१-१५ असार २०६९ | 15-29 June 2012

पलायो आशा

Share:
  
- प्रभात भट्टराई
ब्याङ्कहरूसँग पर्याप्त तरलतासँगै व्याजदर ओरालो लागेपछि साढे दुई वर्षदेखि सुस्ताएको रियल स्टेट क्षेत्रमा फेरि आशाको सञ्चार भएको छ

 

p46
सानेपामा बन्दै गरेको इम्पेरियल अपार्टमेन्टको डिजाइन।

पूरा भएका र निर्माणाधीन आयोजनाः ६१
जम्मा लगानीः रु.११८ अर्ब ६ करोड
छुट्टै घरः १२८७
अपार्टमेन्टः ५८८८
टाउन प्लानिङः ३५३
जग्गा प्लटिङः ५०५
छुट्टै घर प्रति वर्ग फिटः रु. २६००+
अपार्टमेन्ट प्रति वर्ग फिटः रु.३०००+

राजधानीको उत्तरपूर्व मूलपानी गाविसमा निर्माणाधीन ग्रीनहिल सिटी मुलुककै सबैभन्दा ठूलो सामूहिक आवास योजना हो। ३१२ रोपनी जग्गामा ८०० घर बनाउने लक्ष्य राखेको कम्पनीले पहिलो चरणमा २२९ घरको बुकिङ खुला गरेको तीन महीनामा ५० प्रतिशत भन्दा बढी बुकिङ भएका छन्। यसले साढे दुई वर्षदेखि थलिएको मुलुकको रियलस्टेट कारोबारमा सुधार आएको मात्र होइन व्यवस्थित आवासप्रति सर्वसाधारणको रुचि बढेको संकेत गर्दछ।

ब्याङ्कहरूमा आएको तरलता (लगानीयोग्य रकम) वृद्धिसँगै राष्ट्र ब्याङ्कले व्यक्तिगत आवास प्रयोजनका घरजग्गा खरीदलाई प्रोत्साहित गर्ने नीति लिएपछि यो क्षेत्रमा सुधारको संकेत देखिएको हो। पुस २०६६ मा राष्ट्र ब्याङ्कले घरजग्गा कारोबारमा ऋण लगानी गर्न ब्याङ्कहरूलाई सीमा तोकेपछि निर्माण रोकेका आवास कम्पनीहरूले अहिले कामलाई तीव्रता दिएका छन्। वेस्टार रेसिडेन्सीका प्रमुख कार्यकारी अधिकृत उमङ्ग राणा भन्छन्, “पहिले बुकिङ गरेर कुर्ने भन्दा बनिसकेका अपार्टमेन्टमा ग्राहकको चासो उच्च छ।”

नेपाल घरजग्गा व्यवसायी संघका अनुसार नेपालमा ६१ आवास परियोजना निर्माण भइसकेका वा निर्माणाधीन अवस्थामा छन्। सरकारबाट निर्माण अनुमति पाउने कुल कम्पनीको संख्या १२० वटा रहेको छ। ६१ परियोजनाका कुल ८०३२ आवास इकाइमा १२८७ डिट्याच (छुट्टै) घर, ३५३ टाउन प्लानिङ, ५ हजार ८८८ अपार्टमेन्ट र ५०५ वटा जग्गा प्लानिङ छन्। आवास निर्माण क्षेत्रमा रु.१ खर्ब १८ अर्ब ६ करोड लगानी भएको छ। कुल आवास इकाईहरूमध्ये २६ प्रतिशतको निर्माण सम्पन्न भएको छ भने कुल ३४ प्रतिशत अर्थात् २७३७ आवास इकाईहरू बिक्री भइसकेका छन्। संघका अनुसार व्यवसायीहरूले व्यक्तिगत घर प्रति वर्ग फिट रु.२६०० र अपार्टमेन्ट प्रति वर्ग फिट रु.३००० भन्दा माथिको दरमा बिक्री गरिरहेका छन्।

