कार्तिक २०७८ | 18/10/2021

सिनेमाको सम्भावना

Share:
  
- यज्ञश
एकफेर आएको फौज फर्केला, तर एकफेर पसेको संस्कृति फर्किंदैन। यसको प्रभाव चिरकालीन हुन्छ।

उपेन्द्र सुब्बाको लेखन/निर्देशन रहेको प्रदर्शनोन्मुख चलचित्र '‘जारी’को छायाड्ढनका क्रममा खिचिएको तस्वीर।

अक्सर सिनेमालाई अभिव्यक्तिको सबभन्दा शक्तिशाली माध्यम र प्रभावशाली मास मिडियाका रूपमा लिने गरिएको छ। धेरै मान्छेले फरक समय र फरक स्थानमा बसेर एउटै अनुभूतिलाई आत्मसात् गर्नसक्ने/पाउने माध्यम भएकाले सिनेमाको यस्तो प्रभाव बनेको हो। संसारको एउटा कुनाका मान्छेले आफ्नो समाजको कथामा बनाएका सिनेमालाई अर्को कुनाका मानिसले त्यही स्वादमा हेर्न सक्छन्। यस्तो विशेषता प्रायः अन्य कलामा कमै हुन्छ।

सिनेमा प्रदर्शनको व्यवस्था संसारभर प्रायः एकै किसिमको र व्यवस्थित छ। नेपाल जस्तो सानो देशमा झण्डै दुई सय ५० सिनेमा हल छन् भने भारत जस्तो ठूलो जनसङ्ख्या र धेरै शहर भएको देशमा झ्ण्डै १० हजार सिनेमा हल छन्। अर्को छिमेकी चीनमा भने यो सङ्ख्या ३० देखि ३५ हजार छ।

कोभिड-१९ महामारीले हलमा गएर फिल्म हेर्ने परम्परालाई नराम्रोसँग धक्का दियो। यो क्रमभङ्गतासँगै नयाँ नयाँ बहसले जन्म लिए। पहिले हलिउडका केही ठूला स्टुडियो र ब्यानरले निर्माण गरेका फिल्महरूले मनोरञ्जनमा एकाधिकार जमाएका थिए। सन् २०१८ मा हलिउडको कुल कारोबार एक सय ३६ बिलियन डलरभन्दा बढी थियो। अमेरिकापछि हलिउडले चीन, जापान, कोरिया जस्ता एशियाली बजारलाई कब्जामा लिइरहेको थियो।

बलिउड भने नयाँ कलेवरमा ९० का दशकका मसला कथालाई नै प्राथमिकता दिन थालिरहेको थियो। संसारका ठूला फिल्म फेस्टिभलहरूमा एशियाका फिल्ममेकरहरू छाइरहेका थिए। हलिउडमा पनि ताइवानका आङ ली (ब्रोकब्याक माउन्टेन, लाइफ अफ पाई) र कोरियाका बोन जोङ हु (पारासाइट)ले आफ्ना प्रभाव जमाइरहेका थिए।

ओटीटी प्लेटफर्मको विकास र विस्तारले
सिनेमाको स्वाद हलबाट निस्किएर घर-
घरमा पुग्यो। टेलिभिजन, ल्यापटप, ट्याब
र मोबाइलमा फिल्म पुगे।
नयाँ ‘भेरियन्ट’

महामारीले विश्वका अन्य क्षेत्र जस्तो सिनेमाको गणितलाई पनि उलटफेर गरिदियो। जसले अर्बौं डलरको घाटा गराएर छोड्यो। सिनेमा हलबाट हुने व्यापारलाई थला पारे पनि सिनेमा विधालाई नै भने कोरोनाले पनि बन्द गराउन सकेन। बरु, माध्यममा परिवर्तन ल्याइदियो। कोरोनाका नयाँ भेरियन्ट आए जस्तो सिनेमाको पनि नयाँ भेरियन्ट संसारभर फैलियो।

