३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

युगै फेरियो

Share:
  
- रमेश कुमार
आयआर्जनका माध्यम फराकिलो बन्दा मध्यमवर्गको विस्तारसँगै देशभर किनमेल र मनोरञ्जनको परम्परागत अर्थ फेरिएको छ।

देवकी बिष्ट
किनमेलः नक्सालको भाटभटेनीमा पुरानो बानेश्वरबाट सपिङ्ग गर्न आएका सुरजविक्रम शाह परिवारका साथ।
के किन्ने? मोटरसाइकल, गाडी वा घर? अब पैसाको जोहो गर्न गाह्रो छैन। ब्याङ्क तथा वित्तीय संस्थाको संख्या र त्यसमा आम मानिसको पहुँच बढेपछि किस्तामा रकम तिर्ने गरी सबै वस्तु र सेवा उपलब्ध हुन थालेको छ। ऋण लिएर काम चलाउने र आयबाट क्रमशः तिर्दै जाने क्रेडिट कल्चर नेपालको शहरी क्षेत्रमा सामान्य हुन थालिसकेको छ। अध्येता डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, “पहिलाको नेपाली समाजमा ऋणी हुनु अभिशाप थियो, अब ऋण लिएर शानको जिन्दगी बिताउनु पनि गर्वको कुरा बनिसकेको छ।”

राजधानी बस्ने रसुवाका योगेन्द्रराज न्यौपानेलाई मोटरसाइकल किन्ने जोहो ब्याङ्कले गरिदियो। किस्ताको बाइक चढिरहेका उनी जस्ता थुप्रैको 'मोबिलिटी' लाई कर्जा संस्कृतिले बढाइदिएको छ। यस्तै कर्जाबाट बालाजुमा घर बनाएका राजेन्द्र आचार्य ब्याङ्किङ प्रणाली मध्यम वर्गको सपना पूरा गर्ने माध्यम बनेको बताउँछन्। यो बुझेकाहरूले उपभोग्य वस्तु खरीदमा पनि कर्जा प्रयोग गरिरहेका छन्।

ऋणलाई दशा मान्ने सामाजिक मनोविज्ञान अब ऋणबाटै व्यवसाय विस्तार गर्न र दैनिक जीवनमा सुविस्ता थप्न तल्लीन छ। ब्याङ्कर परशुराम कुँवर क्षेत्री नेपाली ब्याङ्कहरूले सन् २००० पछि धमाधम उपभोक्ता कर्जा विस्तार गरेको बताउँछन्। उनका अनुसार, गाडी किन्न र घर बनाउन 'हायर पर्चेज' शीर्षक अन्तर्गत ऋण प्रवाह गरेका ब्याङ्कहरू अहिले उपभोक्ताका अन्य आवश्यकता पूरा गर्न अग्रसर छन्। चालु आवको पहिलो सात महीनामा ब्याङ्क तथा वित्तीय संस्थाहरूले करीब रु.४५ अर्ब उपभोग्य कर्जा प्रवाह गरेको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ। ब्याङ्कर कुँवर क्षेत्री भन्छन्, “ब्याङ्कहरू आफैं ऋणी खोज्दै घरघर जानुपर्ने अवस्था आउँदैछ।”

अब त्यस्ता शहरिया नेपाली कमै बाँकी छन्, जसको वालेटमा डेबिट कार्ड (एटीएम) नभएको होस्। सरसामान किन्दाको भुक्तानीमा होस् वा रकमको लेनदेन, एटीएमबाट रकम निकालेर तिर्ने चलन शहरिया नेपालीको जीवनशैली बनेको छ।राष्ट्र ब्याङ्कका अनुसार, गत पुससम्ममा डेबिट कार्ड चलाउने नेपालीको संख्या ३० लाख ७५ हजार पुगेको छ। वाणिज्य, विकास ब्याङ्क र वित्त कम्पनीहरूले ग्राहकलाई निःशुल्क डेबिट कार्ड दिन थालेका छन्। कार्डको चलनले भुक्तानीमा चेक प्रयोग घटाएको छ। वाणिज्य ब्याङ्कहरूले मात्र जारी गर्ने क्रेडिट कार्डको प्रयोग पनि बढिरहेको छ।गत पुससम्ममा विभिन्न ब्याङ्कबाट क्रेडिट कार्ड लिनेको संख्या ५४ हजार ६४ पुगेको छ।

