शिक्षामा फुलब्राइट लेक्चररको नियुक्ति पाएर होरेस बी. रीड पहिलो पटक सन् १९६० को दशकमा नेपाल आउँदा पञ्चायती व्यवस्था बामे सर्दै थियो। एक शैक्षिक सत्रका निम्ति अमेरिकाबाट होरेस यहाँ एक्लै होइन, ६ जनाको आफ्नो सिङ्गो परिवार सहित आए। त्यस क्रममा होरेस र उनकी श्रीमती मेरी जेन रीडले नेपालमा शिक्षाको अवस्थाबारे गहन अध्ययन गरे र फर्केर पुस्तक लेखे, नेपाल इन ट्रान्जिसनः एजुकेशनल इनोभेसन।
राणाशासनको बन्द परिवेशमा कैद नेपाली समाजको ढोका विश्वका लागि भर्खरै खुला भएको थियो। दोस्रो विश्वयुद्धपछि उपनिवेशवादी शासनबाट मुक्त भएका गरीब र विकासशील देशहरूले स्वतन्त्रतासँगै धेरै सपना बुन्दै थिए। नेपालले कुनै उपनिवेशवादी शासन प्रत्यक्ष नभोगे पनि बेलायती उपनिवेशको जगमा उभिएको राणा शासनको समाप्ति कम राजनीतिक महत्त्वको घटना थिएन। स्वतन्त्र भारतका जनतामा हुर्किएको सपनाकै समानान्तर रूपमा नेपाली जनताबीच पनि अनेक सपना हुर्किरहेका थिए।
तत्कालीन नेपाली समाजमा प्रजातन्त्रको अर्थ आधुनिकता थियो। पुस्तकका अनुसार, आधुनिकताको अर्थ अधिकांश नेपाली जनताका लागि घरमा ट्रान्जिस्टर रेडियो (काठमाडौंमा पनि रेडियो हुनु ठूलो इज्जतको विषय थियो), कार, टाइपराइटर वा दाह्री खौरिने विद्युतीय मेसिन हुनु थियो।
उत्पादन सम्बन्ध र राजनीतिक हिसाबमा पुरातन र सामन्ती समाजलाई आधुनिकताको बाटोमा डोर्याउने औंला निःसन्देह शिक्षा नै थियो। नेपाल इन ट्रान्जिसन पुस्तक आधुनिकता र प्रजातान्त्रिक समाजतिर अघि बढेको नेपाली समाजलाई त्यो बाटोमा सफल बनाउन सक्ने प्रमुख औजार शिक्षा क्षेत्रको चुनौतीको वरपर केन्द्रित छ।
रीड दम्पतीको अध्ययन अनुसार, तत्कालीन नेपालको शिक्षा क्षेत्रमा विकासको सबभन्दा ठूलो चुनौती जटिल भूगोल र पूर्वाधारको कमी थियो। पुस्तकमा नेपाली भूगोलले शिक्षा विस्तारमा पारेको अवरोधबारे उनीहरूले व्याख्या गरेको अवस्था र आजको परिस्थितिमा केही परिवर्तन देखिए पनि मूलभूत रूपमा धेरै ठूलो भिन्नता आएको छैन।
जुम्लामा शैक्षिक सामग्री पुर्याउन त्यति वेला जस्तो आज महीनौं लाग्ने अवस्था त छैन, तथापि जुम्लाको यात्रा अझै पनि कम कष्टकर हुँदैन। एक अमेरिकी दातृ निकायले केही शैक्षिक सामग्री टिनको बाकसमा राखी जुम्ला सहितका दुर्गम जिल्लाहरूमा पठाउँदा सदरमुकाममा पुग्दासम्म शैक्षिक सामग्री कामै नलाग्ने भएको प्रसङ्गबारे पुस्तकमा गरिएको चर्चा चाखलाग्दो छ। सदरमुकाम पुग्दा नै काम नलाग्ने भएका शैक्षिक सामग्री त्यहाँबाट विद्यालय कुन अवस्थामा पुगे होलान् भनेर रीड दम्पतीले कल्पनासम्म गरेका छन्।
पुस्तकमा विद्यालय निरीक्षकहरूको तालीम लिन काठमाडौं आएका प्रशिक्षार्थीहरूको ध्यान तालीममा भन्दा मन्त्रालय धाउनेतिर भएको चित्रण छ। आज पनि शिक्षक सरुवाबढुवाका लागि शिक्षा कार्यालय र मन्त्रालय धाउने शिक्षक सङ्गठनका नेताहरूको कमी छैन।