व्यवस्थित शहरीकरण

p48
व्यवस्थित आवासका लागि जग्गा मिलाउँदै। 

सरकारसँग उपत्यका विकासको ठोस योजना नहुँदा जसले जहाँ, जसरी मन लाग्यो त्यसरी नै घर बनाउँदा काठमाडौं शहर कुरुप भएको छ। यसले गर्दा विश्व सम्पदा सूचीका पुराना मन्दिर र दरबार क्षेत्रहरू समेत कुरुप भइसकेका छन्। सरकारले अब पनि चासो नदिने हो भने हाम्रो शहरीकरण दुनियाँकै सबभन्दा लथालिङ्गे हुने घरजग्गा व्यवसायी संघका तृतीय उपाध्यक्ष ओम राजभण्डारी बताउँछन्। उनी भन्छन्, “वार्षिक औसत ६ प्रतिशतले बढिरहेको उपत्यकाको जनसंख्यालाई व्यवस्थित आवासमा आकर्षित गर्न सक्दा बाँकी रहेको खेतीयोग्य जमिन पनि जोगिनेछ।”
विना योजना आफूखुशी बनाइएका घरहरूले निर्माण सम्बन्धी सामान्य मापदण्ड पनि पूरा गरेका हुँदैनन्। यसले गर्दा विदेशी नियोग र आईएनजीओले घर भाडामा लिन वा किन्न खोज्दा जहिल्यै समस्या हुने गरेको रियलस्टेट एजेन्ट द रियाल्टर्सका उपाध्यक्ष दिलीप न्यौपाने बताउँछन्। विदेशीहरू भूकम्प र अग्नि प्रतिरोधक अनि नजिकै अलिकति भए पनि खाली चौर भएको सुरक्षित घर खोज्छन्। “तर, त्यस्ता सुविधा त कुरै छाडौं शहरमा पार्किङसम्म नभएका ठूल्ठूला घरहरू बनेका छन्”, न्यौपाने भन्छन्।


थोरै जमिनमा पर्याप्त सडक, विद्युत्, खानेपानी लगायत सुविधासहित धेरै जनसंख्या अटाउनु व्यवस्थित आवास विकासको विशेषता हो। धेरै परिवार अटाउने अपार्टमेन्ट मात्र हैन, थोरै जमिनमा व्यवस्थित व्यक्तिगत घर पनि बनाउन सकिन्छ। जस्तो, कुल ५ हजार रोपनी क्षेत्रफल र १४५० घरधुरीको बसोबास रहेको मूलपानी गाविसभरिमा सडक सञ्जाल जम्मा १५० रोपनी बराबर छ। तर, गाविसको कुल क्षेत्रफलको ६.२४ प्रतिशत अर्थात् ३१२ रोपनी मात्र ओगटेको ग्रीनहिल सिटीमा १०० रोपनी बराबरको क्षेत्रमा सडक तथा अरू पर्याप्त खुला बगैंचा बनाएर पनि ८०० परिवार आनन्दले बस्न सक्छन्। घर जग्गा व्यवसायी संघका सचिव समेत रहेका ग्रीनहिल सिटीका प्रबन्ध निर्देशक भेषराज लोहनी सरकारले कहाँ–कहाँ आवास क्षेत्र विकास गर्ने हो त्यो निर्क्योलका साथ जमिन अधिग्रहण गरेर व्यवसायीहरूलाई विकासको जिम्मा दियो भने उपत्यकाको बसोबासलाई सुन्दर बनाउन र खाली जग्गा पनि बचाउन सकिने बताउँछन्। बाल्यकाल काठमाडौंमा बिताएका वेस्टार अपार्टमेन्टका प्रमुख कार्यकारी अधिकृत राणा भन्छन्, “खेतबारीका बीचमा उमि्ररहेका कंक्रिटका चारकोठे घरहरूले न बस्ने व्यक्तिलाई आनन्द दिन्छ न शहर नै राम्रो हुन्छ।”

संघको तथ्याङ्कलाई आधार मान्दा उपत्यकाका तीन वटै जिल्लामा जताततै देखिने घडेरी प्लटिङ ५०५ वटा मात्र छन् भनेर पत्याउन सकिन्न। यसले सबै प्लटिङ गराउने व्यक्तिहरू संघको दायरामा नआएको पुष्टि हुन्छ। आफूखुशी तवरले गरिएका यस्ता प्लटिङकै कारण घर जग्गाको मूल्यमा अस्थिरता र शहरको स्वरुपमा कुरुपपना थपिन्छ। गत वर्ष मात्र उपत्यकामा करीब ८ हजार घर व्यक्तिगत तवरले निर्माण भएका थिए। यिनीहरू कसैको पनि डिजाइन र स्वरुप एक–आपसमा मेल खाँदैन। त्यसरी आ–आफ्ना डिजाइन र मनलागी अग्लो घर बनाउनु नै शहरी सुन्दरताको पहिलो चुनौती हो।

