३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

सुख वृद्धि

Share:
  
- रमेश कुमार
नेपालीको जीवनशैलीमा नसोचेको सहजता ल्याएको यातायात, सञ्चार र पूर्वाधार विस्तारले आर्थिक प्रगतिमा पनि सघाएको छ।

प्रविधिको फड्कोः अस्ट्रेलियाको एडिलेटमा रहेका आफ्ना नातिनी रमिता र यमीसँग स्काइपमा कुरा गर्दै बसुन्धरा निवासी माधवी बडू।
नुवाकोट सदरमुकाम विदुरबाट करीब २५ किलोमिटर उत्तरपश्चिममा पर्ने फिकुरी गाविसका अधिकांश बासिन्दा आय स्रोत खोज्न बाहिरिन्थे। पाँच वर्षअघि मोटर आएपछि भने यो दुर्गम गाविसमा चमत्कार भित्रिएको छ– तरकारी र अम्लिसो खेतीको रूपमा। मोटरले बजारसँग जोडेपछि शुरू भएको व्यावसायिक खेतीले गाउँले जीवनस्तरमा गजबले परिवर्तन आएको छ। बारीमै आइपुग्ने व्यापारीहरूलाई हरियो केराउ, बन्दा, काउली लगायतका तरकारी र अम्लिसो बेच्ने यो गाउँमा सालैपिच्छे रु.२/३ लाख नगद नकमाउने वा बोर्डिङ स्कूलमा छोराछोरी नपढाउने कुनै परिवार छैन।

ललितपुर, ग्वार्कोबाट २० किमी पर काभ्रेको रयाले गाविसका किसानले पनि तरकारी खेतीबाट मनग्ये आम्दानी बढाएका छन्। सबै वडामा सडक पुगेपछि यस्तो सम्भव भएको हो। शहरबाट तरकारी लिन गाडी आउन थालेपछि आर्थिक गतिविधि बढेको यो गाविसमा अहिले दुई वटा त एसएलसीसम्म पढाइ हुने बोर्डिङ स्कूल नै खुलेका छन्।

सडक र संचारको करामत

पछिल्ला दुई दशकमा देशभर सडक विस्तारले ल्याएको परिवर्तनका उदाहरण हुन्, यी। सडकले गाउँलाई शहरसँग जोडेको मात्र छैन, गाउँमा उत्पादन वृद्धि गरेर किसानलाई धनी पनि बनाइरहेको छ। उहिल्यैबाट मालमत्ता किनिरहेको गाउँहरूले अब राम्रैसँग शहरलाई कृषि उपज बेच्न पनि थालेका छन्। यसरी हातमा पर्न थालेको पैसाले गाउँको जीवनशैलीदेखि शिक्षा र स्वास्थ्यसम्ममा गुणस्तरीय परिवर्तन ल्याएको छ।

साइक्लिङ सोखः ललितपुर, पाटनका प्रकाश धाख्वा आफ्नो गाडी भए पनि उपत्यका आसपासमा सधैं साइकलमै हिंड्छन्।
गत वर्षसम्ममा सडक विभागले देशभर २४ हजार ५८३ किलोमिटर सडक निर्माण गरेको छ, जसमध्ये १० हजार ३२० किमी कालोपत्रे छ। २०४७ सालसम्म नेपालमा कुल ८३२८ किमी मात्र सडक थियो। यो अवधिमा ग्रामीण कृषि सडकमा अपत्यारिलो परिवर्तन आएको छ। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार गत आर्थिक वर्षसम्ममा करीब ५२ हजार ग्रामीण कृषि सडक खनिएका छन्, जसमध्ये करीब ३५ प्रतिशत बाह्रै महीना चल्छन्। दुई दशकअघिको तुलनामा सडकको विस्तार सात गुणाभन्दा बढी भएको विभागका उपमहानिर्देशक जीवनकुमार श्रेष्ठ बताउँछन्। अब ३९१५ मध्ये ८५० गाविसलाई मात्र सडकले जोड्न बाँकी छ।

सडक र आर्थिक क्रियाकलाप विस्तारसँगै बढेको सवारी साधन र विमानसेवाले नेपालीको 'मोविलिटी' अभूतपूर्व रूपमा बढाइदिएको छ। हवाई यातायातबाट एकै दिनमा दुई–तीन शहरको काम सम्भव हुन थालेको छ भने शहरोन्मुख क्षेत्रमा निजी गाडी संख्या थपिंदो छ। कुनैवेला सम्पन्नताको प्रतीक मानिने मोटरसाइकल त गाउँका लागि समेत सामान्य बनिसकेको छ। गत आर्थिक वर्षदेखि देशभर करीब साढे १० लाख मोटरसाइकल गुड्न थालेका छन्। टाईसुटमा ठाँटिएर अफिस जान होस् वा दुईपट्टी क्यान झुन्ड्याएर शहरसम्म दूध ल्याउन, मोटरसाइकल सबैको रोजाइको साधन बनेको छ।

