प्रजातन्त्रको पहिलो आन्दोलन

Share:
  
- अरविन्द रिमाल
राणाशासनविरुद्ध प्रजातन्त्रको पहिलो आन्दोलन राजाको नेतृत्व मानेर प्रजापरिषद्का नेताले शुरू गरेका थिए, तर तिनै राजाले योद्धाको जीवनरक्षा गर्न नसक्ने कायरता देखाए।
p58

नेपाल प्रजापरिषद् राणाशासन उन्मूलन गरी संवैधानिक राजतन्त्रअन्तर्गत प्रजातन्त्र स्थापना गर्न अघिबढ्नु त्यो अँध्यारो युगमा ठूलो राजनीतिक दूरदर्शिता र आँट थियो। राणाहरूको दक्ष गुप्तचरी हुँदाहुँदै पनि प्रजापरिषद् फैलिंदै गएको थियो।

तिनताका 'श्री ३ महाराज' भनिने राणा प्राइममिनिस्टरहरू (प्रधानमन्त्री भन्नु मान गिरेको ठानिन्थ्यो) ले चाड, पर्व, मेला, जात्रामा जुवा फुकाउने गरेका थिए। ९ असार १९९७ मा भोटो जात्राको जुवा फुकेकोमा प्रजा मस्त र राणाहरू ढुक्क थिए। त्यही रात काठमाडौं, पाटन र भक्तपुरका सडकमा राणाशासन हटाएर बन्दीसरह बनाइएका श्री ५ महाराजाधिराजको नेतृत्वमा प्रजातान्त्रिक सरकार स्थापना गर्ने पर्चा छरियो।

साउनमा पनि त्यस्तै घटना दोहोरियो। तर भदौको योजनाको सुराक आन्दोलनभित्रकै रामजी शास्त्री भन्ने व्यक्तिले राणादरबार पुर्‍याएकाले दशरथ चन्द, रामहरि शर्मा, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, गणेशमान सिंह, बलबहादुर पाण्डे, हरिकृष्ण श्रेष्ठ, चन्द्रमानसिंह मास्के, पुष्करनाथ उप्रेती, चन्द्रमान सैंजू, पूर्णनारायण प्रधान, फत्यबहादुर सिंह, चिनियाँलाल सिंह, मुरली पण्डित, ध्रुवनाथ दवाडी, कविप्रसाद गौतम, ज्योतिप्रसाद गौतम आदि प्रजापरिषद्का नेता–कार्यकर्ता काठमाडौंमा गर्‍यापगुरूप्पै समातिए। टङ्कप्रसाद आचार्य जनकपुरमा गिरफ्तार गरिए, पक्राउ परिने सुईंको पाएका मुकुन्दनाथ रिमाल मुग्लान पसेर जोगिए।

मंसीर–पुसतिर कोही राजबन्दी मारिंदै र कोही मुडिंदै छन् भन्ने गाइँगुइँ चल्यो। नभन्दै, शुक्रराज शास्त्रीलाई १० माघको राति पचली र धर्मभक्तलाई १२ माघमा सिफलको उकालोमा रूखमा झ्ुण्ड्याइयो, दशरथ चन्द र गङ्गालाललाई १४ माघमा विष्णुमती नदीतटको शोभा भगवती मन्दिरछेउ गोली हानियो। यसरी चार वीरको भौतिक सफाया गरेको राणाशासनले देशमा मनोवैज्ञानिक आतङ्क मच्चाउने र मानव–मर्यादा रछ्यानमा पुर्‍याउने गरी टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर ब्राह्मणका लागि मृत्यु–दण्ड समान सजाय दियो। तर, यसबाट राणाशासकले चिताए विपरीत शहीद र टङ्कप्रसादहरूको राजनीतिक कीर्ति तथा प्रभाव बढ्दै गयो। देशभक्ति र प्रजातन्त्र प्राप्तिको त्यो पहिलो सङ्गठित आन्दोलन दबिनुको साटो १०४ वर्षे जहानियाँ शासन अन्त्य गर्ने राजनीतिक–सामाजिक आन्दोलनको आधार बन्नपुग्यो।

त्यसअघि पनि राणाशाही विरुद्ध व्यक्तिगत र असंगठित रूपमा मैनाकाजी, खण्डमान सिंह र खड्गमानसिंह बस्नेत आदिले विद्रोहको अभिव्यक्ति दिएका थिए। प्रजापरिषद्ले तिनलाई समेत मुखरित गर्दै अघि बढाएका आन्दोलनले आजको वैज्ञानिक परिभाषाअनुसार क्रान्तिकारी स्वरुप ग्रहण गरेको थियो। टङ्कप्रसाद, दशरथ चन्द र उहाँका धेरै सहयोगी आर्थिक तथा सामाजिक न्यायप्रति पनि उन्मुख आमूल परिवर्तनकामी प्रजातन्त्रवादी हुनुहुन्थ्यो।