सुविधा र समस्या

p54
दुई वर्षअघि भिठ्ठामोड पुगेका किराना व्यापारी ऋषिकुमार मुरारका।

प्रायः सबै हाउजिङ कम्पनीले बेसमेन्टमा पार्किङ बनाई भवनको वरिपरि बगैंचा, चौरलाई प्राथमिकता दिएका छन्। कतिपय कम्पनीले ध्यान केन्द्र, सिनेमा हल आदिको पनि व्यवस्था गरेका छन्। स्वीमिङ पुल र हेल्थक्लब त सामान्य जत्तिकै भइसकेको छ। अहिले हाउजिङमा ब्याङ्कको व्याजदरले पनि आकर्षण थपिरहेको छ। नेपाल राष्ट्र ब्याङ्कले आवास प्रयोजनले घर/जग्गा खरीदमा प्रवाह गरिएको एक करोडसम्म ऋणलाई रियलस्टेटमा नराख्ने व्यवस्था गरेको छ। सो नीतिगत सहजतासँगै व्यक्तिगत आवासमा कर्जा बढाउन ब्याङ्कहरूले स्किम नै ल्याउन थालेका हुन्। लक्ष्मी ब्याङ्कले अपार्टमेन्ट तथा घर किन्न चाहनेलाई १० प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम घोषणा गरिसकेको छ। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन जोशी भन्छन्, “व्यक्तिगत आवासका लागि दिइएको कर्जा सुरक्षित हुने भएकाले बजारमा चलेको भन्दा सस्तो व्याजमा कर्जा प्रवाह गरेका हौं।” अहिले तीन महीनाको स्किमको रूपमा ल्याएको यो कार्यक्रम अन्तर्गत असार दोस्रो सातासम्म सो दरको कर्जा प्रवाह कायम राख्ने उनले जानकारी दिए।

यस्ता सुविधाहरूले गर्दा कतिले ठाउँ हेरी भाडामै दिने उद्देश्यले समेत अपार्टमेन्ट खरीद गर्न थालेको इम्पेरियल अपार्टमेन्टका आर्किटेक्ट सिद्धार्थ गोपालन बताउँछन्। उनका अनुसार, सानेपास्थित इम्पेरियलको १५–२० प्रतिशत बुकिङ भाडामा दिने उद्देश्यले नै भएको छ।

तर, घरजग्गाको कारोबार उच्च विन्दुमा पुगेका बेला लहडले यो क्षेत्रमा आएका व्यक्तिहरूको अपार्टमेन्ट आयोजनाबाट कतिपय ग्राहक समस्यामा परेका छन्। जस्तो, आउँदो वर्ष ग्राहकलाई हस्तान्तरण गर्ने भनेर तीन वर्षअघि बुकिङ खुला गरेको भक्तपुर कौशलटारस्थित इस्टर्न अपार्टमेन्टले अहिलेसम्म जग पनि उठाउन सकेको छैन। त्यसमा प्रति ग्राहकले रु.३० लाख बुझाएका थिए।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नै उल्लेख गरेको विदेशीलाई अपार्टमेन्ट किन्न दिने कानूनी प्रावधान अझ्ै लागू गरेको छैन। व्यवसायीहरू ब्याङ्किङ क्षेत्रको लगानी पनि सहज भएका बेला त्यस्तो कानून आए १० महीनाभित्र निर्माणाधीन सबै आवास इकाइहरू बिक्री हुने आशामा छन्। विदेशी पूँजी आकर्षित गर्न लगानी बोर्ड समेत स्थापना भइसकेको अवस्थामा विभिन्न व्यवसायका लागि नेपाल आएका विदेशीहरूले अपार्टमेन्ट किन्ने क्लिन डेभलपर्सका सेल्स एन्ड मार्केटिङ प्रमुख अमूलचन्द्र प्रधान बताउँछन्। प्रधान भन्छन्, “केही विदेशी अपार्टमेन्ट लिन प्रतीक्षारत छन्, तर कानूनले रोकेको छ।”

'वातावरणमा जोड दिएका छौं'

