जेठ २०७९ | 15/05/2022

अतिरञ्जित

Share:
  
- नयनराज पाण्डे

इँजार

पश्चिमी न्यून चापीय हावाका कारण मुलुकको मौसममा फेरबदल भइरहेको समाचार आइरहकै वेला मेरो मनले भने एउटा गजबको कुरा थाहा पायो । त्यो के भने, अचेल जिल्लाबाट काठमाडौं आउने जहाजको उडान सङ्ख्या ह्वात्तै बढेको रहेछ ।

“मुलुकको वातावरणमा यो के चलखेल भइरहेछ ?” मनले एक मित्रसित प्रश्न गर्‍यो ।

मित्रले भने, “दोस्त, न्यून चापीय वायुसँगै अचेल गठबन्धनको बहार पनि चलिरहेको छ । मौसममा चुनावी गन्ध बढी नै फैलिएको छ । यो क्रम चुनाव परिणामपछिको केही दिनसम्मै कायम रहनेछ ।”

तर, गठबन्धनको बहार सबैलाई कहाँ प्रिय थियो र ! हरेक पार्टीका इमानदार भनिने कार्यकर्ता बाघ भएर गर्जिन्थे, “गठबन्धन भनेको स्वतन्त्र मतदान गर्ने मतदाताको अधिकारमाथिको मजाक हो र यो पार्टी सभापति या अध्यक्षहरूको आफू पावरमा रहिरहने प्रपञ्च हो । यसको सशक्त प्रतिकार गर्नुपर्छ । विमान चढेरै भए पनि काठमाडौं गएरै हामीले विरोधको स्वर दर्ज गर्नुपर्छ ।”

अनि तु विमान चढेर काठमाडौंमा ओर्लिन्थे ।

पार्टीका असन्तुष्ट नेता र कार्यकर्तालाई शीर्षस्थ नेताहरूले आफ्नो निजी निवासमा बोलाउँथे । ती नेताहरूसित खै कस्तो बुटी थियो कुन्नि, ‘गठबन्धन मूर्दावाद’ भन्ने बाघ कार्यकर्ताहरू मुसामा परिणत भएर ‘जिन्दावाद’ को मुद्रामा हात उचाल्थे । अनि त्रिभुवन विमानस्थलको प्रस्थानकक्षबाट मुसाझैं पसेर फुत्त आफ्नै गृहजिल्ला ओर्लिन्थे ।

भोलिपल्ट चोकको चियापसलमा गफ लगाउँथे, “पार्टीको निर्णय मान्नैपर्छ । गठबन्धन विरोधीहरूलाई पार्टीले कारबाही गर्नुपर्छ ।”

उनीहरू घर पुग्दा नाबालक छोराछोरीले सोध्थे, “बा, मतदाताको अधिकार अब भाँडमा जाने भयो ?”

बाहरू जवाफ नदिई सुरुवाल फेर्न इँजार खोल्न थाल्थे, जो पहिले नै फुस्किसकेको थियो ।

भोजन

उनीहरूले के खाएका थिए, त्यो थाहा छैन । तर, खाएपछि यी तीन थान राजनेता भनाउँदाको कुरो मिल्यो । उनीहरूले खाँदै गर्दा कुनै चाकर बुद्धिजीवीले खबर ल्याइपुर्‍यायो, “हजुर, मुलुक श्रीलंका बन्ने बजार हल्ला छ ।”

कुरो सुनेर एकछिनलाई तीनै नेतालाई खाना सर्केला जस्तै भयो । त्यसपछि भने उनीहरूको अनुहार चम्किलो भयो । राष्ट्र ब्याङ्कका गर्भनरले मुलुक श्रीलंका बन्न सक्ने कुरा थप व्याख्या गर्न खोजिरहेका थिए । तर, उनका कुरा सुन्ने ‘मूड’ मा उनीहरू थिएनन् । उनीहरूलाई लागिरहेको थियो– हाम्रो जस्तो भूपरिवेष्टित मुलुक श्रीलंका बन्नु त काइदाको कुरा हो ।

नेता ओ.ले भने, “यो त हाम्रा लागि ठूलो अवसर हो । प्रकृतिले दिन लागेको ठूलो वरदान हो । अब हामी श्रीलंका झैं चारैतिरबाट समुद्रले घेरिनेछौं । हामीलाई अब समुद्री मार्गबाट सामान आयात–निर्यात गर्न बहुतै सहज हुनेछ ।”

नेता प्र.ले पनि खाँदाखाँदै बोले, “अब मुलुकको कायापटल हुन्छ । देशीविदेशी शक्तिको चलखेल रोकिनेछ । सर्वहाराहरूले अब कार चढेर समुद्री किनारमा शयर गर्न पाउनेछन् ।”

यसै मेसोमा नेता शे.ले पनि भनिटोपले, “सबै नेपालीले अब सी फूड खान पाउनेछन् । सबै स्वस्थ र हट्टाकट्टा हुनेछन् । चुनावका वेला समुद्री अक्टोपसले भविष्यवाणी गर्नेछ ।”

अपरिपक्व आर्थिक नीति, वैदेशिक ऋण, जातीय दङ्गा, व्यापार घाटा, पर्यटक आगमनमा कमी, घट्दै गएको विदेशी मुद्राको सञ्चिति लगायत कारण श्रीलंकाको अर्थतन्त्र धराशायी हुँदै छ र नेपालमा पनि त्यस्तो स्थिति आउन सक्ने केही सङ्केत देखिएका कारण मुलुक श्रीलंका बन्न सक्ने कुरा बुझउन तमाम अर्थविद्हरू तीन नेताको निवास बाहिर भेटवार्ताका लागि पर्खिरहेका थिए । तर, नेताहरूलाई भने अर्कै चटारो थियो । उनीहरू देश श्रीलंका बन्यो भने समुद्रमा पानीजहाज चलाउन, पर्यटक घुम्ने समुद्री किनारको व्यवस्थापन गर्न, समुद्री माछाको व्यवसाय गर्न यती, ओम्नी र बतासका अधिकारीहरूसित वार्ता गर्न खोजिरहेका थिए ।

सिसा

कमरेड विप्लवको पार्टी लगभग टुटफुटको सँघारमा पुगेको थाहा पाएर एक जना दुःखी प्रेमी आत्माले आफैंलाई सम्झयो, “ए मेरो कमजोर दिल, अब आफूलाई धेरै नदुखा । तँभन्दा बढ्ता त कम्निष्टका पार्टी टुट्दार’छन् ।”

दुःखी आत्माले आफूलाई सम्झइरहेकै बखत कतिपय जनताका सपना टुट्दै थिए । त्यही वेला जमलको आकाशेपुलमाथि हिंडिरहेकी सपना नामकी युवतीको चप्पलको फित्ता पनि टुटेको थियो । सपना पनि दिक्क भएर भन्दै थिइन्, “हन, यो चप्पल हो कि कम्निष्ट पार्टी ? कति टुटेको ? कति चुँडिएको ?”

comments powered by Disqus

रमझम