असोज २०७८ | 17/09/2021

सन्चो / बिसन्चो

Share:
  
- खगेन्द्र लामिछाने

म एक गहना !

औपचारिक कार्यक्रमहरूमा कलाकारलाई आसन ग्रहण गराउँदा तारीफमा अनेक फूलबुट्टा गाँस्ने क्रममा प्रायः नछुट्ने पदावली हो– राष्ट्रका गहना ।

आसन ग्रहणमा उद्घोषकले नाम बोलाएसँगै पररर ताली बज्छ । कालो चश्माधारी कलाकार मञ्चमा उक्लिन्छ, दर्शकदीर्घातिर फर्केर जुम्लीहात जोड्दै कुर्सी÷सोफामा गजक्क परेर बस्छ ।

राष्ट्रको गहना भए पनि राष्ट्रले आफूहरूलाई कहिल्यै वास्ता नगरेको दुःखेसो पोखेपछि दुई–चार प्रस्तुति दिएर कलाकार मञ्चबाट बिदा हुन्छ ।

कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती । कसरी भयो गहना ? अझ्, राष्ट्रको गहना हुन त झ्नै विशेष धातु हुनुपर्छ होला ! आफू कलाकार भए पनि कलाकार राष्ट्रको गहना हो भन्ने कुरा म कदापि मान्दिनँ ।

एक दिन एउटा समाचारको शीर्षकले मेरो आँखा मात्र होइन, मनै तान्यो । शीर्षक थियो– ‘कलाकार राष्ट्रका गहना होइनन्ः विश्वप्रकाश शर्मा’

मनको कुरा पत्रिकाको शीर्षकमै पढ्न पाउँदा फुरुङ्ग भएँ । उहिलेदेखि राजादेखि रैतीसम्मले स्विकारेका ‘राष्ट्रका गहना’ लाई आज कम्तीमा एक नेताले स्पष्ट शब्दमा नकारिदिए । नेतामा त यसरी आफ्नो कुरा स्पष्ट बोल्न सक्ने ल्याकत पो हुनुपर्छ । शर्माजीलाई मनमनै क्याबात् भनें ।

सबैले आफूले जानेको काम गर्ने हो । रुचि वा संयोगले जुराएको काम गर्दा कोही राष्ट्रका गहना हुने कोही नहुने कुरा कसरी स्थापित भयो ? कलाकार भनेको किसान, कर्मचारी, व्यापारी जस्तै एउटा कर्मी हो, कुनै विशेष र अलग्गै प्रजाति हैन । सोचौं, यो देशमा सबै कलाकार मात्र भएको भए के हुन्थ्यो ? अथवा सबै कर्मचारी, सबै किसान वा सबै व्यापारी मात्र भएको भए के हुन्थ्यो ? पेशा, कर्म फरक छन्, दुनियाँ विविध छ र त देश फूलबारी जस्तो छ ।

अन्तर्राष्ट्रिय पुरस्कार पाएका कतिपय किसान गुमनाम छन्, यो देशमा । तर, जिल्ला स्तरीय पुरस्कार पनि नपाएका कलाकार यहाँ राष्ट्रका गहना कहलिएका छन् । यो अमिल्दो थिति विरुद्ध कमसेकम एक नेता त बोले भनेर मन रमायो । चाहे भने एक जना नेताले म जस्ता हजारौं–लाखौंलाई खुशी दिन सक्ने रहेछन् ।

मन छुने शीर्षक पढेपछि समाचारभित्रै पसें । पढ्दै जाँदा मन हल्लिए जस्तो भयो । एउटा वाक्य पढेपछि भने मनमा ठूलै पहिरो गयो । त्यो वाक्यमा शर्माजीको भनाइ थियो, ‘कलाकार राष्ट्रका गहना होइनन्, किनकि गहनाको मूल्य हुन्छ, कलाकार त अमूल्य छन् । त्यसैले कलाकार राष्ट्रका अमूल्य गहना हुन् !’

लौ मार्यो ! शर्माजीले कलाकारलाई त झ्न् अमूल्य गहना पो बनाइदिनुभयो । गहना र अमूल्य गहनाबीच कलाकारले कतिन्जेल अतिरिक्त लाभ सँगाल्नुपर्ने हो ?

वास्तविक सा’प्

अस्पताल गएको वेला एक जना महिला डाक्टरलाई सोधें, ‘पुरुष डाक्टरलाई डाक्टर सा’प् भनिन्छ भने महिला डाक्टरलाई के भनिन्छ ?’

‘डाक्टर सा’प् नै भनिन्छ,’ क्षणभरको अलमलपछि उनले भनिन् ।

डाक्टर त डाक्टर हो ! पछाडि सा’प् किन झुन्ड्याइएको ? यो चलन कहिलेदेखि र कसरी बस्यो होला भन्ने खसखस लागिरहन्छ ।

डाक्टर मात्र कहाँ हो र, सरकारी सेवामा त उहिलेदेखि अहिलेसम्म सा’प्को फुर्को झुन्डिने गरेकै छ– मुखिया सा’प्, बैदार सा’प्, खरिदार सा’प्, सुब्बा सा’प्, हाकिम सा’प्, इन्सपेक्टर सा’प्, एसपी सा’प्, कर्नेल सा’प्, सा’पैसा’प् । गुनासा धेरै सुनिन्छन्– ‘सा’प्हरूले देश खत्तम पारे !’

एउटा नागरिक काम लिएर सरकारी अड्डामा जाँदा सा’प्हरूसँग दश उम्ली जोड्दै हारगुहार माग्नुपर्छ ।

नेतालाई त जनताले चुनेर पठाउने हो, तर कर्मचारी, प्रहरी, सैनिक, डाक्टरहरू त मिहिनेतका साथ पढेर, प्रतिस्पर्धा गरेर त्यो ठाउँमा पुगेका हुन्छन् ।

‘त्यहाँ किन जान्छन् ?’ स्वाभाविक जिज्ञासा ।

‘आफू र परिवारको जीवन चलाउन,’ साधारण उत्तर ।

‘जीवन चलाउने आधार के हो ?’

‘जागीर र त्यसबाट आउने पैसा ।’

‘त्यो पैसा कहाँबाट आउँछ ?’

‘जनताले तिर्ने करबाट ।’

आफ्नो करबाट तलब खुवाउनेलाई नै सा’प् भन्दै पुज्नुपर्ने विडम्बना हाम्रो देशमा मात्रै हो कि अन्त पनि छ ? सा’प् शब्द दक्षिणी छिमेक भारतबाट बसाइ सरेर आएकाले उता पनि सा’प्का अवशेष त बाँकी नै छन् ।

असली सा’प् को हो त ? यो प्रश्नले वेलावेला मन घोचिरहन्छ ।

comments powered by Disqus

रमझम