३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

छुटेको खुशी

Share:
  
नर्वेमा भौतिक सुखभोग गरिरहेको एउटा शरणार्थी परिवारले २३ वर्षअघि भूटानमै छाडिएकी जेठी छोरीसँग भेट्ने आशा मार्दैछ।

तस्वीरहरुः गोपाल गडतौला
बानियाँ परिवार।
चन्द्रमाया बानियाँ (७१) चतराधाममा लाखबत्ती बाल्ने भाकल थाती राखेर सात वर्षअघि ८ मे २००८ मा झापाको खुदुनाबारी भूटानी शरणार्थी शिविरबाट उत्तरी युरोपेली मुलुक नर्वेको आल्टामा पुनर्वास गएकी थिइन्। त्यो भाकल पूरा गर्न उनी चतरामा लाग्ने कुम्भ मेलाको अवसर पारेर श्रीमान्, छोराबुहारी र पाँचवर्षे नातिनीसाथ चैत दोस्रो साता नेपाल आइन्।

चतरामा विधिवत् पूजापाठ पछि बानियाँ परिवार १७ वर्ष विताएको खुदुनाबारी शिविर पुग्यो– आफन्त र इष्टमित्रहरूसँग भलाकुसारी गर्न। उनीहरूले छोटो नेपाल बसाइको क्रममा बेलडाँगी र शनिश्चरे शिविरका इष्टमित्रहरूलाई पनि भेट्न बिर्सेनन्। तर, २४ चैतमा बिर्तामोडमा भेटिएका बानियाँ परिवारका मूली तुलाबहादुर (६९) खुशी थिएनन्।

बेखुशीको कारण

तुलाबहादुर र चन्द्रमायाका १० मध्ये नौ सन्तान मन लागेको वेला भेटिने दूरीमा नर्वेमै छन्। शुरूमै पुनर्वास भएका दुवै बूढाबूढीले केही काम नगरी महिनामारी २५ हजार क्रोनर (रु.४ लाख) भत्ता पाउँछन्। बिहान नर्वेजियन भाषा सिक्न स्कूल जाने बूढाबूढीको दिउँसोको समय उहीं जन्मिएकी साढे पाँच वर्षकी नातिनी हिसिलासँग बित्छ। धार्मिक किताब पढ्ने, छरछिमेकसँग गफिनेदेखि किनमेल गर्न बजार जानेसम्मका काम बूढाबूढी सँगै हुन्छन्।

सुनसरीको चतराधाममा लाखबत्ती बाल्दै बानियाँ परिवार।
साथमा रहेका कान्छो छोरा राम (२५) अस्पतालमा काम गर्छन्, जसको मासिक कमाइ २४ हजार क्रोनर छ। बुहारी छलिमाया (२४) पनि नर्सिङ पढ्दै श्रीमान्सँगै अस्पतालमा पार्टटाइम काम गर्छिन्। पढ्नको लागि सस्तो ब्याजमा लिएको मासिक आठ हजार क्रोनर ऋण उनले पढाइ सिध्याएर चुक्ता गर्नुपर्नेछ। अहिले उनको मासिक कमाइ सात हजार क्रोनर छ। उनीहरूलाई नेपाल आउँदा जनही दुई लाख क्रोनर खर्च गर्नु कुनै कठिनाइ भएन।

तीनलाख ७४ हजार क्रोनरको निजी कार चढ्ने बानियाँ परिवारले तीन वर्षअघि साढे २५ लाख क्रोनरमा किनेको घरको साढे आठ हजार मासिक किस्ता बुझ्ाउनुपर्छ। भाडामा बस्ने एउटा नर्वेजियन जोडीबाट महीनाको साढे पाँच हजार क्रोनर आइहाल्छ। ३० वर्षमा त्यो घर उनीहरूको स्थायी स्वामित्वमा आउनेछ। “भूटान सरकारले खेदेको ५० वर्षमा अबको २७ वर्षपछि हाम्रो परिवारको आफ्नै घर हुनेछ”, राम भन्छन्।

पुनर्वास भएका औसत भूटानी शरणार्थीभन्दा राम्रो कमाइ भएका बानियाँ परिवारका चारै दाजुभाइ र ६ दिदीबहिनीमध्ये पाँच जना आल्टामै भएकोले फुर्सदमा पारिवारिक जमघट भइहाल्छ। नेपालमा हुँदा राष्ट्रसंघीय सहायताको भरमा गुजारा गरेको यो परिवारलाई अहिले कुनै भौतिक दुःख छैन। आफ्ना सन्तानले पढ्न र गरिखान मजैले पाएको तुलाबहादुर बताउँछन्। “तर, २३ वर्ष भइसक्यो, जेठी छोरी जसमाया दक्षिण भूटानको साम्चीमै छिन्”, उनले भने, “कुनै चमत्कार भएन भने उनीसँग भेट हुने स्थिति देखिंदैन।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम