कार्तिक २०७८ | 18/10/2021

ट्वाइलेट कार्ड

Share:
  
- श्याम साह
सबै कुरा निकै छिटो भए। पासपोर्ट बनाएर विदेश जानुपर्ने रामविलास जेलमा छ। उसले त्यहाँ काम नै गरेर बसेको छ। जेलभित्र बाँसको मुढा बनाउन सिकेको छ। त्यही आम्दानीबाट कहिलेकाहीं घरमा पैसा कमाउँछ।

मुसहर टोल नजिकै रहेको धर्मशालामा त्यस दिन चहलपहल व्यापक थियो। समियाना ठड्याइएको थियो। स्टेज भव्य बन्दै थियो। नास्ताको लोभमा मानिसहरू भेला हुन्छन् भनेर सिरहाबाट हलुवाई बोलाइएको थियो। बुनियाँ, सेवई, समोसा र लालमोहन बन्दै थिए। कार्यक्रममा मनोरञ्जनका लागि प्रमुख आकर्षण ‘रमौलवाली’ त थिइन् नै। स्थानीय कलाकारहरू पनि थिए।

जिल्लाबाट निर्वाचित तथा समानुपातिकबाट छानिएका सबै सांसद बोलाइएका थिए। सीडीओ हुने नै भए। स्थानीय विकास अधिकारी (एलडीओ) संयोजक नै थिए। कार्यक्रमको आयोजनामा कुनै तलबितल नहोस् भनेर सबैभन्दा विश्वासिलो कर्मचारी सञ्जय यादवलाई पठाइएको थियो। उसलाई सहयोग गर्न एसपीलाई अनुरोध गरी प्रहरी नायव निरीक्षकको संयोजकत्वमा केही प्रहरी खटाइएका थिए।

स्टेज अगाडि थोरै ठाउँ खाली राखेर बाँसले घेरिएको थियो। खाली ठाउँमा साउन्ड सिस्टम राखिएको थियो। केही कुर्सीहरू पनि राखिएका थिए, पत्रकारका लागि। खाली फाँटमा पाँच सय हाराहारीमा मानिस बस्न मिल्ने गरी ठूला दरीहरू ओछ्याइएर पण्डाल ठड्याइएको थियो। त्यस पछाडि प्लास्टिकका कुर्सीहरू थिए।

यो भव्य तयारी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न आयोजना गरिएको थियो। पूरै जिल्लामा खुला दिसामुक्त हुन बाँकी अन्तिम टोल सिरहा नगरपालिकाको मुसहर टोल थियो। र, सरसफाइ परिचयपत्र बनाउने अन्तिम व्यक्ति थिए, बुधन सदा।

जति उत्साहका साथ जिल्ला विकास समिति र नगरपालिकाका कर्मचारीहरू कार्यक्रमका लागि खटिइरहेका थिए, त्यति नै निराश र दुःखी बुधन सदा भएको थियो।

सरसफाइ परिचयपत्र बनाउने अन्तिम
व्यक्ति थिए, बुधन सदा। जति उत्साहका
साथ जिल्ला विकास समिति र
नगरपालिकाका कर्मचारीहरू कार्यक्रमका
लागि खटिइरहेका थिए, त्यति नै निराश र
दुःखी बुधन सदा भएको थियो।

उसलाई शौचालय बनाउँदा ३० हजार ऋण लागेको थियो। शौचालय उसले दिसा-पिसाब गर्न हैन, करकापमा परेर बनाएको थियो। त्यो पनि पूजा गर्ने गोसाइँघरसँगै जोडेर बनाउनुपरेको थियो। त्यसरी बनाएको शौचालयमा एक कर्मचारीले पिसाब फेरेको थियो। जुन विषयमा बुधनकी स्वास्नी सकुन्तीले ठूलै बबाल गर्न खोजेकी थिई।

कार्यक्रममा सहभागी हुन बिहानैदेखि नगरपालिकाको गाडी माइकिङ गर्दै घुमिरहेको थियो। ‘रमौलवाली’ आउने कुरा उसले त्यसैबाट थाहा पाएको थियो। जिल्लामा हुने प्रत्येक कार्यक्रममा उनी पुग्ने गरेकी थिइन्। व्यङ्ग्य सहित उनको प्रहसनको निकै चर्चा हुन्थ्यो।

‘अपना सबके कर्जा खिया सार सब भोज मनाबै है।...’ (हामीलाई कर्जामा डुबाएर सालेहरू भोज मनाउँदै छन्।)

बुधनको छोरा रामविलास आइपुगेको थियो धर्मशालाबाट। निकै आक्रोशित देखिन्थ्यो ऊ। उसको आक्रोश देखेर बुधनलाई डर लागेको थियो। मानौं, त्यो कुनै अनिष्टको सङ्केत थियो।

रिस त बुधनलाई पनि उठेको थियो। रामविलास झन् लक्का जवान थियो। जोश थियो। तर, बुधनलाई चिन्ता भविष्यको थियो। छोराले भर्खर नागरिकता र पासपोर्ट बनाएको थियो। भिसाका लागि गाउँकै एजेन्टसँग कुरा हुँदै थियो। उसले सबथोक त्यही पासपोर्ट र भिसाका लागि गरेको थियो।


खुला दिसामुक्त क्षेत्र बनाउने विषयको शुरूआत २०६६ सालमा भएको थियो। विभिन्न दातृ निकाय र खानेपानी मन्त्रालयले संयुक्त रूपमा सरसफाइ अभियान शुरू गरेका थिए। देशव्यापी रूपमा घोषणा गरिएको अभियानको प्रमुख शर्त थियो, एक घर एक चर्पी।

प्रत्येक जिल्लामा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भएको थियो। नगरपालिका तथा गाविसमा स्थानीय सरसफाइ समिति निर्माण भएको थियो। हरेक घरमा शौचालय बनाउने कार्यलाई सीडीओ र एलडीओको कार्यसम्पादन मूल्याङ्कनमा समेत राखेकाले यो विषय उनीहरूको प्राथमिकतामा थियो।

पूरै गुरुयोजनाको बाधक भएको थियो, मुसहर टोल। उनीहरूले शौचालय नबनाउनुको आफ्नै परिबन्द थियो। जसबारे नगरपालिकाको कार्यकारी अधिकृत, सीडीओ, एलडीओहरूलाई कुनै मतलब थिएन। उनीहरू बुधन सदा सहित मुसहर टोलका मानिसहरूलाई शौचालय बनाउन बाध्य पार्न चाहन्थे। त्यसका लागि उनीहरू आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न तयार थिए।


सिरहा नगरपालिकाभित्र रहे पनि मुसहर टोलका बासिन्दाहरू यस कुरादेखि बेखबर थिए। टोलमा जम्मा बाह्र घर थिए। सबै घर फुसका। दुई छाप्रो एक–अर्कातिर फर्केका वा टाँसिएका हुन्थे। बीचमा साँघुरो आँगन हुन्थे, जसलाई बाँसका कर्ची अथवा हेहेराले बनाइएका टाटले घेरिएका हुन्थे। घरहरू बनेका जमीनका लालपुर्जा उनीहरूसँग थिएन। सबैभन्दा पाका महावीर सदाका अनुसार, करीब ६० वर्ष अघि कुशेसर मरवैता (जसको खेत उनीहरूले जोत्थे)ले उनीहरूलाई बसेको जग्गा मौखिक रूपमा दिएको थियो। त्यस वेलादेखि उनीहरू त्यस जमीनलाई आफ्नै जसरी उपभोग गरिरहेका थिए।

उनीहरूले जमीनलाई आफ्नो नाममा नामसारी गर्न पटक पटक प्रयास गरेका थिए। पञ्चायतकालभरि उनीहरूसँग नागरिकता नै भएन। २०४६ सालको आन्दोलनपछि नागरिकता बाँड्न गएको टोलीले उनीहरूलाई नागरिकता दिएको थियो। पहिलो पटक बहुदलको चुनाव भएको थियो। नागरिकता नभए पनि मतदाताको सूचीमा उनीहरूको नाम पहिलेदेखि नै थियो।