कविता गौतम
मार्केटिङ म्यानेजर,
सिटीस्केप अपार्टमेन्ट होम्स

p52
पद्मा कोलोनी 

हामीले सन् २००९ मा बुकिङ खुला गर्दा रियलस्टेट कारोबार उच्च थियो। त्यसपछि यो क्षेत्र यति समस्याग्रस्त भयो कि बिक्रीमा ठूलै कठिनाई झेल्नुपर्‍यो। तथापि, चौधरी ग्रुपले प्रबर्द्धन गरेको हुनाले ग्राहकको भरोसालाई गुम्न दिएनौं। अहिले हामीले गोदावरी रोडको हात्तीवनसँग जोडिएको ४६ रोपनी ८ आना क्षेत्रफलमा अपार्टमेन्ट बनाएका छौं। शहरबाट नजिकै भएर पनि वातावरणीय दृष्टिले शान्त र सुन्दर छ यो ठाउँ।

हामी अहिले चार वटा टावरमा १९७ अपार्टमेन्ट निर्माणको अन्तिम चरणमा छौं। बुकिङ भइसकेको ८५ प्रतिशत आउँदो डिसेम्बरसम्म ग्राहकलाई हस्तान्तरण गरिनेछ। दशैंपछि दोस्रो चरणको बुकिङ खुला हुन्छ र त्यसमा पाँच वटा टावरमा २३० अपार्टमेन्ट बन्नेछन्। हामीले न्यूनतम दुई बेडरुम र स्टडीरुमदेखि चार बेडरुमसम्मका १०७७ वर्ग फिटदेखि ३५०० वर्ग फिटका अपार्टमेन्ट बनाएका छौं। मूल्य प्रति वर्ग फिट रु.५६०० छ। ४६ रोपनी क्षेत्रफलमा करीब ४३० परिवारले पर्याप्त हरियाली पाउनेछन्। हेल्थ क्लब, ब्याडमिन्टन–टेनिस कोर्ट, योग–ध्यान केन्द्र र बालबालिकालाई खेल्ने छुट्टै स्थान हुनेछन्।

'राजनीतिको असर निर्माण क्षेत्रमा'

गणेश अग्रवाल
प्रबन्ध निर्देशक
सोल्टी सिटी अपार्टमेन्ट

सोल्टीमोडमा निर्माणाधीन सोल्टी सिटीमा चार वटा टावरमा २३५ अपार्टमेन्ट बन्नेछन्। त्यसमध्ये १५५ वटा बुकिङ भइसकेका छन्। तर, राजनीतिक अस्थिरताका कारण ग्राहकको किस्ता रकम आउन ढिलाइ हुँदा काम चालु राख्न समस्या पनि परेको छ। राजनीतिक अस्थिरताका कारण व्यक्तिहरू पैसा भए पनि सम्पत्ति जोड्न डराइरहेका छन्। त्यसको असर निर्माण क्षेत्रमा परेको हो। हामीले १, २ र ३ बेडरुमका अपार्टमेन्टहरू प्रति वर्ग फिट रु.६ हजार ५०० देखि रु.७ हजारको दरमा बिक्री गरिरहेका छौं। त्यसमा न्यूनतम ३८० वर्ग फिटदेखि १ हजार १७० वर्ग फिटसम्म छन्। १९ रोपनी क्षेत्रफलमा निर्माणाधीन परियोजना अर्को वर्षको डिसेम्बरसम्ममा सक्ने लक्ष्य छ। हामीले हेल्थ क्लब लगायत एउटा अपार्टमेन्टले दिने सुविधाहरूमा कुनै कन्जुस्याईं गरेका छैनौं।

'अन्तर्राष्ट्रिय स्तरको डिजाइन हाम्रो विशेषता'

अमूलचन्द्र प्रधान
प्रमुख, सेल्स एण्ड मार्केटिङ,
क्लिन डेभलपर्स

p50a
दुई वर्षअघि भिठ्ठामोड पुगेका किराना व्यापारी ऋषिकुमार मुरारका।

हामीले निर्माण गरेको सानेपास्थित सेन्ट्रल पार्कको पहिलो चरणको काम प्रायः सकिएको छ। ४८ अपार्टमेन्ट भएको अर्किड टावरमा दुई–तीन महीनामा मानिसहरू बस्न थाल्नेछन्। दोस्रो चरणका तीन वटा टावरमा १४१ अपार्टमेन्ट छन्, जुन आगामी डिसेम्बरमा ग्राहकलाई हस्तान्तरण गर्नेछौं।

