कार्तिक २०७८ | 18/10/2021

सन्चो / बिसन्चो

Share:
  
- खगेन्द्र लामिछाने

मोहपाश

जग्गा दलालीबाट झ्याप्पै पैसा कमाएपछि जगलाल र उनकी श्रीमती चुनमायाले आठ वर्षे छोरो पौरखलाई महँगो बोर्डिङ स्कूलमा हाले । छोराले पनि राम्रै पढ्न थाल्यो । अङ्ग्रेजीमा धुरन्धर हुँदै गयो ।

जगलाललाई त जग्गाको कारोबारले अरु कुरा सोच्ने फुर्सद हुँदैनथ्यो । चुनमाया भने आफूले नजाने पनि छोराले अङ्ग्रेजी बोलेको देखेर दंग परिन् । सोचिन्, “ओहोऽऽ अब हामी सम्भ्रान्त भयौं । सभ्य भयौं ।”

छोराले ए लेभल सक्यो । एक साँझ परिवार नै छलफलमा बसे ।

“यस्तो टेलेन्ट बच्चालाई यो देशमा राख्न हुँदैन,” चुनमायाले अड्डी कसिन् ।जगलालले छोरालाई नेपालमै केही गर्ने सल्लाह दिए । तर, चुनमाया तगारो बनिरहिन् । त्यो अड्डीको अगाडि जगलालका हड्डी गले । छोरा अमेरिका हानियो ।

पौरखले अमेरिकामा पनि पौरख देखायो । पढाइ पूरा गरेर नेपाल फर्कियो ।

“यति टेलेन्ट मान्छे यस्तो गुह्य ठाउँमा बस्न हुँदैन,” चुनमायाले फेरि बाउ–छोराकै हड्डी गलाइन् ।

जगलाल र चुनमायाले छोराको बिहे धूमधामका साथ गरिदिए । छरछिमेकमा हल्ला चल्यो, “जगलालले अथाह पैसा कमाएको रैछ, छोराको बिहेमा सत्तरी लाख जति खर्च गर्‍यो ।”

“त्यत्रो खर्च गरेर भित्र्याएकी बुहारीलाई यस्तो गुह्य ठाउँमा राख्न हुन्छ ?” चुनमायाले फेरि गनगन गर्न थालिन् ।

बुहारी लिएर छोरा अमेरिका गयो । पैसा पनि राम्रै कमायो । एउटी छोरी पनि उतै जन्मिई ।‘मेरी नातिनी अम्रिकाने हो नि’ भन्दै चुनमायाले टोलमा झ्याली पिटिन् ।

अचानक जगलाल हृदयाघात भएर बिते । अमेरिकाबाट छोरा, बुहारी र नातिनी आए । बाउको काजकिरिया सके ।

“अब एक–दुई वर्षमा सबै मिलाएर म अमेरिका नजाने गरी फर्कन्छु आमा,” श्रीमती र छोरी सहित अमेरिका फर्कने वेला पौरखले भन्यो ।

श्रीमान्को मृत्युले आहत भएकी चुनमायाका आफ्नै हड्डी गलिसकेका रैछन् । उनले ‘हुन्छ’ भनिन् ।

नभन्दै दुई वर्षपछि यतै व्यापार गर्ने भनेर पौरख सपरिवार नेपाल फर्कियो । छोरा–बुहारी व्यापारमा व्यस्त भएपछि तोतेबोली बोल्ने नातिनी हेर्ने जिम्मा चुनमायाको भयो ।

“कमोन मा, आई वान्टु प्ले विद् यू, लेट्स प्ले,” नातिनी बुरुक्बुरुक् उफ्रेर भन्थी । चुनमाया ट्वाँ पर्थिन् ।

टोलका मानिसहरू चोकमा चर्चा गर्थे, “नातिनीसँग चुनमाया इशाराले कुरा गर्छिन् रे ।”

ठूला कुराको भाउ

चम्पासिंह बाजेले भने, “यो गाउँलाई अबको पाँच वर्षमा यूरोप जस्तो बनाइदिन्छु । जागिर नहुनेलाई जागिर दिन्छु । घर नहुनेलाई घरै बनाइदिन्छु ।”

मानपुर गाउँमा एकाएक हल्लीखल्ली मच्चियो ।

गाउँलेहरू चम्पासिंहको पछाडि लागेको देखेर गाउँपालिकामा चुनाव जितेको पार्टीका नेताहरूको निद्रा हरायो । गाउँलेहरूले पनि सोचे, “कहिल्यै चुनाव नहारेका बाजेले अघिल्लो चोटि हारे, त्यसपछि यिनको चेत खुलेछ । यसपाली टन्नै बहुमत ल्याएर जित्छन् ।”

चम्पासिंहले अघिल्लो स्थानीय चुनावमा गाउँपालिकाको अध्यक्षमा हारेका थिए । त्यसपछि गाउँका नयाँ पुस्ताले खासखुस गरे, “बूढा अब फेजआउट भए ।” हुन पनि, करीब बीस वर्षपछि गाउँमा स्थानीय चुनाव भएको थियो । नयाँ पुस्ता जन्मिसकेको थियो ।

उहिले सीमित साधनस्रोत भएको वेला पनि चम्पासिंहले कुलो खनाएका थिए । कच्ची बाटो बनाएका थिए । विद्यालय खोलेका थिए, स्वास्थ्य चौकी पनि ल्याएका थिए । चुनावी भाषणमा जे जे काम गर्छु भने, त्यो त्यो गरे । “चम्पासिंह बोलेको कुरा गरेरै छाड्छन्, हामी बाँचुन्जेल हाम्रा नेता यिनै हुन्,” गाउँलेहरू छाती पिटेर भन्थे । बीस वर्षमा देश–दुनियाँमा धेरै कुरा फेरिए । मान्छेको मन किन नफेरिँदो हो ! त्यसैले त चम्पासिंहले गाउँपालिकाको अध्यक्षमा हारे ।

नयाँ समयको नाडी छामेर चम्पासिंहले पनि नयाँ कुरा गरे । रेलको कुरा गरे । गाउँमै हावाबाट बिजुली निकाल्ने योजना सुनाए । ससानो एअरपोर्ट बनाउने पनि बताए । गाउँलेहरूले सजिलै पत्याए ।

चुनाव आयो । गाउँलेहरूले चम्पासिंहलाई प्रशस्त मतले जिताए । तर, जितेको दिनदेखि चम्पासिंह कानमा तेल हालेर बसे । गाउँलाई यूरोप जस्तो बनाउने त कुरै छाडौं, भत्केका बाटाघाटा मर्मत समेत गरेनन् ।

गाउँलेहरू जिल्ल परे । एकदिन सबै जना उनको घरमै पुगे । गाउँपालिकाको अध्यक्ष भएपछि सिन्को नभाँचेकोमा गुनासो गरे । तब चम्पासिंहले भने–

विगतमा मैले जे बोलें, त्यो गरें । आजकल त समय फेरिएछ, गर्ने भन्दा पनि गफ दिने दिन आएछन् । ठूल्ठूला कुरा गर्‍र्‍यो, चुनाव जित्यो । मैले चुनाव हारेपछि सिकेको कुरा यही थियो । तिमीहरूले जे सिकायौ, त्यही सिकें । अन्ततः तिमीहरूकै भोटबाट चुनाव पनि जितें । यो कार्यकालमा म केही पनि गर्दिनँ । अर्को पटक गर्न सक्ने कामको सूची लिएर चुनावमा आउँछु, जितायौ भने काम पनि गरुँला ।

comments powered by Disqus

रमझम