पहिलेदेखि नै अस्तित्वमा रहेको भए पनि ओटीटीले यस अवधिमा फैलिने मौका पायो। ओटीटी प्लेटफर्मको विकास र विस्तारले सिनेमाको स्वाद हलबाट निस्किएर घर-घरमा पुग्यो। टेलिभिजन, ल्यापटप, ट्याब र मोबाइलमा फिल्म पुगे। सामूहिक अनुभवबाट फिल्मले व्यक्तिगत रुचिका रूपमा विस्तारित हुने अवसर पायो।

चलचित्र मन्दिरको ठाउँमा मानिसहरूले नेटफ्ल्क्सि, अमेजन प्राइम भिडिओको नाम लिन थाले। यिनले सिनेमालाई दर्शकसम्म पुर्‍याउने काम गर्न थाले। नेटफ्ल्क्सिले एक प्रतिभाशाली चेस खेलाडी किशोरीमाथि बनाएको जम्मा ६ एपिसोडको श्रृङ्खला क्‍विन अफ् ग्याम्बेटले चेस खेललाई नै लोकप्रिय बनाइदियो। भेराइटीमा प्रकाशित समाचार अनुसार, यो श्रृङ्खला प्रिमियर भएको तेस्रो सातापछि अमेरिकामा चेस बोर्ड बिक्री दर ८७ प्रतिशतले बढ्यो।

बेलायती राजपरिवारबारे बनेको नेटफ्ल्क्सिकै अर्को श्रृङ्खला क्राउनले राजपरिवारको लोकप्रियता नै बढाइदियो। पाँचौं सिजन प्रसारणको तयारीमा रहेको यो श्रृङ्खला बेलायतकी महारानी एलिजावेथ, उनको समय, परिवार र बेलायतमा राजतन्त्रका बारे थुप्रै बहस जन्माउन सफल भयो। अर्को श्रृङ्खला मनी हाइस्टले त व्यापार र लोकप्रियताको चुली छोयो।

मीन भाम निर्देशित चलचित्र कालो पोथीको दृश्य।

यी दृष्टान्त यहाँ किन दिनुपरेको हो भने, महामारीका वेला पूरा संसारलाई एकसूत्रमा बाँध्ने काम कि त भाइरसले उत्पन्न गरेको त्रासले गर्‍यो कि सङ्गीत र सिनेमाले गरे। भाइरसको त्रासले मानिसहरूमा एकै किसिमको सोच (डर) विकास गराइरहेको थियो भने यी श्रृङ्खला र फिल्म (केही गीत पनि)ले मानिसहरूलाई एउटै कथा र उस्तै आवेग-संवेगसँग साक्षात्कार गराइरहेका थिए। विना फिल्म हल र प्रसारण च्यानल, इन्टरनेटका माध्यमबाट फैलिने भएपछि फिल्मको उडान पक्षीबाट हावाका रूपमा परिणत भएको छ।

नेपाललाई के फाइदा?

जसरी अरूले बनाएका फिल्मले हामीलाई प्रभावित पारे, ध्यान खिचे, के हामीले उनीहरूको ध्यान खिच्न सक्छौं? के हाम्रा फिल्मले संसारभर यसरी नै दर्शक पाउन सक्छन्? ओटीटी प्लेटफर्ममा हाम्रा फिल्म यसरी नै जान सक्छन्? सुटिङ स्पट वा प्राकृतिक सौन्दर्यका कारण ठूला उद्योग या फिल्ममेकरलाई आफूतिर आकर्षित गर्न सक्छौं?

भाषा, खानपिन, सिनेमा, सङ्गीत तथा
रहनसहनको शैलीका माध्यमबाट आफ्ना
विचारहरू संसारभर फैलाउने समय
अहिले छ।
नेपालले सिनेमा र सङ्गीतलाई आफ्नो ‘सफ्ट पावर’ का रूपमा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्न सक्छ कि सक्दैन भन्ने कुराको जवाफ मुख्यतः यी दुई प्रश्नको जवाफमा निर्भर हुन्छ। राज्यको शक्ति नै कर्पोरेट र बहुराष्ट्रिय कम्पनीहरू मार्फत विस्तारित हुने अहिलेको समयमा सबभन्दा ठूलो शक्ति संस्कृतिलाई मानिन्छ। यो सिद्धान्तले भन्छ- मानिसलाई तपाईंले जसरी सोच्ने र बुझने बनाइदिनुस्, त्यो त्यसै तपाईंको अधीनमा आउँछ।

