माघ २०७८ | 15/01/2022

हिंडाइको मानवशास्त्र

Share:
  
- विनय शेखर
हिंड्नु भनेको एक ठाउँबाट अर्को ठाउँ/गन्तव्यमा पुग्नु मात्र होइन, त्यो यात्राको बीचमा रहेको हावापानी, माटो, जीवजन्तु र मानवबीचको संवाद पनि हो।

खुम्बु क्षेत्रमा पर्यटक।
तस्वीर: मोनिका देउपाला/हिमालखबर

तपाईं हिंड्न रमाउनुहुन्छ र फुर्सद हुनासाथै ‘वाक’ वा ‘हाइक’ वा ‘ट्रेक’ का लागि खुट्टा उचालिहाल्नुहुन्छ भने पक्कै पनि आफ्नो स्वास्थ्यप्रति बढी नै सचेत हुनुहुन्छ। हिंडाइ र मानव स्वास्थ्यबीच अन्योन्याश्रित सम्बन्ध छ। धेरैको विचारमा स्वस्थ रहन र ताजगी पाउनकै लागि हिंडिन्छ। तर, हिंडाइ स्वस्थ जीवनशैलीमा मात्र सीमित छैन, यसको बृहत् सामाजिक-आर्थिक आयाम छ।

परापूर्वकालमा मानिसहरू नाना, खाना र छानाको खोजीमा कैयौं कोश हिंड्थे। काठमाडौंका नेवार समुदायले तिब्बतबाट हिंडेरै भारतसम्म व्यापार-व्यवसाय गरेको प्रसङ्ग कमलरत्न तुलाधरको क्याराभान टु ल्हासा (सन् २०११) र डोरबहादुर विष्टको सोताला (२०३३) पुस्तकमा पढ्न पाइन्छ।

मेरा पूर्वज पनि भोजपुरबाट लगातार दुई साता हिंडेर काठमाडौं आएका थिए। बुबाहरू सुन्तला टिप्न हिंडेरै दार्जीलिङ जान्थे। भोजपुरको भुल्केबाट सुनसरीको चतरा वा उदयपुरको बेल्टार पुगेर नुनतेल नलाने हो भने बुबाहरूको गुजारा चल्दैनथ्यो। अर्थात्, जीवन धान्ने चाहिने इन्धन त्यो वेला हिंडाइबाटै जुट्थ्यो।

पूर्वी अफ्रिकी देश तान्जानियाको इयासी टापुमा हाड्ज्या आदिवासीको बसोबास छ। करीब एक हजारको सङ्ख्यामा रहेका उनीहरू भोजनका लागि वन्यजन्तुको शिकार गर्छन्, वनमै कन्दमूल खोज्छन्। अहिले पनि उनीहरू खानेकुरा जोहो गर्न दैनिक सरदर ६ माइल (साढे नौ किमी) हिंड्छन्।

यातायात सुविधा नहुँदा हिंड्नैपर्नेमा भरियाहरू पनि पर्छन्। पूर्वी नेपालमा ढाक्रे भनिने उनीहरू शहरबाट खाद्यान्नको एक मन (४० किलो)भन्दा बढी भारी बोकी सप्तकोशी र यसका सहायक नदीहरू अरुण, तमोरको अक्करिलो भीर र ठाडो उकालो बाटोमा सात-आठ दिन लगाएर गाउँ फर्कन्थे। नुन, चिनी, चियापत्ती, बिस्कुट, मिश्री आदि खानेकुरा ढाक्रेसँगै हिंडेरै गाउँ पसेको थियो। हिंडाइ निरुद्देश्य हुन्थ्यो भने शहरबजारका राम्रा कपडा र मीठा खानेकुरा दूरदराजका गाउँमा कहिल्यै पुग्ने थिएनन्।

मर्दी क्षेत्रमा पर्यटक।

हिंडाइका विविध उद्देश्य हुन्छन्, तिनका प्रभाव पनि बहुआयामिक हुन्छन्। स्वीस भूगर्भविद् टोनी हागन नेपालको भौगोलिक अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक हुन्। सन् १९५० मा नेपाल आएका उनले अनुसन्धानकै सिलसिलामा यहाँ १४ हजार किलोमिटर लामो पैदलयात्रा गरेका थिए। पैदलयात्राका क्रममा बटुलेका सूचना र विवरण समेटेर हागनले नेपालको भूगोल, संस्कृति र जनजीवनबारे पुस्तकहरू नै लेखे।

