३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

स्वादिलो खाना स्वस्थ जीवन

Share:
  
- सन्त गाहा मगर
राजनीतिक खुलापनमा भएको पूर्वाधार, प्रविधि र सञ्चारको विकासबाट नेपालीको खानपान र स्वास्थ्यमा उल्लेख्य परिवर्तन आएको छ।

तस्वीरहरुः देबकी बिष्ट
काठमाडौं, थापागाउँकी जस्मिन सिटौला महीनाको दुई पटक सपरिवार रेस्टुरेन्ट जान्छिन्। झापामा जन्मे–हुर्केर काठमाडौंका रैथानेसँग घरजम गरेकी जस्मिनलाई पिज्जा, बर्गर, मःमको स्वादले नलोभ्याउने होइन, तर आँटो, ढिंडो, लोकल कुखुराको मासु र गुन्द्रुक जस्ता खानाका लागि रेस्टुरेन्ट जाने गरेको उनी बताउँछिन्। मानवशास्त्री डम्बर चेम्जोङ हिजो गरीबको खाना भनिने आँटो, ढिंडो अहिले पैसावालको मेनुमा परेको बताउँछन्।

काठमाडौं लगायतका शहरमा परम्परागत नेपाली खानाका लागि रेस्टुरेन्ट धाउने जस्मिन जस्ता ग्राहकको जमात बढ्दो छ। समाजशास्त्री डिल्लीराम दाहाल बाँच्नका लागि नभई स्वादका लागि खाने मध्यमवर्गीय नेपालीको संख्या बढ्दै गएको बताउँछन्। शहर बजारमा खुलेका हरेक होटल, रेस्टुरेन्टमा देखिने भीडले पनि यही संकेत गर्छ। एशियाली विकास ब्याङ्कको तथ्याङ्क अनुसार नेपालमा ६१ लाख ३० हजार मध्यम वर्गीय छन्।

दिनहुँ दशैं

साहित्यकार कमल दीक्षित पहाडमा दशैं वा कुनै ठूलो अवसरमा मात्रै चामलको भात खाने गरिएको स्मरण गर्छन्। तर अहिले चामलको भात गाउँ–गाउँको मुख्य खाना बनिसकेको छ। गत आर्थिक वर्षको तथ्याङ्कले पनि मकै, गहुँ, कोदो, फापर र जौको समग्र उत्पादन भन्दा धान बढी फलेको देखिन्छ। पहिला जे उत्पादन भयो त्यही मात्रै खाने चलन भएकाले पनि नेपालीको खानामा विविधता आएको थिएन। जस्तो, गहुँको सिजनमा गहुँ, आलुको सिजनमा आलु वा मकैको सिजनमा त्यही मात्र। त्यो वेला अहिले जस्तो रोजीरोजी मासु ल्याएर थरीथरीका परिकार खाने चलन पनि थिएन।

समाजशास्त्री दाहाल पैसा हुनेले पनि आफ्नो खेतबारीमा जे फल्छ त्यही मात्रै खाने गरेको बताउँछन्, 'हुँदा मात्रै खाने' को त कुरै अर्को। हाम्रा चाडपर्वहरू मूल रूपमा खानासँग जोडिनुको कारण पनि उहिले पर्याप्त खाना नभएरै होला भनेर अनुमान गर्ने दाहाल भन्छन्, “अण्डा खाँदा के–के न खायो भनेर हल्ला हुन्थ्यो, अहिले त आलु जति पनि गन्दैनन् अण्डालाई।” अध्येता तीर्थबहादुर श्रेष्ठ पनि परिचितहरू भेट हुँदा 'भान्सा भयो?' भन्ने प्रश्न गर्नुले खानाको अभाव दर्साएको बताउँछन्। खानै नपाइएला कि भन्ने चिन्ता भएरै त्यस्तो प्रश्नले महत्व पाएको श्रेष्ठको बुझाइ छ।

आफ्नो पालामा मासु खानका लागि दशैं नै पर्खनुपर्ने बताउँदै पत्रकार भैरव रिसाल भन्छन्, “माछा–मासुको प्रयोगलाई आधार मान्ने हो भने अहिले हरेक दिन दशैं जस्तो भइसकेको छ।” रिसालको अनुभवमा तीन दशकअघि दालभातमा रमाउनेहरूका लागि अहिले माछामासु, तरकारी, अचार अनिवार्य भइसकेको छ। उनी भन्छन्, “हिजोआज धेरैले फ्रिजमा विभिन्न थरीका माछामासु राखेका हुन्छन्।”

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को अध्ययनले नेपालको गरीबी साढे दुई दशकमा अपेक्षा गरे भन्दा बढी घटेको देखाउँछ। सन् १९९० मा युएनडीपीले ल्याएको सहस्राब्दी विकास लक्ष्यमा दैनिक आम्दानी एक अमेरिकी डलर भन्दा कम हुनेको जनसंख्या ३३.५४ बाट सन् २०१५ भित्र १७ प्रतिशत पुर्‍याउने लक्ष्य २०१३ मै पूरा भइसकेको छ। एक डलर भन्दा कम दैनिक आम्दानी गर्ने नेपालीको संख्या १६.४ प्रतिशतमा झ्रिसकेको छ।