नेपालीको जीवनशैलीमा परिवर्तन ल्याउने सञ्चारको फड्को त अझ् चाखलाग्दो छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, अहिलेसम्म विभिन्न सेवाप्रदायकले २ करोड ३ लाख मोबाइल फोन बिक्री गरेका छन्। २०५६ सालमा शुरू भएको मोबाइल फोनमा एक दशकअघिसम्म करीब ५ लाखको मात्र पहुँच रहेकोमा अहिले कुल जनसंख्याको ८६.८२ प्रतिशतले यो सेवा लिइरहेको सरकारी तथ्यांक छ। अहिले कुल जनसंख्याको ३०.७० प्रतिशतले इन्टरनेट चलाउँछन्। एक दशकअघिसम्म देशका ४५ प्रतिशत गाविसमा सीमित टेलिफोन सेवा अहिले देशका कुनाकन्दरासम्मै विस्तार भइसकेको छ।

परिवर्तित परिदृश्य

हातहातमा मोबाइलः राजधानीको वसन्तपुरमा भारी बिसाएर मोबाइल फोनमा कुरा गर्दै दिलबहादुर श्रेष्ठ।
काभ्रे र नुवाकोटका किसान हुन् या धादिङका, अहिले उनीहरू मोबाइल फोनबाट काठमाडौंमा तरकारीको भाउ बुझेर मात्र स्थानीय व्यापारीलाई दिन्छन्। फोनले दैनिक कारोबार मात्र हैन, देश–विदेशमा रहेका परिवारका सदस्यहरूलाई जोडेको छ। मान्छे मरेको समाचार दिन 'काँचो धागो' ले बाँधेको चिट्ठी पठाउने अभ्यास गरेको समाजमा मोबाइल फोनले आँकी नसक्नु परिवर्तन ल्याइदिएको छ। २०३४ सालमा पढ्न अमेरिका बसेका प्राध्यापक डिल्लीराम दाहाल त्यो वेला बिहे गरेर काठमाडौंमा छोडेकी पत्नीले छिटोमा १५ दिनमा मात्र आफ्नो चिठी पाउने गरेको सम्झ्न्छन्। “अहिले अमेरिकामै रहेकी छोरीसँग जतिवेला चाह्यो त्यतिवेला स्काइपमा भिडियो कुराकानी गरिरहेको हुन्छु”, दाहाल भन्छन्।

यातायात, सञ्चार लगायतका पूर्वाधारको विकास र शिक्षा तथा स्वास्थ्य सेवाको वृद्धिले नेपालीको आर्थिक–सामाजिक हैसियत बढेको छ। केन्द्रीय तथ्यांक विभागको तेस्रो नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ का अनुसार, डेढ दशकमा नेपालीको प्रतिव्यक्ति औसत आय रु.७ हजार ६९० बाट बढेर रु.४१ हजार ६५९ पुगेको छ। यो अवधिमा गरीबी १७ प्रतिशतबाट घटेर २३.८ प्रतिशतमा झ्रेको तथ्यांक छ। नेपालीको औसत खर्च गर्ने क्षमतामा भएको वृद्धिले पनि आम्दानी बढेको पुष्टि गर्छ।

१५ वर्षअघि रु.६ हजार ८०२ औसत खर्च गर्ने नेपालीले अहिले रु.३४ हजार ८२९ खर्च गरिरहेका छन्। नेपालीको खर्च दर खानामा ६१.५, आवासमा ११, शिक्षामा ५.३ र अन्यका लागि २२.२ प्रतिशत छ। २०५२/५३ मा कुल आयमा कृषिको योगदान ६१ प्रतिशत रहेकोमा अहिले त्यो २८ प्रतिशतमा झ्रेको छ भने गैरकृषिको २२ प्रतिशतबाट बढेर ३७ प्रतिशत पुगेको छ। अर्थशास्त्री डा. शंकर शर्मा भन्छन्, “अर्थतन्त्रको स्वरुपमै संरचनागत परिवर्तन आएकाले नेपालीको जीवनस्तर, बसोबास र पहुँचको क्षितिज फैलिएको छ।”

फैलँदो बसोबासः काडमाडौं, चुच्चेपाटीस्थित केएल टावर माथिबाट देखिएको दृश्य।
सडक र हवाई यातायातमा भएको सुधारले एक अर्का ठाउँको दूरी घटेको छ। मध्यपहाडी राजमार्गले पहाडी जिल्लाहरूलाई जोडेको छ भने उत्तर–दक्षिण मार्गले तराईसँग। काठमाडौंबाट सिन्धुली पुग्न बर्दिवास यात्रा गर्नुपर्ने दिन सकिएर बीपी राजमार्ग हुँदै केही घन्टामै पुग्ने दिन आएको छ। काठमाडौं र हेटौंडा तीन घन्टा नजिक भइसकेको छ। राणाकालमा भीमफेदीको बाटो गाडी बोकाएर ल्याएको 'नेपाल' को यातायात प्रणालीमा साझा यातायात र ट्रली बसले ठूलो सहयोग गरेका थिए। दुवै सेवा बीचमा बन्द भए पनि साझाले शहरी सर्वसाधारणको यात्रालाई फेरि सहज बनाइरहेको छ।