नेपाल खास गरी पर्वतीय पदयात्राका लागि विश्वप्रसिद्ध छ। यहाँ पदयात्राको शुरूआत सन् १९४९ तिरै भएको इतिहास पाइन्छ। कालीगण्डकी क्षेत्र, हेलम्बु तथा सगरमाथा क्षेत्र साहसिक पदयात्राका लागि उपयुक्त रहेको बेलायती नागरिक विल टिलम्यानले पत्ता लगाएका थिए। नेपालमा पदयात्रा अहिले शोख र व्यवसाय दुवै बनेको छ।

हिंड्नुका अनगिन्ती फाइदा छन्। लामो समयसम्म एकै ठाउँ बसिरहँदा वा आफूलाई निष्क्रिय राख्दा मानव स्वास्थ्यमा अनेक समस्या थपिन्छन्। हाड्ज्या समुदायको अध्ययन गरेका अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डेभिड रिच्लनका अनुसार, हाड्ज्या समुदायका महिलाहरू दैनिक साढे दुई माइल र पुरुषहरू सात माइल हिंड्छन्।

थोरै हिंड्ने महिलाहरूका तुलनामा पुरुषहरू स्वस्थ र बलिया छन्। हाड्ज्या समुदायको हिंडाइमाथि रिच्लनले गरेको अध्ययनलाई आधार मानेर एनिमल्स बेस्ट फ्रेन्ड्स लगायत पुस्तककी लेखक बारबरा जे किङले सन् २०१४ मा नेशनल पब्लिक रेडियोका लागि ‘अन्थ्रोपोलिजी अफ वाकिङ’ (हिंडाइको मानवशास्त्र) शीर्षकमा लामो ब्लग लेखेकी छन्।

काठमाडौंको जामाचो जाँदै गरेका पदयात्री।
तस्वीर: सन्त गाहा मगर/हिमालखबर

पैदलका अनेक आयाम

उहिले मानिसहरू बाध्यताले हिंड्थे, आजभोलि बढीजसो रहरले हिंड्छन्। रहरले हिंड्नेहरू सप्ताहान्तमा शहरबजार र वरपरका डाँडाकाँडा चढ्छन्। अलि बढी घुमन्तेहरू लामो पदयात्रामा निस्किन्छन्।

हिजोआज तस्वीर खिच्न र टिकटक बनाउनकै लागि हिंड्ने शोखीनहरू पनि भेटिन्छन्। तर, कोभिड-१९ महामारी फैलिन थालेपछि लगाइएको पहिलो बन्दाबन्दीमा शहरबाट आफ्नो सुदूर गाउँ फर्किनेहरूको हिंडाइ बाध्यात्मक थियो। न्याय माग्दै नेपालगञ्जबाट काठमाडौं पैदलयात्रा गर्ने रुबी खान रहरले हिंडेकी थिइनन्।

अर्कातिर, कुनै पनि भूगोल र समाज बुझ्न गरिने यात्राको महत्त्व बेग्लै हुन्छ। हिंड्दा समाज, स्थानीय जनजीवन, कठिनाइ, बदलिँदो रहनसहन नजिकबाट देखिन्छ, जसलाई मानवशास्त्री सुरेश ढकाल अध्ययनकै पाटो मान्छन्। ढकालले समाज अध्ययनकै सिलसिलामा पोखरा, खैरेनी, गैंडाकोटको कैयौं पटक ओहोरदोहोर पैदलयात्रा गरेका छन्।

सन् २०१२ मा काठमाडौंबाट पैदल नै संखुवासभा पुगेका गायक अमृत गुरुङ केही वर्षअघि पोखराबाट हिंडेरै काठमाडौं पुगेका थिए। गुरुङको अनुभवमा, हिंड्दा कल्पनाशीलता र सिर्जनशीलताको बाटो खुल्छन्।

काठमाडौं जस्तो सवारी जाम बढी हुने शहरमा हिंडेरै कार्यालय-घर गर्ने वा काममा निस्किनेहरू प्रशस्तै भेटिन्छन्। त्यसमध्ये एक हुन्, पत्रकार नारायण वाग्ले। एक दिन बाटोमा वाग्लेलाई लम्किंदै हिंडिरहेको देखेर चिनजानका एक सवारीधनीले कारमा सँगै जान आग्रह गरेपछि वाग्लेले ‘हैन मलाई हतार छ, म हिंडेरै जान्छुु’ भनेको कुरा हिंड्नेहरूबीच चर्चित छ।

घुमन्ते पत्रकार मोहन मैनालीका लोकप्रिय पुस्तक उपल्लो थलो, मान्ठ डराएको जुग र देखेको देश उनले विभिन्न ठाउँ हिंडेर देखेका दृश्य र सङ्कलन गरेका सूचनाबाट तयार भएका हुन्। मानवशास्त्री डोरबहादुर विष्टले पैदलै देश नडुलेका भए विभिन्न जातजातिबारे लेखिएको सबै जातको फूलबारी पुस्तक शायद तयार हुने थिएन। भूगोलविद् हर्क गुरुङले पैदल हिंडेर देशको नक्शाङ्कन गरेका थिए। त्यस कारण हिंड्नु भनेको देखिएका, भेटिएका पात्र, प्रकृति र समाजको जीवन्त दस्तावेजीकरण पनि हो।

पुनहिल क्षेत्रमा पदयात्री।

मानिसहरू पसिना निकाल्दै मानसिक बोझ वा तनाव कम गर्न पनि हिंड्छन्। प्रकृतिसँग सामीप्य महसूस गर्दै आनन्दका लागि हिंड्नेहरू पदयात्रामा प्रशस्तै हुन्छन्। शारीरिक क्षमता र इच्छाशक्तिका आधारमा नियमित हिंड्ने वा कहिलेकाहीं हिंड्नेहरूको अनुहारमा खुशीका रेखा बढी देखिन्छन्।

दैनिक कति हिंड्ने? दैनिक १० हजार पाइला हिंड्नुलाई चिकित्सकहरूले पनि तारीफ गरेको सुनिन्छ। तर, सात हजारदेखि आठ हजार पाइला हिंडेमा स्वास्थ्य राम्रो हुने मानिन्छ।

हिंडाइको विषयमा आ-आफ्नै बुझाइ र विश्वास रहेको पाइन्छ। नियमित हिंड्दा तौल घट्छ भनेर हिंड्नेहरू हिजोआज सबैतिर भेटिन्छन्। तर, विभिन्न अध्ययनले हिंड्दैमा तौल कम नहुने देखाएका छन्। तौल घट्न वा एउटा बिन्दुमा स्थिर रहन हिंडाइसँगै स्वस्थ भोजनको तालमेल मिल्नुपर्छ।

हिंडाइलाई अर्थ-राजनीतिसँग जोडिएन भने हिंड्नेहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानको अवमूल्यन हुन्छ। पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत हो, जसलाई पदयात्राले धानेको छ। पदयात्रामा जानेहरूले यात्राको समय र आफ्नो गच्छे अनुसार रकम खर्चेर अर्थतन्त्रमा योगदान गर्छन्। पछिल्लो समय गाउँगाउँमा खुलेका होमस्टेहरूले समुदायको संस्कृति र पहिचान त जोगाएकै छन्, स्थानीयको जीविका पनि चलेको छ।

मनास्लु क्षेत्रमा पदयात्री।

हिंड्नु भनेको एक ठाउँबाट अर्को ठाउँ/गन्तव्यमा पुग्नु मात्र होइन, त्यो यात्राको बीचमा रहेको हावापानी, माटो, जीवजन्तु र मानवबीचको संवाद पनि हो। हिंड्दा आफूले टेकिरहेको माटोको सुगन्ध महसूस गर्न सकिन्छ, जल, बोटबुट्यान र जडीबुटीलाई स्पर्श गर्न पाइन्छ।

हिंड्नु भनेको बरालिनु हुँदै होइन। यात्रालाई सानो उपलब्धिमा पनि जोड्न सकियो भने हिंडाइ आनन्ददायी र स्मरणीय भइदिन्छ। यात्रामा पुगिने र भेटिने स्थानहरूको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बुझ्न हिंडाइको उपयोग गर्न सकिन्छ। सम्बन्धित ठाउँको सामाजिक परिवेश थाहा पाउन, आर्थिक गतिविधिसँग नजिकिन, समस्या र सम्भावना पहिल्याउन पनि हिंड्नुपर्छ।

comments powered by Disqus

रमझम