१६-३१ भदौ २०६९ | 1-16 September 2012

आकर्षक बजार

Share:
  
- रमेश कुमार/मीना शर्मा
शृङ्गारमा रुचिसँगै सौन्दर्य सामग्रीको कारोबार बढेको र बलियो व्यवसायका रूपमा स्थापित भएको छ।
p52a
  तस्बिर: ऋषिराम कट्टेल

सुन्दर र आकर्षक बन्ने रहर कसलाई नहोला? केही वर्षअघिसम्म सोखका रूपमा लिइने श्रृंगार; शहरी र शहरोन्मुख समाज बन्दव्यापार र जागिरमा व्यस्त हुन थालेपछि, सभ्यताको मानक बनेको छ। केश, छाला, दाँत, आँखा, ओठ, नङलगायतका अङ्गको हेरविचार गर्नुलाई सरसफाइ, कोमलता र सौन्दर्य चेतनाको रूपमा हेर्न थालिएको छ।

सौन्दर्यलाई वैदिककालदेखि नै कुनै न कुनै रूपमा महत्व दिइँदै आएको छ। काव्य–पुराण र धर्मग्रन्थमा वर्णित नायक–नायिकालाई सौन्दर्यका आदर्शका रूपमा चित्रण गरिएको पाइन्छ। विश्वामित्रको ध्यान भङ्ग गर्ने मेनका, आफ्नै सौन्दर्यको बलमा दुनियाँ जित्ने क्लियोपेट्रा, लावण्यकी प्रतिमूर्ति सीता तथा स्निग्ध सुन्दरी शकुन्तलाका प्रसङ्गले सौन्दर्य शक्ति र सम्मोहन झ्ल्काउँछन्।

सौन्दर्य चेतनाकै कारण हिजोआज सौन्दर्य सामग्रीको व्यवसाय फस्टाएको छ। श्रृङ्गारमा नारीसँगै पुरुष पनि आकर्षित हुनथालेका छन्। आकर्षक बन्ने रहरमा जीम, एरोबिक, स्पा, मसाज सेन्टर, फिटनेस क्लब, ब्युटीपार्लर धाउनु शहर र शहरोन्मुख गाउँको दैनिकी भएको छ। श्रृङ्गारमा बढेको अभिरुचि पूरा गर्न बजारमा भित्रिएका छन्― नानाथरी सौन्दर्य सामग्री।

ग्राफमा उकालो
सौन्दर्य व्यवसायी राज्यश्री श्रेष्ठको बुझाइमा नेपालमा संसारभर पाइने सौन्दर्य सामग्रीका ब्रान्ड उपयोग गर्न थालिसकिएको छ। शहरका ठूला डिपार्टमेन्टल स्टोरदेखि गाउँका सामान्य किराना पसलसम्म सौन्दर्य सामग्रीले ठाउँ पाएका छन्। नेपाल सौन्दर्य व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ भन्छिन्, “सौन्दर्य प्रसाधनको बजार गाउँ र शहर दुवैतिर बढेको छ।” छालाको दाग हटाउने र चम्किलो बनाउने क्रिम होस् वा ओठ पोटिलो बनाउने लिपिस्टिक, आँखा ठूला र राम्रा देखाउने गाजलदेखि नेल पालिस, केश स्याम्पु र तेल प्रयोग नगर्ने घर शायदै भेटिएला।

इमामीका ब्रान्ड म्यानेजर नीलम महतका अनुसार सौन्दर्य सामग्रीको वार्षिक बजार ३० प्रतिशतले बढिरहेको छ। व्यवसायीहरू नेपाली बजारमा वार्षिक करीब रु.१५ अर्बको सौन्दर्य सामग्री खपत हुने र त्यसको ६० प्रतिशत उपत्यकाभित्रै जाने गरेको बताउँछन्। लोलेन ब्रान्डका म्यानेजर प्रमोद सुरेखा पछिल्ला वर्षमा सौन्दर्य सामग्रीको बजार निकै बढेको अनुभव सुनाउँछन्। युनाइटेड डिष्ट्रिब्युटर्सका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक अग्रवाल भन्छन्, “सौन्दर्य सामग्रीको उपयोगसँगै बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्मको बजार बढेको छ।”