कुशेसर चुनावमा उठ्दै थियो। नागरिकता पाइसकेका कारण उनीहरूको नाममा पास गरिदिने आश्वासन उसले दिएको थियो। तर, कुशेसरले चुनाव जितेन। चुनाव हारे लगत्तै त्यो विषय उठाउन उनीहरूले सकेनन्। कुशेसरले पनि त्यो विषयलाई महत्वपूर्ण दिएन। अर्को चुनावसम्म कुशेसर बाँचेन। अहिले उनीहरूसँग नागरिकता छ, तर कुशेसरका छोराहरू जमीन नामसारी गरिदिने पक्षमा छैनन्।

मिस्त्री हुनुको सबैभन्दा ठूलो योग्यता थियो,
चाहेको वेला जति पनि लेबर ल्याउन सक्नु।
अधिकांश लेबरहरू चमार तथा मुसहर
समुदायबाट हुने भएकाले उसलाई खाँचो
भएन।

त्यस वेला बुधन घर बनाउने काममा मजदूरी गर्थ्यो। राजमिस्त्री नथुनी चमारको स्थायी लेबर जस्तै थियो ऊ। नथुनी चमार र बुधन दुवैले एकैचोटि लेबरबाटै काम शुरू गरेका थिए। पुरानो गिरहतले खेत बटैयामा लगाएपछि बुधन बेरोजगार भएको थियो।

बजारमा पक्की घरहरू बन्न थालेका थिए। जोधन महतो बजारकै पहिलो मिस्त्री थियो। ऊ सानैमा काठमाडौं गएको थियो। घर बनाउने काममा लामो अनुभव लिएर गाउँ फर्केको थियो। शुरूमा इँटाका पर्खाल र खबटाले छाएका घर बनाउँथ्यो। पछि छत ढलान हुने घर पनि बनाउन थाल्यो।

नथुनी चमारले चाँडै मिस्त्रीको काम सिक्यो। बजारमा काम जति पनि थियो। जोधनले एक्लै भ्याउन सक्ने अवस्था थिएन। घर बनाउन आवश्यक सामान करनी, तेगार, नाप्ने धागो सबै किनेर नथुनी मिस्त्री भयो। मिस्त्री हुनुको सबैभन्दा ठूलो योग्यता थियो, चाहेको वेला जति पनि लेबर ल्याउन सक्नु। अधिकांश लेबरहरू चमार तथा मुसहर समुदायबाट हुने भएकाले उसलाई खाँचो भएन। बुधनलाई शुरूदेखि नै आफूसँग काममा लगायो।

बुधनको भन्दा डेढ गुणा बढी ज्याला हुन्थ्यो, नथुनी चमारको। र पनि, बुधनलाई कहिल्यै मिस्त्री हुन मन लागेन। हेड मिस्त्रीको काम नथुनीकै लागि ठीक लाग्थ्यो उसलाई। घर बनाउने क्रममा हेड मिस्त्रीले धेरै कुरामा ध्यान दिनुपथ्र्यो। सिमेन्ट र बालुवाको मिश्रणमा मात्रा वा इँटाको गारो, पिल्लर र बिमको साइजको तालमेल मिलाएर मात्र हुँदैनथ्यो, घरधनीसँगको हिसाबकिताब, आफूले ल्याउने लेबरसँगको सम्बन्ध पनि मिलाउनुपर्थ्यो। लेबरहरू एक दिन खाली बस्दा अर्को मिस्त्रीको काम गर्न जाने र घरधनीहरूको काम एक दिन रोकिँदा अर्को मिस्त्री खोज्न लाग्थे। जुन काम उसलाई साह्रै झन्झटिलो लाग्थ्यो।

नथुनी चमारको मिहिनेत देखेर नै उसलाई मिस्त्री हुन मन लागेन। दिनभर काम गरेपछि र हातमा ज्याला आएपछि चैनको निद्रा सुत्न पाउँथ्यो। तर, नथुनी चमारलाई चैन थिएन। सधैं केही न केही लफडा परिरहन्थ्यो। कहिले सबै लेबर आइपुग्दैनथे, कहिले घरधनीले ज्याला नदिँदा लेबरहरू उसैलाई गाली गर्थे।


बस्तीभन्दा नजिकै मूलबाटोसँग जोडिएको दुई कोठाको जीर्ण धर्मशाला छ। त्यो धर्मशाला सञ्चालन हुन्जेल मुसहर टोलका कोही मानिस त्यसको छेउमा जाँदैनथे। जीर्ण भएपछि उनीहरूका बच्चा खेल्ने वा काममा नगएका वेला दिनभरि बस्ने ठाउँ भएको छ। त्यसको पछाडि ठूलठूला झाडीहरू छन्, जहाँ उनीहरूले पिसाब फेर्ने गरेका छन्।

खुला दिसामुक्तको गुरुयोजना र एक घर एक चर्पीको अभियान उनीहरूले पहिलो पटक त्यही धर्मशालाको भित्तामा पोतिएको चित्रबाट थाहा पाए। जहाँ पहिलो चित्रमा एउटा पुरुष खोला दूषित हुने गरी किनारमा दिसा गरिरहेको थियो। सँगैको अर्को चित्रमा खोलामा केही मानिस नुहाउँदै गरेको, लुगा धुँदै गरेको र पानी लग्दै गरेको थियो।

कागजको कुण्डली अरू कसैले बेरेर
राखेको थियो। कुन दिन हट्नुपर्ने हो भन्ने
डरले अरू कुरा सोच्न पनि सक्दैनथे। त्यो
परिस्थितिमा चर्पी, सरसफाइ उनीहरूलाई
आफ्नो विषय नै लागेन।

त्यसपछिको चित्रमा त्यही पानी प्रयोग गरेको देखाइएको थियो। अन्तिम चित्रमा मानिस बिरामी भएको देखाइएको थियो। त्यसकै अर्को छेउमा चर्पी भएको ठाउँको चित्र थियो। त्यहाँ एक जना मानिस चर्पी जाँदै गरेको थियो। त्यो ठाउँ सफा देखिन्थ्यो, मानिसहरू हँसिला र स्वस्थ देखिन्थे।

मुसहर टोलका मानिसहरूले भित्तामा पोतिएको चित्रको अर्थ नबुझेका होइनन्। तर, उनीहरूको आवश्यकता अर्कै थियो। एक छाकको जोहो गर्न बिहानै निस्किनुपर्थ्यो। आफू बसेको जमीन उनीहरूको नाममा थिएन। कागजको कुण्डली अरू कसैले बेरेर राखेको थियो। कुन दिन हट्नुपर्ने हो भन्ने डरले अरू कुरा सोच्न पनि सक्दैनथे। त्यो परिस्थितिमा चर्पी, सरसफाइ उनीहरूलाई आफ्नो विषय नै लागेन।

भित्ताका चित्रहरू उनीहरूका लागि फगत चित्र मात्र रहे, समितिले चाहे जसरी चेतनामा रूपान्तरित भएन। चित्र बन्नु अगाडि बटुवाहरू त्यस भित्तामा पिसाब फेर्थे। चित्र बनेपछि रङ आलो रहुन्जेल त्यो क्रम रोकिएको थियो, अलि पुरानो हुँदै गएपछि भित्तामा फेरि पिसाबको धारा बग्न थाल्यो।


