जेठ २०७९ | 15/05/2022

मनुस्मृति–मन्थन

Share:
  
- डा. महेशराज पन्त
मनुस्मृति सही वा गलत भनेर निर्क्योलमा पुग्नुपूर्व यसको रचनापद्धति र विभिन्न कालखण्डको अध्ययन आवश्यक देखिन्छ।

नयाँ हावा लागेकाहरूलाई हिन्दू धर्म भन्ने बित्तिकै मनुस्मृतिको सम्झना एकाएक भइहाल्छ। हिन्दू धर्मका कुरीति देखाउनुपर्दा उनीहरू मनुस्मृतिमा लिपिबद्ध कठोर जातिव्यवस्थातर्फ औंल्याइहाल्छन्। यसैले अहिले हिन्दू धर्म र मनुस्मृति एक प्रकारले पर्याय बन्न गएका छन्।

अहिले जसलाई हामीले ‘ऐनकानून’ भन्ने गरेका छौं, प्राचीन कालमा त्यसरी लिपिबद्ध संहितालाई ‘स्मृति’ भनिन्थ्यो। गुरुमुखबाट सुनेर त्यसै अनुसार वारंवार दोहर्‍याई वेदका मन्त्र कण्ठस्थ पारिने हुनाले वेदको पर्यायमा ‘श्रुति’ अर्थात् ‘सुनेर पाएको ज्ञान’ र नियमकानूनको कुरा लेखिएको शास्त्रलाई ‘स्मृति’ अर्थात् ‘सम्झना’ भन्ने गरिन्थ्यो। ‘श्रुति’ सँग विरोध नपर्ने गरेर ‘स्मृति’ को रचना हुन्थ्यो।

छोरा पाउनका लागि कामधेनुकी छोरी नन्दिनीको सेवा गर्न गएकी, राजा दिलीपकी धर्मपत्नी सुदक्षिणा ‘श्रुतिको अर्थलाई स्मृतिले अनुगमन गरे जस्तै गरी हिंडिन्’ (श्रुतेरिवार्थं स्मृतिरन्वगच्छत्) भनी रघुवंश (२/२) मा लेखिनुको अर्थ पनि यही हो।

प्राचीनकालमा कण्ठस्थ गर्न सजिलो होओस् भनी शास्त्रलाई अत्यन्त छोटकरीमा संहिताबद्ध गरिन्थ्यो। छोटा छोटा, अक्सर क्रियापद नहाली लेखिएका त्यस्ता वाक्यलाई ‘सूत्र’ भन्ने चलन छ। सूत्रको परिभाषा यसरी गरिएको छ-

अल्पाक्षरमसन्दिग्धं सारवद् विश्वतोमुखम्।
अस्तोभमनवद्यं च सूत्रं सूत्रविदो विदुः।।

अर्थात् ‘सूत्र भनेको थोरै अक्षर भएको, शङ्का उत्पन्न नहुने, सार भएको, सबैतिर खुला, कुनै बाहिरिया शब्द नघुसाइएको, निर्दोष हुन्छ भनी सूत्रविषयका जानकारहरू भन्छन्।’

अरू स्मृतिको तुलनामा मनुस्मृतिको ज्यादा
प्रभाव भएकाले होला, पश्चिमी आँखाले
भारतीय लौकिक व्यवस्थाको परख गर्दै
जाँदा वर्णव्यवस्थाका विरोधीहरूले
यसलाई तारो बनाउँदै गए।

व्याकरण आदि शास्त्रमा जस्तै ऐनकानून अर्थात् धर्मशास्त्रका नियमकानून सूत्रबद्ध गर्ने चलन चल्यो र धर्मसूत्रहरू रचिए। तर, व्याकरणका सूत्र जस्तो कसिएको शैलीमा धर्मसूत्र रचिएका हुँदैनन्। कालान्तरमा सूत्रशैली छोडी धर्मशास्त्रका नियमलाई श्लोकबद्ध गर्न थालियो र श्लोकबद्ध मनुस्मृति आदिको रचना भयो।