भाषा, खानपिन, सिनेमा, सङ्गीत तथा रहनसहनको शैलीका माध्यमबाट आफ्ना विचारहरू संसारभर फैलाउने समय अहिले छ। बजारमाथि एप्पल र कोकाकोला, गुगल र फेसबूक जस्ता कम्पनीहरूको कब्जा छ, जो प्रकारान्तरले एउटै देशका उत्पादन हुन्। जुन काम सैन्य शक्तिले गर्न सक्दैन, त्यो काम यिनले गर्छन्।

अफगानिस्तान वा भियतनामबाट अमेरिकी सेना फर्किंदैमा अमेरिकाको प्रभाव सकिन्छ त? भारतबाट बेलायत फर्किए पनि बेलायती प्रभाव सकियो त? अङ्ग्रेजी भाषा र साहित्य, सिनेमा र सङ्गीत, कम्प्युटर सफ्टवेयर र सामाजिक सञ्जालमाथि भएको पकडका कारण अमेरिकी वा बेलायती सभ्यता र विचार संसारभर झन् झन् फैलँदो छ। एकफेर आएको फौज फर्केला, तर एकफेर पसेको संस्कृति फर्किंदैन। यसको प्रभाव चिरकालीन हुन्छ।

नेपालको सम्भावना भएका जम्मा दुइटा सफ्ट पावर देखिन्छन्- एक, हामीले पाएको प्रकृतिमा आधारित पर्यटन। दुई, हाम्रा भिन्न जातजातिको जीवनमा आधारित संस्कृति। कोरोनाकालमा देखियो- पर्यटनका सीमाहरू। र, यही समयमा देखियो सिनेमा जस्तो माध्यमको शक्ति पनि। मानिसहरू घुम्न जान पाएनन्, तर सिनेमाको माध्यमबाट कथाको संसार शयर गरे।

मानव सभ्यता निर्माणमा सबभन्दा महत्त्वपूर्ण भूमिका छ- कल्पना शक्ति र सामूहिकताको। यिनै गुणले मानिसलाई अन्य प्राणीभन्दा चलाख र प्रगतिशील बनाएको हो। मानिसले सत्यभन्दा पनि पर पुगेर कल्पनाको संसार निर्माण गर्ने शक्ति राख्दछ। त्यसैले त मानिस चन्द्रमादेखि मङ्गल ग्रहसम्म खोजीमा जुटेको छ।

आफूले देखेभोगेभन्दा परको खोजमा जान पहिले कल्पनाको आवश्यकता पर्दछ। र, त्यस्ता खोजलाई साकार रूप दिन सामूहिक रूपमा एउटै कुरा अनुभव गर्नसक्ने र काम गर्नसक्ने गुण आवश्यक हुन्छ। मानिसमा समूहमा, कुनै सम्बन्ध नै नभएकासँग पनि मिलेर काम गर्नसक्ने क्षमता छ। एउटै उद्देश्यका लागि लड्ने खूबी छ। एउटै देशका सबै नागरिक आपसमा परिचित हुँदैनन्, न त सबैको विचार एउटै हुन्छ, तर देशका लागि सबै मिलेर लड्न सक्छन्। अन्य प्राणीले न मान्छेले जसरी देशका सीमा बनाउन सक्छन्, न त्यसका लागि चिन्दै नचिनेका मान्छेसँग मिलेर लड्न सक्छन्।

यही कल्पनाशक्ति र सामूहिकताको क्षमताले मानिसले सिनेमाको विकास गर्‍यो जसले संसारभरका १० करोड मानिसले भिन्न भूगोलमा बसेर एकै समय एउटै कथा हेर्ने प्रविधिको विकास गरायो। नेपालले संसारमा लैजान सक्ने सफ्ट पावर आफ्नो जीवन, संस्कृतिका कथा हुन्, जसलाई विश्वसामु पुर्‍याउने काम सिनेमाले गर्न सक्छ।