१९९७ को आन्दोलनले सुतेको नेपाली समाजलाई झ्क्झ्क्याएर ब्युँझाएको र देशको हरेक तन्तुलाई नियन्त्रण गरेर निर्धक्क शासन चलाएका राणाहरूको अभिमानलाई धराशायी बनाएको थियो। आफ्नै पक्षको ठानिएका 'उच्च घरानियाँ जात' का तन्नेरीले विद्रोहको झ्ण्डा उठाउँदा त्यो व्यवस्थाका हिमायतीहरूको होसहवास उड्यो। त्यसैले राणाहरूले प्रजापरिषद्को आन्दोलनको प्रभाव पर्न नदिन त्यसका संस्थापक, सङ्गठनकर्ता र सक्रिय कार्यकर्तालाई कठोरतम दण्ड दिने निश्चय गरेका थिए। त्यसअघि उनीहरूको मनोबल गिराउन शारीरिक यन्त्रणा दिए, एउटाले अर्कोको विरुद्ध पोल लगाएको मनगढन्ते प्रचार गरे।

टङ्कप्रसाद, रामहरि, चूडाप्रसाद, गोविन्दप्रसाद र हरिकृष्णहरूबाटै यो पंक्तिकारले सुनेको कुरा― यति हुँदा पनि राजबन्दीको मनोबल उच्च थियो, ज्यान जाने सम्भावनाबाट पनि कोही त्रसित थिएनन्, 'माफ पाउँ्क सरकार' भन्नेबित्तिकै छोडिने निश्चित हुँदाहुँदै र त्यस्तो गर्न प्रचण्ड दबाब पर्दापर्दै पनि आफ्नो उद्देश्य र संकल्पबाट कोही डगेनन्। यसबाट राणाशासक झ्न् विक्षिप्त भए। दशरथ चन्द, गङ्गालाल, धर्मभक्त र शुक्रराज शास्त्रीको प्राण लिने, बाहुनहरूमध्ये कसैलाई मुडेर छाड्ने र कसैलाई आजीवन कारावास तोक्ने निर्णय त्यही विक्षिप्तताको परिणाम थियो। प्रजापरिषद्का नेताले जसको संवैधानिक नेतृत्वमा राणाविरोधी क्रान्तिको घोषणा गरेका थिए, तिनै राजा त्रिभुवनले भने राणाशासकको ठहरलाई अमान्य घोषणा गरी योद्धाहरूलाई दिन लागिएको कठोर दण्डसजाय रोकेर उनीहरूको जीवनरक्षा गर्न नसक्ने कायरता देखाए।

गैरसैनिक राजबन्दीलाई फौजी अदालतमा उभ्याए जस्तै गरी आफ्नो रक्षामा केही बोल्नसम्म दिएन राणातन्त्रले। सजाय सुनाउँदा सबै क्रान्तिकारीले राणाशासनको अवश्यम्भावी पतनको घोषणा गरेका थिए। त्यसपछिको क्षणबारे टङ्कप्रसादले सुनाउनुभएको थियो, “फैसलाको भोलिपल्ट हामीलाई जेलतर्फ हिंडाउने तरखर हुनथाल्दा ज्यान सजाय पाएका मित्रहरूसँग अन्तिम भेट गर्न उनीहरूलाई राखेको कोठामा गयौं।” त्यो भेटमा धर्मभक्तले देश र जनताका लागि ज्यान अर्पण गर्न लागेको र मृत्युसँग कत्ति पनि नडराएको तथा दशरथ चन्दले नेपाल प्रजापरिषद् नै आफूहरूको जीवन भएकाले त्यो रहेसम्म जीवित रहने बताएका थिए। चन्दले अन्त्यमा भनेछन्, “राणाशाहीको अन्त्य र प्रजातन्त्रको उदय तपाईंहरूले देख्नुहुनेछ।” जवाफमा गणेशमान सिंहले हिंड्दाहिंड्दै भनेछन्, “धन्दा मान्नुपर्दैन। हामी बाँचेका छौं, प्रजातन्त्र ल्याउँछौं–ल्याउँछौं।”

comments powered by Disqus

रमझम