कार्तिक २०७८ | 18/10/2021

सांस्कृतिक शक्तिको सेतु

Share:
  
- रमेश ढुङेल
सौम्य शक्तिमा हामी संसारमै धनी छौं। चाहे चार हजार वर्ष अघिको वैदिक सभ्यताको कुरा गरौं वा २५ सय वर्ष अघि संसारलाई चमत्कृत पार्ने बुद्ध धर्म।

संस्कृति, मानवीय चालचलन, धार्मिक र सांस्कृतिक सम्पदा, आपसमा सहयोग र समन्वय गर्ने हार्दिक स्वभावले हामीलाई बाँकी विश्वभन्दा विशेष बनाएको छ। यी विविध पक्ष हाम्रो सौम्य शक्तिका स्रोत हुन् । त्यसकारण सौम्य शक्तिमा हामीसँग प्रतिस्पर्धा गर्ने संसारमा कोही छैन।

इतिहास नियाल्दा बाह्य शक्तिहरू नेपालमा विभिन्न खजाना छ भनेर लुट्न आएको पाइन्छ। दिल्लीका सुल्तान, बंगालका तुगलक गयासुद्दीन, शमसुद्दीन आदि शासकहरूले धनदौलत लुट्ने तथा वैदिक-सनातनी, बौद्ध र अन्य धर्म परम्पराका मठ-मन्दिर, विहार, मूर्ति, ग्रन्थ आदि नष्ट गर्ने उद्देश्यले नै यहाँ आक्रमण गरेको देखिन्छ।

मुस्लिम शासक खिलजीको आक्रमणले भारतमा हिन्दू र बौद्धधर्मी दुवैलाई तहसनहस बनायो। त्यति वेला मुस्लिमहरूको आक्रमणबाट बच्न भारतका वैदिक सनातनी तथा बौद्ध गुरूहरू नेपाल आउने क्रममा उनीहरूले साथमा प्राचीन धर्मशास्त्रहरू पनि ल्याए।

मुस्लिम आक्रमण र अतिक्रमणका कारण बुद्ध धर्म भारतमा समस्यामा परेको देखेपछि प्रकृतिले बनाएको किल्ला नेपालमा ल्याएर बचाउने काम भयो। त्यसलाई संरक्षण गर्ने भनेर नेपाली र तिब्बतीबीच व्यवहारमा सांकृतिक सम्झौता पनि भयो। परिणामतः एघारौं शदीमा पश्चिम तिब्बतमा बुद्ध धर्म पुनर्जीवित भएको देखिन्छ। त्यसअघि पनि उत्तर भारतका र नेपालका बौद्ध धर्मगुरु मिलेर बौद्ध धर्म, दर्शन र परम्परालाई तिब्बत पुर्‍याएर बचाउने र विस्तार गर्ने काममा नेपालको ठूलो भूमिका रह्यो।

युद्धमा पराजित भएपछि लिच्छवि राजा उदयदेव र छोरा नरेन्द्रदेव राजनीतिक शरण लिन पहिले जस्तो दक्षिणतर्फ नगई हिमालपारि गए। २० वर्षको वयस्क भएपछि फर्केर आउँदा नरेन्द्रदेवले साथमा भोटे सैनिक लिएर आए। लिच्छवि, मङ्गोर, खस-ठकुरीहरू पनि त्यसरी नै यहाँ आएको पाइन्छ।

रसुवास्थित गोसाइँकुण्ड।
तस्वीरः नेपाली टाइम्स

विभिन्न समयमा हाम्रो तराईको भूमि हुँदै दक्षिणतिरका शक्ति र सभ्यताका छाल यतातिर पसेको स्पष्ट इतिहास छ। त्यस्ता शक्तिहरू कहिले अन्य ठूला शक्तिबाट बच्न यतातिर पस्थे र धेरैजसो यतै बस्थे। लुक्न वा खजाना लुट्न आउने जस्ता कारणले यहाँ बेग्लै किसिमको मिश्रित संस्कृति र सभ्यताको विकास भयो। त्यसबाट हामीले दक्षिण एशियाका अभूतपूर्व प्राचीन मानवीय संस्कृति र धरोहर जोगाउन सक्ने देशको रूपमा व्याख्या गर्ने र हाम्रो स्वाभिमानलाई उत्कृष्ट भनेर चिनाउने मौका मिलेको छ। यस्तो सांस्कृतिक विविधता हाम्रो अर्को महत्त्वपूर्ण शक्ति हो।