सिनेमा प्रविधि हामीले विकास गरेको होइन र यसको ठूलो बजार हाम्रो नियन्त्रणमा पनि छैन। तर, यसमा प्रवेश पाउने बाटाहरू छन्। केही फिल्ममेकरले त्यो बाटो देखाइसकेका पनि छन्।

संसारको ठूलो फिल्म बजार र फिल्म
फेस्टिभलहरूको बजार नयाँ स्वाद र
शैलीका फिल्मको खोजमा हुन्छन्। नेपाल
जस्तो सानो भूगोलमा धेरै भाषा र संस्कृति
भएको समाज, निकै छोटो समयमा ठूला
राजनीतिक परिवर्तनलाई आत्मसात् गरेको
समाजका कथा, त्यो भोक मेट्ने खुराक
बन्न सक्छन्।
के गर्ने?

संसारको ठूलो फिल्म बजार र फिल्म फेस्टिभलहरूको बजार नयाँ स्वाद र शैलीका फिल्मको खोजमा हुन्छन्। नेपाल जस्तो सानो भूगोलमा धेरै भाषा र संस्कृति भएको समाज, निकै छोटो समयमा ठूला राजनीतिक परिवर्तनलाई आत्मसात् गरेको समाजका कथा, त्यो भोक मेट्ने खुराक बन्न सक्छन्।

नेपाली फिल्म रातारात गएर संसारमा छाउनेछन् भनेर सोच्नु मूर्खता हुनेछ। कसैले सपना देखे जस्तो वा वर्णन गरे जस्तो यो बाटो त्यति सरल छैन। बर्सेनि केही फिल्ममेकरले यसको प्रयास गरिरहेका छन्। तर, निकै थोरैले मात्रै सानो सफलता पाएका छन्। यसका लागि आवश्यक छ- सक्षम निर्देशक, राम्रो लगानी र आफ्नै फिल्म शैली निर्माणको प्रयास।

नेपाली फिल्मको चरित्र के हो? यसको शैली र स्वाद के हो? हलिउड वा बलिउडका फिल्मभन्दा यसको भिन्न विशेषता के हो? समग्रमा नेपाली फिल्मको कुरा छोडौं, हाम्रा केही सम्भावना भएका निर्देशकको विशिष्ट शैली के हो? उनीहरूले फिल्म भाषामा के नयाँ प्रयोग गरेका छन्? संसारलाई चकित पार्ने कस्ता कथा टिपेका छन् र त्यसलाई भन्ने आफ्नै कलाको विकास कसरी गरेका छन्? यति प्रश्नको स्पष्ट उत्तर नभइन्जेल हामी विश्वबजारमा कहीं पनि पुग्न मुश्किल छ।

यसका लागि निर्माता/निर्देशकको सोच र क्षमता एकातिर आवश्यक छ भने अर्कातिर सहयोगी समाज पनि चाहिन्छ। समाज भन्नाले सरकार र निजी क्षेत्र। यी दुईमध्ये कुनै एक क्षेत्रले सिनेमाको विकासमा लगानी नगर्ने हो भने फिल्ममेकरले आफ्नो व्यापारका लागि गरेको लगानीले नयाँ भाषाको निर्माण गर्न असम्भव जस्तै छ।

यस किसिमको सहयोग विना, फिल्म एकेडेमीको निर्माण विना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एक्सपोजर विना नयाँ शैलीको निर्माण हुन्छ भन्नु दिवास्वप्न हुन जान्छ। कोरियाको फिल्मले ओस्कर जित्यो वा भारतीय फिल्मले ‘कान’ जित्यो भन्नु जति सजिलो छ, त्यहाँसम्म पुग्दाको लगानी र मिहिनेतलाई हेर्‍यो भने त्यति नै असजिलो लाग्न सक्छ।

