३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

फेरिएको चालढाल

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
पछिल्लो दुई दशकमा नेपालीको लवाइ, खवाइ र बोलीचालीमा आएको परिवर्तन साँच्चै राम्रो र रमाइलो छ, जसले समाजलाई आधुनिक–उन्नत बनाउँदै लगेको छ।

आवरण तस्वीरः बिक्रम राई
सबैका ढाडमा व्यागप्याकः आधुनिक पहिरन र व्यागप्याक सहित राजधानीको सडकमा विमल पछाई, सवि महर्जन, रोशन योञ्जन र श्वेता श्रेष्ठ (बायाँबाट क्रमशः)
पछिल्लो दुई दशकमा नेपालीको पहिरन र बोलीचालीमा आएको परिवर्तनले नेपाली समाजको रूपरेखा नै बदलिदिएको छ। विश्वको जुनसुकै स्थानको नयाँ फेशन तुरुन्तै नेपालमा देख्न पाइन्छ। सञ्चार क्षेत्रको विकासबाट जीवनशैलीमा कायापलट भएको छ। एफएम रेडियो, टेलिभिजन र पत्रपत्रिकाले नेपाली भाषालाई एक रूप र उन्नत बनाइरहेको छ। समाजशास्त्री डिल्लीराम दाहाल पहिरन र बोली–चालीमा नेपाली समाजको व्यापक स्तरोन्नति झ्ल्केको बताउँछन्। “अहिले नेपाली मात्र हैन, मातृभाषाहरूमा पनि पुनर्जागरण आएको छ” समाजशास्त्री दाहाल भन्छन्, “पहिरनमा भन्नुहुन्छ भने पहिले दौरा, भोटो र धोती लगाउने नेपाली अहिले रोजी–रोजी रेडिमेड लगाइरहेका छन्।”

बोलीचाली र संस्कार

एफएम रेडियोको देशव्यापी विस्तारबाट नेपालीको लवजमा एकरूपता आउन थालेको छ। एफएम रेडियो र टीभीका नयाँ पुस्ताका प्रस्तोता तथा प्लस टु जेनेरेशनमा अंग्रेजीको प्रभाव बढे पनि बढ्दो पत्रपत्रिका र साहित्य पठनले नेपाली भाषालाई ठूलो क्षेत्रमा परिष्कार गरिरहेको छ। साहित्यकार कमल दीक्षित २०६२/६३ को जनआन्दोलनपछि गरिबक्स्यो, आइबक्स्यो, सुकला, ज्युनार, मर्जी जस्ता दरबारिया आदरार्थी शब्दहरू मिडियाबाट हराएको बताउँछन्। “बरु जाउँ है, खाउँ है, बस है को ठाउँमा जाउ ल, बस ल, खाउ ल जस्ता नेपाली चल्तीमा आएको छ”, दीक्षित भन्छन्, “आज रेडियो, टीभीले देशभर दार्जीलिङे प्रभाव बोकेको पूर्वेली नेपाली भाषा फैलाइरहेको छ।”

कुनै वेला बेलायतमा पनि आइरिस, स्कटिस, वेल्स र अन्य प्रान्तका बासिन्दालाई बुझन गाह्रो हुने अंग्रेजीमा पत्रपत्रिका, रेडियो, टीभी लगायतका सञ्चारमाध्यमले एकरूपता ल्याएको थियो। नेपालमा एफएम रेडियो, टीभी र पत्रपत्रिकाले नेपाली भाषालाई त्यसरी नै विकसित बनाइरहेको छ। अध्येता डा. तीर्थबहादुर श्रेष्ठ पूर्व र पश्चिमका नेपालीले बोल्ने नेपाली भाषामा सञ्चारमाध्यमले बुझने सहजतासँगै एकरूपता ल्याइदिएको बताउँछन्।

