३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

परिवर्तनको रङ

Share:
  
- केदार शर्मा
सामान्य मानिसका विकासको परिभाषा हो– धेरै दुःख नगरी खान–लाउन पुगोस्, केही बचत हुने कमाइ होस्, रोगव्याध नलागोस्, लागिहाले ओखतीमूलो गर्न पाइयोस्, हैसियत अनुसारको मान–सम्मान पाइयोस्।

डम्बरकृष्ण श्रेष्ठ
एउटा भनाइ छ, हिजोआज इलाममा अल्छी मात्र बेरोजगार हुन्छ। यहाँ चिया टिप्दा पनि प्रतिकिलो रु.८ देखि रु.१० पाइन्छ। दिनभरिमा सय किलोभन्दा बढी पत्ती टिप्ने पनि छन्। किशोर–किशोरी पनि दिनको पचास–साठी किलो चिया सजिलै टिप्छन्। ढाड कुप्रो नपारी र बल नलगाई गरिने यो कामले चैतदेखि कात्तिकसम्म सबैलाई व्यस्त राख्ने गरेको छ।

यो त्यही ठाउँ हो, जहाँ दुई–अढाइ दशकअघिसम्म डाँडाहरू नाङ्गा थिए, मानिसको श्रम मूल्यहीन जस्तै थियो। एक जनालाई बल्लतल्ल दुईछाक खानपुग्ने अन्न वा पैसा दिनभरिको ज्याला हुन्थ्यो। त्यसवेला मान्छेका हातमा पैसा पर्ने अर्को उपाय कुनै कृषि उपज बेच्नु मात्र थियो। श्रम बाहेक बेच्ने कुरा नभएकाहरू गरीबीको कुचक्रमा हुन्थे। अहिले हातमा कुनै सीप नहुनेले पनि ६ घन्टा काम गरेर रु.४०० देखि रु.१ हजारसम्म हात पार्छन्।

त्यसवेलाको इलाममा धनी मानिएका परिवारमा पनि खासै पुगिसरी थिएन। भएको स्रोत पनि घरमूलीका हातमा मात्र हुन्थ्यो। अढाइ दशकयता कमाइका स्रोत–माध्यम तथा परिवारको निर्णय प्रक्रियामा अन्तर आयो। त्यसलाई प्रजातन्त्रको पुनर्स्थापनासित जोड्न सकिन्छ कि सकिंदैन, अनुसन्धानको विषय हो, तर समाजका स–साना एकाइमा पनि प्रजातान्त्रिक अभ्यासहरू देखिन थालेको चाहिं पक्कै हो।

दुई–तीन दशकअघिसम्म इलामका सम्पन्न मानिएका परिवारका सदस्यले पनि कठोर श्रम गर्नुपर्थ्यो। कराहीभरि दूध तताउँदा र बटुकाभरिको मोही सार्दा दंग पर्ने अर्थतन्त्र थियो। मिठाई–पापा बाहेकका कुरामा परिवारका सबभन्दा ठूलाबाट प्राथमिकता शुरू हुन्थ्यो। अस्पतालमा डाक्टर थिएनन्। सुत्केरी ब्यथाले तीन–चार दिन च्यापेर पनि बच्चा जन्मेन भने आधा भगवान्को भर परेर दार्जीलिङ लैजाने चलन थियो। पूर्वको गतिलो भनाउँदो यो ठाउँ सामाजिक–आर्थिक हिसाबले निकै पिछडिएको थियो।

मैले स्कूल पढ्दा जिल्लाभरिमा जम्मा चार वटा हाईस्कूल थिए, अहिले ५० भन्दा बढी छन्। अहिले केटाकेटी आँगनमा पनि खालीखुट्टा निस्किंदैनन्, त्यसवेला सबै खालीखुट्टा स्कूल आउँथे। धनी र माथ्लो भनिएका जातका केटाकेटी आफूले तल ठानेकाहरूलाई 'तँ' भनेर बोलाउँथे। अहिले उमेर अनुसारको दोहोरो साइनो चल्छ। यस्तो परिवर्तन इलाममा मात्र होइन, मुलुकभर भएको छ। धेरैका घरमा धेरै कुराको कमी होला, गरीबी होला, तर अनिकाल लागेका कुरा एकदमै कम सुनिन्छ।