लिच्छवि राजा मानदेव (निश्चित राज्यकाल विसं ५२१-५६३) को पालाको, काठमाडौं केलटोलको शिलालेखमा ‘श्रुति र धर्मशास्त्रमा विधान गरेबमोजिम धर्मकर्म गर्ने उहाँले’ (तेनेदं श्रुतिधर्म्मशास्त्रविहितां धर्मक्रियाङ्कुर्व्वता) (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अध्ययन संस्थान, २०३०, १७ संख्या) भनी मानदेवको विषयमा लेखिएकाले श्रुति र स्मृतिको समन्वयमा राज्य गर्ने आदर्शको प्रख्यापन त्यस वेला रहेको स्पष्ट छ। धर्मशास्त्रको यसरी गाथा गाइए पनि कुन चाहिं धर्मशास्त्रीय ग्रन्थका आधारमा शासन गरिन्थ्यो भन्ने खुलाइएको पाइँदैन।

यसो भए पनि हाँडीगाउँको, ढुङ्गे खामोमा कुँदिएको, अनुपरमको अभिलेखमा मनु, यम, बृहस्पति र उशना अर्थात् शुक्रको विधान अर्थात् धर्मशास्त्रको चर्चा आएको छ (उही, ३५ संख्या)। त्यस अभिलेखमा सबभन्दा पहिले मनुको नाउँ आएकाले कालिदासका रघुवंश, कुमारसम्भवमेघदूत, भारविको किरातार्जुनीय, माघको शिशुपालवध र श्रीहर्षको नैषधीयचरितका यशस्वी टीकाकार मल्लिनाथले रघुवंशको माथि चर्चा गरिएको श्लोकको टीका गर्दा ‘स्मृतिर्मन्वादिवाक्यम्’ अर्थात् ‘स्मृति भनेको मनु आदिको वाक्य’ भनी लेखेको सम्झना हुन्छ। थुप्रै स्मृति भए पनि मनुस्मृतिको ठाउँ अग्रगण्य रहेछ भन्ने यताबाट बुझ्नुपर्छ।

स्मृतिको अर्को ग्रन्थ बृहस्पतिस्मृति (१३) मा उल्लेख छ-

वेदार्थप्रतिबद्धत्वात् प्रामाण्यं हि मनोः स्मृतम्।
मन्वर्थविपरीता तु या स्मृतिः सा न शस्यते।।

अर्थात् ‘वेदको अर्थसँग बाँधिएको हुनाले मनुको प्रामाण्य मानिएको छ। मनुको भनाइको विपरीत गएको स्मृति प्रामाणिक हुँदैन।’

यसै गरी, याज्ञवल्क्यस्मृति (१/४-५) मा धर्मशास्त्रका प्रवर्तक २० जनाको नाउँ लिंदा सबभन्दा अगाडि मनुलाई राखिएको कुरा स्मरणीय छ। कुरा श्री ३ जङ्गबहादुर (विसं १८७४-१९३३, शासनकाल विसं १९०३-१९१३, १९१४-१९३३) को पालाको हो। जङ्गबहादुरको प्रशंसात्मक चरित अर्थात् कौटलीय अर्थशास्त्र(१/५/१४)को भाषामा उदाहरणरूपको कीर्तिमाला भन्ने पुस्तकमा उनको पालामा लागू गरिएको मुलुकी ऐनको विषयमा लेख्दा ‘स्वायंभुव मनु आदि गरियाका ऋषिहरूले बनायाका धर्मशास्त्रका ग्रंथ’ (महेशराज पन्त, ‘कीर्तिमाला र त्यसभित्र जङ्गबहादुर’ पूर्णिमा १४४ पूर्णाङ्क, २०७४, २६३-२६४ पृ.) भनी लेखिएको छ। यसबाट कीर्तिमालाका कर्ताले त्यस ऐनको मूल आधार मनुस्मृति ठानेको देखिन्छ।

अरू स्मृतिमा भन्दा मनुस्मृतिमा टीका पनि बढी छन्। १५ वटा जति टीकाको चर्चा पाइए पनि हाल उपलब्ध नौ वटा मात्र छन्। तीमध्ये पाइएसम्मकै सबभन्दा पुरानो भारुचिले रचेको मनुशास्त्रविवरण हो, सबभन्दा प्रसिद्ध चाहिं कुल्लूकले रचेको मन्वर्थमुक्तावली

विसं १८७० मा पहिलो पल्ट छापिएको मनुस्मृतिका धेरैजसो संस्करण कुल्लूकको टीका सहितका छन्। कुल्लूकले रचेको यो टीका विशद भएकाले विद्वद्ग्राह्य रहिआएको छ। मन्वर्थमुक्तावलीको उठानमै कुल्लूकले रचेको एउटा पद्यमा उनले आफ्नो बहुश्रुतता यसरी झल्काएका छन्-

