१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

तीर्थ मात्र हैन बजार पनि

Share:
  
- तुलसी गौतम
नेपालीका लागि कैलाश–मानसरोवर परत्र सुधार्ने तीर्थस्थल मात्र हैन, आर्थिक समृद्धि ल्याउने बजार पनि हुनसक्छ।
p54

चीनको तिब्बतस्थित कैलाश–मानसरोवर जाने संसारभरका पर्यटकका लागि नेपाल, मूलद्वार हो। ट्राभल/ट्रेकिङ एजेन्सीहरूले पर्यटकको खानपानका लागि मैदा, चामल, दाल, तरकारी र बन्दोबस्तीका सामान काठमाडौंदेखि लैजानुपर्ने भएकोले नेपाल, मानसरोवरको मौसमी बजार पनि हो। तिब्बती पठारमा खाद्यान्न उत्पादन कम हुने भएकोले सीमावर्ती क्षेत्रको कृषि उपजले बजार लिने सम्भावना धेरै छ, तर नेपालको कृषि योजनाले यतातिर ध्यान दिएको छैन।

जेठ–भदौ 'सिजन'मा नेपालको बाटो कैलाश–मानसरोवर यात्रा गर्ने धेरैजसो यात्रु भारतीय हुन्छन्। नेपालका एजेन्सीले उनीहरूका लागि चिनियाँ र भारतीय एजेन्सीबीच पुलको काम गर्छन्। गत १६ साउनमा मानसरोवर गएको टोलीमा १६ नेपाली, गुजरात र कर्नाटकका ४० भारतीय तथा एजेन्सीका नौ कर्मचारी थिए। अन्य एजेन्सीका यात्रु समेत मिसिंदा बाटोमा तिब्बतका सरकारी होटलहरू खचाखच थिए।

अर्कै संसार
कोदारी राजमार्ग हँुदै नेपाल–चीन सीमाको तातोपानीस्थित मितेरीपुल पार गरेपछि हरेक चार जनाको लागि एउटा आरामदायी ल्याण्डक्रुजर जीप र बन्दोबस्तीका सामान बोक्ने दुई ट्रकसहित तिब्बती गाइड तयार थिए। त्यस दिन जङ्मु (खासा) हुँदै राती अबेर न्यालम (३७५० मि) पुगेर बास बसियो। बिहान उठेर हेर्दा चारैतिर कतै धूले त कतै ढुङ्गे डाँडा! काठमाडौंबाट १५५ किलोमिटरको दूरीमा यस्तो भिन्नता देख्दा अचम्म लाग्यो। नेपालमा यस्ता दृश्य मुस्ताङको मार्फा र कागवेनीतिर देखिन्छन्।

न्यालमबाट प्रतिघन्टा ७०–८० किमीका दरले हुँइकिएका ल्याण्डक्रुजरबाट खोंचहरूमा कतै जैतुन, आलु, जौ, फापर, उवा त कतै पहेंलपुर तोरी फुलेको 'कोलाज' देखिन्थ्यो। कति ठाउँमा ४०–५० रोपनी जमिनमा प्लाष्टिकका छाप्रा हालेर खेती गरेको पनि देखियो। ठाउँ–ठाउँमा देखिने पातला वस्तीमा याक र लुलुगाई चरिरहेका थिए। करीब ५००० मीटर उचाइको ठूलो पठार पुग्दा डाँडामा विमानस्थल बनाउन सकिने विशाल अधित्यका देखियो र त्यसपछि ल्हासा र सागा छुट्टिने बाटो आयो।

ल्हासा त्यहाँबाट ७८० किमी पूर्वमा पर्दोरहेछ, हामी पश्चिम सागातिर लाग्यौं। बीचमा रसुवाको टिमुरे–केरुङ जाने बाटो आयो। हामी न्यालमबाट नेपाली समय ७:०० बजे यात्रा शुरू गरेर ११:३० मा सागा (४६०० मि) पुगेका थियौं। सागा बजार मानसरोवरबाट निस्किएर आसाम हुँदै बंगलादेश पुग्ने ब्रह्मपुत्र नदीको किनारमा रहेछ। पश्चिमबाट पूर्व बग्ने विश्वको सबभन्दा लामो नदी यही हो।

जनैपूर्णिमाको दिन (१८ साउन) साना–ठूला असंख्य उपत्यका पार गर्दै सागाबाट ४५० किमिको बाटो मानसरोवरतर्फ सोझ्ियौं। बाटामा कतै याक, नाक, घोडा र भेडाका बथान त कतै तालतलैया र प्रकृतिले धूलोवाती खेलेर बनाएका बालुवाका थुप्रा देखिए। अपरान्ह २ः३५ मा करीब पाँच मिनेट मानसरोवर–कैलाशको दर्शन पायौं, त्यसपछि बादलले ढाकिहाल्यो। न्यालम र यताका सबै बास पूर्व निर्धारित होटलहरूमा भएको थियो। तर त्यो रात हामी मानसरोवर छेउमा बनाइएका माटाका घरमा बस्यौं। अघिल्लो बिहानदेखि कतै खेतीपाती देखिएको थिएन, सरकारले सागा–मानसरोवर क्षेत्रमा प्रकृति संरक्षण गर्न खर रोपेको रहेछ। बाटामा मृग र मयुर पनि देखिए।