कम सुनिनेमा गाउँघरमा धामी–झाँक्रीको ढ्याङढ्याङ पनि परेको छ। पहिले दैवले दिने, दैवले नै लिने नानीहरू अहिले श्रीमान्–श्रीमतीको सरसल्लाहबाट जन्मिन्छन्। खोप र अरू चेतना–सुविधाले देउतालाई पनि नानीहरू लैजान नसक्ने बनाएको छ। पहिले गाउँका हेपाहा मुखियाको विरोध गर्न नसक्ने नेपालीले मुलुककै मुखियालाई विदा दिइसकेका छन्। आम नेपालीको आम्दानी बढेको छ, अन्धविश्वास घटेको छ। शोषण–अन्याय निकै घटेको छ भने सुविधा र इज्जतपूर्वक बाँच्ने अवसर बढेको छ। नेपाली समाजको अग्रगमनको प्रमाण दिने अरू पनि सयौं कुरा छन्।

सबैतिर उस्तै

२०३५ सालमा पहिलो पटक काठमाडौं जाँदा बिर्तामोडमा गाडी चढेपछि बडो विरसिलो लागेको आज पनि सम्झ्न्छु। त्यो विरसिलोपन घर छाडेका कारण नभई कोशी तरेपछि हूलका हूल फुकिढल गाईबस्तु र राजमार्गको छेउ भन्न नसुहाउने घर–गाउँ देखिन थालेपछि आएको थियो। कमला तरेपछि त चुरेका रुगरुगाउँदा डाँडा, मध्य बर्खामा पनि रुखा बसेका खेत र उराठ लाग्दा बस्तीहरू देखेर मलाई अर्कै देशमा पुगे जस्तो लाग्थ्यो। खानाका लागि बस रोकिएको बाफिंदो गर्मी, झ्ुप्रे घर र अनाकर्षक बस्ती भएको लाहान मलाई झ्नै मन परेन। अरूका भागको खाना देख्दै खान पनि मन लागेन।

पछि झ्न् गर्मीमा त्यो बाटो हिंड्नु पर्दा, लामो समयसम्म मलाई सगरमाथा र जनकपुर अञ्चलको राजमार्ग क्षेत्र अनाकर्षक लागिरह्यो। अहिले पनि त्यता पुग्दा म उहिलेका दृश्यहरू सम्झिन्छु, जसको चिनो कतै भेटिंदैन। तरकारी खेती, ठूलठूला पक्की घर र प्रशस्त आर्थिक गतिविधि देख्दा कति चाँडै केबाट के भयो भने जस्तो लाग्छ। मान्छेका घरमा पुगिसरी बढ्न थालेपछि छेउछाउका वनमा हरियाली आफैं बढ्ने रहेछ।

अर्को सम्झ्ना छ, धुन्चेको। २०३८ सालमा म जागीर खान धुन्चे जाँदा त्रिशूलीदेखि नै पैदल हिंड्नुपर्थ्यो। धुञ्चे बजार भएको ठाउँभन्दा अलि तलको पुरानो बस्तीको अहिले चिनो मात्र छ। शुरू–शुरूमा चियामा झ्िंगा पर्दा हामी चिया फ्याँक्थ्यौं, पछि झिंगा मात्र फ्याँक्ने भएका थियौं। रसुवा जिल्ला सदरमुकाम रहेको धुन्चे गाउँ पंचायतका प्रधानपञ्च कारसिं झ्ाँक्री आफ्ना लुगामा लुकेर बसेका आततायी जुम्राहरूलाई दाँतले मृत्युदण्ड दिन्थे। २०६० सालतिर सपरिवार धुञ्चेहुँदै क्याञ्जिङतिर जाँदा मलाई आफ्नै छोराछोरीले पत्याउने गरी ती कथा सुनाउन हम्मे परेको थियो। कारण, धुन्चे कहाँदेखि कहाँ पुगिसकेको थियो।

राष्ट्रिय जनजीवनका विभिन्न पक्ष र क्षेत्रमा भएका परिवर्तन यो सानो लेखमा अटाउन सकिंदैन। प्रजातन्त्र आएपछि 'पेशागत हक हित' भन्ने शब्दावलीले कुनै न कुनै किसिमले सबैलाई प्रभावित पारेको छ। अधिकार चेतनासँगै स्कूलहरूमा भर्नादर बढेको छ। रोजगारीसँगै आम्दानी, उपभोग र बचत बढेको छ। हुनुपर्ने धेरै कुरा हुन बाँकी पनि छन्, तर भएको कुरा स्वीकार गरेपछि मात्र अरू कुराको पालो आउँछ।