मीमांसे बहु सेवितासि सुहृद-
स्तर्काः समस्ताः स्थ मे
वेदान्ताः परमात्मबोधगुरवो
यूयं मयोपासिताः।
जाता व्याकरणानि बालसखिता
युष्माभिरभ्यर्थये
प्राप्तोऽयं समयो मनूक्तविवृतौ
साहाय्यमालम्ब्यताम्।।
(मङ्गलाचरण ३ पद्य)

अर्थात् ‘हे मीमांसा, मैले तिम्रो धेरै सेवा गरेको छु। सबै प्रकारका हे तर्क, तिमीहरू मेरा साथी ह्वौ। परमात्माको ज्ञान दिन गुरु भएका, किसिम किसिमका हे वेदान्त, तिमीहरूको मैले उपासना गरेको छु। थरी थरीका व्याकरण त केटाकेटी उमेरका साथी नै भए। मनुस्मृतिको टीका गर्ने यस समयमा तिमीहरूले सहायता गर्नुपर्‍यो भनी प्रार्थना गर्छु।’

मीमांसादर्शन मात्र होइन, थरी थरीका अरू दर्शन, नाना प्रकारका वेदान्त, फरक फरक पद्धतिका व्याकरण आफूले पढेको कुरा कुल्लूकले यस पद्यमा रसिलो ढङ्गले लेखेका छन्। टीका लेख्नु चानचुने कुरा होइन, त्यसका लागि थरी थरीका शास्त्रको पक्का ज्ञान त चाहिन्छ नै, एउटै शास्त्रका अनेकन् पद्धतिको ज्ञानको आवश्यकता पनि यस पद्यमा झल्काइएको छ।

मनुस्मृतिको प्रभाव व्यापक भएकाले नै राणाकालमै त्यसको नेपाली भाषामा उल्था भएको थियो (चक्रपाणि चालिसेद्वारा अनूदित, काठमाडौंः नेपाली भाषा प्रकाशिनी समिति, २००३)। अङ्ग्रेजीमा उल्था हुने पहिलो स्मृति पनि यही हो। नेपालीमा मनुस्मृतिको उल्था हुनुभन्दा डेढ सय वर्ष अगाडि नै अङ्ग्रेजी उल्था छापिएको थियो (विलियम जोन्स, इन्स्टिट्युट्स् अफ् हिन्डू लः, अर्, द अर्डिनन्स्इज् अफ् मनु, अकर्ड्इङ् टु द ग्लस् अफ् कुल्लूक..., कलकत्ता, सन् १७९६)।

हाम्रो प्राचीन परम्पराका जे जति ग्रन्थ बाँकी
छन्, तिनको ठूलो भाग पठनपाठनमा
प्रयोग हुने भएकैले लुप्त हुनबाट जोगिएको
हो। जोगिए पनि, पाठ्यपुस्तकमा गुरुको
अनुभव अनुसार थपघट गरिने हुनाले सयौं
वर्षदेखि खारिंदै गएको पुस्तकको मूल रूप
केही अंशमा हराइसकेको हुन्छ।
अरू स्मृतिको तुलनामा मनुस्मृतिको ज्यादा प्रभाव भएकाले होला, पश्चिमी आँखाले भारतीय लौकिक व्यवस्थाको परख गर्दै जाँदा वर्णव्यवस्थाका विरोधीहरूले यसलाई तारो बनाउँदै गए। मनुस्मृतिको विरोधमा अग्रगण्य भएर चाहिं भीमराव रामजी आम्बेडकर (विसं १९४८-२०१३) निस्के।

यसै क्रममा विसं १९८४ पूस १० गतेका दिन मनुस्मृतिको पुस्तक जलाउने काम सुद्धा उनले गरे। महात्मा गान्धी भनी कहलिएका मोहनदास करमचन्द गान्धीले आफू (विसं १९२६-२००४) वर्णव्यवस्थाको विरोधी हुँदाहुँदै पनि मनुस्मृतिमा लेखिएका सत्य र अहिंसासँग मिल्ने कुरा कायम राख्नैपर्छ, अरू चाहिं अस्वीकार गर्नुपर्छ भन्ने दलील गरी आम्बेडकरले पुस्तक जलाएकोमा घोर विरोध गरे।