षोडस महाजनपदमध्ये अधिकांश अहिलेको उत्तरी भारतमा परे। एक-दुई वटा महाजनपद भने हालको नेपालमा पनि परेका छन्। त्यसमध्येको एक हो, लुम्बिनी-कपिलवस्तु क्षेत्रमा फैलिएको ‘शाक्य गणराज्य’। नेपालमा यूरोपमुखी ‘बोर्डर नेशनालिज्म’ को अवधारणालाई सतर्कता र चलाखीपूर्ण रूपमा पूरापूर उपयोग गर्ने पहिलो व्यक्ति जङ्गबहादुर राणा थिए। जङ्गबहादुरले नेपालका गुमेका केही महत्त्वपूर्ण भूभाग फिर्ता ल्याउन चलाखीपूर्वक गरेका प्रयास र देशको भूमि जोगाउन गरेको आधुनिक सीमाङ्कनका कारण लुम्बिनी कपिलवस्तु सहित प्राचीन शाक्य गणराज्यको ठूलो र महत्त्वपूर्ण हिस्सा हामीलाई प्राप्त भएको छ।

जङ्गबहादुरले गरेको राष्ट्रिय सीमांकनको गहन कामले बौद्ध संस्कृतिको इतिहास र धरोहर बोकेको शाक्यमुनि बुद्धको जन्मभूमि ब्रिटिश भारतले चाहेर पनि लिन नसक्ने गरी नेपालमा पर्‍यो, जुन हाम्रो ठूलो सौम्य शक्तिको स्रोत बनेको छ। त्यति वेला शास्त्रीय लामाहरू, बुद्ध सम्बन्धी ज्ञान भएकाहरूलाई मात्रै लुम्बिनी बुद्धको जन्मभूमि हो भन्ने थाहा थियो। सीमांकनबाट नेपालमा पर्नुअघि बुद्ध जन्मस्थल भारत अन्तर्गत पनि थिएन, किनकि शाक्य गणराज्य छुट्टै देश थियो।

शास्त्रमा वर्णित बुद्धको जन्मभूमि लुम्बिनी हाम्रै रुमिन्देही (हालको रुपन्देही) नै हो भनेर प्रमाणित गर्ने शिलास्तम्भ वर्तमान भारतमा पर्ने मगध साम्राज्यका शक्तिशाली सम्राट अशोकको हो। सन् १८९५ मा ब्रिटिश भारतका पुरातत्त्वविद् डा. एलियस एन्टोन फुररले सम्राट अशोकको शिलास्तम्भ अभिलेखका आधारमा बुद्ध जन्मभूमि यही लुम्बिनी वन हो, जसलाई रुमिन्देही भनिन्छ भन्ने तथ्य सार्वजनिक गरे। त्यसपछि संसारले गौतम बुद्ध जन्मिएको देशबारे थाहा पायो।

काठमाडौंको बौद्ध स्तूप रङ्ग्याउँदै स्थानीय।
तस्वीरः मोनिका देउपाला/हिमालखबर

महायानी पद्धतिको परम्परा भए तापनि हाम्रो देशको बौद्ध संस्कृतिले शुरूदेखि अहिलेसम्म निरन्तरताको इतिहास बोकेको छ। चाहे बौद्ध नेवारको परम्परा होस् वा हिमाली क्षेत्रका नेपाली समुदायको। यस्तो इतिहास छिमेकी भारत, श्रीलंका लगायत देशमा छैन। यो निरन्तरताबाट बौद्ध धर्म-दर्शन र त्यसले बनाएको परम्परा बचाउने काम नेपालले गरिदियो।