भित्तेचित्रहरू तथा एफएम र स्थानीय पत्रिकामा छापिएको विज्ञापनले काम गर्ला र मानिसहरूले चर्पी बनाइहाल्लान् भन्ने आश त समितिका प्रमुख, एलडीओलाई पनि थिएन। उनीसँग दोस्रो चरणको कार्यक्रम तयार थियो– ‘हगुवा नियन्त्रण’। यसका लागि प्रहरी सहितको टोली गठन गरिएको थियो। जसको काम खुला ठाउँमा दिसा गर्नेलाई समातेर ल्याउने, दिनभर राख्ने र सम्झएर पठाउने थियो।

अरू कामहरू गरे पो भाग्न सकिन्छ।
हग्दाहग्दै कसरी भाग्नु? पहिलो दिन नै सय
हाराहारी मानिसहरूलाई समातेर ल्याइयो।
हगुवा नियन्त्रण टोलीको अगुवाइ सीडीओले आफैं गरे। उनीसँगको टोलीमा एलडीओ, जिल्लाको प्रहरी प्रमुख, एलडीओले नियुक्ति गरेका सरसफाइ नागरिक अभियन्ताहरू थिए। पहिलो दिन बिहान झिसमिसेमै टोली नदीको छेउछाउ र खेतहरूतिर हगुवा समात्न हिंड्यो।

अरू कामहरू गरे पो भाग्न सकिन्छ। हग्दाहग्दै कसरी भाग्नु? पहिलो दिन नै सय हाराहारी मानिसहरूलाई समातेर ल्याइयो।

समातिनेमा बुधन सदा पनि एक थियो। ऊ शौच गर्न बसेको मात्र थियो, प्रहरीले उसको पिछवाडामा एक डण्डा हिर्काएको थियो। त्यो अप्रत्याशित घटनाले उसलाई रिस खूबै उठेको थियो। पैनछुवा गर्न लगेको आलमुनियम लोटाले त्यो प्रहरीको टाउको फुटाइदिन मन लाग्यो। तर, मन लागेको सबै कुरा गर्न कहाँ पाइन्थ्यो र?

उसले लगाएको प्रहरीको पोशाक, बोकेको डण्डा र त्यसको शक्तिको जानकारी थियो बुधनलाई। त्यसैले उसले सोध्यो मात्र– ‘के भयो हजुर? किन कुट्नुभएको?’

‘माचि..। एक त बाटैबाटो हग्छ। अनि सोध्छस् किन कुटेको? ... खुरुक्क त्यो ट्याक्टरमा बस्।’

उनीहरूलाई ल्याउन नगरपालिकाले ट्याक्टर पठाएको थियो।

बुधन उठ्न खोज्यो।

‘त्यतिकै उठ्लास् ! चाक चाहिं धोएर उठ् मु...!’

प्रहरीले फेरि बुधनलाई थर्कायो। बुधनले प्रहरीको अनुहार हेर्‍यो। लोटाको पानी भुइँमा खन्यायो।

‘गरेकै छैन। किन धुने?’

प्रहरी केही बोलेन। ऊ ट्याक्टरमा गएर बस्यो।


बुधनलाई प्रहरीले कार्यालय परिसरमा लग्यो। त्यहाँको अवस्था देखेर ऊ छक्कै पर्‍यो। ऊ जस्तै मानिसहरू खचाखच थिए त्यहाँ। उसकै टोलका अरू सात जना थिए। कतिपयले गम्छाले मुख छोपेका थिए।

नगरपालिकाका सबै वडामा खटिएका थिए प्रहरी। केटाकेटीहरूलाई उनीहरूले समातेनन्। महिलाहरू अँध्यारोमै उठेर शौच जाने भएकाले धेरैलाई यसबारे थाहै भएन। केही महिला देखिए पनि प्रहरीले वास्ता गरेनन्।

बिहान आठ बजेसम्म समातेर ल्याउने क्रम जारी नै रह्यो। सबैलाई चौरको एउटा कुनामा भेला हुन लगाइयो। सबैभन्दा पहिले सरसफाइ अभियन्ता बोल्यो। उसले मैथिलीमै भाषण गर्‍यो।

‘जमाना कत से कत पहुँच गेलै। अहाँ सब अखिनको खुलामा शौच करैछी। बहुत शरमके बात अछि !... ’ (जमाना कहाँ पुगिसक्यो, तपाईंहरू भने अझै खुला ठाउँमा दिसा गर्नुहुन्छ। धेरै लाजमर्दो कुरा हो !)

शरम त बुधनलाई लागेकै थियो। जिन्दगीमा पहिलो पटक प्रहरीले समातेको थियो, त्यो पनि खेतमा शौच गर्न बसेको विषयमा। योभन्दा शरमको कुरा के हुनसक्छ? अझ सकुन्तीले थाहा पाइन् भने हाँसेरै मर्छे। छोरा रामविलास पनि ठूलो भइसकेको छ। उसले थाहा पायो भने के सोच्ला?

बुधन यस्तै सोचिरहेको थियो।

सीडीओ, एलडीओ सबैले शौचालयको महत्त्व र आवश्यकतामाथि प्रवचन दिए। समाजमा यसको प्रतिष्ठा र इज्जतसँग जोडेर लम्बेतान भाषण दिए।

‘आफ्ना घरका जनानीहरूलाई खुलामा शौच गर्न पठाउँदा तिमीहरूलाई लाज लाग्दैन?’ सीडीओ झन् उनीहरूको मुटुमा बिझ्ने गरी हप्काउँदै बोलिरहेका थिए।

बुधनले अरूको अनुहार नियाल्यो। कोही झोक्राइरहेका थिए, कोही मुख छोपेर खितिति हाँसिरहेका थिए। बुधनलाई भने रिस उठिरहेको थियो। उनीहरूको गरीबीको योभन्दा भद्दा मजाक अरू के नै हुन्थ्यो? जसलाई एक छाक खानकै चिन्ता हुन्छ, उसले हग्ने कुराको चिन्ता किन गरोस्? साँघुरो घरमा एक जना पाहुना आउँदा रामविलास ओसरामा सुत्नुपर्छ। उसले शौचालय कहाँ बनाओस्?

घाम चर्किंदै थियो, पसिनाले लतपत हुँदै थियो बुधन। मजदूरीमा जानु थियो। नथुनी चमार उसलाई खोज्न घरमा आइपुगेको होला। उसले शौच गर्न नपाउँदै उठाएर ल्याइएको थियो। पेट कटक्क दुखिरहेको थियो। प्रहरी परिसरमा शौचालय थियो। ऊ त्यतातिर लाग्यो।

शौचालयमा ऊ छिर्नै सकेन। दिसाको लेदो सहित पानी बाहिर निस्किएको थियो। खुट्टा टेक्ने ठाउँ समेत थिएन। यस्तो शौचालयमा मानिस कसरी बस्न सक्दा हुन्? उसलाई बान्ता आउला जस्तो भयो। ऊ भित्र गएन। शौचालय छेउमा रहेको हातेकलबाट लोटामा पानी भर्‍यो र खेततिर लाग्यो। प्रहरी वा अरू मानिसहरू नआइपुगून् भनेर आली नै आली निकै परसम्म गयो। मानिसहरू देखिन छोडे। ऊ शौच गर्न बस्यो।


हगुवा नियन्त्रण कार्यक्रमले राम्रै काम गर्‍यो। एक महीनासम्म चल्यो कार्यक्रम। पहिलो हप्तासम्म मानिसहरू समातेर ल्याउने र सम्झएर पठाउने क्रम चली नै रह्यो। दोस्रो पटक समातिनेहरू पनि थिए। उनीहरू शौचालय बनाउँदै गरेको भन्दै उम्किंदै गरे।

लगभग महीना दिनपछि मानिसहरू समातिने क्रम घट्यो। आफ्नो जग्गा र आम्दानी हुनेहरूले शौचालय बनाए। तर, मुसहर टोलीमा शौचालय बनेन। उनीहरूले आफ्नो शौच गर्ने समय बदले। अनुगमन हुने समयमा शौच जानै छोडे। लागिहाले पनि खपेर बस्थे, वा मानिसहरू खासै नपुग्ने एकान्त ठाउँतिर जान्थे।