समाजशास्त्री दाहाल नेपाली भाषाको यो समृद्धिको क्रममा नेपालका १०० भन्दा बढी मातृभाषाको संरक्षण र सम्वर्द्धनलाई पनि बिर्सन नहुने बताउँछन्।
भाषाविद् माधवप्रसाद पोखरेल पछिल्लो समयमा सबैतिर पुगेको एफएम रेडियोले नेपाली भाषामा एकरूपता ल्याए पनि पत्रपत्रिकाको नेपाली भाषामा भने एकरूपता नभएको औंल्याउँछन्। पोखरेल बोलीचालीमा एकरूपता ल्याउन सडक विस्तारसँगै पूर्व मेचीदेखि पश्चिम महाकाली र तराई–मधेशदेखि हिमालसम्म पुगेका गाडी स्टाफहरूको पनि उत्तिकै भूमिका रहेको बताउँछन्। उनी भन्छन्, “लेख्यमा भने नेपाली भाषा बिग्रेर गएको देखिन्छ।”

बोलीचालीमा पनि अंग्रेजी मिसाएर बोल्दा बढी जान्ने देखिने भ्रमले बिगार गरिरहेको पोखरेल बताउँछन्। जस्तो– आमा, बुबाको ठाउँ 'ममी', 'ड्याडी' र मामा–माइजू, काका–काकीको ठाउँ 'अंकल', 'आन्टी' ले लिएको धेरै भइसक्यो। 'नेपाङ्ग्रेजी' ले मीठो नेपाली बिगारे पनि अंगे्रजी सिकेर अन्तर्राष्ट्रियस्तरमा बिक्न सक्ने पुस्ता हुर्किसकेको छ। त्यसो त, लेख्य नेपालीमा एकरूपता ल्याउन व्याकरण र भाषाशास्त्रीको 'युद्ध' पनि जारी नै छ। यसमा समस्या छ त केवल व्याकरण र भाषाशास्त्रीहरूको 'इगो' को।

डम्बरकृष्ण श्रेष्ठ
रोजीछाडीः ललितपुरको कुपन्डोलस्थित उत्तम क्रियसनमा २६ चैतमा पहिरन छनोट गर्दै डिल्लीबजार काठमाडौंकी स्नेहा पौडेल।
नेपाली भाषाको परिष्कार र मन्थनसँगै पुस्तक प्रकाशन र पठन संस्कृति पनि बढेको/बदलिएको छ। एकपछि अर्को प्रकाशनगृह थपिनुले पाठकमा भएको वृद्धि देखाउँछ। पहिले व्याजमा ऋण लिएर किताब छाप्ने लेखकहरू अहिले रोयल्टीबाट घर बनाउन थालेका छन्। पहिले विमोचन हुँदा सित्तैंमा पुस्तक बाँडिन्थ्यो, अहिले लेखकको हस्ताक्षरका साथ हातहातै बिक्री हुन थालेको छ। नेपाली समाजमा सुसंस्कृतहरूको संख्या कसरी वृद्धि हुँदैछ भने हिजोआज कविता पनि टिकट काटेर सुन्ने क्रम बढेको छ।

पहिरनः सुलभसँगै विविधता

कन्भर्स जुत्ता, जिन्स प्यान्ट, बेल्ट, टी–सर्ट, ज्याकेट र ढाडमा सानो रुकस्याक वा हाई हिल, स्कर्ट, हाफ प्यान्ट, आउटर, गगल्स र ढाडमा ब्याग। हिजोआज शहर–बजारमा देखिने नेपाली तन्नेरीको आम लवाइ हो, यो। नेपालीका लागि लुगा अब शरीर ढाक्ने वस्तुका रूपमा मात्र नरहेको बरु यो व्यक्तित्व झ्ल्काउने चिज हुन पुगेको देखाउँछ। नयाँ व्यक्तित्वले आत्मविश्वास बढाएको छ। दुई दशकअघिसम्म नयाँ लुगा लगाउन चाड कुर्ने र वर्षभरि दुई जोर लुगाले धान्ने नेपाली अहिले सस्तो र सुलभताले हरेक महीनाजसो नयाँ पहिरन फेर्छन्। पहिले विद्यार्थीलाई वर्षमा दुई सेट स्कूल ड्रेस पाउन गाह्रो हुन्थ्यो भने अहिले कतिपय निजी विद्यालयहरूले मौसम अनुसार चार सेटसम्म कपडा अनिवार्य गरेका छन्।

