कार्तिक २०७८ | 18/10/2021

सौम्य शक्तिका सारथि

Share:
  
- रमेश कुमार
३० मुलुकमा मात्र कूटनीतिक उपस्थिति रहेको नेपाललाई अन्यत्र चिनाउने नै प्रवासमा रहेका नेपाली हुन्। जहाँ पुगे पनि विदेशमा नेपाललाई चिनाउन, नेपाली कला र संस्कृतिको छवि उजिल्याउन प्रवासी नेपाली सक्रियता देखिइहाल्छन्।

कामका लागि विदेशिने क्रम सघन भएको हो। समयक्रममा यसरी पुगेकाहरूले आफ्नो स्थायी आवास उतै सारे। यस हिसाबले विदेशमा छरिएर उतै बसोबास गर्दै आएका अधिकांश नेपालीलाई पहिलो पुस्ताकै भन्न मिल्छ।

नेपालीहरू औपचारिक रूपमा विदेशको काममा जान थालेको सुगौली सन्धि (सन् १८१६) पछि हो। सन्धिले नेपालीका लागि बेलायती फौजमा भर्तीको बाटो खोले पनि यस्तो अवसर सीमित थियो। सन् १९९० पछि विश्वव्यापीकरणको लहरले वैदेशिक व्यापार तथा अन्तर्राष्ट्रिय आप्रवासनको नयाँ ढोका खोलेपछि नेपालीहरू आर्थिक रूपमा सम्पन्न देशहरूमा कामको अवसर खोज्दै जान थाले।

“२०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको
सरकारले राहदानी लिन सजिलो बनाएपछि
पहुँचवालाले मात्र पाउने राहदानी सामान्य
नागरिकले समेत पाउने स्थिति बन्यो,
यही नीतिगत सुधारको ढोकाबाट छिरेर
लाखौं नेपालीहरू वैदेशिक रोजगारी र
अध्ययनका लागि विदेशिएका हुन्।”

आप्रवासन र श्रम मामिला विषयमा अध्ययन गर्दै आएका समाजशास्त्री डा. गणेश गुरुङका अनुसार, २०४६ सालको राजनीतिक खुलापनपछि नेपालीहरूलाई भारत बाहेकका देशमा जाने बाटो खुलेको हो। लोकतन्त्र स्थापनापछि उदार अर्थ-राजनीतिको बाटो शुरू भएसँगै राहदानी बनाउन प्रहरीको असल चालचलनको रिपोर्ट आवश्यक पर्ने प्रावधान खारेज गरिएको थियो।

“२०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राहदानी लिन सजिलो बनाएपछि पहुँचवालाले मात्र पाउने राहदानी सामान्य नागरिकले समेत पाउने स्थिति बन्यो, यही नीतिगत सुधारको ढोकाबाट छिरेर लाखौं नेपालीहरू वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिएका हुन्,” डा. गुरुङ भन्छन्।

२०५४ सालमा हरेक जिल्ला प्रशासन कार्यालयबाटै राहदानी दिने व्यवस्था शुरू भयो। त्यसपछि नै हो, गाउँ र देहातका नागरिकको पनि राहदानीमा पहुँच बढेको। अहिले पढाइ, कामकाज तथा व्यवसायका लागि लाखौं नेपाली खाडी मुलुकदेखि यूरोप र अमेरिकादेखि अफ्रिकासम्मका कुना-कुनासम्म पुगेका छन्। रहर वा बाध्यता जे भए पनि हत्तपत्त नामै नसुनिएका देशसम्मै नेपाली फिँजारिएका छन्।

रोजगारीका लागि अस्थायी रूपमा पुगेका मात्र होइन, परदेशमै स्थायी रूपमा बसोबास सारिसकेका नेपालीको सङ्ख्या पनि अब सानो रहेन। गैरआवासीय नेपाली सङ्घले संसारभरि छरिएका नेपालीको सङ्ख्या ८० लाखसम्म हुनसक्ने आकलन गरेको छ। ८७ देशमा त सङ्घको सङ्गठन नै छ।

सङ्घको नेपाली साहित्य, भाषा, संस्कृति र सम्पदा प्रवद्र्धन समितिका सभापति हिक्मत थापा यूरोप, अमेरिका, अफ्रिका सहित संसारभरिका १३० देशमा नेपाली रहेको अनुमान गर्छन्। देशको गरीबी घटाउन, अर्थ-सामाजिक परिवर्तनका लागि विदेशिएका नेपालीको भूमिका देशभित्र जति छ, देशलाई प्रवद्र्धन गर्न विदेशमा पनि उत्तिकै भूमिका रहेको समाजशास्त्री गुरुङ बताउँछन्।

विश्व समुदायसँग साझेदारीका लागि नेपाली
दृष्टिकोण प्रस्तुत गर्ने, विकासमा साझेदारीका
लागि बाह्य सहकार्यको क्षेत्र पहिल्याउने, नेपालको
आकांक्षाको विस्तारका लागि विश्व
समुदायलाई आश्वस्त तुल्याउने कामका लागि
अब सौम्य शक्तिको प्रक्षेपण गर्नुपर्ने वेला
आएको छ।