अनुगमन समिति मुसहर टोलको जीर्ण
धर्मशालामा भेला भयो। मानिसहरूलाई
लाग्यो, शायद चुनाव आउन लाग्यो र भोटर
लिस्टमा नाम लेखाउन वा यस्तै अरू कामले
आएका होलान्।

नगरपालिकाका प्रत्येक वडाका प्रत्येक घरमा शौचालय बने/नबनेको निरीक्षण गर्न सरसफाइ अभियन्ताको नेतृत्वमा टोली बनाइयो। नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम (ईएफएलजीपी) अन्तर्गत काम गर्ने वातावरण अधिकृत, स्थानीय शासन र सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गतका सामाजिक विकास कार्यकर्ता, सम्बन्धित वडामा काम गर्ने वडा सचिवहरू थिए। उनीहरूले जसका घरमा शौचालय बनेर पूरै प्रयोगमा आयो, उनीहरूलाई मात्र सरसफाइ परिचयपत्र दिए। कार्डमा सरसफाइ परिचयपत्र लेखिए पनि मानिसहरू ‘ट्वाइलेट कार्ड’ भन्थे।

अनुगमन समिति मुसहर टोलको जीर्ण धर्मशालामा भेला भयो। मानिसहरूलाई लाग्यो, शायद चुनाव आउन लाग्यो र भोटर लिस्टमा नाम लेखाउन वा यस्तै अरू कामले आएका होलान्। वडा सचिवलाई सँगै देखेपछि कुनै योजनाका लागि समिति गठन गर्न आएको जस्तो लाग्यो। सचिवले यस्तो बर्सेनि गर्थ्यो। त्यो समिति गठन गरेर के हुन्थ्यो वा के गर्थ्यो, उनीहरूले कहिल्यै थाहा पाएनन्। वडा सचिवलाई सबैले चिन्थे, हिरालाल मोची थियो उसको नाम। नथुनी चमारको आफन्त पर्थ्यो। पूरै नगरपालिकामा दलित समुदायबाट एक्लो कर्मचारी थियो। नगरपालिकाको ठूलो दलित बस्ती, मुसहर टोल र चमारटोल यसै वडामा पर्थ्यो।

‘रे बुधनाके बेटा, एनि सुन ! नाम कथि हौ तोहर?’ (ए बुधनाको छोरा? यता सुन त। नाम के हो तिम्रो?)

नाम थाहा नभए पनि अनुहारले प्रायःजसोलाई चिन्दथ्यो हिरालाल मोचीले।

‘रामविलास सदा।’

रामविलास धर्मशालाको बरन्डामा बसेर पढिरहेको थियो। खुला ठाउँमा भएकाले हावा चल्थ्यो। दिउँसो खासै कोही हुँदैनथे। पक्की बरन्डामा चारैतिर किताब फिजाएर पढ्न पाउँथ्यो।

‘जो त! टोलमे से सबके बोलाके लेने आ त। कहिया, हिरालाल सचिव बोलबै है।’ (जाऊ त ! टोलका सबैलाई बोलाएर ल्याऊ त। भन्नु, हिरालाल सचिवले बोलाएको छ।)

रामविलासले चिन्थ्यो हिरालाललाई। उनीहरूको समुदायको नभए पनि चमार समुदायबाट थियो। गाविसको सचिव थियो, गाविस नगरपालिकामा गाभिएपछि वडा सचिव भएको थियो। मुसहर टोल र चमारटोलका मानिसहरूले चिनेकामध्ये सबैभन्दा ठूलो र पहुँचवाला मानिस हिरालाल मोची हो। सरकारी काम पर्‍यो भने सबैले उसैलाई गुहार्थे। यो कुरा अलग थियो, पैसा नखाई ऊ कुनै काम गर्दैनथ्यो।

‘कुरा के भने नि, हामी यहाँ ट्वाइलेट कार्ड
वितरण गर्न आएको। क–कसको घरमा
ट्वाइलेट बनेको छ? उसले यहाँ नाम
टिपाउँदा हुन्छ। हामी अनुगमन गर्छौं। सबै
मापदण्ड पुगेको छ भने ट्वाइलेट कार्ड
दिन्छौं।’

सबै भेला भए। बुधन र सकुन्ती दुवै जना आए।

‘कुरा के भने नि, हामी यहाँ ट्वाइलेट कार्ड वितरण गर्न आएको। क–कसको घरमा ट्वाइलेट बनेको छ? उसले यहाँ नाम टिपाउँदा हुन्छ। हामी अनुगमन गर्छौं। सबै मापदण्ड पुगेको छ भने ट्वाइलेट कार्ड दिन्छौं,’ सामाजिक कार्यकर्ताले भन्यो।

उनीहरूबाट केही प्रतिक्रिया आउँछ कि भनेर चुप लाग्यो। तर, सबै जना एकअर्काको मुख हेर्न थाले। शौचालय कसैको घरमा बनेकै थिएन।

उनीहरूको अवस्था अनुमान गरेर हिरालालले सोध्यो, ‘कि बात है? केकरो घरमे ट्वाइलेट नै बनल है?’ (के कुरा हो? कसैको घरमा ट्वाइलेट बनेको छैन?)

जिलेबियाले उठेरै सोध्यो, ‘सचिवजी? एकटा बात कहु त ! ई कार्ड बनाक ढौवा भेटबाला है?’ (सचिवजी? एउटा कुरा सोधूँ? यो कार्ड बनाएर पैसा पाइन्छ?)

टोलीका मानिसहरू बाहेक सबै गलल हाँसे। सरसफाइ अभियन्ता रिसायो, ‘यिनीहरूलाई के हामी यहाँ मजाक गर्न आएको जस्तो लाग्यो ! सरसफाइ जस्तो कुरा यिनीहरूले हाम्रा लागि गरिदिनुपर्ने?’

‘मजाक त तपाईंहरू गरिरहनुभएको छ हाम्रो गरीबीमाथि।...’

बुधन उठ्यो र भन्न थाल्यो। उसभित्र पहिलेदेखिको रिस गुम्सेर बसेको थियो।

‘... हाम्रो अवस्था के हो? हाम्रो आवश्यकता के हो? तपाईंहरूलाई केही थाहा छ? भरदिन मजदूरी गरिएन भने एक छाक खान पाउँदैनौं हामी। तपाईंहरूलाई हामी कहाँ हग्छौं भन्ने चिन्ता छ। पिउने पानी लिन महिसौथा पुग्नुपर्छ हामी। तपाईंहरूलाई हामीले हात धोयौं कि धोएनौं भन्ने फिक्री छ। ...’

बुधनले बोल्न थालेपछि सबै स्तब्ध भए।
सकुन्ती र रामविलास पनि छक्क परे।
दुवैका नजरमा बुधन सोझो र बोल्न नजान्ने
गौप्राणी थियो।

बुधनले बोल्न थालेपछि सबै स्तब्ध भए। सकुन्ती र रामविलास पनि छक्क परे। दुवैका नजरमा बुधन सोझो र बोल्न नजान्ने गौप्राणी थियो।

‘बहुत निक कहले बुधनभाई।’ (निकै राम्रो कुरा भन्यौ बुधन भाइ।)

जिलेविया, रैबिया लगायत सबैले बुधनको कुरामा साथ दिए। सबैले ताली समेत बजाए।

त्यस दिन सरसफाइ समितिको अनुगमन र सरसफाइ कार्ड वितरण गर्ने कार्यक्रम त्यहीं सकियो। अनुगमन सकिएपछि समितिका मानिसहरू रमझम होटल गए। उनीहरूका लागि विशेष टेबल बूक गरिएका हुन्थे। उनीहरू राम्रैसँग पिउँथे।

प्रत्येक दिनको अनुगमनको शुरूआत मासुभात खाएर हुन्थ्यो। र, समापन दारु–मासु खाएर हुन्थ्यो।

‘एउटा कुरा भनूँ सर?’