सन् १९९२ पछि भएको निजी क्षेत्रको प्रवेशले नेपाली विमान सेवालाई व्यापक बनाउँदैछ। अहिले १७ वटा आन्तरिक वायुसेवा कम्पनीले मुलुकका दुर्गम क्षेत्रहरूलाई दैनिक रूपमा सुगमसँग जोडिरहेका छन् भने २७ अन्तर्राष्ट्रिय वायुसेवाले नेपालीलाई संसारसँग। हवाई यात्रा गर्ने नेपालीको संख्या १५ वर्षमा वार्षिक ६ लाख ७० हजारबाट बढेर १५ लाख ७५ हजार पुगेको छ। व्यावसायिक उद्देश्य बोकेका आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंबाट काभ्रे पुग्न र एमाले नेताहरूले धादिङ पुग्न पनि हेलिकोप्टर प्रयोग गरेको घटनाले आन्तरिक विमानसेवाहरूको भविष्य दर्साउँछ। आपतविपतको त कुरै वेग्लै, हिजोआज सामान ढुवानी र छिटोछरितो साधनको रूपमा हेलिकोप्टर चार्टर्ड गर्ने चलन बढेको छ।

बदलियो बसोबास

अवसरको खोजीमा घर छाड्ने चलन बढ्दै जाँदा सामाजिक बसोबासको प्रवृत्तिमा पनि परिवर्तन आएको समाजशास्त्री डिल्लीराम दाहाल बताउँछन्। यसरी सगोल परिवार टुक्रिंदै जाँदा पारिवारिक संरचनामा आएको परिवर्तन आफ्नो ठाउँमा छँदैछ। २०५८ सालमा एउटा नेपाली परिवारमा औसत ५.४४ जना सदस्य हुन्थे भने अहिले ४.८८ जना। सुविधा खोज्दै गाउँबाट शहरतिर सर्ने प्रवृत्तिले एक दशकअघिको १३.९ प्रतिशत शहरी जनसंख्या १७.०७ प्रतिशत पुगिसकेको छ। तर, टुक्रिंदै जाँदा व्यक्तिवादी संस्कृति हावी भएको छ। अब, करिअर र पैसाका लागि परिवार छोड्न गाह्रो नमान्नेहरूको संख्या बढ्ने अर्थशास्त्री डा. गोविन्द नेपाल बताउँछन्।

खुला शहरः काठमाडौंको नयाँबानेश्वर।
१० वर्षको क्रमशः ४४.३० र ७.३० प्रतिशत पहाडी र हिमाली जनसंख्या अहिले क्रमशः ४३.०१ र ६.७३ प्रतिशतमा झ्रेको छ। तराईको जनसंख्या भने एक दशकमा ४८.४० बाट बढेर ५०.२७ प्रतिशत पुगेको छ। श्रीमान्ले विदेशबाट पठाएको रेमिट्यान्सले छोराछोरी पढाउन गाउँबाट शहर सर्ने चलन पनि बढेको छ। गत वर्ष मात्रै ४ लाख ५३ हजार ५४३ नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांक छ। अहिले करीब २० लाख नेपाली विदेशमा रहेको अनुमान छ। उनीहरूले गत वर्ष कुल रु.४ खर्ब ३४ अर्ब ५८ करोड रेमिट्यान्स पठाएका थिए। “रेमिट्यान्सले उपभोग संस्कृतिमा ठूलो परिवर्तन ल्याएको छ”, अर्थशास्त्री डा. शर्मा भन्छन्, “गरीबी घटाउन र स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको रेमिट्यान्सले बसोबासको 'प्याट्रन' मै फेरबदल ल्याएको छ।”

पुरानो चलनमा आएको बदलावले शहरी क्षेत्रमा अपार्टमेन्ट र हाउजिङ संस्कृतिलाई बढवा दिएको छ। नेपाल आवास तथा जग्गा व्यवसायी संघका अनुसार, अहिले काठमाडौं उपत्यकामा मात्र निर्माण सकिएका र निर्माणाधीन गरी ८०३२ युनिट हाउजिङ र अपार्टमेन्ट छन्। तीमध्ये ५२९६ युनिट बिक्री भइसकेका छन्। सुविधाजनक बसोबासको धारणा भित्रिएको धेरै नभए पनि नेपालमा हाउजिङ र अपार्टमेन्टमा बस्ने प्रवृत्ति आशालाग्दो गरी बढेको संघका उपाध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन्।

पक्कीघरको संख्या वृद्धिले पनि बसोबासमा भइरहेको परिवर्तन देखाउँछ। एक दशकअघि १८.३ प्रतिशत परिवार मात्र 'मुन्डाघर' भनिने पक्की घरमा बस्ने गरेकोमा अहिले यो बढेर ३० प्रतिशत पुगेको छ। करीब २५ प्रतिशत परिवार ढलान घरमा बसेको अनुमान छ।

comments powered by Disqus

रमझम