विशालनगरमा बनेका हाम्रा अपार्टमेन्ट अन्तर्राष्ट्रियस्तरकै छन्। क्यानेडियन आर्किटेक्टको डिजाइनमा बनेका टावरमा वातावरणमैत्री सोलार सिस्टमको प्रयोग गरिएको छ, खुला क्षेत्रमा त सबैतिर नै। एलईडी प्रणाली अपनाएकाले हामीकहाँको विद्युत् खपत समग्रमै ४० प्रतिशत कम हुन्छ। अपार्टमेन्टमा प्रयोग हुने पानी प्रदूषणरहित बनाएर मात्र खोलामा पठाइनेछ। सबै पार्किङ जमिनमुनि र ७६ प्रतिशत खुला क्षेत्र छ। बगैंचा डिजाइन गर्न न्यूयोर्कबाट विज्ञ ल्याएका थियौं। अधिकतम सुविधा भएका १३७१ वर्ग फिटको दुई बेडरुमदेखि ५५०० वर्ग फिटको पाँच बेडरुमका १८९ अपार्टमेन्टमध्ये १६ वटा मात्र बिक्री हुन बाँकी छन्। प्रति वर्ग फिट रु.८५०० राखिएको अपार्टमेन्टको मूल्य बुकिङ खुला गर्दा रु.६५०० थियो। निर्माण सामग्रीको मूल्यवृद्धिले गर्दा मूल्य बढाउनु परे पनि स्तरीय निर्माणका कारण ग्राहक घटेका छैनन्।

हामीले थापाथलीमा सेन्ट्रल बिजनेश पार्क पनि बनाइरहेका छौं। विश्वकै उत्कृष्ट १० आर्किटेक्टमा पर्ने सिङ्गापुरको आरएसपी कम्पनीले डिजाइन गरेको यो व्यावसायिक भवन नेपालमा नै नौलो हुनेछ। हाइड्रोलिक कार पार्किङ हुने नौतले भवनको ६ तला बनिसकेको छ। भवनको एक लाख वर्ग फिट क्षेत्रफलमध्ये ७३ हजार बिक्री भइसकेको छ, खरीद गर्नेमा अधिकांश व्यावसायिक घराना छन्। बाँकी २७ हजार वर्ग फिटको बुकिङ दशैंताका खोल्दैछौं।

'मध्यम वर्गका लागि आवास'
भेषराज लोहनी
प्रबन्ध निर्देशक,
ग्रीनहिल सिटी

नेपालको आजसम्मको सबैभन्दा ठूलो व्यवस्थित आवास योजना निर्माण गर्न लागेका छौं। हामीसँग जमिनको आधार धेरै छैन तर यसलाई व्यवस्थित तवरले निर्माण गर्दा थुप्रै जनसंख्या स्वतन्त्रतासाथ अटाउने आधार बनाएका छौं। ग्रीनहिल सिटीको मूलपानीस्थित कुल ३१२ रोपनी जग्गामध्ये पहिलो चरणमा १०२ रोपनी जग्गाको नक्सा तयार गरी बुकिङ खुला गरेका हौं। दोस्रो चरणको बुकिङ आउँदो दशैंपश्चात् खुला गर्ने लक्ष्य राखेका छौं। तीन चरणमा १० वर्षभित्र परियोजना सम्पूर्ण रूपमा पूरा हुनेछ।

अहिले आयोजना स्थलमा पुग्न करीब चार सय मिटर घुमेर जोरपाटीबाट पुल तरेर जानुपर्ने भएकाले ग्रीनहिल सिटी प्रवेश गर्ने स्थलमै (वागमती नदीमा) हामीले आफ्नै खर्चमा करीब तीन करोडको लागतमा पुल निर्माण शुरू गरेका छौं। उक्त पुलले स्थानीय बासिन्दा लगायत बटुवालाई सहजता प्रदान गर्छ। आयोजना स्थलको गेटमै पाञ्चायन मन्दिर छ भने त्यही मन्दिरको स्वामित्वमा उत्तरपट्टि १६/१७ रोपनी खाली जमिन छ। त्यसलाई सार्वजनिक पार्कको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ।

ग्रीनहिल सिटीको कुल क्षेत्रमध्ये १०० रोपनी बाटोले ओगट्छ भने १० रोपनीभन्दा बढी खुला हरियाली तथा खेलमैदान हुनेछ। चार आना भन्दा बढीमा बनेका घरहरू रु.५४ लाखदेखि रु.१ करोड २७ लाख दरमा बिक्री गर्ने गरी बुकिङ खुला गरेका हौं। आयोजना स्थलबाट १२ देखि १५ मिनेटमा जयबागेश्वरी, चाबहिल निस्किने तथा बौद्ध चोक पुग्न ७/८ मिनेट मात्र भएकाले शहरबाट नजिकै र शान्त स्थानमा त्यति मूल्यमा घर उपलब्ध गराउन सक्नुको कारण चाहिं हामीले केही वर्ष पहिले नै जग्गा एकीकृत गरिसकेकाले मात्र सम्भव भएको हो। अहिलेको अवस्थामा यो धेरै नै सस्तो मूल्य हो।