हिरालाललाई रक्सीको नशा लागिसकेको थियो। उसले कार्यकारी अधिकृत, सरसफाइ अभियन्ता र वातावरण अधिकृतलाई भन्यो। दिउँसो हुने अनुगमनमा नगए पनि सन्ध्याकालीन कार्यक्रममा कार्यकारी अधिकृत सहभागी हुन्थ्यो। तीनै जनाले हिरालालतर्फ हेरे।

‘यो बस्ने कार्यक्रममा हामी जति खर्च गर्छौं नि, त्यतिमा त उनीहरू सबैलाई पुग्ने गरी सार्वजनिक शौचालय बनाउन सकिन्छ।’

हिरालालको कुरा कसैलाई मन परेन।

‘के कुरा गर्नुहुन्छ तपाईं पनि ! बकाइदा यसको उद्देश्यमै एक घर एक चर्पी लेखेको छ,’ वातावरण अधिकृत जुरुक्क उठेर बोल्यो।

‘यसो पढ्ने पनि गर्नुपर्छ के सचिवजी। भावनामा बगेर हुँदैन,’ कार्यकारी अधिकृतले हिरालाललाई पाठ पढायो। हिरालाल बोलेन।

बिहानको खाना र रातिको खानपान गरेर पचास हजारभन्दा बढीको बिल उठ्यो। कार्यकारी अधिकृतले सरसफाइ कार्यक्रम खर्च अन्तर्गत बिल तथा भर्पाई पेश गरी भुक्तानी माग्न वातावरण अधिकृतलाई भन्यो।

नगरपालिकामा कार्यक्रम महीना दिन चल्यो। उनीहरूको प्रत्यक दिनको भत्ता, खाना, खाजा र रात्रि जलपान गरेर लाखाैंको खर्च नगरपालिकाले सरसफाइ कार्यक्रमबाट व्यहोरेको थियो।


‘यस्तो तरीकाले न एक घर एक चर्पी तयार हुन्छ, न त यो जिल्ला खुला दिसामुक्त घोषणा हुन्छ।’

सीडीओ सहित बसेको बैठकमा सरसफाइ अभियन्ता र नगरपालिकामा खटाइएका वातावरण अधिकृतले जोडका साथ विषय उठाए।

जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने मिति नजिकिंदै थियो। हगुवा नियन्त्रण कार्यक्रमपछि बजारहरूमा जुन रफ्तारमा शौचालय बन्न थालेको थियो, त्यसबाट सीडीओ र एलडीओ समयमै लक्ष्य प्राप्त गर्न सकिनेमा ढुक्क थिए। तर, ती सबै काम एउटा बिन्दुमा पुगेर रोकिए। विशेष गरी विपन्न र सुकुम्बासी बस्तीमा यो कुराले धेरै प्रभाव पारेन।

‘ल्याएर थुन्दा समेत बनाएनन्, अब के गर्न सकिन्छ?’ एलडीओ निराश थिए।

‘एउटा उपाय हुनसक्छ,’ नगरपालिकाको
कार्यकारी अधिकृत बोल्यो, ‘चर्पी नबनाएर
सरसफाइ परिचयपत्र नभएकालाई
नगरपालिकाले कुनै पनि सेवा नदिने।’

‘एउटा उपाय हुनसक्छ,’ नगरपालिकाको कार्यकारी अधिकृत बोल्यो, ‘चर्पी नबनाएर सरसफाइ परिचयपत्र नभएकालाई नगरपालिकाले कुनै पनि सेवा नदिने।’

सबैले उत्सुकतापूर्वक ऊतिर हेरे।

‘जस्तो ट्वाइलेट कार्ड विना हामीले नागरिकता बनाउन सिफारिश नगर्ने। जिल्ला प्रशासन कार्यालयबाट यो कुरामा कडाइ गरिदियो भने उनीहरूले चर्पी नबनाई सुखै पाउँदैनन्।’

कार्यकारीको कुरा सुनिरहँदा एलडीओको अनुहार धपक्क बल्यो। उत्साह रोक्न सकेनन्, सही थाप्दै बोले, ‘कुरा सोह्रै आना मनासिब हो। आखिर राज्यले आफ्नो उपस्थिति र सामथ्र्य देखाउने यसरी त हो। फेरि सरसफाइ परिचयपत्र नबनाई काम गर्न विदेश जान हिँडेकालाई एअरपोर्टबाट त फर्काउँदै छ। हामीले यति गर्न सकिहाल्छौं। ...’

‘त्यसो भए यो मिटिङले आवश्यक कारबाहीको निर्णय गरोस्,’ सीडीओ बोले। उनले सचेत पनि गराए, ‘पत्रकारहरूले हामीले चालेको कारबाहीलाई नकारात्मक ढङ्गबाट नलेखून् नि फेरि ! यति कुरा ख्याल गरेर कसलाई के गर्नुपर्छ तपाईंहरूले गर्नुहोला।’

‘त्यस कुराको चिन्तै लिनुपर्दैन हजुरले। यस अभियानको विज्ञापन लगभग सबैले लिएकै छन्। कसैले विरोध नगर्लान्। हगुवा नियन्त्रण कार्यक्रमलाई जस्तै सफल पार्न लाग्छन् हजुर,’ एलडीओले सीडीओलाई आश्वस्त बनाए।

बैठकले ‘ट्वाइलेट कार्ड’ नबनाउनेलाई नगरपालिकाको कुनै पनि सेवा प्रदान नगर्ने विषयमा निर्णय गर्‍यो। जिविसको वातावरण अधिकृतले निर्णयको माइन्युट तयार पार्र्‍यो। एलडीओले निर्णयको व्यहोरा सुनायो। सबैले सहमति जनाएपछि पहिलो हस्ताक्षर आफैं गर्‍यो। त्यसपछि सीडीओ र अन्यले पालैपालो हस्ताक्षर गरे। लगत्तै फ्रुटी सहित खाजाको प्याकेट आयो। सँगै, बैठक भत्ता सहितको खाम आयो।


मुसहर टोलीको पहिलो शौचालय जिलेबियाको घरमा बन्यो।

उसकी आमाले पाउँदै आएको वृद्धभत्ता रोकिएको थियो। सधैं झैं तीन महीनाको किस्ता लिन आमा सहित पुगेको थियो। मुसहर टोलका लागि ट्वाइलेट कार्ड अनिवार्य थियो। नगरपालिकाभरिमा खुला दिसामुक्त घोषणा गर्न बाँकी वडा उनीहरूकै थियो। त्यस वडामा पर्ने यादव टोल, तेलियानी टोल, हलुवाई टोलमा प्रायः सबै घरमा शौचालय बनाइसकेका थिए। मुसहर टोलमा कसैसँग कार्ड नभएको कुरा हिरालाललाई थाहा थियो। जिलेबिया र उसकी आमा लाइनमा उभिएको देखेर कार्यालय सहयोगीलाई बोलाउन पठायो।

‘देख जिलेबिया भाइ, तोहर हमर दुश्मनी त हौ नै। उपरका लोग सब निर्देशन देतै त हमरा मान परतै। विना ट्वाइलेट कार्ड बनेने माइके भत्ता नैमिलबला हौ।’

‘माइके भत्ता भाइग नैजेतौ। ट्वाइलेट
बनबइयै परतौ। ट्वाइलेट कार्ड बनेलाके वाद
एकेचोटी जम्मा भत्ता से हो चैल अइतौ।’

(हेर जिलेबिया भाइ ! हामीबीच दुश्मनी छैन। माथिका मानिसहरूले निर्देशन दिएपछि हामीले मान्नैपर्छ। ट्वाइलेट कार्ड नबनाई आमाको भत्ता नपाइने भयो।)

