कार्तिक २०७८ | 18/10/2021

शोकभूमिमा बल्झेको समय

Share:
  
- कुमारी लामा
जति कसेर राखे पनि आखिर फुत्किजान्छ कलिलो समय र चढिसक्छ पत्तै नदिई अनुहारभरि उमेरको रङ्ग। मनमा अझ गाढा पोतिइसक्छ उमेरका श्यामश्वेत स्ट्रोकहरू। कलाको एक नवीनतम स्वरूप आफैं भइसक्छ, तर थाहा पाउँदैन मानिस।

पीडाको लयमा चुर्लुम्म उनी ध्यानमग्न योगी झैं देखिन्छिन्। के उनी दुःखको उत्सव मनाइरहेकी छन्?

हुन त साधकहरू पीडा ‘सेलिब्रेसन’ को कुरा गर्छन्। सुन्दा आश्चर्य लाग्छ। यद्यपि दुःखलाई जीवनको विशिष्ट अनुभूतिका रूपमा आत्मसात् गर्नेहरू पनि धेरै छन्।

यतिखेर म जीवन र मृत्युबीचको विस्मयकारी संलापको सन्निकट छु।

के मृत्यु सम्पूर्ण रूपमा अन्त्य हो? हो भने किन ऊ सम्झ्ना भई जोडिइरहन्छ आफन्तसँग?

भौतिक रूपमा नभएर पनि सधैं साथै भइरहन्छन् छाडी जानेहरू। आइरहन्छन् हाम्रा मन र मस्तिष्कमा सम्झ्नाका गतिला धक्का बनी।

आँखै अगाडि छ एक दृश्य। माम (बोजू) हप्तैपिच्छे सम्झ्ना यात्रामा निस्किन्छिन्। चिहानडाँडा उक्लिन्छिन्। उल्टो यात्रामा छिन् उनी।

भर्खर खोस्रिए जस्तो आलै छ माटो। त्यही
थुप्रो सुमसुम्याउँछिन्। बिस्तारै हत्केलाले
अनुहार छोप्छिन्। अनि मन्द
सुकसुकाउँछिन्। चिहानडाँडाको नीरवतामा
उनको मलिन रोदन पोखिन्छ।
बहनुपर्ने समय अडिएको छ उनको। अडिनुपर्ने सम्बन्ध झुन्डिएको छ। शोकभूमिमा बल्झेको छ विपर्यास समय।

सासको लय छातीमै एकछिन थाती राखेर उनी ठिङ्ग उभिन्छिन्। अनि उच्छ्वास छाड्दै माटोको सानो थुप्रो अघिल्तिर टुक्रुक्क बस्छिन्। भर्खर खोस्रिए जस्तो आलै छ माटो। त्यही थुप्रो सुमसुम्याउँछिन्। बिस्तारै हत्केलाले अनुहार छोप्छिन्। अनि मन्द सुकसुकाउँछिन्। चिहानडाँडाको नीरवतामा उनको मलिन रोदन पोखिन्छ।

वरपरका ढिस्काढिस्की पनि सुस्तरी चलमलाए झैं लाग्छन्। एकैछिनमा उनको मौन रोदन डाँको भई छरपस्टिन्छः आबा हो...आबा! आबा हो...आबा!

अकस्मात् पोखिएको उनको क्रन्दनले म अलमलिन्छु। हडबडाउँछु पनि। मामको आवाज बढेसँगै आँसुको भेल उनको गाला छाड्दै अघि बढिरहेको छ। ७० वर्ष टेकेकी तामाङ्नी बोजूको रोदनले मेरो घाँटी अठ्याउँछ। म उभिएकै ठाउँमा एकछिन जाम हुन्छु।

हातहरू आकाशतिर फैलाउँदै डाँको छाडिरहेकी छन् उनी। उनका याचनापूर्ण शब्दको लस्कर निकै लामो बगिसकेको छ। कसै गरी थामिने छाँट छैन। उनलाई सम्झउने मेरा केही प्रयास बेकार जान्छन्। फेरि पनि प्रयत्न गर्छु। तर, उनी विलापमा एकोहोरिएकी छन्। आँखा चिम्लिएर आकाश ताक्दै ‘आबा हो’ भनिरहन्छिन्। अरू पनि धेरै थोक मिसिन्छ उनको शोकलयमा। तर, म बुझ्‍दिनँ। माम आफ्नै भाषामा मन पोखिरहेकी छन्। चिहानडाँडाको एकान्त लफ्रक्कै भिजेको छ आँसुले- अलि बढी सम्झ्नाले।