बजारसँगै रुचि अनुसारका ब्रान्ड प्रयोग गर्ने अवसर पनि फराकिलो भएको छ। लाक्मे, लोरिया, गार्नियर, ओले, डाबर, युनिलिभर, पीएन्डजी, जोन्सन एण्ड जोन्सन, इमामी, म्यारिको, केल्भिन केयर, लोट्स, आयुर, नोभा, म्याक लाभेरा, लोलेन जस्ता नाम चलेका बहुराष्ट्रिय ब्रान्डका अतिरिक्त मध्यम र सस्ता सौन्दर्य सामग्रीले पनि बजार छाएको छ। एक दशकअघि फेयर एण्ड लभ्ली ब्युटी क्रिम भित्र्याएको इमामीले पुरुषका लागि फेयर एण्ड ह्याण्डसम फेयरनेस क्रिम, मोस्चराइजर क्रिम, नवरत्नलगायतका हेयर आयल भित्र्याएको छ।

p52

सौन्दर्य सामग्री उत्पादनमा चर्चित डाबरका फेम, बाटिका, प्रोस्टाइल, जस्मिन, गुलाबरीलगायतका उत्पादन बजारमा छन्। नेपाली बजारमा उपलब्ध सौन्दर्य सामग्रीमा भारतीय र चिनियाँको दबदबा भए पनि युरोप, सिंगापुर, थाइल्याण्ड, कोरिया र जापानी उत्पादनले पनि ठाउँ पाएका छन्। अनौठो कुरा त नेपालमा प्रयोग हुने गाजल समेत चीनबाट भित्रिन्छ।

पछिल्लो समय सौन्दर्य व्यवसायमा मध्यम वर्गको आकर्षण पनि बढेको छ। सिभिल मलमा सौन्दर्य सामग्रीको आउटलेट सञ्चालन गरिरहेकी गीता ढकाल मध्यमवर्गले पनि सौन्दर्य सामग्रीमा खर्च गर्न थालेको अनुभव सुनाउँछिन्। युनाइटेड डिष्ट्रिब्युटर्सका विवेक अग्रवालका अनुसार उपभोक्ताहरू ब्रान्ड सचेत पनि भएकाले बजारमा ब्रान्डहरूको दबदबा छ। तैपनि, मध्यम र निम्नवर्गले सस्तो उत्पादन खोज्ने गरेका छन्।

रुचि फेरिंदै
केही वर्षअघिसम्म सौन्दर्य सामग्रीमा गरिने खर्चलाई अनावश्यक मानिन्थ्यो। तर, अहिले यो सोचाइमा परिवर्तन आउन थालेको छ। एक निजी कम्पनीकी अफिस सेक्रेटरी विन्दा अर्याल भन्छिन्, “व्यक्तित्व निर्माण र आत्मविश्वासका लागि चिटिक्क पर्नु अत्यावश्यक भइसकेको छ।”

बालाजुकी विन्दा अफिस जानुअघि फेसवासले मुख धोएर आँखामा गाजल, ओठमा हल्का लिपिस्टिक, नङमा पालिस, अनुहारमा क्रिम र शरीरमा स्प्रे छर्कने गर्छिन्। गाला राम्रो पार्ने ब्लस लगाउनु, अनावश्यक रौं फाल्न 'वाक्स' गर्नु, आइस्याडो प्रयोग गर्नु, मौसम अनुसारका क्रिम लगाउनु उनको बुझाइमा शरीरको हेरचाह हो। उनी बेलामौकामा ब्युटीपार्लर गएर फेसियल गराउने, 'थ्रेड' गर्ने, कपाल र 'आइब्रो' मिलाउने गर्छिन्।

सौन्दर्य व्यवसायी कमला श्रेष्ठको अनुभवमा उच्चवर्गका महिलाले सौन्दर्यमा मासिक रु.२० हजारसम्म खर्च गर्छन् भने मध्यम वर्गकाले रु.१ हजारसम्म। महिला मात्रै होइन, युवादेखि अधबैंसे पुरुषसम्मका लागि कपालमा रङ लगाउनु सामान्य भएको छ। सौन्दर्य व्यवसायी श्रेष्ठ पुरुषमा ठाँटिने रहरसँगै फेसियल, तेल मसाज, थ्रेड, हात र खुट्टाको नङ राम्रो बनाउने 'पेडिक्योर' र 'म्यानिक्योर' गर्ने तथा अनुहारका कोठी र दाग हटाउनेको सङ्ख्या बढेको बताउँछिन्।

p53

कपाल झ्रेकाहरूका लागि कृत्रिम कपाल राख्ने प्रविधि लोकप्रिय हुँदैछ। एक दशकअघि प्रोटिन हेयर डिजाइन नामक बहुराष्ट्रिय कम्पनीले नेपालमा भित्र्याएको यो प्रविधिबाट कपाल झ्रेकाहरूले कपाल राख्ने अवसर पाएको कम्पनीका महाप्रबन्धक सुन्दर सिंह बताउँछन्। फेसनमा युवा चासो फेरिंदै जाँदा रुचि अनुसारको कपाल बनाउन चाहनेले पनि यो प्रविधि प्रयोग गर्न थालेको उनको अनुभव छ।

सौन्दर्यमा रुचि बढ्दै जाँदा उच्च वर्गका महिला–पुरुषले अनुहार र अन्य अङ्ग सुन्दर बनाउन प्लाष्टिक सर्जरी समेत गर्न थालेका छन्। यो विषयमा अध्ययन गरेका डा. सुवास प्याकुरेल भन्छन्, “सौन्दर्यका दृष्टिले प्लाष्टिक सर्जरी गराउन विदेश जाने नेपालीको सङ्ख्या बढिरहेको छ।”

नक्कलीको बिगबिगी
सौन्दर्य सामग्रीको भीडमा नक्कलीको बिगबिगी पनि उत्तिकै छ। गुणस्तरहीन सौन्दर्य सामग्रीले छाला, कपाल र अन्य अङ्गको सुन्दरता नाश गर्छ। बजार अनुगमन र भन्सारमा कडाइ नहुँदा यस्ता सामग्री भित्रिएको व्यवसायीहरू बताउँछन्। बजार अनुगमन गर्नुपर्ने वाणिज्य विभाग भने जनशक्तिको अभावमा यो काम गर्न नसकेको बहाना बनाएर पन्छिने गरेको छ। यसरी कमसल र नक्कली कस्मेटिक सामग्री भित्रिंदा सरकारी राजस्वमा समेत नोक्सानी भइरहेको छ।

युनाइटेड डिष्ट्रिब्युटर्सका विवेक अग्रवाल नक्कली सामानले ब्रान्डको कारोबारमा नोक्सान पुगेको बताउँछन्। चीन र भारतबाट भित्रिने त्यस्ता उत्पादन नाम चलेका ब्रान्डको खोलमा राखेर फूटपाथ र खुद्रा पसलमा छ्यापछ्याप्ती भएको सौन्दर्य व्यवसायी कमला श्रेष्ठ बताउँछिन्। सस्तो खोज्ने बानीले पनि नक्कली र कम गुणस्तरका सामानको बिक्री बढिरहेको उनको भनाइ छ।

p55a

नक्कली मात्र होइन, सक्कली सामग्री पनि अति प्रयोग भए स्वास्थ्यमा असर पर्ने विभिन्न अध्ययनले देखाएका छन्। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहको अध्ययनले नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका लिपिस्टिकमा ३० पीपीएमदेखि १४५ पीपीएम सिसा (लिड) रहेको देखाएको छ। सिसाले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध गर्ने, स्मरणशक्ति ह्रास गराउने, मिर्गौला र गर्भको बच्चामा विभिन्न असर गर्नेलगायतका अनेकौं समस्या निम्त्याउने अध्ययनले देखाएको छ। त्यस्तै, छाला गोरो पार्ने क्रिममा रहेको मर्करीले स्नायु, पाचन, श्वास–प्रश्वास प्रणाली, रक्तसञ्चार, मिर्गौला र फोक्सोमा असर पार्ने पनि सो अध्ययनले देखाएको छ।

दन्त पर्यटनको संभावना
छाला, कपाल, आँखा, ओठ जस्ता अङ्ग मात्र होइन, पछिल्लो दशकदेखि दाँतको हेरचाह गर्ने, मुखको आकार अनुसार दाँत डिजाइन गर्ने र कस्मेटिक दाँत बनाउनेको सङ्ख्या बढेको छ। बोल्दा र हाँस्दा सफा र सेता देखिने दाँत सुन्दर मानिन्छन्।

चक्रपथ डेन्टल क्लिनिकका सञ्चालक दन्त विशेषज्ञ डा. विजया चन्द दाँतप्रति सचेत हुनु चेतनाको विस्तार मात्रै नभएर सभ्यता पनि भएको बताउँछिन्। उनको क्लिनिकमा दाँतको स्वास्थ्यसँगै कस्मेटिक उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ। उनी भन्छिन्, “मध्यम र निम्न वर्ग समेत दाँतको स्वास्थ्य र सौन्दर्यप्रति सचेत हुनु राम्रो हो।”

