१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

'स्वास्थ्यमा सरकारी प्राथमिकता छैन'

Share:
  

त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसी मेडिकल शिक्षा र स्वास्थ्य सेवामा भइरहेको बेथिति विरुद्ध आमरण अनशनमा बसेपछि देशमा यस विषयको बहस चुलियो। यसक्रममा नेपालका सरकारी अस्पतालहरूले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेको र निजी अस्पतालले उपचारमा धान्नै नसकिने रकम असुल्ने गरेको चर्चा भए।

गत साता हिमाल ले देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले सर्वसाधारणको स्वास्थ्य सेवाको गुणस्तरका विषयमा मिश्रित प्रतिक्रिया देखाएको छ। 'तपाईंले आफू वा आफन्तको उपचार गर्न अस्पताल जाँदा डाक्टरहरूबाट कस्तो व्यवहार पाउनुभएको छ?' भनेर ३७६ जनासँग सोधिएकोमा ४४.९ प्रतिशतले 'सन्तोषजनक' भन्ने उत्तर दिए। यसैगरी, ३०.६ प्रतिशतले डाक्टरहरूको व्यवहारलाई 'नराम्रो', २१.५ प्रतिशतले 'राम्रो' र २.१ प्रतिशतले 'भन्न चाहन्न' तथा ०.८ प्रतिशतले 'थाहा छैन' भन्ने जवाफ दिए।

डाक्टरहरूबाट 'राम्रो' व्यवहार पाएको बताउनेमा सबभन्दा धेरै पूर्वाञ्चलका २८ प्रतिशत छन् भने 'नराम्रो' व्यवहार पाउनेमा सबभन्दा धेरै अर्थात् ४२ प्रतिशत उत्तरदाता पश्चिमाञ्चलका छन्। 'राम्रो' पाउनेमध्ये सबभन्दा धेरै २८.६ प्रतिशत स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका छन्। डाक्टरहरूको व्यवहार 'नराम्रो' भएको उत्तर दिनेमा सबभन्दा धेरै ४०–५९ वर्ष उमेर समूहका ३३.६ प्रतिशत भेटिए।
सर्वेक्षणले डाक्टरहरूले बिरामीको उपचारमा पर्याप्त समय नदिएको देखाएको छ। 'डाक्टरले चेकजाँचका लागि आवश्यक परे जति समय दिन्छन् कि दिंदैनन्?' भनेर सोधिएको प्रश्नमा ७४.५ प्रतिशत उत्तरदाताले 'दिंदैनन्, हतारमा पठाइहाल्छन्' भन्ने जवाफ दिएका छन्। १९.७ प्रतिशतले 'चाहिए जति समय दिन्छन्' भन्ने उत्तर दिए भने ४.३ प्रतिशतले 'थाहा छैन', ०.५ प्रतिशतले 'भन्न चाहन्न' र १.१ प्रतिशतले 'अन्य' जवाफ दिए।

डाक्टरहरूले बिरामीसँग सजिलो गरी सञ्चार नगर्ने गरेको आरोप पनि लाग्दै आएको छ। 'डाक्टरले भनेको कुरा बुझनुहुन्छ कि बुझनुहुन्न?' भनेर सोधिएको प्रश्नमा 'बुझछु' भन्नेहरू ३१.९ प्रतिशत मात्र भेटिए। ५१.६ प्रतिशतले 'अलिअलि बुझछु' र १३.३ प्रतिशतले 'कत्ति पनि बुझिदनँ' भन्ने उत्तर दिए। यसैगरी, २.७ प्रतिशतले 'भन्न चाहन्न' र ०.५ प्रतिशतले 'थाहा छैन' भन्ने जवाफ दिए।
अस्पताल जाँदा डाक्टर नभेटिनु पनि नेपालीले भोग्दै आएको अर्को ठूलो समस्या हो। 'तपाईं वा आफन्त बिरामी भएर अस्पताल जाँदा समयमै डाक्टर उपलब्ध हुन्छन्?' भन्ने प्रश्नमा ४६.३ प्रतिशतले 'लामो समय कुरेपछि मात्र डाक्टर आउँछन्' भन्ने जवाफ दिएका छन्। ३१.६ प्रतिशतले 'उपलब्ध हुन्नन्' र १४.४ प्रतिशतले 'उपलब्ध हुन्छन्' भन्ने जवाफ दिएका छन्। २.७ प्रतिशतले 'थाहा छैन' र ०.३ प्रतिशतले 'भन्न चाहन्न' भन्ने जवाफ दिए।

डाक्टरहरूले स्वार्थका लागि सरकारी अस्पतालबाट निजी क्लिनिकमा बिरामी 'रेफर' गर्ने गरेको आरोप पनि नयाँ होइन। 'तपाईं वा आफन्तको बिरामी सोही अस्पतालमा निको हुन्छन् कि अन्यत्र 'रेफर' गरिन्छन्?' भनेर सोधिएको प्रश्नमा ३८.६ प्रतिशतले 'रेफर गर्छन्' भन्ने जवाफ दिए भने २९.५ प्रतिशतले 'गएकै अस्पतालमा निको हुन्छ' भने। २६.६ प्रतिशतले 'रोग निको नभए आफैं अर्को अस्पताल जान्छु' भन्ने उत्तर दिए भने ५.१ प्रतिशतले 'थाहा छैन' भने। 'अन्यत्रै रेफर गर्छन्' भन्ने उत्तर दिनेलाई 'कहाँ?' भनेर सोधिएको प्रश्नमा ४० प्रतिशत उत्तरदाताले 'सरकारी अस्पतालबाट निजी क्लिनिकमा' भन्ने उत्तर दिए। यसैगरी, ५४.५ प्रतिशतले 'ठूला अस्पतालमा' र ३.४ प्रतिशतले 'निजीबाट सरकारी अस्पतालमा' भन्ने उत्तर दिए।

सर्वेक्षणमा सहभागी उत्तरदाताहरूले सरकारले नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नदिएको बताएका छन्। 'तपाईंलाई स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिए जस्तो लाग्छ?' भनेर सोधिएको प्रश्नमा ४७.९ प्रतिशतले 'लाग्दैन' भनेका छन्। ३४ प्रतिशतले 'थोरै मात्र प्राथमिकता दिए जस्तो लाग्छ' भन्ने जवाफ दिए भने सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए जस्तो 'लाग्छ' भन्नेहरू ८ प्रतिशत मात्र भेटिए। ६.६ प्रतिशतले 'भन्न चाहन्न' र ३.५ प्रतिशतले 'थाहा छैन' भन्ने जवाफ दिएका छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम