१६-३० असोज २०६९ | 2-16 October 2012

पैसाले पुरिन्छन् पीडा

Share:
  
अपांगता भएका महिलालाई परिवारले बोझ मानिदिंदा उनीहरूले हिंसा व्यहोर्दा समेत न्याय पाएका छैनन्।
p12
 
 

बोल्न र सुन्न नसक्ने सृजना पुडासैनी (२१) बहिरा संघ मकवानपुरका कार्र्यक्रम संयोजक एलबी क्षेत्रीद्वारा २५ साउन २०६७ दिउँसो बलात्कृत भइन्। घरमा कोही नभएका बेला भएको यो घटना बाहिर ल्याए क्षेत्रीले मार्ने धम्की दिएको पुडासैनीले दोभाषेको सहयोगमा बताइन्। स्थानीय शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय प्राविमा अध्ययनरत पुडासैनी त्यही घटनाको मानसिक र शारीरिक पीडाले गर्दा पढाइ छाडेर काठमाडौं आएकी छन्। उनी भन्छिन्, “पटक पटक भोगेका यस्ता घटना भाषाको समस्याले व्यक्त गर्न सकेकी छैन।”  

घटनाको दुई वर्ष नपुग्दै गएको साउनमा पीडक क्षेत्रीले जिल्ला अदालत मकवानपुरबाट सफाइ पाए। उनको मुद्दामा कानूनी सहयोग पुर्‍याउन राष्ट्रिय महिला आयोगबाट मकवानपुर पुगेका अधिवक्ता बाबुराम दाहाल भाषागत समस्याले समयमा उजुरी नपरेर यस्ता घटनामा धेरैले न्यायबाट वञ्चित हुनु परेको बताउँछन्। बलात्कारका घटनामा ३५ दिनभित्र उजुरी गर्नुपर्ने हुन्छ, तर अपाङ्गता भएकाहरू आफैं खट्न नसक्ने अवस्था, दोभाषेको अभाव र प्रक्रियागत झ्ण्झ्टका कारण समयमा उजुरी गर्न सक्दैनन्। गरिहाले पनि परिवार र आफन्तबाट आउने धम्की, पैसाको प्रलोभनमा मेलमिलापका लागि दबाबका कारण न्याय पाउँदैनन्। दृष्टिविहीन महिलालाई बाटो कटाइदिने, गन्तव्यमा पुर्‍याइदिने बहानामा अन्यत्र लगी बलात्कार गरेर पीडक भाग्ने गरेकाले पनि न्याय दिलाउन समस्या हुने गरेको छ। यसले गर्दा पीडकको मनोबल बढेको र पीडितलाई समाजमा बस्न गाह्रो भएको छ। 
 
परिवारले नै साथ दिंदैन 
घरेलु कामदारका रूपमा कार्यरत अपाङ्गता भएका महिलाको अवस्था पनि यस्तै छ। घर मालिकले पटक पटक बलात्कार गरेपछि भागेर न्याय खोज्दै हिंडेकी काठमाडौंको एक घरमा कार्यरत विमला पुनमगर (२०) अहिले बेसहारा भएकी छन्। न्याय पाउनु त कता हो कता, आफू बसेको घरबाट उल्टै चोरीको आरोप सहनु पर्‍यो। दोभाषेको सहयोगमा उनले भनिन्, “जबर्जस्ती गर्दा चुपचाप बस्नुपर्थ्यो र भनेको नमाने नीलडाम हुने गरी पिटाइ खानुपर्थ्यो।” 
 
कति चिनजानकै साथीबाट बलात्कृत भएका छन्। भदौ २०६६ मा काभ्रेकी भवानी गौतम (२६) लाई कोठा खोज्ने क्रममा एक परिचितले आफ्नो कोठामा लगेर बलात्कार गरे। पोलियो रोगले कम्मरदेखि तलको भाग नचल्ने र ह्वीलचियरको सहयोगमा हिंडडुल गर्ने भवानीले उजुरी गर्दा उल्टो पीडकको धम्की सहनुपरेको थियो। चार वर्षअघि घरबाट निस्किएकी भवानीले आफन्त र परिवारको पनि साथ पाइनन्। प्रहरीले पीडकलाई नियन्त्रणमा लिए पनि पैसा दिएर मेलमिलाप गराइयो। उनी भन्छिन्, “परिवारको सोचाइ समस्या सुन्नुको साटो यसले गर्दा इज्जत गयो भन्ने हुन्छ।”  
 
भिनाजुबाट बलात्कृत सुनसरीकी शोभा कामत (२२) पढाइ छाडेर काठमाडौं आएकी छन्। परिवारले उनलाई 'गाउँलेले थाहा पाए के भन्लान्, जे हुनु भो चुप लागेर बस्' भनेर दबाब दिएको र परिवारकै सदस्यले उल्टो पीडकबाट पैसा लिएर उनको पीडालाई पुरिदिएको थियो। “परिवारका सदस्यहरू आफ्ना छोरी, बहिनीले भोगेका पीडा भन्दा इज्जत ठूलो हो र त्यस्तो पीडालाई पैसाले साम्य पार्न सक्छ भन्ने सोचाइ राख्छन्”, शोभा भन्छिन्, “यसले गर्दा हामी जस्ता अपाङ्गता भएका महिलाले परिवारको साथ पाउँदैनौं र पाए पनि अन्त्यमा पैसामा गएर मेलमिलाप हुने गर्दछ।” नेपाल राष्ट्रिय अपाङ्ग महासंघकी महासचिव टीका दाहाल अपाङ्गता भएका महिलामाथि हुने बलात्कारका घटनालाई सामाजिक रूपमा बद्नाम हुने डरले लुकाएर राख्ने चलन भएको बताउँछिन्। 
 
दैनिक हिंसाको शिकार 
अपाङ्गता भएका महिलामाथि हुने हिंसाका घटना कमै बाहिर आउँछन्। नेपालमा सन् २०१० मा भारतस्थित अन्तर्राष्ट्रिय नारीवादी मानवअधिकार संस्था 'सिआरइए' र नेपालको वातावरण, स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान केन्द्र 'कृपा' ले अपाङ्गता भएका ४७५ महिलामा गरेको अध्ययनमा ५८ प्रतिशतले हरेक दिन कुनै न कुनै हिंसा भोगेको बताएका थिए। सहभागीमध्ये ५५ प्रतिशत मानसिक, ३४ प्रतिशत शारीरिक र २२ प्रतिशत यौनजन्य हिंसाका पीडित थिए।  
 
अपाङ्गता भएका महिलामाथि दैनिक हिंसाका घटना भइरहँदा पनि पीडितको पक्षमा कमै मात्र फैसला हुने गरेको छ। नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक निर्मला धितालका अनुसार धम्की, प्रलोभनमा परेर कतिले बीचमै मुद्दा छाडिदिने गरेका छन्। तुलनात्मक रूपमा उजुरी गर्ने चलन बढे पनि प्रक्रिया पुर्‍याउन नसकेका कारण बीचमा हराउने र राजनीतिक दबाब तथा आर्थिक प्रलोभनले गर्दा न्याय नपाउने अवस्था छ। नेपाल अपाङ्ग महिला संघ तथा नेपाल राष्ट्रिय अपाङ्ग महासंघको तथ्याङ्कले पनि उजुरीका आधारमा न्याय पाएका घटना निकै कम देखाएको छ। वर्षमा पर्ने करीब ३०० उजुरीमध्ये अधिकांशमा मेलमिलाप हुने गर्दछ। पछिल्लो तीन महीनामा १५ वटा उजुरी मेलमिलापमा सकिएका छन्।
 
मीना शर्मा

 

comments powered by Disqus

रमझम