अर्को तथ्य के हो भने, संसारमा नेपालको परिचय बनाउन सक्ने जति सम्भावना सिनेमाको छ, त्यति अरू कुनै पनि विधाको देखिंदैन। साहित्य, पेन्टिङ वा सङ्गीतको तुलनामा नेपाली सिनेमाको त्यो सम्भावना बढी छ। कान जस्तो संसारको प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म पुगेका मात्रै छैनन्, पुरस्कृत पनि भएका छन्। समस्या चाहिं पाँच वर्षमा एउटा फिल्म पुग्नु हो।

हरेक वर्ष पुग्ने फिल्म बनाउन सकेको खण्डमा बल्ल नेपालको गणना राम्रा फिल्म बनाउने देशमा हुनसक्छ। यसका लागि हामीले तयारी कति गरेका छाैं? लगानी कति गरेका छाैं? त्यो नभई हामी गफमा मात्रै सफ्ट पावर बन्न सक्छौं।

एक-दुई जना फिल्ममेकरले व्यक्तिगत
प्रयासमा नेपाललाई पावर बनाउन
सक्दैनन्। जसरी खेलाडीले व्यक्तिगत
पहलमा ओलम्पिक मेडल ल्याउन सक्दैनन्,
यसका लागि चाहिन्छ- ठूलो सपना,
सामूहिक प्रयास र समाजको सहयोग।
एक-दुई जना फिल्ममेकरले व्यक्तिगत प्रयासमा नेपाललाई पावर बनाउन सक्दैनन्। जसरी खेलाडीले व्यक्तिगत पहलमा ओलम्पिक मेडल ल्याउन सक्दैनन्, यसका लागि चाहिन्छ- ठूलो सपना, सामूहिक प्रयास र समाजको सहयोग। भारतमा खुलेका नेटफ्ल्क्सि र अमेजनका कार्यालयसम्म स्क्रिप्ट लिएर पुग्न त हाम्रा लागि महाभारत छ, त्यहाँभन्दा अगाडि गएर विश्वबजारमै तहल्कै मच्चाउनु सानोतिनो प्रयासले हुने कुरा होइन।

इरान, अर्जेन्टिना, कोरिया र ताइवानका उदाहरण वेलावेला दिने गरिएको छ। तर, ती देश र उद्योगले कसरी ती स्थान बनाए भन्नेबारे निकै कम छलफल भएको छ। विश्वका तीन ठूलामध्येको एक बर्लिन फिल्म फेस्टिभलकै कुरा गरौं, यो फेस्टिभल जर्मनी सरकारको पैसामा आयोजना हुन्छ। जर्मनीको सङ्घीय सरकारको संस्कृति मन्त्रालय, बर्लिन महानगर र यसका सांस्कृतिक फाँटले यसको खर्च व्यहोर्छन्।

फ्रान्सको कान र इटालीको भेनिस पनि यस्तै हो। पूँजीवादी व्यवस्थामा चलेका, औद्योगिक देशमा सरकारले किन फिल्म फेस्टिभल चलाइरहेका छन्? यो त्यहाँको उद्योगसँग पैसा नभएर, बजारमा लगानी नभएर त होइन होला? यसका पछाडि कला र समाज विज्ञानका प्रति राज्यको उत्तरदायित्वको एउटा भाग हुन्छ भने अर्कातिर पूरै विश्वलाई आफूतिर आकर्षित गर्ने नीतिको अर्को भाग हुन्छ।

यस्ता फेस्टिभलले फिल्ममेकर, समीक्षक, व्यवसायी लगायतको ठूलो समूहलाई त्यो देशमा ल्याउँछ। यसले अन्ततः पर्यटनमा समेत योगदान गर्छ। कुनै प्रभावशाली फिल्ममेकर यही शहर वा देशमा फिल्म सुटिङ गर्न आउन पनि सक्छ।

नेपाललाई प्राकृतिक स्टुडियो भन्ने गरिएको छ। तर, यो प्राकृतिक स्टुडियोसम्म ठूला उद्योग र फिल्ममेकरलाई ल्याउँछ कसले? जस्तोसुकै स्थानको पनि स्टुडियोमा रेप्लिका बनाएर फिल्म बनाउनेहरूलाई विकट डाँडाहरूमा लैजाने कसरी? यसको प्रचार गर्ने कसरी? जी सिने अवार्डको आयोजनामा करोडौं खर्च गर्न तयार हुने सरकारले यतातिर पनि सोच्ने कि?