डायस्पोराको अवसर

मुलुकहरूबीचको सम्बन्ध लडाइँ र सैन्य शक्तिले तय हुन छोडेपछि वैदेशिक सम्बन्धमा प्रभाव जमाउन ‘हार्ड पावर’ को बदलामा ‘सफ्ट पावर’ (सौम्य शक्ति) ले महत्त्व पाउँदै आएको छ। सामरिक र आर्थिक रूपमा कमजोर नेपालसँग विश्वमञ्चमा मुलुकलाई उचाइ दिलाउन र देशहरूसँगको सम्बन्धमा प्रभाव जमाउन विश्व सामु अघि सार्ने विकल्प के होलान् भनी धेरै मन्थन हुन पाएको छैन। नेपालको सौम्य शक्ति यहाँको संस्कृति, भूगोल, उदार सामाजिक विशेषता आदिमा अडिएको छ। तर, बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालको सौम्य शक्तिको प्रयोग कमै मात्र हुन सकेको छ।

१० वर्षे सशस्त्र द्वन्द्व र राजनीतिक उथलपुथलका कारण लामो समय नेपाल आफ्नै हीनताबोधमा खुम्चिन पुग्दा विश्व समुदायसँग सम्मानजनक हैसियत राख्ने गरी हिमचिम गर्न अनकनायो। विश्वमञ्चहरूमा नेपालको उपस्थिति फितलो हुन पुग्यो, अरू मुलुकसँगको सम्बन्धमा पनि नेपालको आत्मविश्वास देखिन पाएन। विश्व समुदायसँग साझेदारीका लागि नेपाली दृष्टिकोण प्रस्तुत गर्ने, विकासमा साझेदारीका लागि बाह्य सहकार्यको क्षेत्र पहिल्याउने, नेपालको आकांक्षाको विस्तारका लागि विश्व समुदायलाई आश्वस्त तुल्याउने कामका लागि अब सौम्य शक्तिको प्रक्षेपण गर्नुपर्ने वेला आएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा अरूलाई आफूतिर आकर्षित गर्न, नेपाली साख र गरिमालाई विश्वसामु फैलाउन र सौम्य शक्तिलाई अन्य मुलुकसम्म प्रक्षेपण गर्नसक्ने सामथ्र्य संसारभरि छरिएका नेपाली डायस्पोरासँग छ। आफ्नो देशको भूगोलसँग टाढिएर बसे पनि मूल सांस्कृतिक पहिचान कायमै राखेका नेपालीहरूको प्रयत्न नेपाल प्रर्वद्धनमै रहन्छ, विश्वको जुन कुनामा पुगे पनि।

थातथलो छोडेर विदेशी भूमिमा पुगेका आप्रवासीको गुण नै हुन्छ, कडा मिहिनेत गरेर स्थापित हुने। अवसर, पेशागत सुरक्षा र थप क्षमता विस्तार खोज्दै नेपालबाट विदेशिएको जनशक्तिले कामधन्दा, अध्ययन-अनुसन्धान, व्यवसाय, प्राज्ञिक कर्म आदिमा विश्वसामु आफ्नो क्षमता र मिहिनेतको परिचय दिँदै आएको छ। अमेरिका, बेलायत जस्ता देशमा प्रवासी नेपाली नीति निर्माणको तहमै प्रभाव पार्नसक्ने खुड्किला चढिरहेका छन्।

इमानदारी, लगन, लचकता र काम प्रतिको
समर्पणले ‘नेपालीपन’ धेरै हदसम्म
मध्यपूर्वदेखि पश्चिमा देशहरूसम्मै
परख पाएको पनि छ।
ख्यातनामा विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि पढेलेखेका नेपालीको उपस्थिति बढिरहेको छ। इमानदारी, लगन, लचकता र काम प्रतिको समर्पणले ‘नेपालीपन’ धेरै हदसम्म मध्यपूर्वदेखि पश्चिमा देशहरूसम्मै परख पाएको पनि छ।

गैरआवासीय नेपाली सङ्घका थापा जहाँ पुगे पनि आफ्नो संस्कृतिलाई प्रवद्र्धन गर्न र अरू संस्कृतिसँग अन्तर्घुलन गरी बसोबास गर्नसक्ने लचकताले नेपालीलाई अरू मुलुकहरूमा पनि रुचाइएको बताउँछन्। नेपाली मिजासकै कारण होला, मध्यपूर्वका देश र मलेसियामा नेपाली कामदारलाई रुचाइनु वा कोरियाको रोजगारी अनुमति प्रणालीमा नेपालीको हिस्सा बढ्दै जानु। “अन्य देशमा काम र अध्ययनका लागि पुगेका नेपालीको छवि औसतमा नराम्रो सुनिँदैन, कामका लागि नेपाली कामदार विदेशमा पत्याइनुको कारण पनि त्यही होला,” समाजशास्त्री गुरुङ भन्छन्।