हाम्रो जस्तो पहाड, पर्वत अन्य देशमा पनि नभएको होइन। तर, पहाड-पर्वत र हिमाच्छादित धेरै टाकुरा सहित संसारकै सर्वोच्च हिमाल, होचो उपत्यका, गहिरो घाँटी (खोंच), हिमालदेखि तराईसम्म तीन तहको भूबनोट अन्यत्र पाइँदैन। यस्तो पृथक् भौगोलिक अवस्था पनि हाम्रो विशेष सभ्यता वा सामरिक शक्तिको स्रोत नै हो। त्यसमाथि पनि हामी दुई वटा विशाल देशको बीचमा छौं। यस्तो भूराजनीतिक अवस्थिति पनि आफैंमा शक्ति हो। त्यसैले त पृथ्वीनारायण शाह जस्ता सफल योद्धा र राजनेताले ‘नेपाल भन्याको प्रकृतिले बनायाको किल्ला रह्याछ’ भनेका हुन्।

स्वयम्भू महाचैत्य, बौद्ध (खास्ति महाचैत्य),
लुम्बिनी, मुक्तिनाथ, चावहिल, पशुपतिनाथ
आदिका पुरातात्विक धरोहर हाम्रा पूँजी
हुन्। तिनका वरिपरि हुने मानवीय उत्सव,
चालचलन, विहारहरू बनाउने अभ्यास
आदि विश्वलाई चकित पार्ने खालका छन्।
प्रकृतितर्फ वन, वनस्पति, जलस्रोत, कला-संस्कृतितर्फ मूर्तिकला, चित्रकला (थाङ्का/पौभा, देब्री/भित्तेचित्र आदि) र आध्यात्मिक दर्शन र स्थानीय अनुभवबाट विकसित फरक तथा आकर्षक प्राचीन र मध्यकालिक वास्तुकला पनि नेपालका सौम्य शक्तिका स्रोत हुन्। कर्कप्याट्रिक, ह्यामिल्टन, सिल्भाँ लेभी, जुसेफ टुची, टोनी हागन, डेविड स्नेल्ग्रोभ, लुसियानो पेटेक जस्ता अन्वेषक र नेपालबारे चाख राख्ने कृतिकारले यहाँको विशिष्ट भूगोल र प्राकृतिक सुन्दरताको त्यसै प्रशंसा गरेका होइनन्। हामीसँग अपार प्राकृतिक स्रोत छ। हामीले यसको उपयोग गर्न सकेका छैनौं। संसारमा विरलै पाइने यस्ता प्राकृतिक कुराको सदुपयोग गर्ने विषयमा हामीले सोच्नैपर्ने हुन्छ।

सौम्य शक्तिमा हामी संसारमै धनी छौं। चाहे चार हजार वर्ष अघिको वैदिक सभ्यताको कुरा गरौं वा २५ सय वर्ष अघि संसारलाई चमत्कृत पार्ने बुद्ध धर्म, यी सबै हाम्रा सौम्य शक्ति हुन्। स्वयम्भू महाचैत्य, बौद्ध (खास्ति महाचैत्य), लुम्बिनी, मुक्तिनाथ, चावहिल, पशुपतिनाथ आदिका पुरातात्विक धरोहर हाम्रा पूँजी हुन्। तिनका वरिपरि हुने मानवीय उत्सव, चालचलन, विहारहरू बनाउने अभ्यास आदि विश्वलाई चकित पार्ने खालका छन्।

सांस्कृतिक दृष्टिले हामी अगाडि थियौं नै, त्यसलाई प्रकृतिले जोगाइदिंदा हाम्रो सौम्य शक्ति थप बलियो भयो। किनभने, आक्रमण गर्न आउनेलाई डाँडाबाट ढुङ्गा लडाएर पनि खेदाउन सकिन्थ्यो। राज्य विस्तारपछि पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्ताना त यही पो रहेछ’ भनेका थिए। यसको मतलब हिन्दूको मात्र भूमि भन्न खोजेका होइनन्, यस महाद्वीपका बोकेर ल्याइएका अनुपम शास्त्र, धर्मशास्त्र र परम्परा र शीपलाई समुद्रपारको विधर्मी शक्तिको प्रभाव र आक्रमणबाट जोगाउँन सकिने ठाउँ नेपाल भएकाले उनले त्यसो भनेका हुन्। किनभने, भारत त त्यति वेला क्रिश्चियन शक्तिको उपनिवेश बनिसकेको वा बन्ने दौडमा थियो।