'जनघनत्वमा ध्यान पुर्‍याएका छौं'
सिद्धार्थ गोपालन
आर्किटेक्ट, इम्पेरियल अपार्टमेन्ट

siddhartha

हामी युरोपेली शैलीका नयाँ अपार्टमेन्ट बनाउँदैछौं, विशेष गरी राजधानीमै घर भएर पनि एक्लै बस्न बाध्य वृद्धवृद्धा र एकल व्यक्तिहरूका लागि। टावर निर्माण अन्तिम चरणमा छ। सजावट, रंगरोगन लगायत सबै काम सकेर एक वर्षमा ग्राहकलाई हस्तान्तरण गछर्ौं। ६० प्रतिशत बिक्री पनि भइसकेको छ।

हामीले जनघनत्वका दृष्टिले भीडभाड नहुने गरी १२ रोपनी जमिनमा १०० वटा अपार्टमेन्ट बनाएका छौं। एउटा फ्ल्याटमा आठ अपार्टमेन्ट र आठ वटै लिफ्ट छन्। १५०० र १८०० वर्ग फिट दुई आकारका अपार्टमेन्ट पाइने इम्पेरियल अपार्टमेन्ट दुईटालाई जोडेर एउटै बनाउन चाहने ग्राहकलाई त्यो सुविधा पनि छ। गुणस्तर र जनघनत्वको हिसाबले प्रति वर्गफिट रु.८५०० देखि रु.९५०० पर्ने अपार्टमेन्टको मूल्य अत्यन्त सस्तो छ।

'समय अगावै हस्तान्तरण गर्छौं'
उमङ्ग राणा
सिईओ, वेस्टार रेसिडेन्सी

p53

सबैले निर्माणमा ढिलाइ गरिरहेका बेला हामी ग्राहकहरूको विश्वास कायम राख्दै सोचेभन्दा चाँडो अपार्टमेन्ट हस्तान्तरण गर्दैछौं। आगामी डिसेम्बरमा तयार हुने वचनसहित ग्वार्कोमा चार वटा टावर निर्माण शुरू गरेकोमा दुई वटा जुलाइको अन्त्यसम्ममा पूरा हुने भएका छन् भने बाँकी दुईको पनि निर्माण कार्य लगभग सकिएको छ।

हामीले बुकिङ खुला गर्ने वित्तिकै रियलस्टेटमा मन्दी शुरू भएको थियो। तर, आम जनताको विश्वास डगमगाउन नदिन निर्माण रोकेनौं। सुधार हुन्छ भन्ने विश्वास थियो, अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ। ब्याङ्कको व्याजदरमा आएको कमिले गर्दा अहिले सुन्दर, सुरक्षित र व्यवस्थित अपार्टमेन्ट खोज्ने क्रम बढेको छ। व्यवस्थित आवास दिनप्रतिदिन अपरिहार्य बन्दै गएको पनि छ।

हामीले १६ रोपनीमा तयार हुने चार वटा टावरमा दुई, तीन र चार बेडरुमका २१२ वटा अपार्टमेन्ट बनाएका छौं। दुई बेडरुमको ९०० वर्ग फिटको अपार्टमेन्टको न्यूनतम मूल्य रु.६४ लाखदेखि चार बेडरुम २१०० वर्ग फिटको अपार्टमेन्टको रु.१ करोड ७० लाख छ। प्रति वर्ग फिट न्यूनतम रु.७१०० पर्न आउने यो मूल्य सुविधा र सुरक्षाका दृष्टिले एकदमै सही हो। हामीले कुल जमिनको ३० प्रतिशत क्षेत्रमा भवन बनाएर ७० प्रतिशत चौर र हरियाली बनाएका छौं। जमिनमुनि दुवै टावरको पार्किङ जोडेर बनाइएकोले गाडी बाहिर ननिकाली एउटा टावरबाट अर्कोमा पुग्न पनि सकिन्छ।
वेस्टार रेसिडेन्सी