३० मुलुकमा मात्र नेपालको कूटनीतिक उपस्थिति रहेको नेपाललाई अन्यत्र चिनाउने नै प्रवासमा रहेका नेपाली हुन्। जहाँ पुगे पनि विदेशमा नेपाललाई चिनाउन, नेपाली कला र संस्कृतिको छवि उजिल्याउन प्रवासी नेपाली सक्रियता देखिइहाल्छ। विभिन्न क्षेत्र, भाषा, संस्कृति तथा धर्मको प्रतिनिधित्व गर्ने नेपालीको यस्तो तत्परताको लाभ प्रकारान्तरले देशले नै पाउने हो।

तर, विदेशमा रहेका नेपालीलाई राज्यको तर्फबाट साथ-सहयोग भने पुगेको छैन। विदेशी भूमिमै पनि नेपाली दूतावास वा अरू कूटनीतिक संयन्त्रको असहयोग र अपमान नेपालीले सहनु नै परेको छ। प्रवासी नेपालीलाई राज्य संयन्त्रले चिन्न थालेकै धेरै भएको छैन।

२०५९ असारमा अध्यागमन नियमावलीमा संशोधन गरेर सरकारले गैरआवासीय नेपालीलाई विशेष प्रवेशाज्ञा दिने व्यवस्था गरे पनि प्रवासी नेपालीलाई कानूनी विशिष्ट हैसियत दिने गैरआवासीय नेपाली सम्बन्धी ऐन आएको २०६४ सालमा मात्रै हो। तर, सरकारको बल नपुगेरै होला, संसारभरि छरिएका नेपाली मार्फत विदेशमा नेपाललाई चिनाउने, नेपालको उचाइ बढाउने र अन्ततोगत्वा त्यसको आर्थिक लाभ देशले उठाउने दिशामा सार्थक काम भने हुनै बाँकी छ।

जसरी बुद्ध र सगरमाथाको चिनारीले
नेपालीलाई तरङ्गित पार्छ, जलवायु
परिवर्तनको महामारीसँग जुधिरहेको
विश्वलाई नेपालले जलवायु मैत्री
जीवन-अभ्यासको व्यापकता मार्फत
आकर्षित पार्नसक्छ।

सौम्य शक्तिको सार्थकता

असोजको दोस्रो साता काठमाडौं आउँदा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले नेपालीको मिजासदेखि प्राकृतिक सौन्दर्यसम्मको प्रशंसा गरे। भारततर्फ नेपाली ढल्काइका बावजूद पाकिस्तानका लागि नेपाल कहिल्यै परचक्री बनेन पनि।

उत्तरी छिमेकी चीनका जति नागरिकले ‘निप्पोर’ भनी नेपाललाई जानेका छन्, तिनका लागि नेपालको स्थान असल छिमेकीका रूपमै छ। राजनीतिक तहले जति नै कज्याउन खोजे पनि नेपाल प्रति भारतीय आकर्षण पनि कम्ती छैन। नजिकका छिमेकीसँग तनावपूर्ण सम्बन्ध नहुनु पनि एउटा सार्वभौम देशका लागि सुखद नै मान्नुपर्छ।

जसरी बुद्ध र सगरमाथाको चिनारीले नेपालीलाई तरङ्गित पार्छ, जलवायु परिवर्तनको महामारीसँग जुधिरहेको विश्वलाई नेपालले जलवायु मैत्री जीवन-अभ्यासको व्यापकता मार्फत आकर्षित पार्नसक्छ। जलवायु खलबलिँदै जाँदा त्यसो सोझै मार त खेप्नुपर्ने नै छ, बरु नेपालले प्राकृतिक वातावरण नखलबलिने गरी त्यतापट्टि फर्कने नीति अवलम्बन गरेर वातावरण संरक्षणमा नेतृत्वकर्ताको साख बनाउन सक्छ।

धेरै पर जानै पर्दैन, भुटानले कम कार्बन उत्सर्जन गरेर संसारभरि आफ्नो छवि उजिल्याएको छ। देशका कुनाकाप्चासम्मका नागरिकको जीवन सुधार्न र वास्तविक अर्थको समृद्धिका लागि नेपालले यी सामाजिक-सांस्कृतिक पूँजी र प्राकृतिक भूगोलको उपयोगमा लागेको भोटे-ताल्चा नखोली हुँदैन।

नेपाल जति नै गरीबीमा पिल्सिए पनि सधैंभरि हीनताबोध बोकेर खुम्चिएर मात्रै बस्न मिल्दैन। नेपालको सांस्कृतिक-सामाजिक-प्राकृतिक पूँजीको उपयोगमा लागेको ताला खोल्न सक्दा मात्रै नेपालले कुनाकाप्चासम्मका नागरिकको समृद्धिको बाटो पनि खुल्नसक्छ। नेपालको यस्तो पूँजीको सदुपयोगका लागि संसारभरि छरिएको नेपाली डायस्पोराको सौम्य शक्तिको सामथ्र्य उपयोग नगरी हुँदैन।

comments powered by Disqus

रमझम