३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

पर्यटक नेपाली

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
मठ–मन्दिरको यात्रामा सीमित नेपाली अलिकति फुर्सद हुनासाथ देश–विदेश विचरण गर्न थालेका छन्।

डम्बरकृष्ण श्रेष्ठ
पारिवारिक घुमघामः गत वैशाखमा परिवार सहित मुगुको रारा ताल घुम्न हिंडेका काठमाडौंका तारक धिताल र सिन्जन कोइरालाको परिवार।
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल फुर्सदमा सपरिवार घुमघाममा निस्कन्छन्। अघिल्लो वैशाखमा उनी परिवार र साथीभाइका साथ मुगुको रारा तालमा थिए (हे. तस्वीर)। वर्षमा कम्तीमा पनि एक पटक घुम्न जानुपर्छ भन्ने मान्यता राख्ने धिताल भन्छन्, “पहिले बाहिर धेरै घुमियो, अहिले आफ्नै देशदर्शन गर्ने हो।”

नेपालीमा घुमघामको संस्कार बढेको २०४६ सालपछि हो। त्यसअघि पाँच जना मान्छेको जमघट नसहने पञ्चायतकाल घुमघामका लागि पनि उपयुक्त थिएन। पंचायतकालीन बन्द समाजमा मानिस फुर्सदमा तास, पासा, लुँडो, क्यारेम खेलेर बस्थे। काठमाडौं भित्रिन र बाहिरिन पनि सरकारी अनुमति चाहिने राणाकालमा वर्षको एक पटक खुल्ला हुने गाईजात्रामा मानिसहरू जुवामा मस्त हुन्थे। वृद्धवृद्धाहरू भने तीर्थयात्राका लागि भारतका चारधाम र नेपालकै केही मठमन्दिर जान्थे। “ऊवेला जहाँ गए पनि हिंड्नै पर्ने भएकाले पनि घुमघामको संस्कार बसेन”, साहित्यकार कमल दीक्षित भन्छन्, “अहिले भने यातायातको विस्तारसँगै नेपालीको आर्थिक स्तर पनि बढ्दै गएकाले घुमघामको संस्कार बढेको छ।

पैसा भएपछि पर्यटक

पछिल्लो समय वैदेशिक रोजगारी, नयाँ–नयाँ इलम, व्यापार–व्यवसाय, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससको जागीर आदिका कारण नेपालीसँग प्रशस्त पैसा छ। यो सम्पन्नताले फुर्सदलाई नयाँ ढंगबाट सदुपयोग गर्ने चलन बढेको छ। समाजशास्त्री डिल्लीराम दाहाल पछिल्लो समय नेपाली सपरिवार रेस्टुरेन्टमा खान वा अलि टाढै घुम्न जाने गर्न थालेको बताउँछन्। “राजधानीमै घर भएकाहरू पनि साताको एक दिन आसपासका होटल, रिसोर्टमा गएर रु.२ हजारमा लञ्च र पौडी खेल्नेदेखि रु.९ हजारसम्म तिरेर 'वान नाइट स्टे' गर्न थालेका छन्”, दाहाल भन्छन्, “प्रशस्त पैसा भएपछि आफ्नै देशका मनोरम ठाउँहरूमा जानेदेखि थाइल्याण्ड, सिंगापुर, मलेशिया, हङकङ घुमेर रमाउने नेपाली बढ्न थालेका छन्।”

डुंगा सररः पर्यटकीय शहर पोखराको फेवातालमा नेपाली पर्यटक।
एभरेष्ट म्याराथुन, लुम्बिनी पिस म्याराथुन, अन्नपूर्ण एडभेञ्चर रेस, बुद्धिष्ट सर्किट जस्ता आयोजना गर्ने नौलो पर्यटन अभियानकर्ता विक्रम पाँडे नेपालीहरू मज्जैले घुमघाममा लागेको बताउँछन्। जेठ २०३१ मा नेपाल आएकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पोखरालाई 'एशियाको स्वीट्जरल्याण्ड' भनेको सम्झ्ँदै पाँडे भन्छन्, “त्यो समयमा नेपालीमा घुम्ने बानी नै थिएन, तर अहिले वर्षेनि पोखरा घुम्ने करीब चार लाख पर्यटकमध्ये ४० प्रतिशत नेपाली छन्।”