कुनै वेला नेपालीको पहिरन भनेको पुरुषको दौरा, सुरुवाल, भोटो, कछाड र महिलाको चौबन्दी, फरिया र पटुकी (तराईमा धोती, कमिज, गम्छा, फरिया, ब्लाउज) थियो। अहिले यस्ता पहिरन सांस्कृतिक कार्यक्रमहरूको शोभा बढाउन सीमित हुन थालेका छन्। चिनियाँ तयारी पोशाकको सुलभताले नेपालीको पहिरनमा आनकातान फरक ल्याइदिएको छ। संसारको कुनै पनि कुनामा चलेको फेशन डिजाइन साता वा महीना दिनमा नेपाली बजारमा आइपुग्न थालेको छ। ल्यान्डस्केप डिजाइनदेखि विभिन्न सामाजिक गतिविधिसम्ममा सक्रिय रिन्छेन योञ्जन भन्छिन्, “नेपाली समाजमा पहिरन हेरेर धनी र गरीब छुट्याउने समय सकियो।”

भाषामा एकरुपताः राजधानीस्थित उज्यालो ९० नेटवर्कको स्टुडियोमा समाचारवाचकद्वय गीता कँडेल र रोशन पुरी।
विश्वव्यापी फेशनको लहरले नेपाली चाडपर्व, बिहेदेखि कार्यालय र पार्टीमा जाने पहिरनमा समेत विविधता ल्याइदिएको छ। रुकस्याक र व्यागप्याक तन्नेरीदेखि अधबैंसेसम्मको व्यक्तिगत जीवनको अभिन्न अंग बनेको छ। प्यान्ट, हाफ प्यान्ट र स्कर्टमा सहज मान्ने युवती प्रशस्तै देखिन्छन्। कपडा पसलहरूमा थानको व्यापार ह्वात्त घटेको छ। २० वर्षअघि फेशन डिजाइनिङ सिकेर बुटिक खोलेका उत्तम बनेपाली मानिसहरूको पहिरनमा आकाश जमीनको अन्तर आएको बताउँछन्। उनका भनाइमा, शहर–बजारका कामकाजीहरू लुगामा व्यक्तित्व र मौसम खोज्न थालेका छन्। बनेपाली भन्छन्, “नेपालीहरू एउटा पार्टी वेयरकै लागि रु.१० हजारदेखि डेढ लाखसम्म खर्च गर्न थालेका छन्।”

युवा पुस्तामा बढेको 'ब्रान्ड सेन्स' का कारण नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता, एक्सेसरिज र कस्मेटिक कम्पनीहरूको व्यापारिक सूचीमा परेको छ। अध्येता डा. श्रेष्ठ पहिरन र बोलीचालीले नेपाली समाजलाई उन्नति र परिष्कारतिर लगेको बताउँछन्। उनका अनुसार, ४० वर्षअघिसम्म राजधानीमा जुत्ता लगाएको खुट्टा र टोपी नभएको टाउको विरलै देखिन्थे। “आज असन, इन्द्रचोक, नयाँसडकतिर न जुत्ताचप्पल नभएको खुट्टा देखिन्छ, न त टोपी लगाएको टाउको”, श्रेष्ठ भन्छन्।