जिलेबिया छाँगाबाट खसे झैं भयो, ‘हम बरबाद भजेबै सचिवजी।’

‘माइके भत्ता भाइग नैजेतौ। ट्वाइलेट बनबइयै परतौ। ट्वाइलेट कार्ड बनेलाके वाद एकेचोटी जम्मा भत्ता से हो चैल अइतौ।’ (आमाको भत्ता कहीं जाँदैन। ट्वाइलेट चाहिं बनाउनैपर्छ। ट्वाइलेट कार्ड बनेपछि सबै भत्ता एकै पटक पाइन्छ।)

जिलेबियाले बुझ्यो, उनीहरूले शौचालयमा दिसा गरे वा नगरे पनि बनाउन जरुरी छ। पूरै परिवारका लागि एउटा मात्र कोठा भएको फुसको घर थियो। आमा असोरामा सुत्थिन्। उनीहरू भित्र सुत्थे। घरसँगै टाँसिएर सानो गोठ जस्तो बनाएको थियो, जहाँ एउटा बाँसको मचान बनाएको थियो। मचानमा उसको छोरा सुत्थ्यो। मचान तल केही बाख्रा बस्थे।

शौचालय बनाउन गोठ भत्कायो। गोठ भत्काइरहँदा उसको छोरा डाँको छोडेर रुँदै थियो। रुन त जिलेबियालाई पनि मन लागेको थियो। एक त ठाउँ साँघुरो थियो, त्यसमाथि शौचालयका लागि खाल्डो खन्न, ढलान गर्न, इँटा, सिमेन्ट र बालुवा ल्याउन, ट्वाइलेट सिट, बाल्टिन किन्न गरी ५० हजारभन्दा माथिको खर्च थियो। आफूसँग भएको पैसाले नपुगेर उसले २० हजार ऋण लिनुपरेको थियो।

शौचालय बनाएपछि अनुगमन टोली आयो। तामझामका साथ अनुगमन गर्‍यो। मुसहर टोलमा पहिलो शौचालय बनेको थियो। टोलीका मानिसहरू आफ्नो अभियान सफल हुनेमा उत्साहित बने।

जिलेबियाको शौचालय उद्घाटन गर्न टोलभरिका मानिस डाकिए। सबै आऊन् भनेर खाजामा समोसा र पकौडा मगाइएको थियो।

जिलेबियालाई चाहिएको थियो, केवल
ट्वाइलेट कार्ड। उसलाई आमाले पाउने भत्ता
निकाल्नु थियो। ऋण तिर्नु थियो। आएका
मानिसहरूको ध्यान समोसा र पकौडामा
थियो।

वातावरण अधिकृतले शौचालय र सरसफाइको विषयमा राम्रै व्याख्यान दियो। तर, त्यहाँ उभिनेहरूलाई त्यस प्रति खासै मतलब थिएन।

जिलेबियालाई चाहिएको थियो, केवल ट्वाइलेट कार्ड। उसलाई आमाले पाउने भत्ता निकाल्नु थियो। ऋण तिर्नु थियो। आएका मानिसहरूको ध्यान समोसा र पकौडामा थियो। वातावरण अधिकृतले कार्डमा हस्ताक्षर गरेर जिलेबियालाई दिएपछि कार्यक्रम समापन भयो। समोसा र पकौडा बाँडियो।

लगत्तै अरू शौचालयहरू बन्न थाले। ती शौचालय बने मात्र, प्रयोगमा आएनन्। जिलेबियाले ट्वाइलेट सिटमा काठको फल्याक ओछ्यायो। र, त्यहाँ बाख्रा बाँध्न थाल्यो।

टोलमा बनेका प्रायः शौचालयको अवस्था त्यस्तै थियो, सामान राख्न वा बाख्राको खोरका रूपमा प्रयोग गर्ने। सबैले परिबन्दमा परेर शौचालय बनाएका थिए। शौच गर्न उनीहरू अझै मैनावतीको किनार वा मानिसहरूको कम आवतजावत हुने खेततिर जान्थे।


शौचालय नबनेको अन्तिम घर बुधन सदाको थियो।

रामविलास एसएलसी दिएर बसेको थियो। रिजल्ट आइसकेको थिएन। बुधनसँगै लेबरको काम गर्न ऊ पनि जान्थ्यो। उनीहरू काम गरिरहेका वेला कहिलेकाहीं नथुनी चमारको छोरा सुर्जा आइपुग्थ्यो। रामविलासभन्दा केही वर्ष जेठो थियो ऊ। कतारबाट तीन महीनाको छुट्टीमा फर्किएको थियो। खासमा ऊ विवाह गर्न आएको थियो। खोजे जस्तो केटी पाइयो र विवाहको कुरा छिनियो भने ६ महीनासम्म बिदा लम्ब्याउने योजना थियो। तर, उसका लागि केटी खोजिदिने समय नथुनीसँग थिएन।

‘मैले खोजिदिएको केटी उसलाई चित्तै बुझ्दैन। खोजोस् आफैं। हाम्रो काम त उसको कुरा छिनिदिने मात्र हो,’ नथुनी चमारको आफ्नै गुनासो थियो।

‘तपाईंको गोरु हो र म जहाँ जोत भन्यो जोतिदिने? जुन खुट्टामा बाँध्न मन लाग्यो बाँधिदिने?’ सुर्जा कम थिएन। ऊ विदेशबाट कमाएर आएको पट्ठो जवान थियो। आफ्नो बुबा उसलाई मूर्ख लाग्थ्यो। जिन्सको पाइन्ट, रातो झिल्के सर्ट र कपालमा तेल लगाएर चिटिक्क परेर बजारमा हिंड्थ्यो।

अनिवार्य नेपाली र अङ्ग्रेजीको सेकेन्ड
ह्यान्ड किताब किनिसकेको थियो।
रिजल्टले उसका सारा सपनामा पानी
खन्याइदियो।

बुबा–छोराबीचको वार्तालाप रामविलासलाई रमाइलो लाग्थ्यो। रामविलासको एसएलसीको रिजल्ट र सुर्जाको विवाहको छेका एकैदिन पर्‍यो। नथुनी चमारले बुधन र रामविलास दुवैलाई छेकामा बोलाएको थियो। तर, बुधन मात्र गयो।

रामविलास एसएलसीमा फेल भएको थियो। पूरै स्कूलमा जम्मा तीन जना मात्र पास भएका थिए। ऊ तीन वटा विषयमा फेल भएको थियो। दुई वटा विषयसम्म भएको भए त्यसै वर्ष मौका परीक्षा दिन पाउँथ्यो। उसले पाएन।

बुधन बेखुशी भए पनि खासै दुःख मनाउ गरेन। छोरालाई सुर्जाले जस्तै गरी विदेश पठाउने रहर थियो। रामविलासको निन्याउरो अनुहार देखेर हप्काउँदै भन्यो, ‘पैढेक कथि उखाइर लेतही? नथुनीके बेटाजिका विदेश जाक एबही त कुछ पुँजी जम्मा होतोउ। त किछ कैरहो सकबही।’

(पढेर के नै गरिहाल्थिस्? नथुनीको छोरा जसरी विदेश गइस् भने केही पूँजी जम्मा हुन्छ, अनि केही गर्न सक्छस्।)