विश्वबजारमा पुग्ने एउटा अर्को बाटो चाहिं को-प्रोडक्सन हो। आफ्ना कथा र अरूका प्रविधि, लगानी र बजार मिसाएर ठूलो बजारमा जान सकिन्छ। केही निर्माताले यसको प्रयोग गरेका पनि छन्। पछिल्लो समय विश्वबजारमा पुगेका धेरैजसो नेपाली फिल्म यसरी नै विदेशी संस्था/निर्मातासँग सहकार्यमा बनेका छन्। यसले विश्वबजारको सञ्जालमा प्रवेश गर्ने बाटोलाई सहज बनाउन सक्छ।

आजका धेरै वर्षपछि नेपालको सिनेमालाई
‘सफ्ट पावर’ का रूपमा विश्वबजारमा
लैजाने हो भने आजैदेखि फिल्मको
अध्ययन, अध्यापन र फिल्ममेकरको
एक्सपोजरमा लगानी गर्नुपर्छ। संसारसँग
अलग बसेर संसारको बजारमा पुग्न
सकिँदैन।

फेस्टिभल/ओटीटीको बाटो

आजका धेरै वर्षपछि नेपालको सिनेमालाई ‘सफ्ट पावर’ का रूपमा विश्वबजारमा लैजाने हो भने आजैदेखि फिल्मको अध्ययन, अध्यापन र फिल्ममेकरको एक्सपोजरमा लगानी गर्नुपर्छ। संसारसँग अलग बसेर संसारको बजारमा पुग्न सकिँदैन। कि त आफू बजारसम्म पुग्नुपर्‍यो, कि बजारलाई आफूतिर आकर्षित गर्न सक्नुपर्‍यो। फिल्म प्रतिष्ठान, शिक्षालय र महोत्सवहरूले यसका लागि सहयोगीको काम गर्न सक्छन्।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना सबभन्दा पहिले गर्न सकिने काम हो। ठूलो बजारका प्रभावशाली फिल्ममेकरलाई फेस्टिभलमा ल्याउन सक्ने हो भने उनीहरू यहाँको भूगोल, प्रकृति र संस्कृतिसँग परिचित पनि हुन सक्छन्। नेपाली फिल्ममेकरहरू पनि उनीहरूको कला र शैलीसँग परिचित हुन सक्छन्। फिल्म अध्येता तथा फिल्ममेकरलाई ठूला फिल्म फेस्टिभलमा पठाएर पनि यसको अध्ययन गर्न सकिन्छ।

त्यसमाथि ओस्कर त अमेरिकाको फिल्म अवार्ड हो। यसमा संसारका अन्य भाषाका फिल्मका लागि निकै थोरै मात्रै अवसर हुन्छ। गैरअङ्ग्रेजीभाषी फिल्मलाई दिइने ओस्कर खासमा त्यो क्षेत्रमा ओस्करको आफ्नो बजार र प्रभाव विस्तारका प्रयास हुन्। यसैले नेपाल जस्तो सानो बजारले अब फिल्म फेस्टिभल र ओटीटीको बाटो समाउनु नै उपयुक्त हुन्छ।

फिल्म फेस्टिभल र ओटीटीमा जस्तोसुकै सानो देश र थोरै बजेटका फिल्मका लागि पनि अवसर हुनसक्छ। त्यसका लागि कथा मात्रै भएर त हुँदै हुँदैन। यस्तो बजारमा कथाभन्दा बढी फिल्ममेकरको शिल्प र कलाको मूल्य बढी हुन्छ, जसको हामीकहाँ अभाव भइरहेको छ। यसका लागि लगानी गर्ने र अन्य प्राविधिक सहयोग उपलब्ध हुने हो भने नयाँ छिमलका फिल्ममेकरले यो फड्को हान्न सक्छन्।

comments powered by Disqus

रमझम