'अनिश्चय बढ्यो'

रवीन्द्र झा
महाप्रबन्धक, पद्मा कोलोनी

संविधान निर्माणले पूर्णता पाएको भए अर्थतन्त्रका क्षेत्रमा निकै सुधार आउने थियो। तथापि रियलस्टेटप्रतिको चासो सर्वसाधारणमा अवश्य बढेको छ। व्यवस्थित आवासको अपरिहार्यताले यस्तो चासो बढेको हो। हामीले घडेरी प्लटिङ र व्यक्तिगत घर (कोलोनी) निर्माण गरिरहेका छौं। सीतापाइला र रामकोटमा करीब २०० रोपनी क्षेत्रफल जमिनमा पूर्वाधारसहित घडेरी प्लटिङ गरेका छौं। सीतापाइलामा नै करीब ८० रोपनीमा कोलोनी निर्माण पनि गरेका छौं। त्यहाँ निर्मित १०३ घरहरूमध्ये ४५ वटा बिक्री भइसकेका छन्। यिनीहरूको मूल्य रु.७० लाखदेखि रु.१ करोड ५० लाखसम्म रहेको छ। चार आनादेखि आठ आना क्षेत्रफल जमिनमा २ हजारदेखि २५ सय वर्ग फिट भित्री क्षेत्रफल भएका घरहरू निर्माण गरेका छौं। त्यस बाहेक कुसुन्तीमा पनि ४० वटा बङ्गलो निर्माणका लागि डिजाइन शुरू गरेका छौं। घडेरी भने सीतापाइलामा प्रति आना रु.३ लाख ५० हजारदेखि रु.८ लाखसम्म र रामकोटमा आनाको रु.३ लाखदेखि रु.५ लाख दरले बिक्री गरिरहेका छौं। आफैं घडेरी प्लटिङ वा घर बनाउनु भन्दा पर्याप्त सडक, पानी, विद्युत्जस्ता कुरामा ध्यान पुर्‍याएका हाम्रो जस्तै व्यवस्थित आवासमा बस्नु नै फाइदाजनक हुन्छ।
शहर विकासको योजना हुनुपर्छ

रियलस्टेट तथा हाउजिङ व्यवसाय आधुनिक नेपालको सम्पन्न जीवनशैलीको पर्याय बनेको छ।

आजको महँगो परिवेशमा सामूहिक बसोबासको अवधारणामा जग्गा विकास र व्यवस्थित पूर्वाधारसहितको आधुनिक घर–अपार्टमेन्ट निर्माण गर्नु चुनौतीपूर्ण काम हो। हाउजिङ डेभलपर्सले निर्माण गर्ने घर, अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्स इन्जिनियर, आर्किटेक्ट, भूगर्भशास्त्री, वास्तुशास्त्रीको योजना, रेखदेख र परीक्षण तथा दक्ष जनशक्तिको संलग्नतामा बन्ने भएकोले स्तरीय एवं किफायती हुन्छन्। तर दुर्भाग्य, डेभलपर्सद्वारा निर्मित तथा निर्माणाधीन ६ प्रतिशत हाराहारी घर–अपार्टमेन्टहरूको सुन्दरता मानिसहरूले आफूखुशी बनाउने कंक्रिटको जंगलको बीचमा हराइरहेका छन्।
सामूहिक आवास अन्तर्गत हुने घर–अपार्टमेन्ट निर्माणमा विभिन्न चरणमा गर्नुपर्ने नक्सा पास, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), विद्युत्, ढल, पार्किङ सुविधा र ट्राफिक व्यवस्थापनका कामले ती सर्वगुणसम्पन्न हुन्छन्। त्यस्ता घर–अपार्टमेन्टहरू भूकम्प, आगलागी जस्ता जोखिमबाट पनि सुरक्षित हुन्छन्। झ्ट्ट सुन्दा केही महँगो जस्तो लागे पनि निर्माणमा प्रयोग हुने सामग्री, जनशक्ति र गुणस्तर हेर्दा अनुभवी डेभलपर्सले बनाउने घर–अपार्टमेन्ट व्यक्तिले बनाउनेभन्दा अत्यन्तै सस्तो पर्न आउँछन्।