एसएलसीको रिजल्ट नआउँदासम्म रामविलासले काम गर्दै क्याम्पस पढ्ने सपना देखेको थियो। क्याम्पस पढ्न पाउने शर्तमा ऊ बालुवा चाल्न वा इँटा बोक्न तयार थियो। परीक्षा दिएदेखि रिजल्ट आउनुबीचको समयमा क्याम्पस भर्नाका लागि चाहिने रकम जम्मा गरिसकेको थियो। अनिवार्य नेपाली र अङ्ग्रेजीको सेकेन्ड ह्यान्ड किताब किनिसकेको थियो। रिजल्टले उसका सारा सपनामा पानी खन्याइदियो। ऊ अब कुनै हालतमा गाउँ बस्न चाहँदैनथ्यो। सुर्जा जसरी नै विदेश जाने मन बनाइसकेको थियो। त्यसका लागि जरुरी थियो, नागरिकता र पासपोर्ट।


बुधनले पुरानो कालो झोला झिक्यो। त्यसभित्र पोलिथिनमा बेरेर राखेको नागरिकता झिक्यो। रामविलास नागरिकतामा रहेको बुबाको फोटो देखेर जोडले हाँस्न थाल्यो। बुधनको ठुटे जुँगा थियो। उसले लगाएको टोपी सुहाएकै थिएन। ढाका टोपी लगाएको श्यामश्वेत फोटोमा बुधन नाचको बिपटा जस्तो देखिएको थियो। रामविलास हाँसेको देखेर बुधन पनि हाँस्यो।

उनीहरूले शिव पुस्तक भण्डारबाट
नागरिकताको फारम किने। वडा कार्यालय
बाहिर बस्थ्यो बचकुन चौधरी। उसले
नागरिकताको सिफारिश लिन
आउनेहरूको फारम निश्चित शुल्क लिएर
भरिदिने गर्थ्यो।

उनीहरूले शिव पुस्तक भण्डारबाट नागरिकताको फारम किने। वडा कार्यालय बाहिर बस्थ्यो बचकुन चौधरी। उसले नागरिकताको सिफारिश लिन आउनेहरूको फारम निश्चित शुल्क लिएर भरिदिने गर्थ्यो। ‘यते फारम हमही भैर लेबै।’ (यति फारम म आफैं भर्छु।)

फारम रामविलास आफैं भर्न चाहन्थ्यो। बुधनले मानेन, ‘बेसी नैबुझ्। ओकर काम कथि है त?’ (बढी नबुझ्। उसको काम के हो त?)

बचकुनको अक्षर निकै राम्रो थियो। दिनहुँ सयौं फारम भथ्र्यो। कहाँ के गर्नुपर्छ, सबै थाहा थियो। फारममा टाँस्ने हुलाक टिकट आफैं राख्थ्यो। त्यसको छुट्टै पैसा लिन्थ्यो। उसले उठाएको पैसाको केही अंश वडा सचिव हिरालालले पाउँथ्यो। बचकुन बाहेक अरूको अक्षर देख्नासाथ फारममा केही न केही खोट देखाएर हिरालालले फिर्ता पठाइदिन्थ्यो।

‘ट्वाइलेट कार्ड कहाँ है बुधन भाइ?’ हिरालालले बुधनको अनुहार हेर्दै भन्यो। पूरै मुसहर टोलमा ऊ मात्र थियो ट्वाइलेट कार्ड नभएको।

‘अहाँके मालूम नै है ई वात?’ बुधनले अलि ठूलै स्वरमा भन्यो। हिरालाललाई थाहा थियो, उसले सिफारिश गरेर पठाए पनि जिल्ला प्रशासन कार्यालयमा उसको नागरिकता बन्नेवाला छैन। त्यहाँ सरसफाइ घोषणा नभएको वडा र टोलहरूको सूची नै बोकेर बसेका हुन्छन्।

हिरालालले भन्यो, ‘ठीक है बुधन भाइ। पठाबैला हम पठादेब। मगर ओइजस घुमा देलक त हमरा नै कहब।’ (ठीक छ बुधन भाइ। पठाउन म पठाइदिन्छु। तर त्यहाँबाट फर्कायो भने मलाई नभन्नू।)

बुधन अरू केही सुन्ने पक्षमा थिएन। हिरालालले रामविलासको नागरिकताको सिफारिशपत्र बनाइदियो। दुवै जना जिल्ला प्रशासन कार्यालय गए। त्यही भयो, जे हिरालालले भनेको थियो। ट्वाइलेट कार्ड नभएका कारण रामविलासको नागरिकता बनेन।


रामविलासलाई जसरी पनि नागरिकता बनाउनु थियो, पासपोर्ट बनाउनु थियो र विदेश जानु थियो। सरसफाइ परिचयपत्र विना एअरपोर्टबाट समेत मानिसहरू फर्काउँदै छ भन्ने उसले सुनेको थियो। बुधन शौचालय बनाउने निर्णयमा पुग्यो।

दुई वटा छाप्रोमध्ये एउटा भत्कायो। देवपित्तर रिसाउँछ भनेर गोसाइँघर भएको छाप्रो भत्काउने कुरै भएन। ठूलो छाप्रो भत्काएर एउटा सानो छाप्रो र शौचालय सँगसँगै बनायो। बुधन र रामविलासले जम्मा गरेको पैसाले ट्वाइलेट सिट किन्न मात्र पुग्यो। नथुनी चमारलाई भन्न लगाएर केही इँटाहरू जुन साहूको घरमा काम गथ्र्यो उसैसँग माग्यो, कामको हिसाबबाट कटाउने गरी। बालुवा र सिमेन्ट किन्दा २० हजारभन्दा बढी ऋण लाग्यो।

बुधन, सकुन्ती र रामविलास तीन जना लागिपरेरै शौचालय बनाउन थाले।

दिसा–पिसाब गर्न बुधनले शौचालय
बनाएकै थिएन। उसलाई ट्वाइलेट कार्ड
चाहिएको थियो। छोराको नागरिकता
चाहिएको थियो। पासपोर्ट चाहिएको
थियो। वातावरण अधिकृतलाई यो कुरा
थाहा थियो।

पूरै नगरपालिकामा बन्न बाँकी अन्तिम शौचालय थियो। धेरैका आँखा त्यसमै थियो। बुधनले सरसफाइ परिचयपत्रका लागि कहिले निवेदन दिन्छ भनेर नगरपालिकाको वातावरण अधिकृत कुरेर बसेको थियो। निवेदन दिने बित्तिकै कार्यकारी अधिकृत सहित ठूलै टोली अनुगमनका लागि गए। उनीहरूले अन्तिम शौचालयको फोटो खिचे। एक–अर्कासँग बधाई साटे।

वातावरण अधिकृत पिसाब फेर्न शौचालयमा पस्यो। तर, ढोकामा चुकुल थिएन।

‘बुधनजी, चुकुल हाल्नुपर्दैन? नत्र भित्र मान्छे कसरी बस्छ? गाना गएर?’ वातावरण अधिकृतले जिस्कायो।

दिसा–पिसाब गर्न बुधनले शौचालय बनाएकै थिएन। उसलाई ट्वाइलेट कार्ड चाहिएको थियो। छोराको नागरिकता चाहिएको थियो। पासपोर्ट चाहिएको थियो। वातावरण अधिकृतलाई यो कुरा थाहा थियो।

‘छुटेको होला सर, लगाइहाल्छ। हैन बुधन भाइ?’ हिरालालले कुरा मिलायो। वातावरण अधिकृतले जिस्केर भने पनि पिसाबले च्यापेको थियो। ‘त्यो त ठीक छ कि हिरालालजी। मलाई पिसाब लागेर हो सोधेको।’

हिरालाल ढोकामा उभियो। वातावरण अधिकृत भित्र गएर पिसाब गर्‍यो। बुधन र सकुन्तीले एकअर्काको अनुहार हेराहेर गरे। खासमा उनीहरूले यो स्थितिको कल्पना गरेका थिएनन्। उनीहरूले बनाएको शौचालय गोसाइँघरसँगै टाँसिएको थियो। ट्वाइलेट सिट त्यतै फर्केको थियो। सकुन्ती बिलौना गर्न थाली। वातावरण अधिकृतलाई गाली गर्न खोज्दै थिई। बुधनले रोक्यो।