पाका पत्रकार भैरव रिसाल पहिले १०० मा मुश्किलले तीन जनाको टाउको टोपीविहीन हुने गरेकोमा अहिले त्यसको ठीक उल्टो भएको बताउँछन्। पहिले लगाएका पुराना जडौरी कपडा पनि 'गिफ्ट' हुन्थ्यो, चिनियाँ रेडिमेडको आगमनले त्यो अवस्थालाई उहिलेको कुरा बनाइदिएको उनी बताउँछन्। साहित्यकार दीक्षित नेपालीहरूको लवाइ–खवाइमा आएको परिवर्तनलाई फड्को मान्छन्। २००७ सालपछि हुनेखानेको खुट्टामा चप्पल आएको सम्झ्ने उनी ऊवेला दरबारिया र जागीरेहरूले मात्र काँचो छालाको जुत्ता लगाउँथे। त्यो वेला खुट्टामा जुत्ता हुनु इज्जत–प्रतिष्ठा र रवाफको विषय थियो। आज खाली खुट्टा हिंड्ने नेपाली भेट्न मुश्किल पर्छ। “२००७ सालको आसपासमा आएका बंगाली शिक्षकहरूले मात्र प्यान्ट लगाउँथे, बाँकी नेपालीको पहिरन दौरा, सुरुवाल र कछाड थियो”, दीक्षित भन्छन्।

खुट्टामा जुत्ताः काठमाडौंको बसन्तपुर डबली नजिकै गफगाफमा व्यस्त सर्वसाधारण।
नेपालीमा बढेको शैक्षिक चेतना र आर्थिक वृद्धिको प्रभाव पहिरनमा देखिएको दीक्षित बताउँछन्। उनका अनुसार, चेतना र आर्थिक वृद्धिसँगै सहजता खोज्ने क्रममा अन्य पहिरनहरू आए। नेपालीको जीवनशैलीमा देखिएको परिवर्तनमा दुई दशक यता तीव्रगतिमा बढेको वैदेशिक रोजगारीले भित्र्याएको रेमिट्यान्सले पनि ठूलो भूमिका खेलेको छ। आज भारत बाहेक तेस्रो मुलुकमा रोजगारीका लागि पुगेका ३० लाख भन्दा बढी नेपालीले आउजाउ गर्ने क्रममा विदेशी पहिरन र आनीबानी समेत भित्र्याएका छन्। “पहिले पढेकाहरू भारत जान्थे, अहिले नपढेकाहरू पनि मलेशिया–कतारमा छन्”, समाजशास्त्री दाहाल भन्छन्, “तिनले पैसासँगै सीप र नयाँ जीवनशैली पनि भित्र्याएका छन्।”

आज गाउँ–शहरमा मोटरसाइकल वा स्कुटरमा हिंड्ने नेपालीको ढाडमा रहेको झ्ोलालाई 'मिनी अफिस' भन्दा हुन्छ। अर्थात्, नेपालीले बोक्ने झ्ोलाको भूमिका नै फेरिएको छ। मानवशास्त्री डम्बर चेम्जोङ झोला बोकेर निस्कँदा 'टाढै हिंडेको?' भन्दै सोध्ने पहिलाको चलन हराइसकेको बताउँछन्। उनी भन्छन्, “अब त आफूलाई व्यावसायिक र व्यस्त देखाउन पनि झोला भिरेर हिंड्ने चलन आयो।”

हुन पनि, पहिले सातु–सामल हुने झोला आज पुस्तक, ल्यापटप, क्यामरा, चार्जर, डायरी र फाइलदेखि हलुका कपडा, बडी स्प्रे र पानीको बोतलसम्मले भरिएका छन्। महिलाको ब्यागमा हेर्ने हो भने पुरुषकोमा भन्दा मेकअप सेट र टिस्युपेपर बढी देखिन सक्छ। यो 'फेशन' सँगै नेपालमै विभिन्न डिजाइनका ब्याग बनाउने उद्यम सप्रिएको छ।

comments powered by Disqus

रमझम