो । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा भन्छन्, “ब्याटिङमा मात्र होइन, सबै क्षेत्रमा स्तरोन्नति गर्न जरुरी छ । खेलाडीहरूलाई लामो भर्सनको क्रिकेटमा अभ्यस्त गराउन निकै जरुरी छ । त्यो भनेको राम्रो टोलीसँग निरन्तर खेल्नु हो ।”

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल लिग–२ लाई लिएर गम्भीर देखिन्छन् । विश्व क्रिकेटको परिवेश फरक भइसकेको भन्दै अब उपल्लोस्तरको क्रिकेट खेल्न त्यही अनुरुपको स्तरीय तयारी र वातावरण आवश्यक रहेको बताउँछन् । “अबको क्रिकेट हिजो हामीले खेलिरहेको क्रिकेट होइन । माथिल्लो तहको क्रिकेट खेल्न त्यही अनुरुपको तयारी जरुरी छ । ठूला टिमसँग खेल्दै खेलाडीहरूको धैर्य बनाउन अहिलेको आवश्यकता हो”, उनी भन्छन् ।

गतिलो शुरुआत दिन सक्ने भरपर्दो प्रारम्भिक जोडी नहुनुको समस्यासँग अहिलेसम्म नेपाली टोली जुझिरहेको छ । यसपालि पनि प्रारम्भिक ब्याटिङ जोडीमा गरिएका प्रयोगहरू सफल हुनसकेको देखिएन ।

पूर्व कप्तान दासको विचारमा ब्याटिङका लागि लामो तयारीका बाहेक तेज गतिको बलिङ क्षेत्रमा पनि सुधार आवश्यक छ । “तेज गतिको बलिङमा करण केसीको सहयोगी जोडीको आवश्यक देखिएको छ ।”

युवा आशा

कीर्तिपुर मैदानबाट राष्ट्रिय टोलीमा‘डेब्यु’ पाएका कुशल मल्ल र सुशान भारीले प्रभावशाली खेल पस्किए । बायाँहाते ब्याट्सम्यान मल्लले डेब्यु खेलमै अर्धशतक मात्र प्रहार गरेनन्, सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान नै रचे । भारीले आफ्नो स्पिनको जादू देखाएर राष्ट्रिय टोलीको राम्रो विकल्पको रुपमा आफूलाई उभ्याए ।

कीर्तिपुरमा रिपोर्टिङका लागि आएका अमेरिकी क्रिकेट पत्रकार पिटर डेला पेना भन्छन्, “नेपाली क्रिकेटको यो सुन्दर पक्ष हो । अब पारस खड्का, शरद भेषवाकर वा ज्ञानेन्द्र मल्ल जस्ता सिनियर खेलाडीहरूमा मात्र नेपाली क्रिकेट निर्भर हुनुपर्दैन । मल्लले त विश्व कीर्तिमान नै रचे । खेलाडीको लागि योभन्दा स्वर्णिम आगमन के हुनसक्छ र !”

सुशन भारी र कुशल मल्ल ।
कीर्तिपुरमा नेपालको समर्थनमा आएका दर्शकहरू देखेर दंग परेका पेना थप्छन्, “अहिले लिग–२ खेलिरहेको अन्य ६ वटा देशसँग यस्ता समर्थक छैनन् । नेपालसँग मात्र यो सम्पत्ति छ । यसको सदुपयोग गर्न चुक्नु हुन्न ।”

नेपाली क्रिकेटको प्रशासकीय निकाय नेपाल क्रिकेट संघको नयाँ नेतृत्व काम गर्ने सही समयमा छ । संघका सचिव अशोकनाथ प्याकुरेलले क्यानले विश्वकप लिग–२ कै तयारीका लागि योजना बुनिरहेको बताउँछन् । “लिगका लागि खेलाडीहरूलाई विदेशमा पठाउने तयारी छ । सबैले खोजे जस्तै खेलाडीहरूमा निखार ल्याउने र धैर्य भएर क्रिकेट खेलाउने काम चाँडै थालिनेछ”, उनी भन्छन् ।

प्रशिक्षक टमाटा विदेशमा नभए कीर्तिपुरकै पिचमा परिवर्तन गरेर भए पनि अभ्यास गर्नुपर्ने बताउँछन् । “ब्याट्सम्यान सुहाउँदो पिच बनाउन सकिन्छ । ताकि ब्याट्सम्यानहरूले धेरैभन्दा धेरै रन बनाउने बानी बसाल्न सकौं, बलरहरूले पनि विकेटको लागि संघर्ष गर्नु परोस्”, उनी भन्छन्, “बाहिरबाट तेज गतिका बलरहरू ल्याएर पनि खेलाडीलाई अभ्यस्त बनाउन सकिन्छ ।”

सन् २०२३ मा भारतमा हुने विश्वकपको छनोट चरणको रुपमा रहेको लिग–२ मा नेपाल लगायत स्कटल्याण्ड, अमेरिका, ओमान, नामिविया, युएई र पपुवा न्युगिनी गरी सात ओडीआई राष्ट्र छन् ।

नेपालले यो वर्ष लिग–२ शृंखला अन्तर्गत अबको पहिलो खेल दुई महीनापछि नामिवियामा खेल्नेछ, जहाँ नामिवियासँगै नेपाल र स्कटल्याण्डले खेल्नेछन् । चार महीना पछि जुलाईमा नेपाल स्कटल्याण्ड जानेछ र त्यहाँ नामिविया सम्मिलित तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले क्यानले जे गर्नुछ अबको दुई महीनाको बीचमा नै गर्नुपर्छ । अर्थात् आजैदेखि गर्नुपर्नेछ ।

comments powered by Disqus

रमझम