नमीठोपनले मभित्र भिन्न आकार लिइसकेको छ। मनभरि बढेको छ खैलाबैला। केही पीडा-अंश मेरा आँखाडिलबाट हामफाल्न आतुर छन्। त्यो वेग धेरै थाम्न सक्दिनँ। त्यसैले ती वृद्धालाई त्यही हालमा छाडी अलिक मास्तिरको सानो गुम्बातिर उक्लिन्छु। उनको रोदन र विलापपूर्ण आवाजले गुन्जायमान छ यहाँको एकान्त। ककनी घमाइलो गाउँको यस थुम्को यतिखेर बेस्सरी अ-घमाइलो भएको छ।


रङ्गीचङ्गी लुङ्दरको फरफराहटले सधैं तानिन्छु। वेलाबखत स्वयम्भू डाँडा उक्लिनुको मिठास; भगवानपाउको क्याफेबाट देखिने स्वयम्भूका जादुमयी अर्धमुदित नयन। वाह! तर यहाँ फरक छ माहोल। यद्यपि रङ्गीन लुङ्दरको सर्सराहट उस्तै छ। घमाइलो गाउँको यस गुम्बामा सबै कुरा सोचेभन्दा विपरीत छ। विपर्यास समयमाझ चैते मखमलीपनको मीठो स्पर्श छ। पारिलो घामसँगै गुम्बामा ठोक्किरहेको बेफिक्री बिहानी बतासको मादकता छ।

अकस्मात् केही युवा गुम्बामा उक्लिन्छन्। टाउकोमा उनिएकै छन् हेलमेट। लाग्छ, दगुरिरहेका यात्रीलाई अनायासै बाटोमा देखिएको मिनी गुम्बाले रोकिन बाध्य पारेको छ। उनीहरू उत्सुकतापूर्वक आआफ्ना मोबाइलमा तस्वीरहरू कैद गर्न थाल्छन्। मग्न भइजान्छन् सेल्फी र ग्रुप फोटो सेसनमा। चिहानडाँडाको टड्कारो आवाज उनीहरूको खलबलबीच मलिन बन्छ, एकैछिन।

दुई खुड्किलो माथिको गुम्बा परिसर
गुलजार छ। हावाको मादकता, युवाहरूको
चञ्चलता र उमङ्ग। केही ढिस्कोमुनिको
चिहानथुम्को शोकमा लीन छ। मृत्युको
सन्नाटा र बिछोडको पीडाले आक्रान्त छ
त्यो डिल।
युवा झुन्डबाट ओझेलिन्छु र आँखा झार्छु तलतिर। माम अझै उही भावमुद्रामा छिन्। उनको पीडा पोखाइको तरीका भने अघि भन्दा बेग्लिएको छ। उनी चिहानडाँडा वारपार गर्दै, दुवै हात हल्लाई हल्लाई आह्वान गर्दै छिन्ः आबा हो..आबा...!

दुई खुड्किलो माथिको गुम्बा परिसर गुलजार छ। हावाको मादकता, युवाहरूको चञ्चलता र उमङ्ग। केही ढिस्कोमुनिको चिहानथुम्को शोकमा लीन छ। मृत्युको सन्नाटा र बिछोडको पीडाले आक्रान्त छ त्यो डिल। घोप्टिदै रुँदै सिकिस्त भइरहेकी वृद्धा छिन् त्यता। यता छन् जवान समयलाई उत्सवपूर्ण बनाइरहेका युवाहरू। यी दृश्यहरू जीवनको यथार्थ छिचोल्न काफी छन्।

जति कसेर राखे पनि आखिर फुत्किजान्छ कलिलो समय र चढिसक्छ पत्तै नदिई अनुहारभरि उमेरको रङ्ग। मनमा अझ गाढा पोतिइसक्छ उमेरका श्यामश्वेत स्ट्रोकहरू। कलाको एक नवीनतम स्वरूप आफैं भइसक्छ, तर थाहा पाउँदैन मानिस। र, झसङ्ग हुँदै एकाएक ब्युँझन्छ जब उमेरको रङ्गीनपना टाढा भइसकेको हुन्छ जीवनबाट। बाँकी रहन्छ केवल बुढेसकाल र एक्लोपन।

अस्वाभाविक रूपमा लम्बिँदै छ उनको रुवाइ...

शायद धेरैका कान र आँखा चनाखो भएका होलान्। उनीबारे चल्दा हुन् अनेक चर्चा-

‘बूढी बहुलाई।’

‘लोग्ने मर्दैमा के गति छाडेकी होला यो बूढीमाउले!’

तर, के आजसम्म कसैले सोधे होलान्ः ‘माम, किन तिमी हप्तैपिच्छे आखेको (बाजेको) चिहानमा आएर रुन्छ्यौ?’


म फर्फराइरहेको लुङ्दरतिर आँखा डुलाइरहेकी छु। उनी चिहान थुम्कोमै छिन्। केही बेर अघि न हो हामी गफिँदै उक्लेको यतातिर। घमाइलो गाउँको मूल सडकमा अडिएर मैले ‘देब्रेतिरको बाटो कता जान्छ’ भनी सोधेकी थिएँ। एक हँसिली युवतीले ‘गुम्बा जान्छ’ भन्दा आडमै उभिएकी वृद्धाको आँखामा चमक पसेको थियो। हतार हतार भनेकी थिइन्, ‘मो पनि जान्छ त्यता।’ उनले त्यति भनी नभ्याउँदै युवती बोलेकी थिइन्, ‘नभाको मान्छे भेट्न के जानु!’

मैले युवतीको कुराको खास भेउ पाइनँ। सोधपुछ गर्ने सरोकार पनि थिएन। गुम्बा सुन्ने बित्तिकै लुङ्दरको फर्फराहट आइसकेको थियो आँखामा। म उत्ति नै खेर उक्लिन तयार भएँ। वृद्धा पनि मेरो पछि लागिन्। मूल बाटोका चिटिक्क ढलान घरहरूबाट ओझेलिँदै हामी थुम्कोतिर लाग्यौं। अपरिचित भए पनि हिंडाइको लयसँगै दुई-चार संवाद भए।

उनको अनुहारभरि उमेरका रेखाहरू मस्त खेलिरहेका छन्। होचो कद तर खँदिलो ज्यानकी माममा उमेरको खासै असर छैन। बोली, हिंडाइ सबै तगडा। कुरैकुरामा उनी फुत्काउँछिन्, “यही संग्राती (चैतको) पछि एक दिन मो चुरोट खाँदैथ्यो। मोइले घरभित्र चुरोट खायो भनेर बुहारीले मेरो हात समाएर अँगेनामा हुल्दियो।”

आजकल धेरै वृद्धवृद्धा परिवारकै प्रहारले
घाइते र आहत छन्। मामको चिहान यात्रा
त्यसैको परिणाम हो। माया र स्याहार
चाहिने वेला उर्लिन्छ हेला र तिरस्कार।
सायद यस्तै वेला मान्छे चिहान चहार्छ,
बोजू जस्तै।
हात देखाउँछिन् र चुपचाप अगाडि बढ्छिन्। उनको कुराले भने मेरो मनमा खैलाबैला मच्चाइदिन्छ। निथ्रिजाने बलबैंसको तुजुक सम्झँदा उदेक लाग्छ। आखिर बुढ्यौली त सबैलाई लाग्छ नै। उमेर र अनुभवले खारिएका अभिभावकहरू घरका निदाल हुन्। दह्रो टेको हुन्। परिवारका लागि विशाल छहारी। तर, समय उल्टो छ। हामी आफ्नै आँगनको शीतल छहारीमा बन्चरो दाग्न कसिन्छौं।

आजकल धेरै वृद्धवृद्धा परिवारकै प्रहारले घाइते र आहत छन्। मामको चिहान यात्रा त्यसैको परिणाम हो। माया र स्याहार चाहिने वेला उर्लिन्छ हेला र तिरस्कार। सायद यस्तै वेला मान्छे चिहान चहार्छ, बोजू जस्तै।

एक्लोपन र निराशाले उनीभित्र बबण्डर मच्चाइरहेको प्रष्ट छ। चिहानडाँडा उक्लिनु र नभएको मान्छेसामु मनको बह पोख्नु, कति नमज्जा!

मामको रुवाइ अलिक मत्थर भएको छ। तर, चिहानमै घोप्टिएकी छन् अझै। सात दशक उमेर र सात छोराछोरीकी आमा। पनातिसम्म भइसकेका छन्। छोरीहरू सबै काठमाडौंतिर। छोराहरू आफ्नै इलममा। लकडाउन छेका श्रीमान् बिते। त्यसपछि बिल्कुल एक्ली भइन्। सबैतिर अँध्यारो। चिसो मन; चिसो अँगेनो; चिसो ओछ्यान। त्यसमाथि छोरा-बुहारीको बेवास्ता। मन केले अडिनु?

सम्बन्धका हाँगाबिँगाहरू कति अभरिला। उनैले सिर्जेका सन्तानहरू सबै आ-आफ्नो संसारमा मस्त। उनलाई भने हालचाल सोध्नेसम्म छैनन्, न त सान्त्वना दिने। उनको आँसु र विलापको साक्षी भएको छ यो निर्जन थुम्को। छेवैको गुम्बामा फिरिरिरि डुलिरहेछ रङ्गीन बतास। एकातिर छ शोकसमयको घिस्राइ, अर्कोतिर छ उमङ्गपूर्ण रफ्तार। शोकभूमिको विपर्यास समयमाझ म निःशब्द छु।

comments powered by Disqus

रमझम