एयर होस्टेस, ब्याङ्कर, मोडेल, चलचित्र नायिकालगायतका कामकाजी युवतीदेखि गृहिणीहरू समेत दाँतको सौन्दर्यमा निखार थप्न उपचार गराउने गर्छन्। दाँतको उपचार विदेशमा महँगो हुने भएकाले ठूलो संख्यामा गैरआवासीय नेपालीहरू नेपाल आएर दाँत बनाउने गरेको दन्त विशेषज्ञ डा. सुशील कोइराला बताउँछन्। दाँत सम्बन्धी सेवाको ५० प्रतिशत बजार विदेशमा बस्ने नेपालीले ओगटेका छन्। ग्राहकको माग अनुसार सेवा दिन सक्ने र डिजिटल प्रविधिका ६ वटा निजी क्लिनिक छन् नेपालमा। डा. कोइराला नेपालमा विदेशीहरूलाई समेत आकर्षित गर्न सकिने दन्त पर्यटनको पर्याप्त सम्भावना देख्छन्।

देशभरका शहरबजारमा केन्द्रित ३५० वटा दाँतका निजी क्लिनिकमा वार्षिक रु.२० करोडभन्दा बढीको कारोबार हुने गरेको अनुमान छ। अमेरिका, युरोपतिरका देशमा रु.१ लाख ६० हजारसम्म पर्ने भेनिल नामक एउटा कस्मेटिक दाँतको नेपालमा रु.१० हजार पर्छ। दाँत बनाउनेको सूचीमा ३२–४५ वर्षको उमेर समूह अगाडि छ। दाँत सेतो बनाउन रु.१५०० देखि रु.१२ हजार खर्च हुन्छ भने दाँत सोझयाउन रु.२० हजारदेखि रु.७५ हजार, फिलिङ गर्न रु.१२०० देखि रु.५०००, नक्कली दाँत राख्न रु.५०० देखि रु.६८ हजार र गिजा सर्जिकल गर्न रु.४०० देखि रु.१२ हजारसम्म पर्दछ।

p55

एक दशकदेखि दाँत सम्बन्धी काम गरिरहेको समाज डेन्टल क्लिनिकका सञ्चालक डा. हीराबहादुर मल्ल शहरी समाज दाँतको सौन्दर्यमा निकै सचेत भएको बताउँछन्। व्यक्तिको सौन्दर्यमा दाँत महत्वपूर्ण अङ्ग भएकाले यसको हेरविचारमा रुचि बढेको उनको अनुभव छ।

ब्युटीपार्लरको व्यापार
सुन्दर र आकर्षक बन्न खोज्नेको गन्तव्य हो― ब्युटीपार्लर। सौन्दर्य व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठका अनुसार दैनिक रु.१००० देखि रु.२५ हजारसम्मको व्यापार गर्ने नेपालका करीब २५ हजार ब्युटीपार्लरले वर्षमा रु.२५ करोडभन्दा बढीको कारोबार गर्ने गरेको अनुमान छ।
पछिल्लो समय ब्युटीपार्लरको सेवामा विविधता थपिएको छ। महिला मात्र होइन, पुरुष पनि पार्लर धाउन थालेका छन्। यसैकारण उत्पादकले पुरुषका लागि छुट्टै क्रिम, कपालमा लगाउने तेल, जेल, सन क्रिम, बडी लोसन आदि सामग्री बजारमा ल्याएका छन्।

नेपालमा रु.३० हजारदेखि रु.२ करोड लगानी भएका ब्युटीपार्लर सञ्चालनमा छन्। पार्लरका आधारभूत सामग्री खरीदमा मात्रै करीब रु.२ लाख लगानी गर्नुपर्ने श्रेष्ठको भनाइ छ। पार्लर व्यवसायमा करीब रु.६ अर्ब लगानी भएको छ भने सात लाख जतिले रोजगारी पाएका छन्। स्वदेशमा मात्र होइन, तालिमप्राप्तहरूले अमेरिका, बेलायत, भारत, भुटान, दुबई, हङकङलगायतका मुलुक र शहरमा रोजगारी पाएको श्रेष्ठ बताउँछिन्।

थ्रेडिङ, कपाल रंगाउने, फेसियल जस्ता सेवा दिने पार्लरको सङ्ख्या पछिल्लो समय बढेको विनाज् हेयर एन्ड ब्युटीकल्चर इन्ष्टिच्युटकी सञ्चालक विना वैद्य बताउँछिन्। उनका अनुसार, स्थायी मेकअप, व्राइडल प्याकेज (दुलहीको श्रृंगारका लागि प्रदान गरिने सेवा) महँगो हुने गर्छ।