घटनाहरू सिनेमाको रिल झैं बुधनको दिमागमा नाचिरहेको थियो। साउन्ड सिस्टममा चर्को आवाजमा गीत बज्न थाल्यो। उनीहरूको टोलसम्म प्रष्ट सुनिन्थ्यो। कार्यक्रम शुरू हुन लागेको उद्घोष भयो।

बुधनलाई जाने इच्छा थिएन, तर जिलेबिया घरमै आइपुग्यो। उनीहरू पुग्दा कुर्सीहरू भरिभराउ थिए। धर्मशाला अगाडिको खेत सरकारी गाडी र मोटरसाइकलहरूले भरिएका थिए। जिल्लाका सबै सरकारी कर्मचारी बोलाइएका थिए। जिल्लाका सांसदहरू भेला भएका थिए। एक जना पूर्व मन्त्री समेत थिए। जिविसका पूर्व पदाधिकारीहरू थिए।

एलडीओले जोशिएर बोलिरहँदा बुधनलाई
भने छटपटी भइरहेको थियो। उसले भने
जसरी हार्नेहरू को थिए? ऊ, जिलेबिया या
पूरै मुसहर टोल? उनीहरू यस जिल्लाको
प्रगतिको बाधक कसरी भए?

दुवै जना एउटा कुनामा गएर बसे।

कार्यक्रमको सभापतिमा एलडीओले आसन ग्रहण गर्‍यो। आसन ग्रहण लगत्तै सभापतिले ठूलै युद्ध जिते जसरी चर्को भाषण गर्‍यो।

‘... वास्तवमा भन्ने हो भने यो सरसफाइ अभियान, मात्र अभियान थिएन। मेरो लागि जीवन–मरणको लडाइँ भएको थियो। प्रमुख जिल्ला अधिकारी साक्षी हुनुहुन्छ, उहाँहरूकै सहयोग र तपाईंहरूको साथको कारण हामीले यो लडाइँ जित्यौं। र, यसले जिल्लाको उन्नति प्रगति देख्न नचाहनेहरूको हार भएको छ।...’

एलडीओले जोशिएर बोलिरहँदा बुधनलाई भने छटपटी भइरहेको थियो। उसले भने जसरी हार्नेहरू को थिए? ऊ, जिलेबिया या पूरै मुसहर टोल? उनीहरू यस जिल्लाको प्रगतिको बाधक कसरी भए?

भाषण गर्न आउनेहरू प्रायःका आशय उस्तै थिए।

‘रमौलवाली’ सहयोगी सहित प्रस्तुति दिन आइन्। उनको नाम लिएर उद्घोषकले बोलाउँदा बुधन उत्साहित नै थियो। उनको निकै तारीफ सुनेको थियो। एउटी जनानी भएर मानिसहरूका माझ निर्धक्क कसरी प्रस्तुति दिन सक्छिन्? यस कुराले उसको कौतूहल बढाएको थियो।

प्रहसनमा रमौलवालीका सहयोगी शौचालय बनाउन नचाहने गाउँलेको भूमिकामा थिए। त्यस पात्रलाई इङ्गित गर्दै उनी निकै भद्दा मजाक सहित गाली गर्दै थिइन्। मानिसहरू खित्का छोडेर हाँस्दै थिए। बुधन र जिलेबियालाई भित्रभित्रै छटपटी हुन थाल्यो।

‘यतै बढ्का मोछ रखने छियै। आ खुलामे जाक ... उघाइरके बैठ जाइछिय। लाज नै लगइय?’

उनले प्रयोग गर्ने भाषा निकै तल्लो स्तरको थियो। जुन विषयमा उनले आफ्नो प्रस्तुति दिइन्, त्यसले बुधन र पूरै मुसहर टोलका मानिसहरूलाई निकै ठूलो चोट दिएको थियो। उनीहरूको अवस्था, आवश्यकता र बाध्यताबारे कसैले बुझ्नै चाहेन, सबैले आफ्नो धारणा, निर्णय र ज्ञान लाद्न मात्र खोेजे।

एउटा ढुुङ्गा मञ्चमा आएर खस्यो।
ढुङ्गा रमौलवालीको कानको छेउबाट गयो।
उनको सहयोगीको टाउकोमा लागेर
सीडीओको खुट्टा छेउमा खस्यो।

एउटा ढुुङ्गा मञ्चमा आएर खस्यो। ढुङ्गा रमौलवालीको कानको छेउबाट गयो। उनको सहयोगीको टाउकोमा लागेर सीडीओको खुट्टा छेउमा खस्यो।

एकक्षण अघि कमेडी गरिरहेको सहयोगी चिच्याउन थाल्यो, ‘बाउ हौ बाउ। माइर देलकै हौ।...’ टाउकोबाट रगत बगेपछि झन् आत्तियो।

पूरै सभामा होहल्ला मच्चियो। मानिसहरू भाग्न थाले। उद्घोषक शान्त हुन आग्रह गर्दै थियो। अर्को ढुङ्गा उसको टाउकोमा लाग्यो। त्यसपछि झन् भागाभाग भयो। प्रहरीहरू सीडीओलाई सुरक्षा दिन स्टेजमा चढे।

पहिलो ढुङ्गा हान्दा कहाँबाट कसले हान्यो? कसैले थाहा पाएको थिएन। जब दोस्रो पटक ढुङ्गा हानियो, एक जना प्रहरीले देखिहाल्यो। ढुङ्गा हान्ने रामविलास सदा थियो।

सबै प्रहरी ऊतिर झम्टिए। क्षणभरमै उसमाथि लाठी र बूट बज्रन थाल्यो। अघिसम्म बुधन रनभुल्ल थियो। प्रहरीहरूले रामविलासलाई कुटेको देख्दा ऊ आत्तियो। र, दौडिंदै रामविलासलाई छेक्यो। त्यसपछि लाठी र बूट उसको जिउमा बज्रन थाल्यो।

कार्यक्रम स्थगन भयो।

घाइते बुधन र रामविलास दुवैलाई जिल्ला प्रहरी कार्यालयमा लगियो। मुसहर टोलका वृद्धवृद्धा, पुरुष, महिला, केटाकेटी सबै प्रहरी चौकी पुगे। ठूलो भीड देखेपछि एसपी आत्तियो। दुवैलाई जिल्ला अस्पताल लगियो।

बुधनलाई प्रहरीले छोड्यो, तर रामविलासलाई छोडेन। ऊमाथि ज्यानमुद्दा लगाएर थुनामै राखियो। रामविलासले ढुङ्गा हानेको साँचो थियो। धेरैले देखेका थिए। बयान दिंदा उसले ढाँटेन, ढुङ्गा हानेको स्विकार्‍यो। उमेर बढाएर नागरिकता र पासपोर्ट बनाइसकेकाले ऊ नाबालिग रहेन। जिल्ला अदालतले उसलाई ६ वर्ष कैद सजाय सुनाएर जेल चलान गर्‍यो।

सबै कुरा निकै छिटो भए। पासपोर्ट बनाएर विदेश जानुपर्ने रामविलास जेलमा छ। उसले त्यहाँ काम नै गरेर बसेको छ। जेलभित्र बाँसको मुढा बनाउन सिकेको छ। त्यही आम्दानीबाट कहिलेकाहीं घरमा पैसा कमाउँछ। वेलावेला बुधन र सकुन्ती छोरालाई भेट्न जान्छन्।

उनीहरूले बनाएको शौचालय अझै छँदै छ। पक्की भएका कारण सुरक्षाका लागि उनीहरूले महत्त्वपूर्ण सरसामान त्यहीं राख्ने गरेका छन्। कालो ब्यागमा बुधनको नागरिकतासँगै रामविलासको नागरिकता र पासपोर्ट शौचालयभित्र छ।

comments powered by Disqus

रमझम