आधुनिक हाट सुपरमार्केट

चार दशकअघि काठमाडौंको विशाल बजारबाट शुरू भएको सुपरमार्केट संस्कृति अहिले मुलुकका सबैजसो प्रमुख शहरमा विस्तार भएको छ। यसबाट पुराना हाटबजारहरू हराउँदै गएका छन्। शहर र नगरोन्मुख ठाउँहरूमा डिपार्टमेन्टल स्टोर, मल वा सुपरमार्केट संस्कृति बढ्दो छ। काठमाडौं उपत्यकाभित्र मात्र डेढ दर्जनभन्दा बढी ठूला मल वा सुपरमार्केट सञ्चालनमा छन्। साना र मध्यमस्तरका स्टोरहरू टोलैपिच्छे छन्। यस्ता किनमेल केन्द्रहरू समय व्यवस्थापन, सुपथ मूल्य र एकै ठाउँमा सुनदेखि नुनसम्मका गुणस्तरीय सामानका लागि लोकप्रिय भइरहेका छन्। रेमिट्यान्स र आन्तरिक आर्थिक क्रियाकलापको वृद्धिबाट सर्वसाधारणको हातमा रकम पर्न थालेपछि सुपरमार्केट, मल वा स्टोरहरू बढेको कुरामा शंका छैन।

डा. श्रेष्ठ पहिले गाउँले किनमेलमा पर्ने नुन, मट्टीतेल, मरमसला, लुगा र शहरी किनमेलका खान्की र लत्ताकपडाको सूचीमा अब सयौं थरी सामान परिसकेको बताउँछन्। 'आवश्यकता' ले भन्दा 'सोख र रहर' ले किनमेल गर्नेको संख्या बढ्दो छ। यो सब आय वृद्धिका कारण भएको बताउने समाजशास्त्री डिल्लीराम दाहाल घरायसी सरसामान किन्न दशैंतिहार जस्ता चाड पर्खने चलन अब इतिहास बनेको बताउँछन्।

पाटन क्याम्पसका अर्थशास्त्र विभाग प्रमुख डा. गोविन्द नेपाल पछिल्लो दशकमा नेपालीहरूको उपभोग स्वभावमा अभूतपूर्व परिवर्तन आएको बताउँछन्। उनका अनुसार, पछिका लागि बचतभन्दा उपभोग्य वस्तुको किनमेल गरिहाल्ने प्रवृत्ति बढेको छ। गाउँघरमा समेत वस्तु र सेवाको उपभोग बढेको उनको ठम्याइ छ। यसैगरी, साहित्यकार कमल दीक्षित मरमसलादेखि लत्ताकपडासम्म र खाद्यान्नदेखि मट्टीतेलसम्म पाइने ठाउँ भनेर बुझिने बजारको परिभाषा नै फेरिएको बताउँछन्। “अहिले त क्रेता र बिक्रेताको भेट नभई पनि इन्टरनेटबाट किनमेल हुन थालेको छ”, दीक्षित भन्छन्।

मध्यमवर्ग जिन्दावाद

नेपालमा जनसंख्याको चौथाइ परिवार आय र सम्पत्तिका हिसाबले मध्यमवर्गमा उक्लिएको अनुमान छ। सन् २०१० मै नेपालको २३.४ प्रतिशत जनसंख्याले दैनिक १५० देखि १५०० सम्म आम्दानी गर्ने गरेको एशियाली विकास ब्याङ्कको प्रतिवेदन बताउँछ। कृषिमा आधारित अर्थतन्त्रमा क्रमिक परिवर्तन हुँदा मध्यमवर्गको उदय भयो। कृषिमा निर्भर कुल गार्हस्थ अहिले करीब ३५ प्रतिशतमा ओर्लिइसकेको छ भने सेवा क्षेत्रको हिस्सा आधाभन्दा बढी पुगेको छ। यसबाट उपभोग संस्कृति आएको डा. नेपालको बुझाइ छ।

अर्थतन्त्रमा सेवा क्षेत्रको भूमिका बढ्नु भनेको मानिसको आयस्रोतको माध्यम बढ्नु हो। होटल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा, ब्याङ्क तथा बीमा, संघ–संस्था, सफ्टवेयर कम्पनी आदिको वृद्धि र रेमिट्यान्सका कारण नेपालीको आयस्रोतको दायरा फराकिलो भएको छ। सेवामूलक क्षेत्रमा बढी आम्दानी हुँदा खर्च गर्ने प्रवृत्तिमा नसोचिएको परिवर्तन आएको छ। यसरी बढेको उपभोगसँगै उत्पादन बढाउन रोजगारी र आर्थिक क्रियाकलाप विस्तार हुँदा अर्थतन्त्रको वृद्धिमा सहयोग पुग्छ।

खर्चयोग्य आयमा भएको सुधार, रेमिट्यान्स तथा देशभित्रै बढेको आर्थिक गतिविधिबाट कमाएका समूहका कारण विलासी वस्तुको पनि आयात बढेको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार, चालु आवको पहिलो ६ महीनामा रु.१२ अर्ब १५ करोडको सुन र रु.५ अर्ब २३ करोडको चाँदी आयात भएको छ। करीब रु.१ अर्बको हीरा र बहुमूल्य पत्थर पनि भन्सारका नाकाबाट आयात भएको छ। २०६८/६९ मा रु.३० अर्ब ४८ करोडको सुन र बहुमूल्य धातु आयात भएकोमा त्यसपछिको आवमा यो रकम रु.३३ अर्ब ८४ करोड पुग्यो।

महँगा सवारी साधनको आयात पनि उत्तिकै बढिरहेको छ। चालु आवको पहिलो ६ महीनामा रु.१६ अर्ब ८८ करोड बराबरको गाडी र पार्टपुर्जा आयात भएको छ। यसैगरी, चालु आवको पहिलो ६ महीनामा रु.१ अर्ब १२ करोडभन्दा बढीको सौन्दर्य प्रसाधन भित्रिएको छ। यो परिमाण अघिल्लो वर्षको भन्दा २२ प्रतिशत बढी हो। चालु आवको पहिलो ६ महीनामा रु.५८ करोड ७० लाखको क्यामेरा, रु.३० करोडको खेलौना, रु.६ अर्बको मोबाइल, रु.२१ करोड १७ लाखको घडी र रु.२ अर्ब ६५ करोडको टेलिभिजन आयात भएको छ।

राजधानीको मण्डला थिएटर।
कतिसम्म भने, केही वर्षअघिसम्म विरलै नाम सुनिने डाइपर, टिस्यु पेपर, न्यापकिन र ट्वाइलेट पेपर जस्ता सामानको आयात पनि बढेको छ। बालबालिकाको स्याहारमा टालोको सट्टा डाइपर र व्यक्तिगत सरसफाइमा रुमालको साटो टिस्यू पेपरको प्रयोग बढ्दो छ। भर्खरै पिर्का छोडेका नेपालीहरूको डाइनिङ टेबुलमा न्यापकिन स्थापित भइसकेको छ। यो सब मध्यम वर्गको वृद्धिबाट भएको हो।

फेरियो मनोरञ्जन

नेपाली गाउँले मनोरञ्जनको एउटा वान्कीको रूपमा रहेको दोहोरी पछिल्लो दशकमा व्यवसायीकरण भएर शहरका होटल–रेस्टुरेन्टहरूसम्म आइपुगे पनि डबली, रोधी, बालन, भजन, देउडा जस्ता परम्परागत मनोरञ्जनका तरीकाहरू फेरिएको छ। चलचित्र निर्देशक यादव खरेल मनोरञ्जनका स्रोत इन्टरनेट र अरू विद्युतीय माध्यम बन्न पुगेको बताउँछन्। मनोरञ्जनमा विश्वव्यापीकरणको प्रभाव ह्वात्तै बढेको बताउँदै खरेल भन्छन्, “नेपालीको मनोरञ्जनको तरीकामा बहुआयामिक परिवर्तन आएको छ।”

राणाकालको उत्तरार्द्धतिर भित्रिएको रेडियो र सिनेमा २००७ पछि आम नेपालीसम्म पुग्न थालेको थियो। दरबारमा सीमित चलचित्र प्रदर्शनी वा नाटकहरू प्रजातन्त्र स्थापनापछि क्रमशः विस्तार भएको खरेल बताउँछन्। जनसेवा लगायतका हल खुलेपछि काठमाडौंका सर्वसाधारणले सिनेमा हेर्न पाएका थिए। २०३० को दशकबाट डिस एन्टेना राखेर भारतीय टेलिभिजन हेरेका काठमाडौंवासीले २०४२ सालपछि आफ्नै नेपाल टेलिभिजन हेर्न थाले।

२०५० को दशकमा इन्टरनेट भित्रिएपछि नेपालीको मनोरञ्जनमा नसोचेको 'सिफ्ट' आयो। अहिले कुल जनसंख्याको ३०.७० प्रतिशतको पहुँचमा इन्टरनेट पुगेको छ भने ३७ प्रतिशत नेपालीको घरमा टेलिभिजन छ। एउटै मात्र प्रेक्षागृह भएका सिनेमा हलहरू एकै समयमा चार–पाँच वटा फिल्म हेर्न सकिने मल्टिप्लेक्समा रूपान्तरण भइरहेका छन्। दूरदराजका नेपाली बजारहरूमा समेत बलिउड र हलिउडका फिल्महरू तात्तातै पुग्न थालेका छन्।

comments powered by Disqus

रमझम