पूर्व अर्थ सचिव रामेश्वर खनाल प्रोटिनका लागि भटमास खानेहरूले अण्डा, मासु खान थालेको बताउँछन्। पंचायती व्यवस्थाको अन्त्यपछि नेपालीहरूको खानामा विविधता आएको बताउने खनालका भनाइमा, त्यसअघिसम्म काठमाडौंका डेरावाल र घरबेटीको खानामा अन्तर देखिंदैनथ्यो। “घरबेटीले पैसा नभएर डेरावालले जस्तो खाएको पक्कै होइन”, खनाल भन्छन्, “अनुदार व्यवस्थाका कारण पैसा हुँदाहुँदै पनि खर्च गर्ने चलन नभएर त्यस्तो भएको हो।”

समाजशास्त्री दाहाल मान्छेले के खान्छ भन्ने कुरा उसको चेतनामा निर्भर हुने बताउँछन्। उनका अनुसार, सञ्चारमाध्यमको विकास, रोजगारी–अध्ययनका लागि विदेश जाने चलन आदिले नेपाली जिब्रो फरक–फरक स्वादमा अभ्यस्त हुँदै गयो। काठमाडौंका रेस्टुरेन्टहरूमा 'शुशी', 'शाशीमी', 'टापाज', 'पिज्जा', 'बर्गर' आदिको बजार बढ्नुले नेपालीहरू अन्तर्राष्ट्रिय स्वादप्रति आकर्षित हुँदै गएको देखाउँछ।

स्वास्थ्य हेरी खाना

समाजशास्त्री चेम्जोङ खानेकुरा छनोटमा स्वास्थ्य चेतनाले पनि महत्वपूर्ण भूमिका खेलेको बताउँछन्। जस्तो मकैको आँटो खानु, कोलेस्ट्रोल कम भएको मासु रोज्नु, चिनीको प्रयोग कम गर्नु आदि। कडा शारीरिक श्रम गर्नु नपर्नेहरूले निरोगी हुनकै लागि 'मर्निङ वाक्', जीम तथा अन्य खेलकुदमा समय खर्चिएको देखिन्छ। पत्रकार रिसाल पनि नेपालीको स्वास्थ्य जागरुकता निकै बढेको बताउँछन्। “गर्भवती महिला धुम्रपान, मद्यपानबाट टाढै रहन थालेका छन्”, रिसाल भन्छन्, “अचेल आमाले मुखमा चुरोट च्यापेर दूध खुवाउँदै गरेको दृश्य देखिंदैन, बरु खोप लगाउने ठाउँमा भीड देखिन्छ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार अहिले देशभरि ६३ हजार ३२६ महिला स्वास्थ्य स्वयम्सेविका र ४ हजार ३९६ वटा सरकारी अस्पताल, स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र आयुर्वेदिक स्वास्थ्य केन्द्र छन्। सन् १९७८ अघि मेडिकल शिक्षाका लागि विदेशिनुपर्थ्यो अहिले नेपालमै १९ वटा मेडिकल कलेज सञ्चालनमा छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल नर्सिङ होमहरूको विस्तारसँगै सरकारी अस्पतालहरू सुधारतर्फ गएको बताउँछन्।

युएनडीपीले विकास लक्ष्यमा पाँच वर्षमुनिका प्रति हजार बालबालिकाको मृत्युदर सन् २०१५ मा ५४ मा झ्ार्ने लक्ष्य लिइएकोमा चार वर्षअघि नै त्यो लक्ष्य पूरा भएको छ। विश्व स्वास्थ्य क्षेत्रको तथ्याङ्क अनुसार सन् २०१२ मा प्रति हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४२ पुगिसकेको छ। यस्तै १९९० मा प्रति लाखमा ८५० मातृ मृत्युदर रहेकोमा युएनडीपीले २०१५ भित्र २१३ मा बनाउने लक्ष्य लिएको थियो। त्यो संख्या पनि २०१३ मै १७० मा झ्रेको छ। १९९० मा नेपालीको औसत आयु ५३.९६ वर्ष रहेकोमा अहिले ६८.७३ पुगेको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. जगदीशप्रसाद अग्रवाल वातावरणीय प्रदूषण र खानपानमा ध्यान दिन सके नेपालीको औसत आयु अझ्ै बढ्ने विश्वास व्यक्त गर्छन्। मध्यम वर्गीयहरूमा बिरामी नहुँदै नियमित चेकअप गर्ने बानी विकास भएको उनको अनुभव छ। प्रा.डा. अग्रवाल भन्छन्, “छरछिमेक वा साथीभाइ बिरामी भएको देखेर आफ्नो चेकअपका लागि आउने चलन बढेको छ।”

comments powered by Disqus

रमझम