कार्तिक २०७८ | 18/10/2021

अभिजात मगज

Share:
  
- कृष्ण विश्वकर्मा

म हुँ,
एक्काइसौं शताब्दीको आरन

उहिले उहिले
मेरा बाजेहरू
यही आरनमा फलाम पगाल्थे
अर्जाप्थे भुत्ते भुत्ते हतियारहरू

जब आरन खोज्दै खोज्दै
आइपुग्यो विज्ञान-प्रविधि मूल थलो

अहिले म मगज पगाल्छु
भुत्ते भुत्ते मगजहरू अर्जाप्छु

म एक्काइसौं शताब्दीको आरन
काँजो हल्लेका/काँजो फुत्केका
दाँती हल्लेका/दाँती फुत्केका
बिँड फुत्केका/बिँड फुटेका
नयाँ, पुरानो, नवजात
सबै सबै मगज गरिरहन्छु मर्मत

एक दिन आरनमा
आयो एउटा जीर्ण मगज
हेरें- ओल्टाई पल्टाई खूब

मगजैभरि,
टाँसिएका थिए प्राचीन काईहरू
टुसाएका थिए खियामाथि खिया

जीर्ण मगजलाई पगालें एकछिन आरनमा
घन, मैरीले पारें ठोकठाक
लगाएँ भुत्ते मगजमा रेत
डुबाएँ एकछिन समभावको पाइनमा

जब पूर्ण मर्मत भयो जीर्ण मगज
जोडजोडले गाउन थाल्यो राम नामको भजन

मेरै छेउको भोटे ताल्चा हेर्दै
मगजले टकटक्यायो आरनको धूलो
र, भजन गाउँदै उक्लियो अभिजात उकालो

फिस्स हाँस्यो आरन...
र, लाग्यो अर्जाप्न अर्को अभिजात मगज।

comments powered by Disqus

रमझम