विना झ्ञ्झ्ट शान्त वातावरणमा आधुनिक सुविधा उपभोग गर्दै सुखी जीवन बिताउन पाउनु व्यवस्थित आवासको मुख्य आकर्षण हो। खानेपानी, फोहोर व्यवस्थापन, टेलिफोन, टेलिभिजन केवल र इन्टरनेट महशुल तिरिदिने, चौबीसै घण्टा सुरक्षाको प्रबन्ध आवास कम्पनीले गरेको हुन्छ। यिनै कारणले शहरको कोलाहल र कंक्रिटको जंगलमा जीवनयापन गर्नेहरू विस्तारै सामूहिक आवास घर तथा अपार्टमेन्टतर्फ आकर्षित भइरहेका छन्।
राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्‍याइरहेको घरजग्गा व्यवसायमा समस्या आउनुमा सरकार त छँदैछ, कतिपय व्यवसायी र ब्याङ्कहरू पनि जिम्मेवार छन्। कम लगानीमा करोडपति हुने व्यवसायीका सपना र अस्वस्थ प्रतिस्पर्धाले गर्दा यो क्षेत्रमा धेरै समस्या आएको हो। लन्च–डिनरको भरमा व्यवसायीहरूलाई ऋण दिने ब्याङ्क व्यवस्थापन र तिनको अनुगमन गर्ने नेपाल राष्ट्र ब्याङ्क पनि यसमा कम जिम्मेवार छैनन्।

राज्यले उपयुक्त नीति बनाएर कुनै क्षेत्रलाई व्यवस्थित गर्न खोज्नु सकारात्मक काम हो। तर, घरजग्गा व्यवसायको सूक्ष्म विश्लेषण र सरोकारवालाहरूसँग छलफल नगरी राष्ट्र ब्याङ्कद्वारा २ पुस २०६६ मा जारी परिपत्रले घरजग्गा व्यवसायीलाई बन्द कोठामा बस्न विवश बनायो। यसकै कारण सरकारको राजस्व संकलनमा ह्रास आयो, ईंटा, टायल, मार्बल, छड, रोडा, सिसा, सिमेन्ट, बालुवा आदि निर्माण सामग्रीको उत्पादन र व्यापार तथा तिनको ढुवानीका साधनहरूको कारोबारमा ह्रास आयो। राष्ट्र ब्याङ्कको त्यही उपहारले यस व्यवसायमा संलग्न करीब दुई लाख दक्ष–अदक्ष जनशक्तिको भविष्य अन्योलमा पारेको छ।

घर बनाउन पाउनु नागरिकको जन्मसिद्ध अधिकार हो, तर नक्सा र अन्य मापदण्ड नहेरी जथाभावी जमिनमा घर रोप्न दिइरहने हो भने नेपालका शहरहरू संसारकै कुरुप र असुरक्षित शहरका रूपमा नचिनिएलान् भन्न सकिंदैन। यो क्षेत्रमा एकातिर थोरै खर्चले घर बन्ने लोभमा अव्यवस्थित निर्माण बढ्दै छ भने अर्कोतिर व्यवस्थित निर्माण गर्ने व्यवसायीलाई अत्यधिक कर, रजिष्टे्रशन पास शुल्क, ऋण वा ब्याङ्कको लगानीमा हदबन्दी जस्ता व्यवधान खडा गरेर निरुत्साहित पारिएको छ।

सरकारले सन् २०१२ लाई नेपाल लगानी वर्ष घोषणा गरेको छ। तर, लगानी आउनको लागि गौतम बुद्ध र सगरमाथाको देश भएर मात्र पुग्दैन, स्वतन्त्र व्यवसायमा शान्ति, राजनीतिक स्थिरता र चुस्तदुरुस्त कार्यशैली आवश्यक हुन्छ। प्रधानमन्त्रीलाई मेरो प्रश्न छः तपाईं समुन्नत नेपालको कल्पना गर्दै लगानी वर्षन्छ भन्ने सोच्नुहुन्छ, तर सरकारी कर्मचारीहरू काम फत्ते गर्न कुन बेला पैसा वर्षन्छ भन्ने सोच्छन् भने कसरी देशमा लगानी भित्रिन्छ? सरकार, केन्द्रीय ब्याङ्क र सम्बन्धित निकायहरूले व्यवसायीका समस्या समाधानमा रुचि राख्ने हो भने मात्र यो क्षेत्रले समुन्नत नेपालको निर्माणमा योगदान पुर्‍याउन सक्दछ।


सागर तिमल्सिना
तिमल्सिना नेपाल घरजग्गा व्यवसायी संघका प्रशासन अधिकृत हुन् ।

comments powered by Disqus

रमझम