माघीको रौनकसँगै थारू बस्तीमा गुन्जिन थाल्छ, धमारको लय अनि सखिया शैलीमा मघौटा गीतको भाकाः
सखिए हो! माघक् पिलि गुरि जाँर....
डुरहिसे डेखल चेरिया रि बहिनी रे हाँ,
सखिए हो! इह पाट बइठो राजा रे हमार
सखिए हो! माघक् पिलि गुरि जाँर...
अरूले सतही रूपमा हेर्दा थारूको माघी नाचगान, खानपिनमा सीमित देखिन्छ। मूल रूपमा भने थारू समुदायको गाउँ सञ्चालनको प्रक्रियादेखि घर-व्यवहारको वार्षिक खाका तय गरिने पर्व हो माघी।
माघीमा गाउँभरिका गरढुरिया (घरमूली)हरूको कचहरी बस्छ। ‘भुरा खेल’ भनिने यो कचहरी माघको पहिलो साताभित्र सम्पन्न भइसक्छ। कचहरीमा गाउँका अगुवा बरघर/महटाँवाले वर्षदिनको आय-व्यय सुनाउँछन्।
गाउँ सञ्चालन प्रक्रियामा बरघरसँग विमति भए गाउँलेले निर्धक्क आवाज उठाउँछन्, जसको सन्तोषजनक जवाफ बरघरले दिनुपर्छ। बरघरको काम सन्तोषजनक भए सोही बैठकमा सबैको सर्वसम्मतिमा आगामी वर्षका लागि गाउँका अगुवाका रूपमा बरघर र उनका सहायक चुनिन्छन्।
अघिल्लो वर्ष भएका मनमुटाव बिर्सिई एकापसमा भुलचुक लिने दिने तथा सुमधुर सम्बन्ध नवीकरण गर्छन्। बैठकले गाउँमा दण्ड सजायको नियम पनि पारित गर्छ। गाउँलेहरूले बनाएको नियम अब लिखित हुन थालेको छ।
गाउँमा हुने बिहेभोज, मृत्युसंस्कारमा सहयोग गर्न बरघरको अगुवाइमा स्वयंसेवक खटाइन्छ, जसबाट ती विधि गर्दाको खर्च निकै कम हुन्छ। बाटोघाटोदेखि कुलोपैनीको मर्मत, सिंचाइको व्यवस्थापनमा बरघर दिलोज्यानले खटिन्छ। गाउँमा हुने ससाना झगडा उसैले मिलाउँछ।
त्यस्तै, पारिवारिक सरसल्लाह पनि माघीकै अवसरमा गरिन्छ। आम रूपमा घरको जेठो नै घरमूली हुन्छ। तर, उसको काममा चित्त नबुझे अरू भाइले माघीमा कुरा उठाउन सक्छन्। परिवारमा उमेर पुगेका सदस्यको बिहे तय गर्ने तथा भाइ-भाइमा कुरा नमिले घर छुट्टिनेसम्मको सरसल्लाह यसै अवसरमा हुन्छ। यसरी परिवारदेखि गाउँ समाजमा लोकतन्त्रको उदाहरण हेर्न माघीमा थारू गाउँ पस्नु उपयुक्त हुन्छ।
पुस मसान्तका दिन सुँगुर मारेर ढिक्री लगायत परिकारसँग जाँडको डब्कोमा रमाउँदै, गाउँदै, मघौटा नाच्दै माघीलाई स्वागत गर्छ, थारू समुदाय। पुस पकावा, माघ खावा भन्ने आहान छ। यसको अर्थ पुस मसान्तमा पकाउने, माघमा खाने भन्ने हो। १ माघमा रगत देखाउन नहुने मान्यता छ थारू समाजमा।
पुसको अन्तिम दिनलाई ‘सुवर मर्ना’ भनिन्छ। यस दिन बिहानैदेखि ‘झुक्का’ हालेर रख्वारी गरिएका माछा र सुँगुर मारिन्छ। माघीको बिहान स्नान गर्न जाने वेला थारूहरूले ‘सुरुजमा लागे गहनवा रे चोलो, कासी रे लहान’ भाकामा गीत गाउँछन्। यसको अर्थ हो, ‘आजको स्नान भनेको सूर्यग्रहण लाग्दा काशीमा स्नान गर्नुभन्दा पुण्य हुन्छ।’
स्नान गरेर आएपछि चामल, दाल, गेडागुडी, नुन लगायत निसराउ (कोसेली)का रूपमा छुट्याउने चलन छ। जसमा केही नगद समेत थपथाप गरी विवाहित चेलीलाई दिइन्छ। यसले दाजुभाइ र दिदीबहिनीबीच सम्बन्ध प्रगाढ बनाउँछ।
माघी नेपालीहरूको ठूला पर्वमध्ये एक हो भने थारूहरूको सबैभन्दा ठूलो पर्व। माघबाट नै नयाँ वर्षको शुरूआत हुन्छ। हाल थारू संवत् २६४४ चलिरहेकोमा आगामी १ माघबाट २६४५ लाग्नेछ। दशक पहिले न्वारन गरिएको थारू संवत्कै बारेमा पनि व्यापक बहसको खाँचो छ। २ माघमा खिचरी खाने चलन छ, जसलाई खिचरहवा भनिन्छ।
२०५९ सालमा सरकारले माघीलाई राष्ट्रिय पर्व घोषणा गरेपछि महोत्सवका रूपमा मनाउने प्रचलन बढेको छ। यसको व्यापकतासँगै देशका थरुहट क्षेत्र तथा विदेशमा बस्ने थारूहरूले समेत माघी महोत्सव मनाउन थालेका छन्। माघीलाई ‘माघको गुरिगुरि जाँर’ भन्दै बुझिने र प्रचार गर्ने गरिएको पाइन्छ। माघमा डफला बजाउँदै ढमार गाएको सुन्न अब भाग्यमानी नै हुनुपर्नेे स्थिति आइसक्यो।
थारू गाउँको घरसङ्ख्या जति नै धेरै किन नहोस्, प्रत्येक घरमा पस्दै साइनो अनुसारको ढोगभेट गरिन्छ माघीमा। शहरिया थारूहरूले खानपिनको गाउँले शैली त पछ्याए, तर गाउँको मौलिकता शहरमा भित्र्याउन जाँगर देखाएनन्।
थारू गाउँलेहरू विगत वर्ष आफ्नो गाउँले के-कस्ता प्रगति गर्यो भनेर समीक्षा गर्छन्। भने अनुसार प्रगति नभए बरघरलाई केरकार गर्छन्। शहरमा बसोबास गर्ने थारूले पनि आफू बस्ने शहर अनि आफ्नो समुदायका लागि के कस्तो योगदान गर्न सकियो भन्ने समीक्षा गर्नुपर्ने होइन र?