मनुस्मृतिका जति थरी संस्करण प्रकाशित छन्, कमोबेश तिनीहरू उस्तै उस्तै छन्। धेरैजसो संस्करण कुल्लूकले मानेको पाठ अनुसारको छ भन्दा फरक पर्दैन। मनुस्मृतिको पाइएसम्ममा सबभन्दा पुरानो अर्थात् भारुचिको टीकामा कुल्लूककोमा भन्दा निकै कम श्लोक भएकाले कालान्तरमा मूल ग्रन्थको परिमार्जन गर्ने क्रममा निकै श्लोक प्रक्षिप्त भएको भन्न नसकिने होइन।

मनुस्मृतिमा ठाउँ ठाउँमा व्याघातोक्ति भएकाले यो एउटै मानिसको रचना नभई लामो कालमा यस ग्रन्थमा धेरैले हात हालेको देखिन्छ। ‘५३ वटा लेखोट पुस्तक र १२ वटा अरू ग्रन्थमा आएका उद्धरण एक एक गरी भिडाउने काम, अरू ३८ वटा लेखोट पुस्तकको परीक्षा र ९ वटै टीका राम्रोसँग पढेका आधारमा मानवधर्मशास्त्र (मनुस्मृति) को पाठालोचनात्मक यो संस्करण तयार गरिएको’ (प्याट्रिक ओलिभेल, मनु’ज् कोड् अफ् ल: अ क्रिट्इक्ल् एडिशन् यान्ड् ट्रान्स्लेशन् अफ् द मानवधर्मशास्त्र, अक्स्फोर्डः अक्स्फोर्ड यूनिभर्सिटि प्रेस, सन् २००५, इन्ट्रडक्शन् ३५४ पृ.) भनी दाबी गरिएको, विसं २०६५ मा प्रकाशित प्याट्रिक ओलिभेल (विसं १९९९ मा जन्म) को पाठालोचनात्मक संस्करणमा शब्द शब्दमा पाठान्तर प्रशस्त भए पनि मूलतः त्यसको स्वरूप अरू संस्करणको भन्दा त्यति फरक छैन। यसैले, पाइएसम्मका लेखोट पुस्तक, टीका, अरू ग्रन्थमा रहेका उद्धरणको परिशीलन गरेर पनि हामी मूल मनुस्मृति पूरापूर हात लाउन सक्दैनौं जस्तो मलाई लाग्छ।

दयानन्द सरस्वती (विसं १८८१-१९४०) ले प्रचलित सनातन धर्मको ठाउँमा आर्यसमाज खडा गरी पुरानो वैदिक धर्ममा फर्कन खोजेको त सबैलाई थाहै छ। लामो समयदेखि समाजमा प्रतिष्ठित मनुस्मृतिमा कालान्तरमा आआफ्नो परम्परा अनुसार थपघट गर्ने चलन चल्दा मनुस्मृतिको वास्तव स्वरूपको पहिचान हुन गाह्रो परेको अनुभव गरेर आर्यसमाजीहरूले आफ्नै ढङ्गको पुस्तक तयार गरेका (हरिदेव आर्य, वैदिक मनुस्मृति, दिल्ली, मधुर प्रकाशन, सन् २०१०) भए पनि त्यो त्यति प्रसिद्ध छैन।

चलनचल्तीको मनुस्मृतिमा १२ अध्याय र झण्डै २७ सय श्लोक भएकोमा आर्यसमाजी मनुस्मृति त्यति नै अध्यायमा बाँडिंदा बाँडिंदै पनि श्लोक १२ सय चानचुन मात्र छन्। त्यही स्वरूपलाई मूल मनुस्मृति मानी ‘यस वैदिक मनुस्मृतिमा प्रायः ती सबै श्लोक हटाइएको छ, जो प्रक्षिप्त थिए’ (उही, भूमिकाबाट उल्था) भनी लेखिएको छ। प्रक्षिप्त मानी मनुस्मृतिका श्लोकको यो ‘विरेचन’ प्रमाणकोटिमा चढाउने काम चाहिं बाँकी नै छ जस्तो मलाई लाग्छ।

हाम्रो प्राचीन परम्पराका जे जति ग्रन्थ बाँकी छन्, तिनको ठूलो भाग पठनपाठनमा प्रयोग हुने भएकैले लुप्त हुनबाट जोगिएको हो। जोगिए पनि, पाठ्यपुस्तकमा गुरुको अनुभव अनुसार थपघट गरिने हुनाले सयौं वर्षदेखि खारिँदै गएको पुस्तकको मूल रूप केही अंशमा हराइसकेको हुन्छ। यसैले पठनपाठनमा प्रतिष्ठित मनुस्मृतिको नियति पनि त्यस्तै नै हो। ‘सन् १८८७ मा लन्डनबाट प्रकाशित, मैले सम्पादन गरेको मनुस्मृतिमा फरक फरक टीकाका पाठान्तर मैले पूरापूर जनाएको छु, तर ती पाठान्तर तुलनात्मक रूपले हेर्दा गौण छन्।