भोलिपल्ट बिहान तिब्बतीमा 'मा माङ् युङ् सो' भनिने मानसरोवर (४५५८ मि) को पूजाअर्चना र स्नानमै बित्यो। पानी त्यति चिसो थिएन। ठाउँ–ठाउँमा नीलो, हरियो र फुस्रो रंगका पानीले तालको गहिराइ र दूरी संकेत गर्दथे। १५–२० मिनेटमा पुग्न सकिने हिउँका डाँडा हेर्दै तीरैतीर मोटरबाट तालको परिक्रमा गर्‍यौं। मानसरोवरको बायाँतिर कर्णालीको मूल– राक्षस ताल रहेछ।

मानसरोवर र राक्षस तालबीचको सानो डाँडामा सातौं शताब्दीतिर निर्मित एउटा गुम्बा छ― चिउगोम्पा, जहाँ बसेर बुद्धका अनुयायी पद्मसम्भवले धर्म प्रचार गरेका थिए। चिनियाँ सांस्कृतिक क्रान्तिताका भत्काइएको यो गुम्बालाई सन् १९८५ मा पुनर्निर्माण गरिएको रहेछ। त्यो साँझ् त्यहीं बास बसेर अर्का दिन करीब चार घण्टामा दार्चेन (४६६३ मि) पुगियो। पोते, मोतीका माला, फलफूल, तरकारी र दैनिक उपभोग्य वस्तुका लागि ठूलै बजार रहेछ, दार्चेन।

अर्काे दिन मोटरबाट तरबुचे पुगी जुनी फेरिने विश्वासमा त्यहाँको 'यमद्वार' मा पुराना लुगा चढाउँदै र नयाँ लुगा लगाउँदै त्यसको सामुन्ने देखिने कैलाश पर्वतको दर्शन गर्‍यौं र बास बस्न दिरापुक (४८६० मि) पुग्यौं। यहींबाट कैलाश पर्वतको भित्तामा पार्वती, शिवजी, गणेश, अन्य देवीदेवता र शेषनागको प्राकृतिक हिमचित्र हेर्न पाइयो। हिंडेर कैलाश परिक्रमा गर्न नसक्नेले तरबुचेमा १३०० यूआनमा तीन दिनका लागि घोडा र डोर्‍याउने मान्छे तथा ५६० यूआनमा हाते ब्याग बोकिदिने मान्छे पाउँदा रहेछन्― नेपालीमा हिसाब गर्दा रु.२८ हजार। ठूला झ्ोला एजेन्सीका याकले बोकेकाले हामीले आ–आफैं हातेब्याग बोकेर पैदलै परिक्रमा गर्‍यौं।

बाहिरका भरिया नपाइने तरबुचेमा स्थानीयहरूले यिनै कामबाट सिजनमा ३०–५० हजार यूआन कमाएर वर्ष दिन गुजारा चलाउने गरेका पथप्रदर्शक नामग्यालले बताए। यो ठाउँमा पातला बस्ती छन्, विद्यालय छैनन्। केटाकेटी १०–१२ वर्षको उमेरदेखि नै पर्यटकका झ्ोला बोक्न हिंड्दा रहेछन्।

अर्को दिन २२ किमी उकालो, ओरालो र तेर्सा बाटो काट्नुपर्ने भएकोले दिरापुकबाट बिहान पाँचैबजे उठेर पैदल हिंड्यौं। तीन वटा अप्ठेरा उकालो काटेपछि आएको ५६०० मीटर उचाइको 'डोल्मा पास' पार गर्दा सबैलाई अक्सिजनको कमी महसूस भएको थियो। अर्कोतिरबाट आउनेले यहाँ पनि उही जुनी फेरिने विश्वासमा पुराना लुगा चढाउँदा रहेछन्। त्यहाँबाट केही तल निकै अप्ठ्यारो ओरालोमा गौरी कुण्ड देखियो। धेरैले कुण्डबाट जल ल्याउन भरियालाई थप पैसा दिएर पठाए। मैले आफैं कुण्डमा गएर दर्शन, सेचन गरी जल ल्याउँदा सबै छक्क परे।

p54a

कैलाश पर्वतको पैदल यात्रा सफलतासाथ सम्पन्न भएकोमा सामूहिक फोटो खिचेर हामी मोटरबाट दार्चेन फर्कियौं। त्यसपछि करीब ६ घण्टामा ड्रोङ्मा पुगेर बास बसियो। दोस्रो दिन न्यालम र तेस्रो दिन श्रीकृष्ण जन्माष्टमीको बेलुकी काठमाडौं आइपुग्यौं।

मानसरोवर–कैलाशको यो धार्मिक यात्रामा नेपालका सीमावर्ती क्षेत्रबाट खाद्यान्न, दाल, तरकारी, चाउचाउ, बिस्कुट जस्ता उत्पादन पठाउन सकिने ठाउँ देखिए। उताकाले अलि–अलि पीठो र चाउचाउ लगेको पनि देख्यौं। कैलाशको फेदीमा पर्ने दार्चेनमा नेपालको वाइवाइ चाउचाउ खुब चल्दोरहेछ। नेपालका सीमावर्ती जिल्लाहरूबाट तयारी खाद्यवस्तुका साथै अन्य कृषि उपज र तिब्बतबाट भेडा च्याङ्ग्रा आदानप्रदान हुने गरी व्यापार विविधीकरण गरे दुवैतिरका बासिन्दा लाभान्वित हुनेथिए।

comments powered by Disqus

रमझम