सँगसँगै स्वास्थ्य पनि
शहरी समाजमा तौल घटाउन मात्र होइन, शारीरिक तन्दुरुस्ती र सौन्दर्यका लागि पनि जीम क्लब, फिटनेस सेन्टर वा हेल्थ क्लब धाउने संस्कार शुरू भएको छ, जहाँ व्यवसायी, कलाकार, ब्याङ्कर, चिकित्सक, विदेशी नागरिकहरू नियमित जाने गर्छन्। युवा मात्र होइन प्रौढ पनि फिटनेस क्लब धाउँछन्।

p56a

यस्ता फिटनेस सेन्टरमा ज्वाइण्ट, लिगामेण्ट, इण्डोरेन्स, टेण्डोन, मांसपेशीको लचकता र गति फैलाउन गरिने स्ट्रेचिङ तथा वेट लिफ्िटङलगायतका व्यायाम उपलब्ध छन्। यस्ता सेवा टोलटोलका सामान्य जीम क्लबदेखि पाँचतारे होटलसम्म उपलब्ध छन्। देशभर करीब २५० हेल्थ क्लब सञ्चालनमा रहेको इशानी क्लबका प्रबन्ध निर्देशक मधु श्रेष्ठ बताउँछन्।

अत्याधुनिक क्लबमा जीमबाहेक योग, एरोबिक्स, स्पा, स्वीमिङ पुल, स्टीम बाथ, साउना, ज्याकुजी, ब्युटीपार्लर लगायतका सेवा छन्। सामान्यस्तरको फिटनेश क्लब सञ्चालनमा करीब रु.४० लाखको लगानी हुने भएकोले फिटनेस क्लबमा रु.१ अर्ब लगानी भएको अनुमान छ।
पछिल्ला वर्षमा सुन्दर र आकर्षक देखिनुका साथै प्राकृतिक उपचार पद्धतिका लागि स्पा अर्को विकल्प बनेको छ। हेल्थ क्लबहरूसँगै तारे होटलले पनि स्पालाई प्राथमिकतामा राखेका छन्। 

कस्ता कस्ता प्रसाधन?

बजारमा उपलब्ध सौन्दर्य सामग्रीका कारण ग्राहकमा के प्रयोग गर्ने भन्ने अन्योल छ। छालामा लगाउने क्रिम नै मौसम, छालाको प्रकार, उमेर र प्रयोगको उद्देश्य अनुसार भिन्न प्रकारका छन्। अनुहार चम्किलो र नरम बनाउने, ओठको सुरक्षा गर्ने, चाउरीपना हटाउने, हातखुट्टा मुलायम बनाउने क्रिम, छाला नरम बनाउने सामग्री, गालामा लगाउने ब्लस र ओठमा लगाउने लिपिस्टिककै पनि थुप्रै प्रकार छन्। केश चम्किलो र नरम बनाउन, चाया हटाउन थुप्रै ब्रान्डका छुट्टाछुट्टै स्याम्पु बजारमा छन्।

पुरुषले हेयर डाई, हेयर क्रिम, जेल, स्प्रे, फिक्सर प्रयोग गर्ने क्रम बढेको छ भने महिलाले गाजल, कपालमा लगाउने तेल, रौं हटाउने वाक्स, हेयर रिमुभर, आइस्याडो, फेसवास, सनस्त्रि्कन, लोसन आदि। कपालको डिजाइनमा पम्प लोसन, सेटिङ लोसन, आँखाका लागि मस्कारा, आइब्राउस पेन्सिल, आइस्याडो, आइलाइनर, ओठका लागि लिप लाइनर, लिपिस्टिक, छालाका लागि फाउन्डेसन क्रिम, मोइस्चराइजिङ क्रिम, पाउडर प्रयोग गरिने विनाज् हेयर एण्ड ब्युटीकल्चर इन्ष्टिच्युटकी सञ्चालक विना वैद्य बताउँछिन्। रेडिमेड सामग्रीले बजार पिटेका बेला वैद्य भने घरमै यस्ता सौन्दर्य सामग्री उत्पादन गरेर ग्राहकलाई सेवा दिएको बताउँछिन्।

सौन्दर्य सामग्रीमा रासायनिक मिसावट पाइन थालेपछि ग्राहकहरूको चासो आयुर्वेदिक उत्पादनमा बढेको छ। जडीबुटी, वनस्पति र अन्य पदार्थको मिश्रणबाट आयुर्वेदिक सौन्दर्य सामग्री उत्पादन गर्नेको सङ्ख्या बढ्दो छ। ६ महीनादेखि यस्ता सामग्री उत्पादन गर्न थालेको लावण्य लक्जरी आयुर्वेदकी म्यानेजर अदिती भट्टराई भन्छिन्, “हामीले अमेरिकाको एफडिएबाट मान्यता पाएका रसायनरहित सौन्दर्यका सामग्रीहरू बजारमा ल्याएका छौं।”

comments powered by Disqus

रमझम