नेपालीको पुरानो धार्मिक यात्रामा अब सुन्दर ठाउँहरू हेर्ने 'होलिडे कल्चर' थपिएको छ। २०१८ सालमा बुबालाई भारतको बद्रीनाथ र केदारनाथ पुर्‍याएका चित्रकार कर्ण मास्के अहिले आफैं तीर्थ यात्रासँगै मनोरम ठाउँहरूमा पुगिरहन्छन्। पाटन, नागबहालका प्रकाश धाख्वा फुर्सद हुनासाथ साइकल चढेर उपत्यका आसपासका ठाउँ चहार्छन्। घरमा कार भए पनि उनी बढीजसो साइकलमै यात्रा गर्छन्। उनी भन्छन्, “घुमघाममा निस्कनेहरूका लागि साइकलको सवारी स्वास्थ्यको लागि समेत फाइदाजनक छ।”

नेपालीले घुमघामको संस्कार विदेशीबाटै सिकेका हुन्। सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेपछि नेपालको परिचय र यहाँको हिमालयबारे विश्वभर प्रचार भयो, नेपाल हेर्न आउने विदेशी बढे। सडक यातायात नभएको त्यो समयमा सन् १९५० मा बनेको गौचरन हवाई अड्डा (हालको त्रिभुवन विमानस्थल) वरदान सावित थियो। १९५६ मा त्रिभुवन राजपथ बनेपछि पर्यटकका लागि स्थलमार्ग समेत खुल्यो। तर पर्यटक आगमनको रफ्तार भने १९६२ पछि बढ्यो। अहिले वर्षेनि ६ लाख विदेशी पर्यटक आउन थालेका छन्। पर्यटन व्यवसायी पाँडे नेपालीमा बढेको घुमघामको संस्कारमा विदेशी पर्यटकको बढ्दो संख्याको ठूलो प्रभाव रहेको बताउँछन्।

जोमसोम पोजः चैतको दोस्रो साता मुक्तिनाथ जाने क्रममा रामप्यारा श्रेष्ठ, प्रतिमा दाहाल, निका श्रेष्ठ, चन्दा श्रेष्ठ र प्रमिषा श्रेष्ठ ।
अहिले नेपालमा एक हजारभन्दा बढी ट्राभल्स एन्ड टुर्स कम्पनी र त्यति नै संख्यामा टे्रकिङ एजेन्सीले देशका कुनाकुनामा सञ्जाल फैलाएका छन्। एक दिनदेखि दुई सातासम्मको प्याकेज किनेर घुम्न जाने नेपालीको संख्या बढ्दो छ। पोखरा, जोमसोम, मुक्तिनाथ, सौराहा, लुम्बिनीदेखि माउन्टेन फ्लाइटसम्ममा नेपालीको संलग्नता उल्लेख्य छ। अन्नपूर्णको फेरो मार्नेदेखि सीमापारिको मानसरोवर पुग्नेसम्मका यात्रामा नेपाली बढेका छन्। आन्तरिक पर्यटनका लागि ठाउँठाउँमा होटल, रिसोर्ट र होम स्टेहरू खुलेका छन्। नेपालीमा बढेको घुमघाम संस्कृतिले आन्तरिक हवाई सेवाको विस्तारमा समेत सघाउ पुगेको छ। चालु आर्थिक वर्षमा १५ लाखभन्दा बढी यात्रुले आन्तरिक उडान गरेका थिए।

विश्वकै उत्कृष्ट प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रूपमा रहेको नेपाल उच्च हिमाल र नदीनालाका कारण साहसिक पर्यटनको लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ। साहसिक पर्यटनका र्‍याफिटङ, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङ, कायकिङ आदिमा पनि नेपालीको आकर्षण बढ्दो छ। यहाँको प्राकृतिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक पर्यटनमा आउने लाखौं पर्यटकमा नेपालीको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ। सरकारले चलाएको 'नेपाल भ्रमण वर्ष १९९८' र 'नेपाल पर्यटन वर्ष २०११' जस्ता अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुर्‍यायो। आन्तरिक पर्यटन बढाउन देशभरका शहर र जिल्ला–जिल्लामा विभिन्न उत्सव र महोत्सव पनि आयोजना हुन थालेका छन्।

comments powered by Disqus

रमझम