मुलुकमा राम्रा कुराहरू पनि भएका छन् भन्ने सुन्नै मन नगर्ने मानिसहरू यी सब कुराबाट बेखबर र एकदमै असन्तुष्ट देखिन्छन्। तर मुलुकको भूराजनीतिक अवस्था, विषम भूबनोट, शताब्दीयौंको लक्ष्यहीन बसाइँसराइ, अभाव, सशस्त्र द्वन्द्व र सामान्यतया निरक्षर तथा पुरातनपन्थी समाजमा यतिका परिवर्तन आउनु सानो कुरा होइन। आफ्ना यथार्थहरूको हेक्का नराखी गरिएको अपेक्षाले कसैलाई सुखी बनाउँदैन। भविष्यप्रति दूरदृष्टि नराखी गरिएको कमाइ मात्रले पनि कसैलाई कहीं पुर्‍याउँदैन।

चिन्ताका कुरा

सबैतिरका युवा केही न केही कमाइ गरिरहेका छन्। पहिलेका तुलनामा प्रायः हरेक परिवारको आम्दानी र लवाइ खवाइको स्तर बढेको छ। मान्छेको मह140वाकांक्षाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढाएको छ। रोजगारी निश्चय नै राम्रो कुरा हो, तर 'हात्ती पढेर ठूलो भएको हो र?' भन्दै विद्यार्थीहरू पैसा कमाउनेतिर लाग्नु चिन्ताको कुरा हो। बाबुआमाले भ्याई–नभ्याई काम पाउनु राम्रो कुरा हो, तर छोराछोरीका लागि समय छुट्याउन नजान्नु र नसक्नु दुःखको कुरा हो। बजारमा उपभोग्य सामानहरू पाइनु राम्रो हो, तर शैक्षिक–बौद्धिक विकासका लागि केही नपाइनु नराम्रो कुरा हो। अहिले हाम्रो ठाउँमा यस्ता चिन्ताका कुरा बढेका छन्।

मोबाइल फोन बोक्नेहरू नचिनेका व्यक्तिसित च्याटमै मायापिरती गाँसेर सँगै जीवन बिताउन तत्पर हुन्छन्, एकाघरमा बस्ने बाबुआमा चाहिं 'कुरै बुझदैनन्'। अल्लारेहरूलाई 'ग्लोबल' बनाउने व्यापारिक प्रयत्नहरू छारष्ट छन्, तर 'सोसल' बनाउने प्रयत्नहरू नहुनु खेदको कुरा भएको छ। पढाइ विनाको पैसा घातक हुन्छ भन्ने भारतका उत्तरपूर्वी राज्यका केही उदाहरणले स्पष्ट पारिसकेको छ। त्यहाँ उपयुक्त शैक्षिक पूर्वाधार तयार नभई भित्रिएको पैसाले मानिसलाई मिहिनेत गर्न नसक्ने र दुर्व्यसनी बनाएको देखिएको छ। इलामका डाँडाहरूमा पनि त्यस्तै देख्नु पर्ला कि भनेर चिन्ता लाग्न थालेको छ। शिक्षाप्रतिको बेवास्ता, बढ्दो मद्यपान र फाटफुट देखिन थालेका लागूपदार्थ व्यापारका घटनाले खतराको सङ्केत गरेका छन्।

सरकारले किताब पसल खोल्दैन र खोल्न आवश्यक छैन पनि। कहाँ केको आवश्यकता छ भन्ने कुरा हेरेर, मुलुकको दीर्घकालीन हितका लागि काम गर्नुपर्ने चाहिं सरकारी निकायहरूले नै हो। आफैं नगरे पनि हुन्छ, नेपालका लागि काम गर्छौं भन्ने दातृ निकायहरूलाई यो आवश्यक छ र यस क्षेत्रमा काम गर भनेर त्यस्तो काम गर्नेलाई सहयोग–समर्थन गर्ने काम पनि सरकारकै हो। दलका भ्रातृ सङ्गठनहरूले युवाहरूको दीर्घकालीन हितका लागि केही नगर्ने भए, तर जसले गरे पनि समय रहँदै हो।

comments powered by Disqus

रमझम