हिन्दू र बौद्धधर्मीका आकर्षक विहार, चैत्य, गुम्बा तथा मठमन्दिर हामीकहाँ नै बने। धर्मसँग जोडिएका शिल्पको प्रयोग दरबार आदि महत्त्वपूर्ण वास्तु क्षेत्रमा पनि व्यापक रूपमा प्रयोग भयो। त्यही शिल्प सिकाउन चीन गएका अरनिकोका दश पुस्तासम्म त्यहाँको कला विभागको प्रमुख भए। तिब्बतका साथै चीन, भुटान, कश्मीर, मंगोलिया आदि सबैतिरका गुम्बा, मठमन्दिरमा नेपाली वा त्यसबाट प्रभावित कलाशिल्पका नमूना अहिले पनि हेर्न पाइन्छ।

काठमडाौंको स्वयम्भूस्थित बौद्ध स्तूप।

हामीकहाँ मूर्त र अमूर्त दुवै किसिमका पुरातात्विक शक्ति छन्। एउटा तीर्थस्थल विभिन्न धार्मिक आस्था राख्नेहरूको साझा थलो रहेको विशिष्ट सांस्कृतिक सङ्गम हामीकहाँ प्रशस्त देख्न सकिन्छ। एउटा उदाहरण हो, रसुवाको गोसाइँकुण्ड। यसलाई कसैले शिलु तीर्थ, कसैले गोसाइँथान, कसैले छुनाक भन्छन्। हिन्दू, बौद्धधर्मी, झाँक्री आदि सबैको आस्थाको साझा केन्द्र हो यो।

नदीका सङ्गमस्थलहरूलाई हेरौं। वराह क्षेत्र संस्कृत नाम हो, अर्थात् हिन्दूसँग जोडियो। तर, त्यहाँ विविध जात र धर्मका मानिस भेटिन्छन्। बोका काट्नेदेखि सुँगुर काट्नेहरू त्यहाँ पुग्छन्। कसैलाई नछोएर पूजा गर्नेहरू पनि त्यहीं जान्छन्।

बिस्केट (बिसेट वा विसुवत जात्रा), पश्चिम नेपालको बिसु पर्वको प्रचलनले नेपालमा प्राचीन सरस्वती सभ्यतादेखिको मानव सभ्यता हो हाम्रो भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। साँखुमा चार हजार वर्ष पुराना जात्रा अहिले पनि मनाइन्छन्। यी पनि हाम्रा सौम्य शक्ति हुन्।

मुक्तिनाथलाई हिमाली समुदायकाले ‘छुमिग ग्याचा’ वा ‘छु ला मेवर’ आदि भन्छन्। बौद्धधर्मीहरूले फग्पा चेन रे शिग, आर्यावलोकेतेश्वर वा करुणामय नामले पुकार्छन् भने हिमालका झाँक्रीवादी बोनधर्मका अनुयायीले पनि आफ्नै देवस्थल मानेर प्रार्थना-पूजा गर्छन्। यसै तीर्थस्थललाई हिन्दु धर्मावलम्बीहरूले भगवान शिव र विष्णु मिलेर बसेको ठाउँ मान्छन्। मुक्तिनाथ हुँदै बगेर आउने कालीगण्डकी नदी हिन्दूहरूले पुज्ने शालिग्रामका लागि प्रख्यात छ। कालीगण्डकीको मुहान दामोदर कुण्ड हिन्दूहरूका निम्ति शिव र विष्णुको पवित्र स्थल हो भने हिमाली समुदाय ‘छु छेन’ नामले पुकार्दै प्रख्यात बौद्ध गुरु पद्मसम्भवको पवित्र स्थल मान्छन्।

comments powered by Disqus

रमझम