नेपाली समाजमा विद्यमान जात प्रथा र जातीय उँचनीच शैक्षिक विकासको अर्को तगारो भएको रीड दम्पतीको ठहर छ। यो दम्पती काठमाडौं उपत्यका बाहिर भ्रमणमा जाँदा विद्यालय व्यवस्थापनमा अहोरात्र खटिएका एक शिक्षासेवीसँग भएको संवादले समाजमा गाडिएको जात व्यवस्थाका कारण शिक्षा क्षेत्रले भोग्नुपरेको क्षति बुझ्न सकिन्छ। आफ्नो पहलमा स्थापित विद्यालयमा गाउँका सबै विद्यार्थी पढ्ने गरेको भनी गर्व गरेका शिक्षासेवीलाई विद्यालय नगएका गाउँकै दलित बालबालिकाबारे सोध्दा उनीहरूलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने चेत नै नभएको अभिव्यक्तिप्रति होरेसले आश्चर्य व्यक्त गरेका छन्।
त्यस्तै, राजनीतिक प्रतिस्पर्धा र पुरानो जमीनदारीको आधारमा थोरै विद्यार्थीका लागि पनि अलग अलग विद्यालय स्थापना गर्ने अस्वस्थ होडबाजीले शिक्षा क्षेत्रमा अपव्यय र विकृति फैलिएको उनीहरूको अध्ययनको निचोड छ।
विद्यालयमा शारीरिक व्यायामको कक्षा चलाउने निर्णय अनुसार तालीम लिन बोलाइएका शिक्षकहरूले खुला चौरमा व्यायाम गर्न अप्ठ्यारो मानेपछि कोठाभित्रै तालीम दिनुपरेको घटना जात व्यवस्थाको अर्को अभिव्यक्ति थियो। खुला चौरमा कथित उच्च जातका शिक्षकहरूलाई लेफ्टराइट गराउँदा उनीहरूले आफ्नो कद होचो भएको अनुभव गरे। शिक्षकको दिमागमा व्याप्त यस्तो साँघुरो सोचाइबाट नेपाली जनताको भावना र सपना अनुसारको आधुनिकताको उचाइ हासिल गर्नु कल्पनातीत थियो।
होरेस दम्पतीले देशभरका विद्यालयहरूको अध्ययन गर्ने क्रममा पहिल्याएको शिक्षा क्षेत्रको अर्को चुनौती विभिन्न बहानामा विद्यालय बन्द गरिनु हो। विद्यालय सञ्चालन हुनुपर्ने १७६ दिनको अभिलेखमा ५० प्रतिशत दिन पनि पठनपाठन नभएको उदाहरण राखिएको छ। कुनै न कुनै बहानामा विद्यालय बन्द गर्ने प्रवृत्तिले विद्यार्थीको शैक्षिक स्तर उठ्न नसकेको उनीहरूको निष्कर्ष छ।
पुरानो राजनीतिक व्यवस्थाको अवनतिसँगै उदाएको नवीन राजनीतिक प्रणालीले जनतामा धेरै सपना जन्माउँछ। होरेसले जनताका त्यस्ता सपनालाई ‘राष्ट्रिय भावना’ को नामकरण गरेका छन्। त्यो राष्ट्रिय भावना साकार बनाउन देशमा सक्षम, शिक्षित जनशक्ति तयार गर्नु नै पहिलो कदम हो। तर, गरीब देशसँग त्यसका निम्ति आर्थिक चुनौती त हुन्छन् नै, पुरातन समाजबाट नयाँमा फड्को मार्न धेरै कठिनाइ हुन्छ। रीड दम्पतीको पुस्तक त्यस्तै कठिनाइको अध्ययन हो।
नेपाली शिक्षा क्षेत्रले तोते बोली पनि बोल्न नजानेको वेला सन् १९६० को दशकमा होरेस जस्ता अध्येताहरूले हाम्रो समाजको अध्ययन गरी अभिलेखीकरण गर्नु नेपाली समाज निर्माणमा अतुलनीय योगदान हो। इतिहासमा सिल्भाँ लेभी, भूगोलमा टोनी हागनले जस्तो योगदान गरेका छन्, रीड दम्पतीले नेपाल इन ट्रान्जिसन पुस्तक मार्फत शिक्षा क्षेत्रको अध्ययनमा उस्तै योगदान पुर्याएका छन्।
तर, नेपालको शिक्षा क्षेत्रको अध्ययनका निम्ति उपयोगी सन्दर्भ सामग्री हुन सक्ने यो पुस्तकबारे बौद्धिक वृत्तले त्यति ध्यान दिएको छैन। अध्येता दम्पतीको खोजखबर र चर्चामा पनि नेपाली समाजले चासो राखेको देखिँदैन। पुस्तकालयका आलमारीमा चूपचाप बसेको यो पुस्तकभित्रका सान्दर्भिक पाटो र निष्कर्षबाट नेपाली शिक्षा र समाजको छिद्र टाल्ने सम्भावना भने प्रशस्त छ।
पुस्तक : नेपाल इन ट्रान्जिसन
लेखक: होरेस बी. रीड र मेरी जेन रीड
प्रकाशक : युनिभर्सिटी अफ पिट्सबर्ग प्रेस (१९६८)
पृष्ठ : २१५