यसैले मनुस्मृतिको स्वरूप आज जस्तो छ, हजार वर्षअगाडि पनि मूलतः त्यस्तै थियो भन्नेमा शङ्का छैन’ (यूलिअस योल्लिको रेख्त् उन्द् जितेको वटकृष्ण घोषद्वारा अनूदित हिन्डू ल यान्ड् कस्टम्, वाराणसीः भारतीय पब्लिशिङ हाउस, पुनर्मुद्रण, सन् १९७५, २९-३० पृ.बाट उल्था) भनी अहिलेभन्दा सवा सय वर्षअगाडि यूलिअस योल्लि (विसं १९०५-१९८९) ले लेखेको कुराको सम्झना पनि यस प्रसङ्गमा हुन्छ। यस कारण महाभारतको पाठालोचनात्मक संस्करण (क्रिट्इक्ल् एडिशन्) ले पूनासंस्करण (पूना एडिशन्) भन्ने अनौपचारिक नाउँ पाए जस्तै, मनुस्मृतिको पाठालोचनात्मक संस्करणलाई पनि अक्स्फोर्ड संस्करण भन्न नसकिने होइन।

मनुस्मृतिमा संहिताबद्ध लोकव्यवस्था मूलतः प्राचीन कालदेखि चलेर आएको हो। शूद्र र स्त्रीको ‘दमन’ मनुस्मृतिमा मात्र पाइने होइन। धर्मसूत्र वा स्मृति पल्टाउँदा अन्त पनि त्यस्ता वाक्य पाइन्छन्। उदाहरणका लागि, स्त्रीधर्मकै कुरा गरौं। मनुस्मृति (९/२-३)मा लेखिएको छ-

अस्वतन्त्राः स्त्रियः कार्याः पुरुषैः स्वैर्दिवानिशम्।
विषये सज्जमानाश्च संस्थाप्या ह्यात्मनो वशे।।
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति।।

अर्थात्, ‘आफ्ना पुरुषहरूले स्त्रीहरूलाई रातोदिन (कहिले पनि) स्वतन्त्र राख्नु हुँदैन। किनभने, तिनीहरू विषयभोगमा लाग्ने हुनाले आफ्नो वशमा राख्नुपर्छ।

कुमारी अवस्थामा बाबुले रक्षा गर्छ, जवानीमा लोग्नेले रक्षा गर्छ, बुढेसकालमा छोराहरूले रक्षा गर्छन्। स्वास्नीमान्छे स्वातन्त्र्यको लागि योग्य छैनन्।’

त्यस्तै वसिष्ठधर्मसूत्र (५/१) मा लेखिएको छ-

अस्वतन्त्रा स्त्री पुरुषप्रधाना।।१।।

अर्थात् ‘स्वास्नीमान्छे स्वतन्त्र हुन्न। उसभन्दा माथि लोग्नेमान्छे हुन्छ।’

त्यसै गरी विष्णुस्मृति (२५/१२-१३) मा लेखिएको छ-

सर्वकर्मस्वस्वतन्त्रता।
बाल्ययौवनवार्धकेषु पितृभर्तृपुत्राधीनता।

अर्थात् ‘सबै प्रकारका काममा स्वास्नीमान्छे अस्वतन्त्र हुन्छन्। बालककालमा, बैंसमा र बुढेसकालमा क्रमशः बाबु, लोग्ने र छोराको अधीनमा बस्नुपर्छ।’

यस अनुसार माथि वसिष्ठधर्मसूत्रविष्णुस्मृतिबाट उद्धृत वाक्यकै शब्दान्तर मनुस्मृतिमा आएको भनिरहन नपर्ला।

परसंस्कृतिग्रहण गर्दै जाने क्रममा मनुस्मृतिको मात्र विरोध गर्नुको कुनै तुक छैन, मनुस्मृति त संहिताबद्ध प्राचीन लोकव्यवस्थाको एउटा कडी मात्र हो भन्ने यतासम्मका कुराबाट स्पष्ट हुनुपर्छ।

(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य हुन्।)

comments powered by Disqus

रमझम