३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

अधिकारले उन्नत

Share:
  
- रामेश्वर खनाल
मान्छेको पहिचान देखिंदा राष्ट्रप्रतिको माया बढ्छ।

डम्बरकृष्ण श्रेष्ठ
पुसको दोस्रो साता मलेशियाबाट स्वदेश फर्कंदै वैदेशिक रोजगारमा गएका नेपाली।
२०४६ अघि उच्च शिक्षाको कुनै कुनै कक्षामा एक जना पनि छात्रा हुँदैनथे। अहिले नेपालभरका सामुदायिक कलेजमा ५० प्रतिशत छात्रा छन्, कुनै–कुनै कलेजमा त ८० प्रतिशतसम्म। यो राजनीतिक परिवर्तनले सामाजिक तहमा ल्याएको चेतना र परिवारभित्र उदारवाद प्रवेश गराएको गतिलो प्रमाण हो। २०४० सालतिर काठमाडौं, पोखरामा छोरीलाई डेरामा राखेर पढाउनु असम्भवप्रायः थियो, अहिले बुहारीलाई पनि पढाउँछन्। विदेश जान लागेका छोरी–बुहारीलाई बिदाइ गर्न एअरपोर्टमै आइपुग्छन्। धार्मिक लगायतका कारणले धेरै देशमा यस्तो उदार परिवार भेट्न गाह्रो हुन्छ।

पहिला गाउँघरतिर 'टोपी नलगाउने मान्छे' ले बोल्नुहुँदैन भनेर महिलाहरूलाई रोकिन्थ्यो। अंशबन्डा लगायतका घरायसी कुरामा पनि महिलालाई बोल्ने अधिकारबाट बन्चित गरिन्थ्यो। अहिले सरकारी, सामुदायिक सबै ठाउँमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व कानूनले नै अनिवार्य गरेको छ। मानव विकास सूचकांकमा माथि रहेका जिल्लाहरूमा जातभातको कुरा हराउन लागिसकेको छ। परम्परावादी बाहुन, क्षेत्रीहरूले पनि जडसूत्रवादी सोच फालिसकेको प्रतीत हुन्छ। यसलाई ठूलै परिवर्तन मान्नुपर्छ।

पंचायतकालमा बाग्लुङ, सुर्खेतमै पनि सडक पुगेको थिएन। अहिले ३९१५ गाविसमध्ये करीब ३५०० गाविसमा पुगिसकेको छ। २०४६ अघि पनि काठमाडौंको करीब आधा जनसंख्या मध्यम वर्ग भइसकेको थियो तर उनीहरू 'शो' गर्दैनथे। २०३४ सालमा काठमाडौंमा डेरा गर्दा घरबेटी र मेरो रेडियो उस्तै थियो। फरक देखिने विकल्प नपाएका काठमाडौंका मध्यम वर्ग बजारमा मोटरसाइकल, फ्रिज भए पनि किन्दैनथे। २०४६ को परिवर्तनले विकल्पहरूसँगै त्यसलाई प्रयोग गर्ने आँट दियो। मान्छेहरूले खुलेर सम्पत्ति देखाउन थाले। अहिले विद्युत् पुगेको ठाउँमा फ्रिज नभएको घर कमै भेटिन्छ। लोकतन्त्रमा आफ्नो सम्पत्तिमा कसैको आँखा नलाग्ने भएकोले मानिसहरूले 'शो' गर्दै उपभोग गर्न थालेका हुन्।

सेवा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ। सामान ढुवानी गर्न सजिलो भएपछि स्वास्थ्य चौकीहरू पक्की भएका छन्, एक्सरे मेशीन पुगेका छन्। विस्तारै गाउँ र शहरबीचको अन्तर कम हुँदैछ। समुदायले रेडियो, ई–लाइब्रेरी चलाएका छन्। कृषि र घरायसी कुरामा पनि धमाधम प्रविधि प्रयोग हुन थालेको छ। तावाले काम चलिरहेको ठाउँमा माइक्रोओभन चलाउँछन्। धान काट्न हार्भेस्टरको प्रयोग हुन थाल्यो। पर्याप्त बिजुली भए अझै यान्त्रीकरण बढ्ने थियो। सार्की, कामी, बाहुन सबैले आ–आफ्नो काममा यान्त्रीकरण गर्थे। पंचायतकालमा बिजुली पुगे पनि सबैले जोड्दैनथे, टेलिफोन लाइनका लागि दर्खास्त हाल्दैनथे। अहिले यी नभई नहुने चिज भएका छन्।

२०४६ अघि पनि भाषाहरू थिए, तर कति भाषा बोलिन्छ, थाहा हुँदैनथ्यो। पृथ्वीनारायण शाहको 'चार वर्ण छत्तीस जात' भन्ने भनाइ बाहेक कति थरीका नेपाली छन्, थाहा थिएन। ४६ पछि सरकार आफैं उत्तरदायी भएर यति छन् भन्ने तथ्यांक निकाल्न थाल्यो र आफ्नो मातृभाषा बोल्दा गर्व गर्ने अवस्था आयो। म अहिले खरर्र भन्न सक्छु– नेपालमा १२६ भाषा बोलिन्छन्। अहिले मान्छेहरू स्वेच्छाले जातीय पहिरन लगाएर हिंडेको देखिन्छ। समग्रमा भन्दा नेपालीले आफ्नो परम्परा, संस्कृतिमा गर्व गर्ने भए। यो अवस्था राजनीतिक परिवर्तनबाट आएको हो। पंचायतले कर गर्दा पनि सबैले दौरा–सुरुवाल लगाएनन्, तर अहिले स्वस्फूर्त रूपमा लगाएर हिंड्छन्।

पंचायतकालमा अधिकार वा पहिचान माग्न पाइँदैनथ्यो। राष्ट्रिय पंचायतमा अहिले संसद्मा जस्तो हिन्दी वा अरू भाषा बोल्न पाइँदैनथ्यो। तर, मान्छेको जातीय, भाषिक, क्षेत्रीय, लैंगिक आदि पहिचान गुम्सिनु हुँदैन, देखिनुपर्छ। पहिचान देखिंदा नै राष्ट्रप्रतिको माया बढ्छ र उन्नत हुन्छ। अहिले यही राजनीतिक चेतनाबाट सबै दल समावेशीपन हुनुपर्छ भनेर लागेका छन्।

(खनाल पूर्व अर्थसचिव हुन्।)

comments powered by Disqus

रमझम